Live Streaming

अन्नपूर्ण दिनभर : सभामुखका लागि २ जनाको उम्मेदवारी, उखुको न्युनतम सर्मथन मूल्य निर्धारण

उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ, ७० रुपैयाँ ढुवानी भाडा सरकारले व्यहोर्ने

काठमाडौँ । सरकारले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको छ । त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । यस्तै सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ ।

आजको मन्त्रिपरिषदमा विभूषण तथा पदक वितरणका विषयमा छलफल भएको थियो । सो क्रममा हालसम्म हुँदै आएको पदक वितरण उचित नभएको भन्दै आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी भएको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गर्ने जानकारी दिनुभयो । 

त्यस्तै, मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ । मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने मन्त्रिपरिषदले निर्णय गरेको उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी समेत सुम्पिएको छ । 

प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । आज संघिय संसद सचिवालयमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

एमालेका घिमिरेको प्रस्तावकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थनमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन रहनुभएको छ । सत्ता गठबन्धनमा एमालेसहित नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टी रहेका छन् । 

मनोनयन दर्ता गरेपछि घिमिरेले आफू सभामुख निर्वाचित भइसकेपछि संसदलाई सहमतिको आधारमा अगाडि बढाउने बताउनुभयो । सत्ता गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतको शिक्षालाई लिएर राजनीतिक पार्टीहरुसँग छलफल गरेर सहमतिको आधारमा प्रक्रियालाई अगाडि बढाउने र आरोप प्रत्यारोप पूर्वाग्रह भन्दापनि यथार्थको आधारमा ठीक ढंगले अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । उहाँले आफनो जित सुनिश्चित भएको जिकिर गर्नुभयो । उहाँले विगतबाट शिक्षा लिँदै संसदमा प्रभावकारी ढंगबाट अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । 

यस्तै नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । आज बानेश्वरस्थित संसद भवन पुगेर समानुपातिक सांसद् न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक प्रकाश ज्वाला रहनुभएको छ । कांग्रेस पदाधिकारी बैठकले न्यौपानेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मनोनयन दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै न्यौपानेले लोकतन्त्रमा हार र जित स्वभाविक भएको बताउदै आफू विजयको नजिक भएकै मनशाय बोकेर उम्मेदवारी दर्ता गराएको बताउनुभयो । 

नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएपछि कांग्रेससहित जसपा लगायतका नेताहरु छलफलमा जुटेका छन् । जसपा संसदीय दलको नेता रामसहायप्रसाद यादव कांग्रेस संसदीय कार्यलय आइपुगेपछि नेताहरु छलफलमा जुटेका हुन् । भोलि सभामुखको चुनाव हुँदैछ । सत्ता बाहिर रहेका दल नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उपसभामुखबारे पनि टुंगो लगाउने बताइएको छ ।

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेछ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनुभएको छ । आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्ने बताउनुभएको हो ।

प्रचण्डले सकारात्मक जवाफ दिइसक्नुभएके हो भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री शर्माले अहिले नै यस बिषयमा धेरै टिप्प्णी गर्नू उचित नहुने बताउनभएको थियो । अहिले सभामुखको चरणमा रहेकाले सभामुख र उपसभामुखको निर्वाचनको चरण सकिएपछि मात्रै राष्ट्रपतिको समय आउने बताउनुभएको हो । 

मन्त्रीपरिषद्मा नयाँ अनुहार

काठमाडौँ । सात दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहालले तीन सातामा पनि मन्त्री परिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । नियुक्त भए लगत्तै ८ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्नुभएको प्रधानमन्त्री दाहालले मंगलबार थप १५ मन्त्री नियुक्त गर्दै २३ सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभयो । जसमा अधिकांश नयाँ अनुहार मन्त्री बनेका छन् । 

विक्रम पाण्डेलाई मन्त्री बनाउँदा राप्रपाभित्र खटपट, लिङ्देनसँग अधिकांश नेताहरु रुष्ट

काठमाडौँ । उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकासमन्त्री नियुक्त गरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक खटपट सुरु भएको छ । पार्टीका अधिकांश शीर्ष नेताहरु अध्यक्ष राजेन्द्र लिङदेनसँग रुष्ट बनेका छन् । राप्रपा सरकारमा जाने भएपछि मन्त्रीहरुको नाम छनोट गर्ने अधिकार पार्टीको संसदीय दलले अध्यक्ष लिङ्देनलाई सुम्पिएको थियो । 

स्वार्थको टकराव उत्पन्न हुने गरी निर्माण व्यवसायी पाण्डेलाई शहरी विकास मन्त्रालयको नेतृत्व दिइएकोमा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्ममा आलोचना भइरहेको छ । यसले पार्टीको सुध्रिँदो छविमा पनि आघात पुगेको भन्दै नेताहरु चिन्तित छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि अध्यक्ष लिङदेनसँग असन्तुष्ट देखिनुभएको बुझिएको छ ।

