Live Streaming

अन्नपूर्ण दिनभर : मन्त्रीमण्डलमा भागबण्डा टुुंग्याउन अन्तिम कसरत, पोखरा दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याईने 

चालक दलसहित सनाखत नभएका शव भोलि मात्रै काठमाडौं ल्याईने 

काठमाडौँ । पोखरा विमान दुर्घटनाका सनाखत हुन नसकेका, चालक दलका सदस्य  र विदेशीहरूको शव भोलि मात्र काठमाडौं ल्याईने भएको छ । आज नै उनीहरूको शव काठमाडौं लग्ने तयारी थियो । तर, कमजोर भिजिबिलिटी र शवको व्यवस्थापनमा ढिलाइ भएकाले अब भोलिमात्रै काठमाडौं लगिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिनुभयो ।

उनीहरूको शव शिक्षण अस्पताल लगिने छ । शव लिनका लागि हेलिकप्टर भने आज नै पोखरा पुगिसकेको छ । पोखरामा २४ जनाको शवको मात्र पोस्टमार्टम हुने भएको छ । 

बाँकी ४६ जनाको शव काठमाडौं ल्याउन लागिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले सोमबार साँझ परिसकेकोले मंगलबार बिहान ९ बजेपछि शव काठमाडौं पठाइने बताउनुभयो । उहाँका अनुसार हालसम्म फेला परेका ६९ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तीनजना अझैँ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी छ ।


नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा खोजी कार्य जारी राखेको छ । अस्पतालको पोस्टमार्टम गृहमा भएका ६९ मध्ये ४४ शवको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार ७ सदस्यीय पोस्टमार्टम टिम बनाइएको छ । दुई फरेन्सिक विशेषज्ञ काठमाडौंबाट डा.गोपाल चौधरी र डा.समारिका दाहाल पोखरा पुग्नुभएको छ । मृतकका आफन्तले भने दुर्घटना भएको २४ घण्टाभन्दा बढी भइसक्दा समेत शव बुझ्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

यस्तै विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको समेत उहाँले बताउनुभएको छ । ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । 

बिमामा समस्या छैन : प्राधिकरण 

काठमाडौँ । पोखरामा  विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमाको पाटोमा कुनै समस्या नरहेको बिमा प्राधिकरणले जनाएको छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले शवको पहिचान भएपछि बिमा रकमको भुक्तानी प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । 

मन्त्रिपरिषदमा भागबण्डा मिल्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेको छ । ओली र प्रचण्डबीच आज भएको छलफलमा सरकारमा सहभागी हुने दलहरुको आधारमा मन्त्रालयसंख्यासहित भागबण्डाको खाका तयार भएको हो । लोसपा समेत सरकारमा सहभागी हुन चाहेपछि सत्ता साझेदार दलहरुले यसअघि पाउने भनिएका मन्त्रालय संख्या घटेको हो । 

एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच ५ घण्टा भएको छलफलमा दुई नेताबीच सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डा लगभग टुंगिएको बतार्ईएको छ  । ओली संयोजक रहेको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ ।

ओली प्रचण्डबीच ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागबण्डाको मोडालिटीमा छलफल भइरहेको छ । यो खाका अनुसार नै अघि बढेमा एमालेले ८ वटा मन्त्रालय पाउनेछ । अहिले एमालेले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय पाइसकेको छ । माओवादीले ४ वटा मन्त्रालय पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा मन्त्रालय पाउने बताइएको छ  ।

रास्वपाबाट अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । अव उसको भागमा २ मन्त्रालय पर्नेछन् । १४ सांसद रहेको राप्रपा र जसपाले दुईदुई वटा मन्त्रालय पाउने बताइएको छ ।  जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एकएक मन्त्रालय दिन दुई नेता सहमत भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग बैठक बोलाउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार करिव ५ घण्टा छलफल गर्नुभएका उहाले बैठक बोलाउने निर्णय गर्नुभएको हो । सञ्चारकर्मीहरुले सभामुख

उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्ने भन्ने कुरा छ नि भन्ने प्रश्नमा उनले सहमतिका लागि बैठक बोलाइएको बताउनुभएको हो ।  प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उमेदवारको पनि टुंगो लगाइसकेको बुझिएको छ ।

रास्वपा संसदीय दलको बैठक : मन्त्री छान्ने जिम्मा लामिछानेलाई

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छनोट गर्ने अधिकार पार्टी सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दिएको छ । लामिछानेले आज पार्टीको संसदीय दलको भर्चुअल बैठक बोलाएर सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी लिनुभएको हो ।

रास्वपाका सांसद मनिष झाले पार्टीको तर्फबाट निर्णय लिने अधिकार यसअघि नै सभापति लामिछानेलाई दिइएको र त्यसलाई आज बसेको संसदीय दलको बैठकले निरन्तरता दिएको बताउनुभएको हो । रास्वपाका सांसदहरूले पार्टीबाट मन्त्री चयन गर्दा प्रत्यक्ष निर्वाचित भएर आएकालाई प्राथमिकतामा राख्नुपर्ने माग उठेको बताउदा सभापति लामिछानेले भने जोसुकैले पनि मन्त्रीको जिम्मेवारी पाउन सक्ने भएको बताउनुभएको थियो ।

सहज बनेन राहदानी वितरण रिपोर्ट 

काठमाडौँ । नियुक्ति भएर पदभार सम्हाले लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी, लाइसेन्सलगायत सरकारी कार्यालयका सेवा सहज बनाउने वाचा गर्नुभयो । तर प्रधामन्त्रीले गरेको वाचा ३ साता बित्दा पनि पुरा भएको छैन । सेवाग्राहीले राहादानी विभागबाट लिनु पर्ने सेवामा अझै सुधार आएको छैन । अझै पनि राहादानीको सेवा लिन लामो लाइन बस्नु पर्ने बाध्यता छ ।

रवि लामिछानेको प्रश्न

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सांसद पदको योग्यता सम्बन्धी रिटमा लिखित जवाफ पेस गर्नुभएको छ । लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिएको हो । जवाफमा लामिछानेले २०७० फागुन १० मा अमेरिकाको नागरिकता प्राप्त गरेको र सो नागरिकता २०७५ जेठ ५ मा त्यागेको स्वीकार गर्नुभएको छ । उहाँले २०७० मा अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता त्याग नगरेको हुँदा नागिकरता पुनः प्राप्ति सम्बन्धी प्रावधान पूरा गर्न नपर्ने भएको उल्लेख गर्नुभएको छ । 

अन्तरिम आदेशका लागि छलफलमा उहाँका कानुन व्यवसायीले बहस गरेजस्तै उनले आफ्नो लिखित जवाफमा नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानु नपर्ने जिकिर गर्नुभएको छ । उहाँले आफ्नो नागरिकता सम्बन्धी विवाद करिब पाँच वर्ष अघि नै उत्पन्न भई त्यही बेला निरुपण भएको समेत बताउनुभएको छ  ।

लामिछानेले जवाफमा प्रतिनिधिसभा सदस्य वा नेपालको राजनीतिक दलको सदस्य हुन नेपाली नागरिक हुन पर्ने व्यवस्था स्वीकार्दै आफू नेपाली नागरिक नै रहेको र नेपालको नागरिकता त्याग नगरेको हुँदा, पुनः प्राप्तिको प्रक्रियमा जानु नपर्ने भन्दै रिट खारेज गर्न माग गर्नुभएको छ ।

संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा ११ गते लाई अन्तिम सुनुवाएको पेसी तोकिएको छ ।उहाँले जवाफमा कुनै पनि व्यक्ति नागरिकताबिना रहन सक्छ भन्ने सभ्य समाजले सोच्न पनि नसक्ने पनि उल्लेख गर्नुभएको छ ।

गृहमन्त्रीको निर्देशन 

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा उभिन निर्देशन दिनुभएको छ । प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले आज निर्देशन दिनुभएको हो ।

प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरूमा सद्भाव राखेर काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । कसैको प्रभाव वा दबावमा नपरी नागरिकको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रही काम गर्न समेत मन्त्री लामिछानेले निर्देशन दिनुभएको छ ।

