Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेसले दाबी गर्यो प्रमुख प्रतिपक्षीमा, पश्चिमा संस्कृतिको प्रभुत्व बढेको भन्दै प्रधानमन्त्रीको असन्तुष्टी

नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढेको भन्दै प्रधानमन्त्री असन्तुष्ट 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । आज तामाङ समुदायको पर्व ल्होछारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा विदेशी संस्कृतिको प्रभाव बढेको भन्दै दुःख ब्यक्त गर्नुभएको हो ।

ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो रहेको दाहालको भनाइ थियो । उहाँले मानव जातीले कृषिको सुरुवात गरेसँगै यो परम्पराको सुरुवात भएको बताउनुभयो । उहाँले विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने कुचेष्टा भइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले  अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाइँ जारी रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको समेत बताउनुभयो ।

उहाँले उत्पीडित जातिहरुलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाईं गरेको स्मरण गर्नुभयो । नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेकोमा उहाँको जोड छ ।

नयाँ राष्ट्रपति रिपोर्ट 

काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चुन्ने दाउमा छ । तर नेकपा एमाले भने भद्र सहमति अनुसार आफूले राष्ट्रपति पद पाउनु पर्ने नत्र गठबन्धन तोड्ने धम्की दिदै आएको छ । नेपाली कांग्रेस भने आफूले प्रधानमन्त्रीमा विश्वासको मत दिएकाले राष्ट्रपति आफूले पाउनुपर्ने अडानमा छ । यसरी संवैधानिक पद,राष्ट्रपति पदका बिषयमा अहिले नेपाली राजनीतिक वृत्तमा तानातान बढेको छ । 
  
कांग्रेसले दाबी गर्यो प्रमुख प्रतिपक्षी 

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा मागदाबीसहित निवेदन दिएको छ । नेपाल मजदुर किसान पार्टीको निवेदन पनि यसअघि नै दर्ता भइसकेको छ । सांसद सुविधा व्यवस्थापन शाखामा कांग्रेस संसदीय दलले निवेदन दिएको हो ।

कांग्रेसको पत्रमा प्रमुख विपक्षी दलको नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिन माग गरिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । 

अहिलेसम्म प्रमुख प्रतिपक्षी दलको विषयमा केही निर्णय भइसकेको छैन् ।कांग्रेस संसदीय दलको निवेदनउपर निर्णयको विशेषाधिकार सभामुखमा निहीत रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि विपक्षी दलको हैसियत गुमाएको भन्दै कांग्रेसमाथि टिप्पणी भइरहेको छ । नेमकिपाले सरकारलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै प्रतिपक्षीको मान्यता दिन माग गर्दै आएको छ । 

सांसद प्रेम सुवालले सदनमै सरकारलाई विश्वासको मत दिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष हुन नसक्ने बताउनुभएको थियो ।

संसदको प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पारिश्रमिकको साथमा विशेष भत्ता, बैठक भत्ता, सञ्चार, आवास, फर्निचर, सचिवालय, सुरक्षाकर्मी तथा केही कर्मचारी सुविधा प्राप्त गर्ने संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनमा व्यवस्था रहेको छ ।

कांग्रेस संस्थापन इतर समूहको बैठक 

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनु गलत भएको बताउनुभएको छ । आज बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको संस्थापनइतर समूहको बैठकमा उहाँले पार्टीले लिएको निर्णयले पार्टीलाई नै क्षति भइरहेको बताउनुभएको हो ।

विश्वासको मत दिनु त्रुटिपूर्ण भएको र आफुले  तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समिति बैठकमा राखेको कोइरालाको भनाइ छ । यस्तै उहाँले बहुमतको निर्णय मान्नुपर्ने बाध्यता परेको बताउनुभयो ।

यस्तै बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजेका छन् । बैठकमा संसदमा पहिलो पार्टी बनेपनि गठबन्धन टुट्नुको कारणबारे छलफल भएको केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले जानकारी दिनुभयो । अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कुरा उठेको उहाँले बताउनुभयो । 

यस्तै बैठकमा उपसभापति धनराज गुरुङले नेताहरूको महत्वाकांक्षालाई बेलैमा लगाम लगाइनुपर्ने सुझाव दिनुभएको छ । कांग्रेस रुपान्तरण र सुधार अभियानको नेतृत्व शेखर कोइरालाले गर्नुपर्ने भन्दै एउटै व्यक्तिलाई नेता मान्नुपर्ने बताउनुभयो ।

