Live Streaming

अन्नपूर्ण दिनभर : विमान दुर्घटनामा ६९ जनाको शव फेला, ३ जनाको अवस्था अज्ञात, भोलि सार्वजनिक बिदा


 


विमान अपडेट : ६९ जनाको शव फेला, ३ जनाको अवस्था अज्ञात

काठमाडौँ । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६९ जनाको शव फेला परेको छ ।  अझैं ३ जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयउ कास्कीले जनाएको छ । दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा लगिएको छ । यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार रहेका थिए ।  

पोखरा विमानस्थलमा अवतरण गर्न नपाउँदै विमान दुर्घटना भएको हो । विमान पाइलट कमल केसीले उडाउनुभएको थियो । विमानमा पाँच भारतीय, चार रसियन नागरिक रहेका थिए । त्यस्तै आयरल्यान्डका एक, अस्ट्रेलयाका एक, अर्जेन्टिनाका एक, कोरियाका २ र फ्रान्सका एक यात्रु सवार रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय (क्यान)ले जनाएको छ । 

विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् । यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको पोखराको गण्डकी अस्पताल प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको जानकारी दिनुभयो । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकाहरूको शव खोजी गर्न सशस्त्र प्रहरीले गोताखोर समेत परिचालन गरेको थियो । 

विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उहाँले बताउनुभयो । 

सरकारको निर्णय 

काठमाडौँ । सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ ।बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । 

सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर रहेका छन् । त्यस्तै सरकारले सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा पनि गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।  

घटनाबारे बोल्दै नागरिक उड्डयन प्राधिकणले  हवाई उडान नियमनलाई प्रभावकारी बनाउने जनाएको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नुपर्ने र त्यसको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने पनि प्राधिकरणले जनाएको छ ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मौसम र मापदण्ड ठीक हुुुुुँदाहुँदै भएको आकस्मिक घटनाले आश्चर्यचकित तुल्याएको बताउनुभएको छ । छानविन समितिको प्रतिबेदन पश्चात ठोस निश्कर्षमा पुग्न सकिने उहाँले बताउनुभयो ।

नेपालको हवाई उड्यन इतिहासमा आइतबार पोखरामा भएको दुर्घटना सहित १०४ हवाई दुर्घटना भएका छन् । जसमा साढे ८ सयको ज्यान गएको छ । 

विमान दुर्घटनापछि शीर्ष नेताहरु दुःखी 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा विमान दुर्घटनाबाट निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले दुर्घटनाको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली एवम् शोकाकुल परिवाजनमा समवेदना प्रकट गर्नुभएको हो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले स्तब्ध बनाएको भन्दै ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले शोक वक्तव्य जारी गर्दै घाइतेहरूको तत्काल उद्धार गरि उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको हो । साथसाथै, मृतकका परिवार तथा घाइतेहरूलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गरिएको छ । नेपाली काँग्रेसले पनि पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख ब्यक्त गरेको छ । 

सभापति शेरबहादुर देउवाले मृत्यु भएकाहरुप्रति श्रद्धान्जली तथा घाइतेको उपचार तथा मृतकका परिवारप्रति राहत उपलब्ध गराउन माग गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि विमान दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभएको छ ।

जहाज दुर्घटनाप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समेत  दुःख व्यक्त गर्नुभएको छ । त्यस्तै पूर्वराज ज्ञानेन्द्र शाहले पनि  पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 

पत्रकार त्रिभुवन पौडेलको निधन 

काठमाडौँ । पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ ।  पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार पौडेलको निधन भएको हो। स्वर्गीय पौडेल पोखरा हटलाइन दैनिकका प्रकाशक÷सम्पादक हुनुहुन्थ्यो । केहीदिन अघि काठमाडौं आउनुभएका उहाँ आज पोखरा फर्किनुभएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहेका पौडेलको निधनले महासंघ स्तब्ध र शोकमग्न भएको महासंघले जनाएको छ ।  नेपाल पत्रकार महासंघका उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।