गत २८ पुसमा भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डिआइजीहरूलाई आज गृह मन्त्रालयमा निर्देशन दिँदै उहाँले कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताउनुभयो । यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न उहाँको निर्देशन छ । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मातहतका प्रहरी अधिकारीहरुलाई अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित हुन निर्देशन दिनुभएको हो । 

गण्डकीको उपसभामुख बिनाकुमारी थापा निर्वाचित

काठमाडौँ । बागलुङकी एमाले सांसद बिनाकुमारी थापा गण्डकी प्रदेश सभाको उपसभामुख निर्वाचित हुनुभएको छ । समानुपातिक तर्फकी सांसद थापालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाले सोमबार बहुमतले पारित गरेको हो । यसअघि प्रदेश सभाले शनिबार सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित गरेको थियो ।

सत्ता गठबन्धनका दल एमाले र माओवादी केन्द्रले फरक–फरक पार्टी र फरकफरक लिंगबाट हुने गरी सभामुख र उपसभामुखको भागबन्डा गरेका हुन् । पोखरामा हिजो जहाज दुर्घटना भएर ७२ जनाको ज्यान गएपछि सरकारले सोमबार शोक बिदा घोषणा गरेको थियो । तर, पनि गण्डकी प्रदेश सभाले भने उपसभामुख निर्वाचन गर्नै पर्ने बाध्यता थियो । सभाको आजकै दोस्रो बैठक पनि बसी शोकमा राष्ट्रिय झण्डा झुकाइएको थियो । 

वाग्मती प्रदेश उपसभामुखमा एमालेकी अप्सरा चापागाईं चयन

काठमाडौँ । वाग्मती प्रदेशसभाको उपसभामखुमा नेकपा एमालेकी सांसद अप्सरा चापागाईं चयन हुनुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजन अनुसार बहुमत प्राप्त गर्दै उनी निर्वाचित हुनुभएको हो । बैठकमा कुल १०८ सांसद सहभागी भएका थिए ।

सभामुख भुवन पाठकबाहेक १०७ सांसदले मतविभाजन प्रक्रियामा सहभागी भएकोमा चापागाईंको पक्षमा ६१ मत परेको हो । जुन तत्काल कायम रहेको सांसद संख्याको बहुमत हो । उहाँको विपक्षमा ३९ र ७ जनाले तटस्थमा मतदान गरेका थिए । उहाँ सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । 

निर्माण सामग्रीको अभावले निर्माण कार्य बन्द

काठमाडौँ । निर्माण व्यवसायीहरुका अनुसार निर्माण सामग्रीको अभावले नागढुंगा–नौबीसे सुरुङ मार्ग, मरिन डाइभर्सन, हाइड्रो पावर निर्माण, नागढुंगा मुग्लिन सडक निर्माणलगायतका कार्य बन्द भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अभावले अहिले देशभरकै ठूला–साना विकास निर्माणका काम बन्द भएको बताउनुभयो ।

गृह मन्त्रालयले नयाँ मापदण्डअनुसार नभएका क्रसर उद्योग बन्द गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । नयाँ मापदण्डअनुसार राजमार्ग र नदी किनारबाट ५ सय मिटरभन्दा टाढामात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ । त्यस्तै मन्दिर, वनजंगल, विद्यालय, सुरक्षा निकाय र स्वास्थ्य चौकीबाट २ किलोमिटर टाढा क्रसर उद्योग रहनुपर्ने भनेको छ ।

अहिले यही मापदण्डको कारण देशभरका क्रसर उद्योग बन्द छन् । क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभावले नागढुंगा–नौबीसे सुरुङ मार्ग निर्माण कार्य रोकिएको छ । नागढुंगा–नौबीसे सुरुङ मार्ग आयोजना निर्देशक रामहरि पोख्रेलले निर्माण सामग्री अभावको सुरुङ मार्ग निर्माण बन्द जस्तै रहेको बताउनुभयो ।

