Live Streaming

अन्नपूर्ण दिनभर : उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी, विदेशबाट ल्याइने मोबाईलमा दोहोरो चरित्र 

उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरी रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबै जनाले आज नयाँ बानेश्वरस्थित संसद सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । इन्दिराको प्रस्तावकमा रास्वपाकै सोविता गौतम रहनुभएको छ भने  समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन हुनुहुन्छ । मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । 

उहाँको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्छ । इन्दिरालाई सत्तारुप गठबन्धनको साथ रहेकाले उनको जित लगभग पक्का जस्तै छ ।

संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आजका लागि तोकेको थियो । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भोलिको बैठकमा अनिवार्य उपस्थित हुन र मुक्ताको पक्षमा मतदान गर्न ह्पि जारी गर्नुभएको छ । 

साथै निर्वाचनको बेला तथष्ट नबस्न निर्देशन दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । तर सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका  नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित बन्नुभएको थियो ।

संसद्मा सबैको प्रभावकारी सहयोगको अपेक्षा गरेको छु : सभामुख घिमिरे

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पदबहाली गर्नुभएको छ । आज अपरान्ह सभामुख घिमिरेले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै उहाँले आफ्नो पहिलो निर्णय पनि गर्नुभएको छ ।

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुका लागि संसदीय अभ्यास र प्रक्रियासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गर्नुभएको हो । कार्यक्रम कहिले र कहाँ गर्ने निर्णय भने भएको छैन । 

नवनियुक्त सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै पक्षको सहयोग हुने अपेक्षा गरेको बताउनुभएको छ । संसद् सचिवालय सिंहदरबारमा कार्यभार सम्हाल्दै घिमिरेले नयाँ संविधान बनेपछि एक पटक संसद्को अभ्यास गरिसकेको भन्दै यसलाई अझै बढी मर्यादित र व्यवस्थित बनाउने बताउनुभएको हो ।

झापा २ बाट नर्वाचित घिमिरे हिजो सभामुखमा निर्वाचित हनुभएको थियो । एमालेका नेता घिमिरेलाई सत्तारुढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो । सभामुख घिमिरेले आफू नेकपा एमालेसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ ।

थप एक मन्त्रालय दिन प्रधानमन्त्रीले मागे जनमतसँग आइतबारसम्मको समय

काठमाडौँ । मन्त्रालय वितरणको बिषयमा सरकारसँग असन्तुष्ट बनेको जनमत पार्टीले थप एक मन्त्रालय मागेको छ । उद्योग मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट छ । उसले उद्योग मनत्रालय नपाए खानेपानीसंगै अर्को मन्त्रालय पनि मागेको हो ।

पार्टको सो मागपछि प्रधानमन्त्री प्रचण्डले आफूसँग रहेको वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमध्ये एउटा जनमतलाई दिने परिस्थिति बन्न सक्ने आश्वासन दिनुभएको छ । पार्टी अध्यक्ष डा. सीके राउत र प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आइतवारसम्मको लागि समय माग्नुभएको छ । 

विना विभागिय मन्त्री रहनुभएका अब्दुल खानले भने प्रधानमन्त्री प्रचण्डले हुकुमी प्रणालीको विकास गर्न खोजेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै मन्त्री खानले आफूहरुसंग छलफल नै नगरि मन्त्रालय फेरीएको बताउनुभएको हो । 

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री शर्मालाई २५ जना सांसदले समर्थन गर्दा  विपक्षमा १४ खसेको छ ।

४० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २१ जना सांसदको समर्थन आवश्यक थियो ।  शर्मालाई माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले मत दिएका छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट १–१ सांसद छन्। संसदको ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको छ ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आवश्यक परेका बेला सहयोग गर्ने गरेर विपक्षमा मतदान गरेको बताउनुभयो ।  कर्णाली प्रदेशसभामा कांग्रेसका १४ सांसद रहेका छन् ।

प्रदेश १ मा १३ मन्त्रालयबाट ९ मा झारियो 

काठमाडौँ । प्रदेश १ मा रहेका १३ मन्त्रालयलाई ९ वटामा झारिएको छ । पहिलो प्रदेश सरकार गठन हुँदा ७ मन्त्रालय रहेकोमा राजेन्द्र राई मुख्यमन्त्री हु्रँदा १३ पुर्याइएको थियो । अहिले भने १३ मन्त्रालयलाई ९ मा झार्न लागिएको छ । मन्त्रालय बाँडफाँटको विषय अनौपचारिक रुपमा टुंगिए पनि औपचारिक निर्णय गर्न भने बाँकी रहेको छ ।

प्रदेश १ मा सरकारमा गएका दलहरूका बीचमा मन्त्रालय बाँडफाँटका विषयमा दुई दिनदेखि औपचारिक र अनौपचारिक बैठक चलेको थियो । बैठकले मन्त्रालय बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको बैठकमा सहभागी रहेका एक नेताले बताएका छन् । प्रदेश १ को मुख्यमन्त्री हिक्मत कार्की भएसँगै पहिलो बैठकले अहिले भएका १३ वटा मन्त्रालयबाट घटाएर ९ वटा मन्त्रालय बनाउने निर्णय गरिएको थियो ।

निर्णयअनुसार प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सामाजिक विकास मन्त्रालय हुनेछन् । यस्तै पर्यटन उद्योग वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय बन्ने छन् ।   

देशको कूटनीतिक सम्वन्धलाई अघिल्लो सरकारले भताभुंग पारेको आरोप   छ: केपी ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीले देशको कूटनीतिक सम्वन्धलाई अघिल्लो सरकारले भताभुंग पारेको आरोप लगाउनुभएको छ ।