सो समूहबाट गगन थापा दलको नेतामा उम्मेदवार बनेपछि समूहको नेता को भन्ने बहस चलिरहेको छ । पछिल्लो कार्य सम्पादन समिति बैठकमा गगन थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा नोट अफ डिसेन्ट लेख्दा शेखर र धनराज भने मौन बस्नुभएको थियो ।
जसपामा राई र यादवबीच खटपट

काठमाडौँ । जसपा नेता अशोक राई र उपेन्द्र यादवबीच आन्तरिक विवाद भएपछि उपेन्द्र यादवलाई दबाब बढेको छ ।
जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई पुनः एमालेतिर नजिक भएको खबरसपछि उपेन्द्र यादव दबाबमा पर्नुभएको हो । गत मङ्सिर ४ को चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट पराजित भएपछि जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता रामसहाय यादव बन्नुभएको थियो ।

जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी–१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ रहनुभएका नेता राईलाई संसदीय दलको नेता नबनाएर  उपेन्द्र यादवले बारा–२ बाट निर्वाचित रामसहाय यादव निर्विरोध दलको नेता बनाएपछि राईले असुरक्षित महसुस गर्नुभएको बताइएको छ । राई एमालेसँग नजिक भएको खबरसँगै उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो असन्तुष्टि राखेको बताइएको छ ।

मन्त्रालय नमिलेको भन्दै यादवले सरकारमा जान अस्वीकार गरेपछि ओलीले मिलाउने आश्वासन दिएको जनाइएको छ । यसैबीच जसपा संसदीय दलका नेता रामसहाय यादवले अशोक राईसँग सम्बन्ध चिसिएको खबर भ्रम फैलाउने प्रयास भएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालसँग कुरा गर्दै उहाँले आफुलाई संसदीय दल उपेन्द्र यादवले बनाएको भन्ने कुरा तथ्यहीन भएको बताउनुभएको छ । यस्तै मन्त्रालय भागबन्डामा भने एमालेले विभेद गरेको उहाँको भनाइ छ । 

राष्ट्रियसभा उपनिर्वाचनको तयारी तिव्र

काठमाडौँ । माघ २५ गते हुने लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी सुरु भएको छ । लुम्बिनीमा राष्ट्रियसभाको एक रिक्त सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा  उपनिर्वाचन हुन लागेको छ । प्रतिनिधिसभा उम्मेदवार बन्ने भन्दै भट्टराईले पदबाट राजीनामा दिएपनि अन्तिममा उनले पार्टीबाट टिकट पाउनुभएको थिएन । 

उपनिर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन कार्यालयले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने उपनिर्वाचनका लागि माघ ८ गते मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी विरोध वा उजुरी, माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ ।

त्यसैगरी माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्ने पाउने व्यवस्था छ । निर्वाचनका लागि सत्तारुढ दलबाट एमाले र विपक्षी कांग्रेसले उम्मेदवार उठाउने तयारी गरेका छन् । 

सञ्चार र अर्थमन्त्रीबीच भेटवार्ता 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच बजेटबारे आज छलफल भएको छ । छलफलको क्रममा मन्त्री शर्माले स्वास्थ्य र विकास निर्माणमा बजेट विनियोजन गर्न माग गर्नुभएको छ । आज अर्थमन्त्री पौडेलको निवासमा भएको छलफलमा मन्त्री शर्माले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई सञ्चालन गर्न बजेट माग गर्नुभएको हो ।

यस्तै शर्माले दाङको घोराही तुलसीपुर सडक खण्डको फोरलेन सडक र दाङको टरिगाउँ एयर्पोटमा ७२ सिटे जहाज चल्ने व्यवस्था गर्न माग गर्नुुभयो । उहाँले दाङ खण्डकै हुलाकी राजमार्ग छिटो बन्नुपर्नेमा पनि मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछाने, रजिष्टार प्रकाश थापा, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज शर्माको आग्रहमा मन्त्री शर्माले अर्थ मन्त्रीलाई भेटेर बजेट माग गर्नुभएको हो । 

अझै १४ शबको पहिचान हुन बाँकी

काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन सकेको छैन् । काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिनुभयो ।

ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको उहाँको भनाइ छ । आज साँझसम्म शव पहिचान गर्ने कोसिस गर्ने अस्पतालले जनाएको छ । फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डीएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताउनुभयो ।

डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उहाँले बताउनुभयो ।  फरेन्सिक जाँचका लागि काठमाडौँ ४८ शव ल्याइएको थियो । यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको थियो । यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो ।