भोलि महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो । 

प्रचण्ड ओली भेटवार्ता 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिए पनि सरकारलाई पूर्णता दिन नसक्दा सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

सरकारको पूर्णतासँगै भेटवार्तामा शक्ति बाँडफाँट, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै दुई नेताबीच पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाका विषयमा पनि छलफल भएको छ । चाँडै सरकारलाई पूर्णता दिने भनिए पनि पोखराको दुर्घटनाले गृहकार्य नटुंगिएकाले मन्त्रिपरिषद विस्तारमा केही समय लाग्ने देखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाल देउवालाई भेट्न  धुम्बाराही पुग्नुभएको हो । दुई नेताबीच प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएपछि शक्ति बाँडफाँटका विषयमा पनि छलफल भएको छ । अब हुने राष्ट्रपति निर्वाचन र सभामुख निर्वाचनका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ । 

कर्णालीको सभामुखमा एमालेकी नन्दा गुरुङ

काठमाडौँ । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । प्रदेश सभा सभामुखको आज भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो ।

गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपा एक मत प्राप्त भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गर्नुभयो । पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत पाउनुभएको हो । 

ज्येष्ठ सदस्य कांग्रेसका हिकमतबहादुर बिष्ट र एकजना स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने मतदान नगरेको बताइएको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले सुर्खेकी गुरुङलाई सभामुखको उमेदवार बनाएको हो । कर्णालीको दोस्रो सभामुख बनेकी गुरुङ समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो ।

भारतीय विदेश सचिव नेपाल आउने 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी सुरु गर्नुभएको छ । प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो दिन भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउन लाग्नुभएको छ ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार सम्पादकहरुसंगको छलफलमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुन सक्ने बताउनुभएको थियो । सचिव क्वात्रा जनवरीको अन्तिम साता नेपाल आउने तयारीमा रहेको नेपालस्थित भारतीय राजदुतावासले जनाएको छ । 

नेपालमा प्रधानमन्त्री दाहालसंग भेटेर भारत भ्रमणको निमन्त्रणा दिनुको साथै परराष्ट्र सचिवसँग दुई पक्षीय छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल फेब्रुअरी दोस्रो सातासम्म भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ । सचिव क्वात्रा यसअघि नेपालकै राजदूत हुनुभएको थियो । 

विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउनु पर्छ : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताउनु भएको छ ।

भक्तपुरमा आज आयोजित ८ औं राष्ट्रिय योग दिवसका अवसरमा बोल्दै उहाँले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताउनु भएको हो । 

उहाँले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताउनु भयो ।

भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै उहाँले योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताउनु भयो ।

मानिसलाई मानसिक रुपले तन्दुरुस्त राख्न योग र ध्यान सर्वोत्तम उपाय हो भन्ने कुरा वैज्ञानिक रुपले प्रमाणित भइसकेको बताउँदै उहाँले विद्यालस्तरमै योग शिक्षा अघि बढाउनुपर्ने बताउनु भयो ।

राष्ट्रिय भूकम्प दिवसको कार्यक्रम स्थगित 

काठमाडौँ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको छ । भोलि सोमबार आयोजना गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको हो  । २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको गृह मन्त्रालयले जनाएको छ । 

शीला उत्खननस्थलमा आज क्षमापूजा

काठमाडौँ । भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शीला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ ।

बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिकविधि अनुसार क्षमापूजा गर्नुभएको हो । 

क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थिति रहेको थियो । 

क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधिस राम तपश्वेर दासमार्फत अयोध्याको रामलला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शीलाको प्रतिकस्वरुप तीन शालिग्राम हस्तान्तरण गर्नुभएको थियो ।  

माघे सङक्रान्ति 

काठमाडौँ । मगर समुदायले पनि संघीय राजधानी काठमाडौंको टुँडिखेलमा माघे सकराती मनाएका छन् । ‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले पनि काठमाडौँ टुँडिखेलमा माघे साकराती मनाएका हुन् ।