यसैबीच नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका सहसचिव मिन बहादुर शाहीले सरकारले बनाएको मापदण्ड अव्यवहारीक भएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा बोल्दै उहाँले सरकारले दिएको मापदण्ड पुरा हुनै नसक्ने बताउनुभयो । 

क्याप्टेन रामेश्वर थापाको नयाँ पुस्तक ’इन टू द फायर’ प्रकाशन हुने 

काठमाडौँ । क्याप्टेन रामेश्वर थापाको नयाँ पुस्तक ’इन टू द फायर’ प्रकाशन हुने भएको छ । यो पुस्तक यात्रा पब्लिकेसनले प्रकाशनमा ल्याउने भएको हो । पुस्तकमा नेपाली आकासको परिवेश, नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला नेपालीले भोगेका पीडा, नेपालको राजनीतिक परिस्थिति, भूराजनीतिक अवस्थालाई समावेश गरिएको छ ।

आफ्नो नयाँ पुस्तकले नेपाली परिवेशलाई जानकारी दिन उपयोगी हुने क्याप्टेन थापाको भनाई छ । यसअघि लेखेको बारुदमाथि उड्दाको परिस्कृत रुप नै ’इन टू द फायर’ भएको क्याप्टेन थापाले बताउनुभयो । 

सांकेतिक रुपमा मनाइयो भूकम्प दिवस 

काठमाडौँ । राष्ट्रिय शोकका कारण २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवससाङ्केतिकरुपमा मनाइएको छ । काठमाडौं महानगरपालिकाले भूगोलपार्कमा बनाएको भूकम्प स्मृति स्मारकमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा आज कार्यक्रम गर्ने तयारी गरेको थियो ।

तर हिजो बिहान काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि आज सरकारले सार्वजनिक बिदा दिएका कारण स्मारकमा फूल चढाएर कार्यक्रम गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरपालिकाका विभागीय प्रमुखको उपस्थिति थियो । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो ।

सरकारले विमान दुर्घटनामा परी ७२ यात्रुको निधन भएकामा राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत सहभागी हुने मूल समारोह समितिको कार्यक्रम पनि स्थगित गरिएको विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसकारुपमा मनाउन थालिएको हो ।

आज स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने प्रचारप्रसार समितिका संयोजक एवं सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिनुभयो । 

तास खेल्दै गरेका शिक्षक र पूर्व वडाध्यक्षसहित १० पक्राउ

काठमाडौँ । पर्साको पर्सागढी नगरपालिका–३ बढ्निहारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन् । आज दिउँसो बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

साहको घरमा आज दिउँसो प्रहरीले छापा मारेर पूर्व वडाध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरी लगायत १० जना जुवाडेलाइ पक्राउ गरेको हो । उनीहरूको साथबाट १ लाख २८ हजार १ सय ४० रुपैयाँ नगद, ४ बुक ताससमेत बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । पक्राउ परेका जुवाडेहरुलाइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले बताउनुभएको छ । 

आर्थिक खबर
आइओसीबाट डिजल  घटेर आयो,पेट्रोल बढ्यो 

काठमाडौँ । भारतबाट डिजलको मूल्य घटेर आएको छ । इन्डियन आयाल कर्पोरेसन (आइओसी)बाट  डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको हो । त्यस्तै पेट्रोलको मूल्य भने लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ७९ डलरमा बिक्री भइरहेको छ । 

यस्तै नेपालमा आयात हुने ब्रेन्ट क्रुडको प्रतिलिटर मूल्य ८४ डलर हाराहारीमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबड हुने गरेको छ । यसअघि भारतबाट नयाँ मूल्य आउँदा पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको थियो ।

 यस्तै हवाई इन्धन भाउ पनि प्रतिलिटर १० रुपैयाँ ६१ पैसाले घटेर आएको थियो। भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले उच्च नाफा राखेर उपभोक्ताहरुलाई महँगोमा पेट्रोलियम पदार्थ बिक्री गरेको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो । 

दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । मूल्य घटाएपछि अहिले पेट्रोल प्रतिलिटर १७५ र डिजल १७२ रुपैयाँमा बिक्री भइरहेको छ ।