भेरी अस्पतालमा दैनिक १८ मृगौला रोगीको निशुल्क डायलासिस 

काठमाडौँ । नेपालगञ्जको भेरी अस्पतालमा दैनिक १८ जना मृगौला रोगीको निःशुल्क डायलाइसिस हुने भएको छ । अस्पतालले यसभन्दा अगाडि तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिदै आएको थियो । अब ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आज भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गर्नुभएको थियो । त्यस्तै संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

स्वतन्त्र सांसद जसपामा प्रवेश

काठमाडौँ । मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । स्वतन्त्र सांसदद्वय सुरिता साह र प्रमोद कुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो । साह महोत्तरी क्षेत्र नम्बर २ (२) र जैसवाल पर्सा क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्रबाट निर्वाचित बन्नुभएको थियो । दुवै जनालाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो ।  योसँगै जसपाको यो प्रदेशमा १८ सांसद पुगेका छन् ।

धरानमा हर्कले चलाए डोजर

काठमाडौँ । काठमाडौं महानगरको सिको गर्दै धरान उपमहानगरपालिकाले पनि सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन डोजर चलाएको छ । आज  धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो ।

डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ । धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकालेआज बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो । 

धरान–५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एकतले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले जानकारी दिनुभयो ।

उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ । धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेकोले र पटकपटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिनुभयो ।

उपमहानगरको टोली घर भत्काउन आएपछि अन्तरिम आदेश माग गर्दै घरधनी मुना चौधरी लिम्बू सुनसरी जिल्ला अदालत पुग्नुभएको थियो  अदालतले निवेदकले माग गरेअनुरुप अन्तरिम आदेश जारी गरिरहनु नपर्ने बताएको थियो ।

भारतमा हत्या काण्ड : दुई जना पक्राउ 

काठमाडौँ । जनकपुर धामका दुई युवकको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो  ।

घटनामा संलग्न भएको आशंकामा दुई जना नेपाली नागरिक पक्राउ परेका हुन् । यस्तै भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको क्षेत्रीले बताउनुभयो । १३ दिनअघिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी २२ वर्षीय विष्णु साहको हत्या भएको थियो। मृतक दुवै जना एकै परिवारका हुन् ।

रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्ला गएको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तहरुले बताएका छन् । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनुभयो ।

सवारी दुर्घटना 

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा भएको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।वीरेन्द्रनगर नगरपालिका वडा नं ११ को झुप्रो खोला भन्ने स्थानमा आज विहान जीप दुर्घटना हुँदा जीपमा सवार पाँच जना मध्ये चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सुर्खेत नगरपालिका वडा नं ७ का जीप चालक २७ वर्षीय सागर शाही, डुंगेश्वर गाउँपालिका वडा नं ५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका वडा नं ५ का ३१ वर्षीय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका वडा नं ३ का ३६ वर्षीय राजेन्द्र विसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरु चारै जनाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्य भएको हो । घाइते एक जनाको सोही अस्पतालमा उपचार भईरहेको सुर्खेत प्रहरीले जनाएको छ । जीप सडकबाट ७०÷८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ऋण तिर्न नसक्दा गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प

काठमाडौँ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम  ऋण तिर्न नसक्दा ठप्प भएको छ । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र १८ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो ।

भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा लालपुर्जा भएको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरिरहेको  २० बिघा ६ कठ्ठा जग्गा उपलव्ध गराएको थियो । निर्माणको समयमा अत्यधिक ऋण भएपछि कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । 

विसं २०७५ माघ १६ मा महानगरपालिका र फाउण्डेसनबीच भएको सहमति अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख थियो । सहमतिपत्रमा रङ्गशाला निर्माणका क्रममा ऋण लागे फाउण्डेसन वा महानगर कसको दायित्वमा पर्ने उल्लेख नभएकाले समस्या भएको उहाँको भनाइ छ । सङ्घीय सरकारले रङ्गशाला निर्माणका लागि  २२ करोड र प्रदेश सरकारले  पाँच करोड बजेट विनियोजन गरिसकेको छ । भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट  आठ करोड खर्च गरिसकेको छ । 

आर्थिक खबर
बैंकको आधार दर बढ्यो 

काठमाडौँ । बैंकहरूको आधारदर बढ्दा कर्जाको ब्याजदरसमेत बढ्ने भएको छ । पुस मसान्तसम्म सार्वजनिक गरेको बैंकहरूको प्रतिवेदनअनुसार २० वटै वाणिज्य बैंकको आधारदर (बेसरेट) १.९९ प्रतिशत देखि ३.५३ प्रतिशतसम्म बढेको हो । यो प्रतिवेदको आधार दर माघदेखि लागू हुने भएकाले ब्याजदर स्वाभाविकरूपमा बढ्ने देखिएको छ ।