उनीहरुले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन मगर भेषभूषामा सडकमा भृकुटीमण्डपबाट झाकी याली निकालेका थिए । 

नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

यसपटक मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुषबाँण हान्ने तथा एकआपसमा शुभकामना आदान–प्रदानसमेत गरिएको छ ।

आर्थिक खबर
बजेट खर्च ३२ दशमलव १३ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९–८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले रु पाँच खर्ब ७६ अर्ब ३४ करोड ७६ बराबर खर्च गरेको छ । 

चालु आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबर विनियोजन गरेको थियो ।बजेटको अर्धवार्षिक समीक्षा अवधिमा १४ प्रतिशत बराबर मात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि सरकारले पुँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट छुट्याएको थियो । पुस मसान्तसम्ममा पुँजीगत खर्च रु ५३ अर्ब ४५ करोड ५२ लाख बराबर खर्च भएको हो । 

चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ बराबर विनियोजन भएकामा ३८ दशमलव ४६ प्रतिशत अर्थात् रु चार खर्ब ५५ अर्ब १२ करोड ७० लाख खर्च भएको पनि महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकामा २९ दशमलव ४४ प्रतिशत अर्थात् रु ६७ अर्ब ७६ करोड ५४ बराबर खर्च भएको छ ।

यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ३३ दशमलव ९३ प्रतिशत बराबर देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । 

विदेशका खबर
इजलायलमा नेतन्याहू को बिरुद्धमा प्रदर्शन

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार विरुद्ध प्रदर्शन जारी छ । इजरायलको अबिभमा ८० हजार भन्दा अधिक प्रदर्शनकारी प्रधानमन्त्री नेतान्याहु र उहाँको सरकारका विरुद्धमा विरोध प्रदर्शन भएको हो इजरायलको सरकार र न्यायिक प्रणालीमा प्रस्तावित परिवर्तनको विरोधमा ८०,००० भन्दा बढी मानिस सडकमा उत्रिएको सी.एन.एनले जनाएको छ। प्रदर्शनकारीहरुले नेतान्याहुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तुलना गरेका छन । 

उनीहरुले इजरायल अर्ध–लोकतान्त्रिक हंगेरी र धार्मिक कट्टर इरान जस्तै भएको दाबी गरेका छन्। इजरायलको सर्वोच्च अदालतका अध्यक्ष एस्थर हयातका अनुसार प्रस्तावित संशोधन कानूनी प्रणालीमा आक्रमण भएको भन्दै न्यायिक प्रणालीको स्वतन्त्रतामा घातक प्रहार गर्ने ध्येय भएको बताउनुभएको छ ।

हालै, इजरायलको राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरले प्रहरीलाई सार्वजनिक क्षेत्रबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश दिनुभएको अल जजीराले जनाएको छ । अभिभमा सरकार विरोधी प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले प्यालेस्टिनी झण्डा उठाएपछि बेन–गभिरले झण्डा हटाउन आदेश जारी गर्नुभएको थियो।

खेल खबर
प्रधानमन्त्री कप महिला टी–ट्वान्टी

काठमाडौँ । इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित निकालेको छ । मधेशले आज कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकालेको हो । कर्णालीले दिएको ८० रनको लक्ष्य मधेशले १०.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

मधेशको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाउँदा प्रतिमा शाहले अविजित १८ रन बनाईन् । कर्णालीले २२ रन अतिरिक्तमा दिएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो । 
आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

एपीएफले बाग्मती प्रदेशलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । एपीएफसँग बाग्मती प्रदेश ५३ रनले पराजित भएको छ । एपीएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रन समेटियो । दोस्रो जित हात पारेको एपीएफ ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । बागमती प्रदेश दुई खेल खेल्दै अंकविहिन रहदै समूह ‘ए’ को पुछारमा रहेको छ ।