निगमले राष्ट्र बैंक र आइओसीलाई अझै १८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको जनाएको छ । नयाँ मूल्यले निगमलाई कति नाफा हुन्छ खुल्न सकेको छैन् । आज शोक बिदा भएकाले नाफा घाटा भोलि मात्र एकिन हुने निगम श्रोतले जनाएको छ । 

विदेशका खबर 

काठमाडौँ । चीनको ल्याओनिङ प्रान्तको फानजीनमा केमिकल प्लान्ट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ ।  ३४ जना घाइते  भएका छन् ।  जसमा चार जनाको अवस्था गम्भीर रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।  स्थानीय समयअनुसार आइतबार १ बजेर २५ मिनेट जाँदा यो घटना भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।  सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ ।  फानजीनमा रहेको फानचिन हाओए केमिकल प्लान्टमा मर्मत सम्भारका क्रममा उक्त बिस्फोट भएको थियो । 

भारतमा अर्बपति बढे

काठमाडौँ । विश्वमा सबैभन्दा बढी गरिबी रहेको भारतमा अर्बपतिहरूको सङ्ख्या बढ्दै गएको छ । तीन वर्षअघि अर्थात् सन् २०२० मा भारतमा एक सय दुई जना अर्बपति रहेकामा सन् २०२१ मा एक सय ४२ र सन् २०२२ मा एक सय ६६ जना पुगेका हुन् । भारतका एक प्रतिशत धनी मानिससँग देशको कुल सम्पत्तिको ४० प्रतिशत सम्पत्ति रहेको छ ।

आधा जनसङ्ख्यासँग देशको सम्पत्तिको जम्मा तीन प्रतिशतमात्रै रहेको छ । अक्सफाम इन्डियाको ’सर्भाइभल अफ द रिचेस्ट’ प्रतिवेदनका अनुसार सन् २०२२ मा देशका एक सय जना धनी व्यक्तिसँग ५४ दशमलव १२ लाख करोड भारु सम्पत्ति छ भने १० जना धनी व्यक्तिसँग मात्रै साढे २७ लाख करोड रुपैयाँको सम्पत्ति रहेको छ ।

भारतमा अर्बपतिको सङ्ख्या बढिरहँदा २२ करोड ८९ लाख जना मानिस भने गरिबीमा बाँचिरहेको प्रतिवेदनमा उल्लेख छ । विश्वमा सबैभन्दा धेरै गरिबी भारतमा छ । प्रतिवेदनमा प्रगतिशील कर प्रणाली नअपनाएमा असमानता थपिने उल्लेख छ । अप्रत्यक्ष कर सबैका लागि समान हुँदा धनी झन् धेरै धनी र गरिब झन् धेरै गरिब बन्दै गएको बताइएको छ ।

खेल खबर 
सुदूरपश्चिम र एपीएफ सेमिफाइनलमा 

काठमाडौँ । सुदूरपश्चिम प्रदेश टिम र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटहरीमा जारी प्रतियोगिताको समूह ए मा रहेका दुई टिमले लगातार दुई जितपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

यो समूहमा रहेका वागमती र गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् । आज सुदूरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गरेपछि सेमिफाइनल समीकरण बनेको हो । समूहमा २ जितपछि एपीएफ र सुदूरपश्चिमको ४–४ अंक छ भने वागमती र गण्डकीले अंक जोड्न सकेका छैनन् ।

समूहमा एपीएफ र सुदूरपश्चिमबीच खेल हुन बाँकी छ । आज गण्डकीले दिएको ६१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो । यसअघि आजै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश–१ ले लगातार दोस्रो जित निकालेको हो ।

मैदान ओसिलो भएको कारण खेल ९ ओभरमा झारिएको थियो । जसमा प्रदेश–१ ले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो ।लुम्बिनीले पुरै ९ ओभर खेल्दा ७ विकेट गुमाएर ५० रन मात्र बनाउन सक्यो ।लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन जोडिन । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन जोडेको थियो । जितसँगै प्रदेश–१ ले २ खेलमा ४ अंक जोडेको छ । प्रदेश–१ समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ ।