Live Streaming

अन्नपूर्ण दिनभर : संवैधानिक पदबारे छलफल गर्न कांग्रेस तयार, पल शाहले पाए सफाइ

सर्वदलीय बैठक : राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार भएको जानकारी गराएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि मिलेर जान प्रस्ताव गरेको कांग्रेस नेता रमेश लेखकले बताउनुभयो । 

उहाँले सभामुखको निर्वाचनमा भाग लिनेबारे आन्तरिक छलफल गरेर भोलिसम्म निर्णय गर्ने पनि बताउनुभएको छ । छलफलमा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखको विषयमा समेत छलफल भएको नेता लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले यी संवैधानिक पदहरुमा सहमति गर्न सकिने विषय बैठकमा राख्नुभएको थियो ।

यस्तै नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा आफ्ना सभापति शेरबहादुर देउवा नै हुनुपर्ने दाबी गरेको हो । 

कांग्रेसले सरकारलाई समर्थन गरेको भन्दै नेपाल मजदुर किसान पार्टीले प्रमुख विपक्षी दलको मान्यता आफूले पाउनुपर्ने दाबी गरेको छ । नेमकिपाका सांसद प्रेम सुवालले आफूले प्रमुख विपक्षी दलको नेताको मान्यता नपाए सर्वोच्च अदालत जाने चेतावनी समेत दिइसक्नुभएको छ । बैठकमा कांग्रेस सभापति देउवाले आफू प्रमुख विपक्षी दलको नेताकै हैसियतमा आएको बताउनुभएको थियो ।

नयाँ मन्त्रिहरुले लिए सपथ 

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले तिन सातापछि पूर्णता पाएको छ । सरकार गठन भएको २१ दिनपछि आज नियुक्त भएका मन्त्रीहरुले सपथ ग्रहणपछि पदभार ग्रहण गरेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिनुभएको छ । माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको छ । यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री हुनुभएको हो  । 

माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसक्नुभएको छ । नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त हुनुभएको छ  । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्नुभएको हो । राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहनुभएको छ  । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बन्नुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुनुभएको छ ।

रास्वपा सभापति रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुभएको हो । संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेपनि वर्तमान सरकारमा भने महिलाको प्रतिनिधित्व २६ प्रतिशत मात्र पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारमा १६ जना पहिलो पटक मन्त्रि बनेका छन् । 

यसैबीच, नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय गर्नुभएको छ ।

सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उहाँले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्दै उक्त निर्णय गर्नुभएको हो ।

विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले बताउनुभयो । मन्त्रालयको काम चुनौतिपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने उहाँले बताउनुभयो । 

परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले पदभार ग्रहण गर्दै आफ्ना तीन प्राथमिकताहरु रहेको बताउनुभएको छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । आफ्नो दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने उहाँको भनाइ छ । उहाँले असंलग्न परराष्ट्र नीतिमा अडिग रहने बताउनुभयो । 

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पु¥याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको हो । आजै कार्यभार सम्हालेका अन्य मन्त्रिहरुले पनि विभिन्न निर्णयहरु गरेका छन् । 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्ता गठबन्धनमा भएको सहमति पालना नभएकोप्रति असन्तुष्टि पोख्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष राउतले सहमति पालना नभएकोप्रति गुनासो गर्नुभएको हो । उहाँले बैठकमा गठबन्धन दलहरुबीचको सहमति कार्यान्वयन नगर्नुले गठबन्धन धरापमा परेन ? भनि प्रश्न गर्नुभयो । 

जनमत पार्टीबाट नेता अब्दुल खानलाई मन्त्री बनाईएको छ । तर, उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रलय दिनने भनेपनि अन्तिम समयमा आएर खानेपानी मन्त्रालय दिईएपछि मन्त्री खान आज शपथग्रहणमा समेत उपस्थित हुनुभएको थिएन । 

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएउनुभएको छ । आज प्रदेशसभामा भएको मतदानमा उहाँलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिनुभयो ।

११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहेका थिए । जम्कट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गर्नुभएको छ भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले उहाँलाई विश्वासको मत दिएको छ ।

मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिनुहुने भएको छ । आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने व्यवस्था मिलाएको जानकारी दिनुभएको हो । आजको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु भएको छ । सभामुखका लागि सत्ता साझेदार दलहरुको तर्फबाट एमालेका रामचन्द्र मण्डल र प्रतिपक्षी कांग्रेसका जंगीलाल राय उम्मेदवार हुनुहुन्छ  ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिनुहुने भएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे आज प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताएउनुभयो । 

तीन प्रदेशको सभामुख निर्वाचन

काठमाडौँ । तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका भण्डारी आज बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित हुनु भएकोहो । कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा आज भएको मतदानमा ५२ मत खसेको थियो ।

जसमा भण्डारीले २९ मत प्राप्त गर्नुभएको हो । कांग्रेसका उम्मेदवार मानबहादुर रावलले भने २३ मत प्राप्त गर्नुुभयो । यसअघि रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो । 

यस्तै प्रदेशको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित हुनुभएको छ । आज साँझ भएको निर्वाचनमा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा उहाँले २८ मत पाउँदै निर्वाचित हुनुभएको हो ।

५३ जना मध्ये एक सभामुखबाहेक अन्य सबैले मत दिएका थिए । चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाउनुभयो । उपसभामुखका अर्का उम्मेदवार एकीकृत समाजवादीकी माया पन्तले २३ मत पाउनुभएको थियो । 

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौँ । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । आज जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । पलको मुद्दामा बलात्कार नठरिएपनि बाल यौन दुराचार मानिएकाले सो अभियोगमा भने शाहले तोकेको सजाय पुरा गर्नुपर्ने हुन्छ । 

नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

काठमाडौँ । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।

विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी दुई जनाको खोजी जारी छ । उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइने छ भने बाँकी चालक दलका सदस्य,पहिचान नभएका र विदेश नागरिकका ४८ शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याएको छ । ती शवहरु काठमाडौंको शिक्षण अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि मात्रै शव आफन्तलाई बुझाइने बताइएको छ । 

विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । सुरक्षाकर्मीको टोलीले आज अपराह्न थप १ जनाको शव भेटेको हो । यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ ।

एक जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । आज सेती नदीको पानी घटाएर नहरमा पठाइएसँगै खोजतलासका क्रममा १ जना महिलाको शव भेटिएको उहाँको भनाइ छ । 

राष्ट्रिय मानव अधिकार आयोगको चासो 

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ । नेपालमा हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै आयोगले चासो देखाएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र हवाई दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उपयुक्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न÷गराउन र सहजरूपमा बीमा रकम उपलब्ध गराउन आयोगले आग्रह गरेको छ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको चालकदलसहित ७२ जना सवार जहाज कास्कीको पोखरामा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको र दुई जनाको अवस्था अझै अज्ञात रहेको घटनाप्रति आयोग गहिरो दुःख व्यक्त गरेको छ । गत आईतबारको घटनाले पनि नेपालमा हवाई दुर्घटना बढ्दो क्रममा रहेको देखाएको छ । 

सुनसरीमा भोजपुरी सुपरस्टार खेशरीलालको कन्सर्टमा झडप 

काठमाडौँ । भारतिय भोजपुरी कलाकार खेशरीलाल यादवको कन्सर्टमा भएको झडपमा आधा दर्जन सर्वसाधारण घाइते भएका छन् । सुनसरीको बर्जु गाउँपालिकामा भएको बर्जु महोत्सवमा सहभागी हुन भोजपुरी गायक तथा नायक खेशरीलाल आज सुनसरी आएका थिए ।  

कन्सर्ट हेर्न नेपाल र सीमावर्ती भारतबाट समेत सर्वसाधारण आएका थिए । महोत्सव आयोजक बर्जु सामुदायिक विकास केन्द्रले कन्सर्टमा प्रवेश गर्न महँगो टिकट शुल्क राखेको थियो । सर्वसाधारण टिकट नकाटी भित्र प्रवेश गर्न खोजेपछि विवाद भएको थियो । विवादपछि कुटपिट र झडप हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आयोजकले कन्सर्ट प्रवेश शुल्क ५०० रुपैयाँ राखेको र शुल्क नतिरी भित्र प्रवेश गर्ने क्रममा विवाद भएको प्रहरीले जनाएको छ । गत वर्ष पनि सोही महोत्सवमा आगजनी र तोडफोड भएको थियो । कोरोनाका कारण खेशरीलाललाई कार्यक्रम गर्न स्थानीय प्रशासनले रोक लगाउँदा आक्रोशित समूहले आगजनी र तोडफोड गरेको थियो ।

