Live Streaming

क्याप्टेन रामेश्वर थापाको नयाँ पुस्तक 'इन टू द फायर' चाडैँ बजारमा आउने

काठमाडौं । क्याप्टेन रामेश्वर थापाको नयाँ पुस्तक 'इन टू द फायर' चाडैँ बजारमा आउने भएको छ । पुस्तकलाई  यात्रा पब्लिकेसनले प्रकाशनमा ल्याउने भएको हो । 

पुस्तकमा नेपाली आकाशको परिवेश, नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला नेपालीले भोगेका पीडा, नेपालको राजनीतिक परिस्थिति, भूराजनीतिक अवस्थालाई समावेश गरिएको छ । पुस्तक प्रकाशनका लागि यात्रा पब्लिकेसनसँग सम्झौता भएको छ । 

'मैले झण्डै डेढ वर्ष लगाएर यो पुस्तक लेखेको छु । यसअघि लेखेको 'बारुदमाथि उड्दा' को परिस्कृत रुप नै 'इन टू द फायर' हो। द्वन्द्वको अवस्था, नेपालीले भोगेको पीडालाई नजिकबाट नियकालेको भएकाले पुस्तक लेख्नुपर्छ भन्ने हुटहुटीले यो पुस्तक लेखेको हो,' क्याप्टेन थापाले बताए । लेखक थापाले आफ्नो नयाँ पुस्तकले नेपाली परिवेशलाई जानकारी दिन उपयोगी हुने बताए। 

आफूले पहिले लेखेको पुस्तक 'बारुदमाथि उड्दा' पढेका पाठकले अबको नेपालको परिवेश कस्तो छ भन्ने प्रश्न गरेको, पुस्तक लेखेपछिको आफ्नो नयाँ धारणा तथा नयाँ राजनीतिक परिस्थितिलाई पनि जोड्दै नयाँ पुस्तक लेख्ने सोच आएको थापाले बताए। 

उनले भने, 'यो पुस्तकमा हामी भूराजनीतिक रुपमा कसरी बाँचेका छौँ। नेपाली कसरी लुटिएका छन्, कति प्रताडित छन्। भौगोलिक र प्राकृतिक रुपले सुन्दर नेपाल राजनीतिक गतिविधिले कसरी कुरूप बनाएको छ भन्नेकुरा पुस्तकमा उतारेको छु।'

नेपाली भूमिमा बसोबास गर्नेले मात्र होइन नेपाली भूमि बाहिरका नेपालीले नेपालको उत्तिनै माया गर्ने बताउँदै थापाले ती नेपालीलाई नेपालको परिस्थितिबारे झन धेरै चिन्ता हुने गरेको पाइएको बताए। उनले भने, 'हामी नेपाली त छदैछौँ, विश्वको जुनसुकै कुनामा बस्ने नेपालीले पनि नेपालको असाध्यै माया गर्छन्, नेपालको बारेमा थोरै सुनेका बिदेशीले पनि नेपाल र नेपाली जनताप्रति धेरै चासो राख्ने गरेका छन्। उनीहरूको चासोको जवाफ यो पुस्तकले दिने अपेक्षा गरेको छु।'

पुस्तक प्रकाशनको जिम्मेवारी लिएको यात्रा प्रकाशनले उच्च गुणस्तरको पुस्तक प्रकाशन गर्ने प्रतिवद्धता जनाएको छ। यात्रा पब्लिकेशनका अध्यक्ष ऋषि अधिकारीले पहिले आफू भारतमा रहँदा 'बारुदमाथि उड्दा' पढेको र अहिले आफैँले सोही पुस्तकको परिस्कृत रुप अंग्रेजी भाषामा प्रकाशन गर्ने जिम्मेवारी आफूहरुले नै लिन पाउनु गौरवको कुरा भएको बताए। 

उनले पुस्तक उच्च गुणस्तरमा प्रकाशन गर्ने, सकेसम्म धेरैभन्दा धेरै नेपाली, नेपालका शुभचिन्तकसम्म पुर्‍याउने गरी पब्लिकेशनले काम गर्ने बताए। उनले भने, 'हामीले पुस्तको गुणस्तरीयतामा कुनै कसर बाँकी राख्दैनौँ। सँगै यसको वितरण प्रणालीलाई पनि व्यवस्थित पार्छौँ। हामीलाई अडर गरेको तीन दिन भित्र नेपालका जुनसुकै क्षेत्रमा पुस्तक पुर्‍याउँछौँ । काठमाडौं उपत्यकाका जुनसुकै कुनामा अडर गरेको १/२ दिनमै पुस्तक पुग्ने छ। अनि हाम्रो सञ्जालमार्फत ६/७ दिनमा विश्वका जुनसुकै क्षेत्रमा पुस्तक पुर्‍याउने गरी काम गर्छौँ।'