आधारदर बढ्दा पुराना ऋणको ब्याजदर नघट्ने नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले जानकारी दिनुभयो । नयाँ ऋणीको हकमा बैंकहरूले प्रिमियम कम गरेर केही कम ब्याजमा ऋण प्रवाह गर्न सक्ने उहाँको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रयोग गर्ने ऋणीलाई समान रूपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरू समावेश गरिएको दर नै आधार ब्याजदर हो ।

बैंकहरूले हरेक त्रैमासमा आधारदर प्रकाशित गर्ने गरेका छन् । केही दिनअघि निक्षेपको ब्याजदर घटाएका बैंकहरूले क्रमशः कर्जाको ब्याजदरसमेत कम हुँदै जाने आँकलन गरेका थिए । तर, आकाशिएको आधारदरले ऋणीलाई झन मारमा पार्ने देखाएको छ । अहिले सबैभन्दा कम आधारदर नेपाल स्ट्याण्डर्ड चार्टड बैंकको ९.६७ प्रतिशत छ । लक्ष्मी, माछापुछ्रे, प्राइम, सनराइज, कृषि विकास, प्रभु, एनआईसी एसिया र सिटिजन्स बैंकको आधारदर ११ प्रतिशतभन्दा बढी रहेको बताइएको छ । 

विदेशका खबर
अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : १० जनाको मृत्यु 

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा आज अन्धाधुन्दा गोली चलाउँदा  कम्तीमा १० जनाको मृत्यु भएको छ । चिनियाँ नयाँ वर्षको उत्सव मनाइरहेका बेला घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा १९ जना घाइते भएका छन्। तर पुलिसले यसबारेमाा विस्तृत केही खुलाइसकेको छैन।

केही सामाजिक सञ्जालमा यो मामिला रंगभेदबाट सुरु भएर हत्यासम्म पुगेको जनाइएको छ ।  यहाँ स्थानीयबासी र एसियालीमूलका समुदायबीच विवादपछि सामूहिक नरसंहारसम्म पुगेको बताइएको छ । मारिनेहरुमा एक महिला र उनका ६ महिनाका शिशु पनि छन्। यसका अलावा १७ वर्षीय चिनियाँमूलका युवक पनि मारिएका छन् । अघिल्लो वर्ष पनि क्यालिफोर्नियामा यस्तै घटनामा ५ जनाको मृत्यु भएको थियो । 

खेल खबर

काठमाडौँ । नेपाल टी–२० लिगको व्यापारिक र रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान) र विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता त्रुटिपूर्ण रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानबिन समितिले निष्कर्ष निकालेको छ ।

नेपाल टी–२० लिग अत्यधिक विवादमा तानिएपछि २० पुसमा राखेपले कार्यकारी समिति सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

क्यानले सेभेन थ्री स्पोर्टससँग व्यापारिक र रणनीतिक साझेदार सम्झौता गरे पनि प्रतियोगिता सम्पूर्ण सञ्चालन अधिकारसमेत प्रदान गरेको थियो । प्रतियोगिताका दौरान खेलाडीले पारिश्रमिक नपाएको, फिक्सिङ र बेटिङबाट बदनाम भएको तथा विदेशी खेलाडीलाई श्रम स्वीकृतिबिना खेलाएको लगायतका विवाद उत्कर्षमा पुगेको थियो । ्

प्रतियोगिता जारी रहँदा पुस १८ गते क्यानको मुख्य साझेदार सेभेन थ्रीका मालिक भारतीय नागरिक जतिन अहुवालिया ‘भागेको’ दुई दिनपछि राखेपले छानबिन समिति गठन गरेको हो । ८ वर्षका लागि भएको सम्झौतामा क्यानले पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ पाउने उल्लेख छ ।

तर, प्रतियोगिता सकिएको दुई साता हुन लाग्दा क्यानले अहिलेसम्म २ करोड २० लाख रुपैयाँमात्र पाएको छ । म्याच फिक्सिङ÷स्पट फिक्सिङ प्रकरणमाथि नेपाल पुलिसको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको कारण राखेपको छानबिन समितिले त्यसमा खास प्राथमिकता दिएको छैन । छानबिन समितिले १ २ दिनमै राखेप सदस्य सचिवलाई बुझाउने तयारी गरेको छ । 

नेपाली टोलीको मुख्य प्रशिक्षकमा मोन्टी

काठमाडौँ । भारतीय प्रशिक्षक मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा  नियुक्त गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट भएका थिए । त्यस भन्दा अगाडी देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरेका थिए । क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो ।

मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए ।  मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्।