यद्यपी पार्टीको आन्तरिक विषयमा भने उहाँले मौनता साँध्नुभएको छ । मिश्रसँग निकट महामन्त्री शरदराज पाठकले घुमाउरो रुपले सामाजिक सञ्जाल ट्वीटरमा सुशासनप्रतिको प्रतिबद्धतालाई व्यवहारिकतामा उतार्न स्वार्थको द्वन्द्व सिर्जना हुन दिनु नहुने बताउदै भइहाले तत्काल व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुभएको छ । 

पार्टीका नेता राजाराम श्रेष्ठले पनि राप्रपा सरकारमै जानू नपर्ने भएपनि गइसकेपछि जनताको मन जित्ने काम गर्नुपर्ने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै श्रेष्ठले मन्त्री ठेकापट्टामा संलग्न भएपनि अहिल्यै विरोध गर्न हतार हुने र काम हेर्नुपर्नेमा जोड दिनुभएको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत पाउनेमा सशंकित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल आफूले विश्वासको मत पाउनेमा सशंकित देखिनुभएको छ । उहाँले प्रदेशको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर मात्रै विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

पार्टीका संस्थापक रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा सरकार ढल्ने जोखिम बुझेका मुख्यमन्त्री रावलले थप छलफल थाल्नभएको छ । सत्तारुढ गठबन्धनको शीर्ष तहका नेताहरुबीच नागरिक उन्मुक्ति पार्टीले उठाएका माग र मुद्दाका सम्बन्धमा कुनै न कुनै समझदारी जुटाएर विश्वासको मत लिने पक्षमा उहाँ देखिनुभएको छ । 

सुदूरपश्चिम इञ्चार्ज समेत रहनुभएका एमालेका केन्द्रीय सचिव लेखराज भट्ट समेतका नेताले नागरिक उन्मुक्ति पार्टीलाई मनाउन धनगढीमा वार्ता गरिरहेको बुझिएको छ ।  गठबन्धनको शीर्ष तहको सहमति खोज्न र नाउपाका संस्थापक रेशम चौधरीलाई मनाउन सत्तारुढ गठबन्धन नेताहरु काठमाडौं आउने तयारीमा समेत रहेका छन् । 

मधेसका मुख्यमन्त्री सरोज यादवलाई सिंगो सदनको विश्वास

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जसपा संसदीय ललका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको सहित १० वटै दलले उनलाई विश्वासको मत दिएका हुन् ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पक्षमा १ सय २ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिनुभयो । पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस,लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिंदा उहाँले ७२ सांसदको समर्थन पाएका थिए ।

त्यस्तै,नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि पक्षमा मतदान गरेको छ । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ । यो संगै प्रदेशसभाको सदन पनि प्रतिपक्षविहीन भएको छ । 

गैरआवासीय नेपालीको नागरिकता मुद्दा सम्बोधन गर्न तयार छौं : गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताउनुभएको छ । आज सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अब गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताउनुभएको हो ।

उहाँले विदेशमा भएका नेपालीको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताउनुभयो । नेपालमा लगानीका लागि गैर आवासिय नेपालीहरुको कानुनी र व्यवहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उहाँको भनाइ छ । लामिछानेले नागरिकताका विषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पतीको हकको विषय पनि टुङ्गिने पनि जिकिर गर्नुभएको छ । 

चिन्ताजनक अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरिरहेको छु : अर्थमन्त्री 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको र कोभिड–१९ को पनि सामना गरेको अर्थतन्त्र किन चिन्ताजनक अवस्थामा पुग्यो ? भन्दै प्रश्न गर्नुभएको छ ।

आजनेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक कार्यक्रममा उनले सबै समस्या सामाना गरेको नेपालको अर्थतन्त्र किन चिन्ताजनक भयो भन्ने प्रश्न अर्थमन्त्री भएदेखि नै आफ्नो मनमा रहेको बताउनुभएको हो । अहिले जे जस्ता समस्याको चर्चा भइरहेको छ पुस ११ मा अर्थ मन्त्रालयमा छिरेदेखि त्यसको अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

राजस्व परिचालनको चिन्ताजनक अवस्था कसरी समाधान गर्ने ? करको दायर बढाउने, राजस्व प्रशासनमा सुधार र माग बढाउने बारे अध्ययन गरिरहेको र समाधानका उपाय अगाडि सारेर अर्थतन्त्रलाई अगाडि बढाउने उहाँले बताउनुभयो । मन्त्री पौडेलले खर्चमा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या रहेको बताउँदै पूँजीगत खर्च बढाउन प्रभावकारी प्रयास गर्ने पनि बताउनुभएको छ । 

विमान दुर्घटनाबारे अध्ययन गर्न आएको फ्रान्सेली टोली घटनास्थलमा

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने छ । नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएको हो ।

त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि  पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । 

माथिल्लो अरुणका लागि ८ अर्ब खर्चेर सुरुङसहितको पहुँचमार्ग बन्दै

काठमाडौँ । सरकारले यसैवर्षदेखि माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि पहुँच मार्ग बनाउन सुरु गर्ने भएको छ । प्राधिकरणले २ किलोमिटर सुरुङ मार्गसहित करिब २१ किलोमिटर पहुँच सडक निर्माण भारतीय कम्पनीलाई ठेक्का दिने तयारी गरेको छ । आज टेन्डरको मूल्यांकन सकाएर बोलपत्र स्वीकृत गर्ने आशयपत्र जारी गर्दै प्राधिकरणले भारतको गायत्री प्रोजेक्ट्स लिमिटेडलाई ठेक्का दिन लागेको जनाएको छ ।

