Live Streaming

अन्नपूर्ण दिनभर : प्रतिनिधिसभाको सभामुखमा एमालेका घिमिरे निर्वाचित, गठबन्धन फुटाउन राष्ट्रपति निर्वाचन 

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ परेको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले १०० मत पाउनुभयो ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका छन् । एक मत तटस्थ रहेको ज्यष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिनुुभयो । 

सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिनुभएको थियो । तर, पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उहाँलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

यस्तै नवनिर्वाचित सभामुख घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विगतबाट शिक्षा लिएर अघि बढ्ने बताउनुभएको हो । उहाँले दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिने विश्वस्त पार्नुभयो । 

प्रतिनिधि सभा उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडौँ । प्रतिनिधि सभा उपसभामुख पद निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । उपसभामुखको निर्वाचन माघ ७ गते दिउँसो १ बजे  हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेका कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी दर्ता बानेश्वरस्थित संसद भवनमा हुनेछ ।

उपसभामुख पदको निर्वाचनका लागि संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले माघ ७ गते संसद् बैठक आह्वान गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपसभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ । सातदलीय गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको छ ।  

भोलि बिहान ९ बजे संसदीय दलको बैठक बसेर उपसभामुख उम्मेदवार तय गरिने दलका नेता एवं गृहमन्त्री रवि लामिछानेले बताउनुभयो । रास्वपाबाट उपसभामुखमा सोविता गौतमको चर्चा छ ।

नेताहरुको भनाई

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै कांग्रेस सरकार बाहिर भएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले सभामुख र शीतल निवासको लक्ष्यसहित संसदमा उभिएको बताउदै शीतल निवासतिरको लक्ष्य भन्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर नझस्किन आग्रह गर्नुभयो ।

तत्कालीन नेकपाको सरकारका बेला पनि शक्ति सन्तुलन नभएको भन्दै शर्माले आवश्यक सहयोग पनि नगर्ने सभामुख र अनावश्यक सहयाग गर्ने राष्ट्रपतिको भूमिकाका बिषयमा गहन छलफल गर्नुपर्ने बताउनुभएको छ । विगतका ती अनुभवलाई पनि चिर्नका लागि अहिले नयाँ प्रयास हुनसक्ने उहाँको भनाई छ । उहाँले देशको प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजिएको पनि तर्क गर्नुभएको छ । 

यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार  विधि र पद्धतिभन्दा बाहिर नजाने बताउनुभएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गर्नुभएको थियो ।

सभामुखले यसबारे कुनै रुलिङ नगरेपनि  लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिनुभएको हो । जवाफमा लामिछानेले गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताउदै त्यसमा कसैले दबाब र प्रभाव नदिनेमा विश्वास लिएको बताउनुभयो । यस्तै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्ता गठबन्धन टुटाउन कांग्रेस लाग्नु स्वभाविक भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे निर्वाचित भएपछि उहाँले सभामुखमा गठबन्धन टुटाउने प्रयास सफल नभएपछि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताउनुभएको हो । 

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले पाए विश्वासको मत

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत पाउनुभएको छ । आज दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गर्नुभएको हो ।

मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा,  जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रको गरी ५७ मत प्राप्त गरेका हुन्  । उहाँको विपक्षमा २८ मत परेको छ । नेपाली कांग्रेस र जनमोर्चाले गिरीलाई  विश्वासको मत दिएनन् ।

मुख्यमन्त्री गिरी पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा नियुक्त भएका थिए । लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् । आजको बैठकको सुरुमा सत्तारुढ नागरिक उन्मुक्तिले सदन स्थगन माग गर्दै केही समय रोकिएपनि पछि सहमतिमा सदन सुचारु भएको थियो । मुख्यमन्त्री लिला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
 
साना दललाई मन्त्री बन्नै हतारो

काठमाडौँ । नयाँ सरकारमा साना दलहरुको रजगज देखिएको छ । सरकार बनाउन ठुला दलले मागेको सहायतालाई साना दलले मन्त्री बनेर सौदाबाजी गरे । राजनीतिक दल, दलका नेताले जनअपेक्षा अनुसार काम गरेनन् । त्यसलाई आफूहरु पुरा गर्ने भनेर आश्वसन दिने साना र नयाँ दललाई समेत अहिले सरकारमा जान र मन्त्री बन्न हतारो देखिएको छ । 

प्रधानमन्त्रीले भेटे विमान दुर्घटनाका मृतकका परिवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिंदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिनुभयो । साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

भेटका क्रममा प्रचण्डले परिवारप्रति समवेदना प्रकट गर्दै शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका निर्देशन दिएको बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ । आज बिहान विमानस्थल पुग्नु भएका मन्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको पनि अनुगमन गर्नुभएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा उहाँले विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिनुभएको छ । मन्त्री किरातीले फेरि केही दिनमा अनुगमन गर्ने बताउनु भएको प्रमुख ठाकुरले बताउनु भयो । 

जीवित शिशुलाई मृत घोषणा गरिएको घटनामा छानबिन गर्न समिति गठन

कोसी अस्पतालमा उपचारका लागि लगिएकी १८ दिने शिशु मृत्यु भएको घोषणा गरिएको विषयमा अनुसन्धान गर्न ३ सदस्यीय छानबिन समिति बनाइएको छ । श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएकी शिशुलाई मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषणा गर्नुभएको थियो ।

ती शिशुको अहिले गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।घटनाको छानबिनका लागि अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्यीय समिति गठन गरिएको हो । थप दुई सदस्यमा बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहेको मोरङका सीडीओ काशीराज दाहालले जानकारी दिनुभयो । समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन समय सीमा तोकिएको छ ।

समितिले आजैबाट काम थालेको छ । हिजो बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका–३ की नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि अभिभावकले अस्पताल ल्याएपनि डाक्टरले मृत्यु भइसकेको भनेपछि आकस्मिक कक्षबाट निकालिएकी शिशुले हातखुट्टा चलाएकी थिइन् । आक्रोशित आफन्तले डाक्टरमाथि कुटपिटसमेत गरेका थिए ।

वित्तीय विवरण पठाउन स्थानीय तहलाई मन्त्रालयको पुनः तोकता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई वित्तीय स्थिति विश्लेषणका लागि मागेको तथ्यांक पठाउन पुनः ताकेता गरेको छ ।मन्त्रालयले यसअघि गत ५ भदौमा सबै स्थानीय तहलाई भदौ मसान्तसम्म विवरण पठाउन भनेको थियो ।

तर अहिलेसम्म अधिकांश स्थानीय तहले विवरण नपठाएपछि सामान्यले फेरि ताकेता गरेको हो । मन्त्रालयले स्थानीय तहलाई आन्तरिक आय, बजेट तथा खर्च सम्बन्धी विवरण मागेको थियो । मन्त्रालयले तोकेतासम्बन्धी आज एक सूचना जारी गर्दै अब माघ मसान्तसम्म स्थानीय तहले विवरण पठाउनुपर्ने जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले दिएको निर्देशनलाई स्थानीय तहले बेवास्ता गर्दा मन्त्रालयमा विवरण सम्बन्धी काम गर्न असहज भइरहेको मन्त्रालयका कर्मचारीहरुले गुनासो गरेका छन् ।

कर्णाली प्रदेश 

काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रतिवर्ष १० हजार युवालाई रोजगार दिने योजना निर्माण गर्न कार्यदल गठन गरेको छ।समृद्ध कर्णालीका लागि स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजना निर्माण गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

मन्त्री मंगल शाहीका अनुसार कार्यदलमा प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख सदस्य सचिव हुनेछन् भने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य हुनेछन् । कार्यदलले प्रतिवेदन बनाएपछि त्यसलाई सरकारले दृढतापूर्वक कार्यान्वयन गर्ने मन्त्री शाहीले बताउनु भयो । कार्यदललाई ३० दिनको समयावधि दिइएको छ।

जग्गाको नक्सा परिवर्तन गरेको आरोपमा ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा दायर मुद्दामा दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उनीहरुले रुपन्देही  जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको अख्तियारको दाबी छ ।

सिभिल मलमा युवकले आफ्नै जिउमा आगो लगाए, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौँ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।  उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा आज दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

आर्थिक खबर
चालु खर्च घटाउने अर्थ मन्त्रालयको योजना

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थ मन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु आवको बजेट वक्तव्यको बुँदा नं ३७९ मा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ भन्ने उल्लेख भएअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त मापदण्ड अगाडि सार्नुभएको हो । 

अर्थ मन्त्रालयको मापदण्डानुसार अति आवश्यक बाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गरिनेछ । यस्तै, दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेरिनेछ । अति आवश्यकदेखि बाहेक थोरै र पटके रूपमा प्रयोग हुने सामान स्टक नराख्ने, मन्त्रालयले नियमितरूपमा छाप्ने बजेटसम्बन्धी पुस्तक वा अन्य पुस्तकहरू कम गरी वेबसाइटमा राखिने भएको छ ।