नयाँ बनेको सरकारले कूटनीतिलाई ठीक ठाउँमा ल्याएर छिमेकसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । एमालेको परराष्ट्र विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने उल्लेख गर्नुभयो । छिमेकमा बसेर छिमेकको अहित गर्ने काम गर्नु नहुने ओलीको भनाइ छ ।

नेपालले छिमेकीको विल्कुलै कुभलो नगरिकन उनीहरूको चासो र चिन्तालाई सम्वोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ओलीले विगत सरकारको समयमा छिमेक सम्बन्ध असन्तुलित, विवादास्पद र बेढंगी रुपमा चलेको बताउनुभएको छ । 

प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनु भएको छ । आज बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि पहल अघि बढाउने आश्वासन दिनुभएको हो ।

अघिल्लो सरकारसँग भएको सम्झौता हेरेर मिटरब्याजी समस्यासमाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । प्रधानमन्त्रीसँगको भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा गर्नुभएको छ । आज बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्नुभएको हो । अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उहाँको विश्वास छ । 

नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकोमा केन्द्रले त्यो अवस्थालाई धेरै हदसम्म रोक्न  भूमिका खेलेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । नेपालको स्वास्थ्य क्षेत्रलाई परिस्कृत बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन 

काठमाडौँ । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताउनुभएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताउनु भयो ।

सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनैपनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने उहाँँको भनाइ छ । 

मन्त्री किराँतीको चेतावनी 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले इमान्दारीका साथ काम नगरे कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

आज हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्ष प्रदीप अधिकारीलाई सँगै राखेर मन्त्री किराँतीले बाहिर केही नराम्रा कुरा सुनेको र यदि त्यस्तो हो भने मन्त्रालयबाट नै निर्णय गरेर अख्तियार पठाउने बताउनुभएको हो ।

हवाई यात्रामा यात्रुको असुविधालाई छानबिन गर्न हिजोमात्रै समिति बनेको छ । छानबिन समितिमाथि नै अर्को समिति बनाउन नपरोस भन्दै उहाँले चेतावनी दिनुभएको हो । 

जात, रंग र विचारको आधारमा भेदभाव नगरी काम गर्न आफू मन्त्री बनेर आएको उहाँले स्पष्ट पार्नुभयो । क्यानका कर्मचारीसँग भएको छलफलमा मन्त्री किराँतीले नियामक निकायले गर्नुपर्ने र कुनै समस्या आयो भने त्यसको समाधान गर्न आफू लागिपर्नेमा जोड दिनुभयो ।

आर्थिक खबर
बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गर्नुभएको छ । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गर्नुभएको हो ।

चालु आर्थिक वर्षमा विश्व बैङ्कबाट बजेटरी सहायता प्राप्त हुने गरी स्रोत सुनिश्चितता भएका योजना तथा कार्यक्रमका लागि आवश्यक पूर्वकार्य पूरा गर्न अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह प्रतिबद्धता पनि पौडेलले बताउनुभयो । आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले आवस्यक पहल गर्ने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ । 

विदेशका खबर
फ्रान्सभर विरोध प्रदर्शन 

काठमाडौँ । निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको बिरोधमा फान्सभर विरोध प्रदर्शन भएको छ । आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भएका हुन् । देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

गृह मन्त्रालयले १२ लाख जनता सडकमा उत्रिएका र राजधानी पेरिसमा ८० हजार मानिस विरोधमा खडा भएका बताए पनि कट्टर वामपन्थी युनियन सिजिटीले देशभर २० लाखभन्दा बढी सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएका दाबी गरेको छ । पेरिसमा मात्र चार लाख प्रदर्शनकारी राष्ट्रपति म्याक्रोँको योजनाको विपक्षमा सडक आन्दोलनमा आएका बताएको छ । 

पेरिसको बास्टिल क्षेत्र वरपर केही प्रदर्शनकारीले प्रहरीमाथि बोतल, खानेकुरा ‘प्याक’ गर्ने टिनका डिब्बाले प्रहार गरेका थिए भने प्रहरीले पनि ग्रिनेड र अश्रु ग्यास हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए ।

हिजो प्रदर्शनकारीले रेल सेवा ठप्प पार्नका साथै विद्युत् आपूर्तिमा पनि अवरोध खडा गरेका थिए । कर्मचारी सङ्घसङ्गठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन सङ्र्घबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् । 

खेल खबर
ए डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक 

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज एन्फा कम्प्लेक्समा ’ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । 

लिगका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन् । रंगशालामा हुने उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यस पटक चर्च ब्वाइज युनाईटेड फुटबल क्लब र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ ।

नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ । साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । 

पिएम कप क्रिकेट 

काठमाडौँ । सुदूरपश्चिम प्रदेश र प्रदेश १  प्रधानमन्त्री कप राष्ट्रिय महिला टी—२० क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा आज  भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश–१ उपाधि नजिक पुगेको हो ।

अब प्रदेश–१ ले उपाधिका लागि सुदुरपश्चिम प्रदेशसँग भोलि प्रतिस्पर्धा गर्नेछ । एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश–१ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । प्रदेश–१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडिन ।

अप्सरी बेगम ९ रनमा अविजित रहिन् । काजल श्रेष्ठ ९ र लकिता राजवंशी १ रनमा आउट भईन् । त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १३ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन जोडेको थियो । 

आजै भएको पहिलो खेलमा मधेश प्रदेशमाथि ११४ रनको प्रभावशाली जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १८० रनको विशाल योगफल खडा गरेको थियो । प्रतियोगितामा अहिलेसम्म कुनै पनि टिमले बनाएको यो सबैभन्दा ठूलो योगफल हो ।

सुदूरपश्चिमका ओपनरद्वय कप्तान विन्दू रावल र कविता कुँवरले १२८ रनको साझेदारी गरेका थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।