रुईतलाई पुरष्कार 

काठमाडौँ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ ।  बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिने गरिएको छ । बहराइनका शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ।

डा. रुइत उक्त सम्मान पाउने पाँचौं व्यक्ति हुनुहुन्छ । आज बहराइनमा आयोजित पुरस्कार घोषणा समारोहमा शेखका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य मो. बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका क्षेत्रमा गरेको कामका लागि छनोट गरिएको जानकारी दिनुभयो । यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर, स्वर्णपदक र प्रमाणपत्र फेब्रुअरी महिनामा प्रदान गरिने बताइएको छ । 

आर्थिक खबर
सेयर बजार ३२ अंकले बढ्यो 

काठमाडौँ । आज नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबारको दिन  नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंकले बढेको छ ।

कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । यस दिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको थियो । 

नेप्सेका १३ उपसमूहमध्ये आज बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१२ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ५.०४ प्रतिशत, वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ ।

विदेशका खबर
जलवायु परिवर्तनका कारण जंगलमा लागेको आगो

काठमाडौँ । नासाले जलवायु परिवर्तन खतरनाक अवस्थामा पुगेको चेतावनी दिएको छ  । अहिले धेरै देशका जंगलमा आगो लागिरहेको नासाका अधिकारी बिल नेल्सनले बताउनुभएको छ । आँधीबेहरी र खडेरीले  विनाश ल्याइरहेको उहाँको भनाइ छ  । हिमालको हिउ पग्लिदा समुद्रको सतह बढेको छ । आधुनिक रेकर्ड–किपिङ सुरु भएदेखि पछिल्लो नौ वर्ष सबैभन्दा न्यानो भएको छ ।  

२०२२ मा पृथ्वी लगभग २ डिग्री फरेनहाइट वा १.११ डिग्री सेल्सियस थियो । जुन १९ औं शताब्दीको अन्त्यको औसतभन्दा न्यानो रहेको थियो । ग्यास निर्देशक गेभिन स्मिटले मानव गतिविधिहरूले वातावरणमा हरितगृह ग्यासहरू ठूलो मात्रामा पम्प गरिरहनुको कारण तापक्रम बढेको बताउनुभयो ।

हालै नासाका वैज्ञानिकहरू र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले २०२२ मा कार्बन डाइअक्साइड उत्सर्जन उच्चतम रेकर्डमा रहेको पत्ता लगाएका थिए । 

खेल खबर
प्रधानमन्त्री कप महिला क्रिकेट

काठमाडौँ । सुदुपश्चिम प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा साविक विजेता एपीएफ क्लबलाई ४ विकेटले हराउँदैसमूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । 

एपीएफले दिएको ९२ रनको लक्ष्य सुदुरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर ९२ रन जोड्दै पूरा गरेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो ।एपीएफका लागि ममता चौधरीले अविजित रहदै सर्वाधिक २६ रन जोडिन् । रोमा थापाले १५ रन जोड्दा इन्दु वर्माले ११ रन जोडिन् ।

जितसँगै सुदुरले समूह ’ए’ बाट विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो । सुदुरले ३ खेलमा ६ अंक जोडेको छ ।एपीएफले भने ३ खेलमा ४ अंक जोड्यो ।एपीएफ भने उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

उता, प्रदेश नं १ ले लगातार तेस्रो जित निकालेको छ । जनता क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश नं १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

जितसँगै प्रदेश–१ ले अन्तिम चारमा  स्थान बनाएको छ । मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश–१ लाई ४० रनको लक्ष्य दिएको थियो । 

कर्णालीले दिएको लक्ष्य प्रदेश–१ ले ४ ओभर ५ बलमा बिना विकेटको क्षतिमा ४० रन जोड्दै पूरा गरेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रन जोडेको थियो । जितसँगै प्रदेश–१ ले ३ खेलमा ६ अंक जोडेको छ । प्रदेश–१ समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ ।