Live Streaming

अन्नपूर्ण दिनभर : हत्या आरोपित सांसद पक्राउ नपरेपछि गृहमन्त्री चौतर्फी प्रश्न,उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

उपसभामुख इन्दिरा रानामगर

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको उपसभामुखको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  आज उपसभामुखमा निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै विपक्षी दलका सांसदले समेत उठाएका मुद्दाहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफूले इमान्दार प्रयास गर्ने बताउनुभएको हो । उपसभामुख रानामगरले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर संसदको काम अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताउनुभयो ।  

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिराले १६६ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसकि उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मत पाउनुभयो । मतविभाजनमा प्रतिनिधिसभाका कुल २७५ सांसदमध्ये २६४ सांसद सहभागि भएका थिए ।  निर्वाचित रानालाई रास्वपा सहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत दलहरुको साथ थियो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ बस्नुभयो ।  रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । 

आजको बैठकमा सांसदहरुले महिलाको सहभागिताका बिषय कुरा उठाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलहरुले महिलालाई दोश्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरेको बताउनुभएको छ । दलहरुले महिलालाई सभामुख नबनाई उप–सभामुख बनाएको विरोध जनाउनुभयो । नेपाल पृतिसत्तात्मक समाज रहेकाले महिलालाई दोश्रो दर्जा दिईएको बताउनुभयो । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सोविता गौतमले आज पहिलोपटक संसदमा सम्बोधन गर्नुभएको छ । संसदीय भूमिकाको महत्वबारे आफ्नो धारणा राख्दै गौतमले संविधानको भावनालाई आत्मसाथ गर्न सकियो भने मात्रै शिशु लोकतन्त्रलाई अगाडि बढाउन सकिने बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते दिनको १ बजे बस्नेछ ।

गृहमन्त्रीको निर्देशनपछि पनि पक्राउ परेनन् फरार सांसद महतो

काठमाडौँ । महोत्तरी १ मा नेकपा एमालेबाट निर्वाचत हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रवि लामिछाने चौतर्फी प्रश्नको घेरामा पर्नुभएको छ । मधेश आन्दोलनको समयमा लखेटी–लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको अभियोग लागेका कोईरी मन्त्रीकै वरीपरि घुम्दा समेत पक्राउ गर्न नसकेको भन्दै आलोचना भएको हो । 

गत पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन उपस्थित भएको बिषयमा पत्रकारहरुले मन्त्री लामिछानेलाई जानकारी गराएलगत्तै उहाँले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिईसकेको जवाफ दिनुभयो । तर माघ ५ गते भएको सभामुख निर्वाचनमा समेत सांसद कोईरी उपस्थित भएको बताईएको थियो ।

तर मन्त्री लामिछानेले निर्देशन दिएकै १ साता बित्दा समेत पक्राउ पर्न सकेका छैनन् । त्यसमाथि हिजो गृहमन्त्रालयले प्रहरीलाई पटक–पटक निर्देशन दिँदा समेत पक्राउ नगरेको भन्दै विज्ञप्ती नै जारी गरेपछि आन्तरिक सूचना बाहिर ल्याएको र मन्त्रीले स्टन्ट गर्न खोखिएको भन्दै आलोचनाले झनै स्थान पाएको छ ।

त्यस बिषयमा आज बसेको प्रतिनिधिसभाको बैठकमा समेत नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रीले सस्तो लोकप्रियताका लागि मिडियामा हौवा फैलाउन वक्तब्यवाजी गरेको आरोप लगाउनुभएको छ । खतिवडाले गृह मन्त्रालयबाट गएराति जारी भएको वक्तव्य अपराध संहिताविपरीत भएको भन्दै यसलाई गृहमन्त्रीको फण्डाको संज्ञा दिनुभएको हो । सांसद खतिवडाले गृहमन्त्रीतर्फ संकेत गर्दै नागरिकता र पासपोर्टको समेत छानबिन भइरहेकाले सभामुखबाट रुलिङ माग गर्नुभएको थियो । 

त्यसको जवाफमा मन्त्री लाछिमाछानेले प्रकृयामा प्रश्न उठ्नु स्वभाविक भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उहाँले प्रकृया सुरु भईसकेकाले बोल्नू भन्दापछि नतीजाले देखाउने बताउनुभयो । यता नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लले पनि प्रहरीले सहयोग गरेन भनेर तालुकदार मन्त्रालयले विज्ञप्ती निकाल्नु हास्यास्पद् भएको बताउनुभएको छ ।

रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै मल्लले गृह र प्रहरीबीच केही समस्या भए आपसी समझदारीमा छलफल गरेर सुल्झाउनुपर्नेमा बाहिर छताछुल्ल पार्न नहुने उहाँको भनाई छ । यस्तै मल्लले यसो हुनुमा गृहमन्त्रीको प्रशासनिक क्षमताको कमजोरी मुख्य कारक रहेको बताउनुभयो । 

केपी ओली समर्थितहरूको विजयबाट संविधानमाथि खतरा बढ्यो

काठमाडौँ । सभामुख र उपसभामुख निर्वाचनमा पराजित भएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले केपी ओलीबाट संविधानमाथि खतरा रहेकाले प्रधानमन्त्री प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने टिप्पणी गरेको छ । उपसभामुख निर्वाचनपछि संसदबाट बाहिरिने क्रममा कांग्रेस प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतले केपी ओलीको समर्थन भइरहेका उम्मेदवारको विजयले संविधानमाथि खतरा बढेको बताउनुभयो । उहाँले अन्य दलहरूले पनि सत्ता स्वार्थमा केपी ओलीसामु टाउको लुकाएर बसेको आरोप समेत लगाउनुभएको छ । 

माधव नेपालको चेतावनी 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ने चेतावनी दिनुभएको छ । पार्टीको रौतहट काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले  रौतहटका कार्यकर्तालाई यस्तो चेतावनी दिनुभएको हो । अध्यक्ष नेपालले   संघ र प्रदेशको चुनावमा  घण्टी चुनाव चिन्हलाई भोट हालेकाहरुले इमान्दारपूर्वक स्कीकार गर्न  आग्रह गर्नुभएको हो । 

माओवादी र समाजवादीबीच एकताका लागि भयो यस्तो सहमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)  र नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ ।दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान,प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठले बताउनुभयो । नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ । माघ १० गते अर्को बैठक बसेर टुंगो लगाइने उहाँको भनाई छ । 

वाग्मती सरकार मन्त्रिपरिषद 

काठमाडौँ । वागमती प्रदेशमा  मन्त्रिपरिषद् विस्तार माघ १० पछि मात्रै हुने भएको छ । गत पुस २६ गते शपथ लिएपछि मुख्यमन्त्रीको कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले १५ दिनभित्र मन्त्रालय घटाउनेगरी प्रतिवेदन तयार पार्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल निर्माण गरेको निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यदलले माघ ९ सम्ममा प्रतिवेदन पेश गर्ने र १० गतेबाट मन्त्रिपरिषद् विस्तारको कामहरू सुरु हुने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । १४ वटा मन्त्रालयलाई घटाएर घटीमा ९ र बढीमा ११ वटा बनाउने तयारीमा प्रदेश सरकार जुटेको छ ।

वागमती प्रदेशसभामा सहभागी रहेको नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी बाहेकका दलहरूले जम्कट्टेल मुख्यमन्त्री नियुक्त हुँदा उहाँको समर्थन गरेका थिए । एमाले, माओवादी, राप्रपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सरकारमा प्रतिनिधित्व गर्नुपर्ने र मन्त्रालय पनि घटाउनुपर्ने बाध्यताबिच जम्कट्टेलाई मन्त्रिपरिषद् बिस्तारमा समस्या परेको देखिएको छ ।

११ मन्त्रालय हुँदाको अवस्थामा एमालेले सभामुख र मुख्यमन्त्री छाडेको भन्दै कम्तीमा पाँच मन्त्रालयको दाबी गरेको छ । माओवादी पनि कम्तीमा ४ मन्त्रालय आफ्नो भागमा रहनुपर्ने अडान राखेको छ । राप्रपाले ३, एकीकृत समाजवादीले २ तथा हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेको छ । 

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

काठमाडौँ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त हुनुभएको छ । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यसअघि गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला हुनुहुन्थ्यो । सरकार  परिवर्तनसँगै उहाँले पदबाट राजीनामा दिनुभएको थियो । 

विमानको ब्याल्क बक्स फ्रान्स पठाइने 

काठमाडौँ । पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिको जानकारी दिनुभयो ।

उहाँले विमान निर्माता कम्पनीले आफ्नै किसिमले डाटा विश्लेषण गर्ने भएकाले फ्रान्स पठाउन लागिएको जानकारी दिनुभयो ।  दुर्घटनापछि हुने अनुसन्धानको स्वतन्त्र विश्लेषणका लागि विमान निर्माता कम्पनीसमक्ष नै ब्ल्याक बक्स पठाउन लागिएको बताइएको छ । ब्ल्याक बक्ससहित दुर्घटना जाँच आयोगका विज्ञ टोली पनि फ्रान्स जानेछन् । आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात सङ्कलन तथा विज्ञसँग छलफल गरिसकेको छ ।

विमान दुर्घटनापछि एटिआर विमान निर्माता कम्पनीबाट आएको नौ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ । सहसचिव लामिछानेले आयोगको सुपरीवेक्षणमा रहेर उक्त टोलीले आवश्यक अध्ययन गरेको र आयोगसँग समन्वय गर्दै र आवश्यक परे फेरि नेपाल आउने गरी स्वदेश फर्किएको जानकारी दिनुभयो । 

ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट माघ २ गते बिहान भेटिएको थियो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । काठमाण्डौबाट पोखराका लागि उडेको यती एअरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खाँेचमा दुर्घटना भएको थियो । त्यस विमानमा सवार चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी एकजनाको खोजी जारी छ । सरकारले विमान दुर्घटनाबारे जाँच गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

आर्थिक क्षेत्र सुधारको लागि चुनौती खडा : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको ५६औं वार्षिकोत्सवका अवसरमा आज  काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्नुपर्ने समयमा समेत पुँजीगत खर्च १४ १५ प्रतिशत मात्रै हुनु अर्थतन्त्रमा ठुलो चुनौती भएको बताउनुभएको हो । गत वर्ष यही समयमा राजस्व परिचालनभन्दा पनि यस वर्ष झन पछाडि परेको उहाँको भनाइ छ ।

आर्थिक दृष्टिकोणले खडा भएको चुनौती सामना गदै आर्थिक सामर्थ्य राम्रो बनाउने अभियानमा सरकारलाई सबैको साथ चाहिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । अर्थमन्त्री पौडेलले खर्च कटौती र मितव्ययिताका लागि कृषि विकास बैंकको साथ पाउने जिकिर समेत गर्नुभयो ।

संयुक्त राष्ट्रसंघको चेतावनी
काठमाडौँ । लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान–इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा कडा निगरानी गर्न र तनाव कम गर्न मैदानमा तम्तयार रहेको बताएको छ । प्रवक्ता टेनेन्तीको यस्तो टिप्पणी लेबनानको दक्षिणी सिमानामा तनाव बढेको दुई दिनपछि सार्वजनिक भएको हो । लेबनान र इजरायलको सीमा क्षेत्रमा केही समयदेखि तनाव बढेको छ । 

न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री

काठमाडौँ । क्रिस हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जसिन्डा आर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले जनाएको छ । सन् २००८ मा पहिलो पटक सांसद चुनिएका उहाँ नोभेम्बर २०२० मा कोभिड–१९ विशेष मन्त्री बन्नुभएको थियो । हिपकिन्स अहिले प्रहरी, शिक्षा तथा सार्वजनिक सेवा मन्त्री हुनुहुन्छ ।

प्रधानमन्त्री आर्डर्नले आउँदो फेब्रुअरी ७ तारिखमा पद छोड्ने घोषणा गरिसक्नुभएको छ । प्रधानमन्त्री बन्नुअघि हिपकिन्सलाई प्रतिनिधि सभामा लेबर पार्टीको औपचारिक समर्थनको आवश्यकता पर्नेछ । यदि हिपकिन्सले समर्थन पाएमा आर्डर्नले फेब्रुअरी ७ मा गभर्नर जनरललाई राजीनामा बुझाउनुहुनेछ । त्यसपछि हिपकिन्स नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुहुनेछ । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएपछि आर्डर्न विश्वकै कान्छी महिला सरकार प्रमुख समेत बन्नुभएको थियो । 

खेल खबर 
प्रदेश–१ लाई हराउँदै सुदुरपश्चिम च्याम्पियन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा आज भएको फाइनलमा प्रदेश–१ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो । उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश–१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रदेश–१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो । सुदुरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन । कविता जोशी १९ रनमा अविजित रहिन् । डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन जोडिन । प्रदेश–१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १÷१ विकेट लिए ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।