अधिकारीले किताबजात्रामार्फत उचित प्रवर्द्धन र प्रचार गर्नुका साथै पठन संस्कृतिको विकास गर्ने अभियानमा जोडिएकाले पुस्तक पढाउन लागि पर्ने बताए। उनले पुस्तकको विमोचन प्रणालीलाई पनि व्यवस्थित बनाउने बताए। हवाइ लाइब्रेरीका विषयमा पनि काम गरिरहेकाले यो पुस्तकलाई सोही अनुसार राख्ने वातावरण बनाइदिन लेखक क्याप्टेन थापासँग सहयोग पनि मागेका छन्। 

पब्लिकेसनका कार्यकारी निर्देशक सुवास अर्यालले पुस्तक गुणस्तरीय छापिने बताए। उनले छुँदा पनि पुस्तकको गुणस्तर झल्को दिने गरी तयार पार्ने उनको भनाइ छ। यात्रा पब्लिकेसनले उच्च गुणस्तरमा काम गर्ने बताउँदै उनले विद्युतीय माध्यममा पनि उपयोगी बनाउने बताए। इबुक, अडियो बुकका रुपमा पनि गुणस्तरीय नतिजा निकाल्ने गरी काम गर्ने उनले बताए। 

अन्नपूर्ण मिडिया ग्रुपका कार्यकारी निर्देशक (सीईओ) सनत न्यौपानेले नेपाल र नेपाली परिवेश बुझ्नलाई पुस्तक 'इन टू द फायर' उपयोगी हुने बताए। नेपालको द्वन्द्व, द्वन्द्वपछिको अवस्था, राजनीतिक गतिविधिले ओझेलमा परेको देशको परिदृश्य तथा भू राजनीतिक गतिविधि र नेपालका शासकले शासनप्रणाली सुधारमा चाल्नुपर्ने कदम समावेश भएको बताए। 

अन्नपूर्ण एक्सप्रेस दैनिकका सम्पादक कमलदेव भट्टराईले पुस्तकको मुख्य कुरा प्रकाशन अघि नै पाठकले थाहा पाउने वातावरण बनाउनुपर्ने बताए। उनले भने, 'हामीले पुस्तक किन पढ्ने भन्ने कुराको धारणा तय गर्न पनि पुस्तकका मुख्य आकर्षण प्रकाशन अघि नै सार्वजनिक गर्न जरुरी छ ।

पुस्तकमा भएको पढ्नै पर्ने विषय प्रकाशन अघि नै पाठकसम्म पुर्‍याउन जरुरी छ। पुस्तक पढ्ने लक्षित समूह पहिचान गरी सन्दर्भ सामग्रीलाई उठाउनुपर्छ।'

भट्टराईले नेपाल शान्ति प्रक्रियामा प्रवेश गरेको २० वर्ष पुगे पनि अहिलेसम्म नेपालको शान्ति प्रक्रियाको पाटोका बारेमा विश्वबाट अध्ययन भइरहेकाले यो पुस्तक ती अध्येताका लागि उचित सन्दर्भ सामग्री बन्ने बताए। 

रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर शिरोमणि दवाडीले पुस्तकको गहिराइ पाठकमाझ पुर्‍याउन जरुरी रहेको बताए। इन टू द फायर आफैँमा विशेष पुस्तक हुने भन्दै दवाडीले यसका पाठक पनि विशेष हुने भएकाले पुस्तकको गहिराइ बुझ्ने व्यक्तिबाट विभिन्न समयमा पुस्तकबारे चर्चा गर्नुपर्ने बताए। 

इन टू द फायर पुस्तक करिब २५० पेजको हुनेछ। यसको मूल्य सफ्टकभर करिब ५९९ रुपैयाँ र हार्डकभरको मूल्य करिब ९९९ रुपैयाँको पर्नेछ। पुस्तक २०८० सालको वैशाखभित्र प्रकाशन गर्ने तयारी छ। 

पुस्तकका लेखक क्याप्टेन थापाले नेपालमा भएको सशस्त्र द्वन्द्व, यसले नेपाली राजनीतिमा पारेको प्रभाव, द्वन्द्व पीडितका समस्यालाई समावेश गरिएको भन्दै पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी द्वन्द्व पीडित र पीडितको परिवारको शिक्षा, स्वास्थ्य र वृत्तिविकासमा सहयोग गर्न खर्चिने बताए।