स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने, बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे बापत दिइँदै आएको सुविधा नदिने, यदि दिनै पर्ने भए ५० प्रतिशत मात्र दिने व्यवस्था गरिएको छ । यसबाट सकारात्मक सुरुआत हुने मन्त्रालयले अपेक्षा गरेको छ । 

१३ महिनापछि हट्यो आयातमा नगद मार्जिनको व्यवस्था

काठमाडौँ । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । केन्द्रीय बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।

बिहीबार एकीकृत परिपत्र जारी गर्दै केन्दीय बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ । अब आयातका लागि व्यवसायीले कुनै पनि प्रकारको नगद मार्जिन राख्नु पर्ने छैन । नेपाल राष्ट्र बैंकले ५ पुस २०७८ र २६ माघ २०७८ मा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो । गत महिना केन्द्रीय बैंकको निर्माण सामग्रीहरुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको थियो ।

दिनभरको उतारचढावबीच नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेको हो । सेयर बजार २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो । बिहीबार उपसूचकहरुमा समेत मिश्रित नतिजा देखिएको छ ।

बैकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने अन्य उपसूचकहरु घटेका छन् । बिहीबार २४६ धितोपत्रको ५८ हजार ६६५ वटा कारोबारबाट ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ । आज ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।

विदेशका खबर
कंगोमा सामूहिक चिहान भेटियो

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनाले कंगोमा एउटा सामूहिक चिहान फेला पारेको छ । जसमा बालबालिका र महिलासहित ४९ जनाको शव रहेको छ । इटुरी प्रान्तको न्याम्बा गाउँमा ४२ शव फेला परेका थिए भने प्रान्तीय राजधानी बानियाबाट ३० किलोमिटर टाढा रहेको मबोगी गाउँमा ७ शव फेला परेका थिए ।

संयुक्त राष्ट्रसंघले हत्यामा जातीय मिलिशिया समूह जिम्मेवार रहेको बताएको छ। यस्तै इटुरी प्रान्तको न्याम्बा गाउँमा ६ बालबालिका र १२ महिलासहित ४२ जनाको शव गाडिएको अवस्थामा भेटिएको जनाइएको छ । क्रुर र कायरतापूर्ण हत्या जातीय मिलिशिया समूह कोडेकाले हत्या क्रुरतापूर्ण रुपमा गरेको भन्दै हत्याको निन्दा गरेको छ ।

दुर्गम क्षेत्रमा काम गर्ने कोडेको समुदायलाई विभिन्न समूहमा विभाजन गरिएको छ । कोडेको तर्फबाट भने हमलाबारे कुनै प्रतिक्रिया आएको छैन । संयुक्त राष्ट्र मिशनले डिसेम्बरदेखि कोडके र जाइरे नामक प्रतिद्वन्द्वी मिलिशिया समूहले गरेको आक्रमणमा कम्तीमा १९५ व्यक्तिको मृत्यु भएको र ८४ जना अपहरण भएको जानकारी दिएको छ। इटुरी प्रान्तमा विस्थापितको संख्या बढ्दै गएको र संख्या १५ लाख पुगेको छ । 

खेल खबर

विश्वकपपछि मेसी र रोनाल्डो ‘अन्तिम पटक’ आज आमने–सामने हुँदै

काठमाडौँ । समयकालीन फुटबलका दुई महानतम् खेलाडी, अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आज मैदानमा आमनेसामने हुँदैछन् । विश्वभरका फुटबलप्रेमीका लागि यो एउटा प्रतीक्षित क्षण हुने छ ।

वर्षाैँ देखि फुटबल जगतमा मेसी र रोनाल्डोमा को सर्वोत्कृष्ट भन्ने अनवरत बहस चलिरहेको थियो । तर, यसपालिको विश्वकप मेसीको अर्जेन्टिनाले जितेसँगै यो बहसमा पूर्णविराम लागेको उनका फ्यानहरूले ठानेका छन् । रोनाल्डोले आफ्नो फुटबल करिअरमा धेरै कुरा हासिल गर्न सफल भए पनि विश्वकप ट्रफी उचाल्न सकेनन् । सम्भवतः मेसी र रोनाल्डो आमनेसामने हुने यो अन्तिम मौका पनि हुन सक्नेछ ।

विश्वकपको निराशाजनक यात्रापछि रोनाल्डो साउदी क्लब अल नासरमा आबद्ध भएका थिए । मेसी भने विश्व चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा छन् । मेसीको पीएसजी र रोनाल्डोको साउदी अल स्टार ११ बीच आज मैत्रीपूर्ण फुटबल हुन लागेको हो । खेल नेपाली समयअनुसार १०ः४५ मा सुरु हुनेछ ।