उक्त कम्पनीले ७ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ ठेक्का पाउन लागेको हो । सुरुङसहितको सडक निर्माण गरिने भएकाले स्थानीयको आर्थिक, सामाजिक अवस्था समेत बदल्न यो सडकमार्गले महत्वपूर्ण भूमिका खेल्ने प्राधिकरणको अपेक्षा छ । प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रबर्द्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष कुलमान घिसिङ २ वर्षभित्र पहुँचमार्गको निर्माण सकाउने बताउनुभयो ।

आर्थिक खबर
९ अंकले घट्यो सेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । सेयर बजारमा आज गिरावट आएको छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २ हजार १७३.१० विन्दुमा रोकिएको छ । साथैै, आज २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीकोे सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोडभन्दा बढीको सेयर बिक्री भएको नेप्सले जनाएको छ ।  दोश्रो स्थानमा अपि पावर कम्पनीको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास र ग्रीन भेन्चर्समा करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको ९ प्रतिशतले मूल्यवृद्धि भएको छ । कुल ८० कम्पनीमा मूल्य उकलो लागेको छ भने १२१ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ ।  आज १३ उपसुचकमध्ये ३ कम्पनीबाहेका सबै उपसुचकमा ओरालो लागेको छ । 

विदेशका खबर
युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्रीसहित १८ जनाको मृत्यु

काठमाडौँ । युक्रेनको राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक आज भएको हेलिकोप्टर दुर्घटनमा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको हो । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको बताउनभएको छ । दुर्घटनामा तीन जना बालबालिका पनि मारिएको अधिकारीहरूले बताएका छन् ।

बयालीस वर्षीय गृहमन्त्री मोनास्ट्रास्केका दुई सन्तान छन् । उहाँ दुई वर्षअघि गृहमन्त्री नियुक्त हुनुभएको थियो । दुर्घटनामा घाइते भएका दस जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका रहेका थिए । 

२०२४ को अमेरिकी चुनावका लागि पूर्व राष्ट्रपति ट्रम्प तयार

काठमाडौँ । अमेरिकामा सन् २०२४ को राष्ट्रपति चुनावका लागि तयार रहनुभएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २८ मा साउथ क्यारोलिनाबाट चुनावी अभियान सुरु गर्ने हुनुभएको छ ।पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतीय चुनावी अभियान सुरु गर्ने भनिएको साउथ क्यारोलिनामा राष्ट्रपति पदको लागि पहिलो मतदान हुन लागेको छ ।

यहीँबाट डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियान सुरु गर्ने बताइएको छ । दुई प्रसिद्ध रिपब्लिकन – दक्षिण क्यारोलिनाका अमेरिकी सिनेटर लिन्डसे ग्राहम र गभर्नर हेनरी म्याकमास्टर कोलम्बियाको स्टेट हाउसमा डोनाल्ड ट्रम्पसँग चुनावी अभियानमा सामेल हुनेछन् ।

दक्षिण क्यारोलिनाले चुनावमा राष्ट्रपति मनोनयन गर्ने पहिलो राज्यको रूपमा ठूलो प्रभाव राख्ने गरेको छ। २०१६ मा आयोवा र न्यू ह्याम्पशायर पछि क्यारोलिनामा ट्रम्पको विजयले रिपब्लिकन पार्टी अग्रपंक्तिमा रहन सफल भएको थियो। 

खेल खबर 
लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

काठमाडौँ । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा मधेश प्रदेश र वागमतीले जित निकालेका छन् । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा बागमतीले पहिलो जित निकालेको छ ।

बागमतीले गण्डकी प्रदेशलाई ३७ रनले हराएको हो । बागमतीले दिएको १ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि सिमाना केसीले अविजित ३६ रन जोडिन । कप्तान श्रीष्टि जैसीले ३४ रन बनाईन् । बागमती प्रदेशका अश्मिना कर्माचार्यले ३ तथा बिपिसा शाही र साबिका यादवले १-१ विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन जोडेको थियो । योसंगै बागमती सान्त्वना जितसँगै प्रतियोगिताबाटै बाहिरिएको छ । गण्डकी जित विहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै भएको खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । मधेश पहिलो पटक महिला पीएम कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनाएको थियो ।

लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डिसीले अविजित रहँदै समान २१ रन जोडेकी थिइन । मधेशका लागि भुमि सिंहले २ तथा कविता गौतमले १ विकेट लिएकी छन । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन जोडेको थियो । मधेशले ३ खेलमा ४ अंक जोड्यो । यस समूहबाट प्रदेश–१ समूह विजेता बन्यो । लुम्बिनी भने समूह चरणबाट बाहिरिएको छ ।