Live Streaming

तारादेवीको १७औं पुण्य स्मृतिका अवसरमा रेडियो अन्नपूर्णमा 'सम्झनामा तारादेवी'

काठमाडौं । स्वर किन्नरी तारादेवीको १७औं  पुण्य स्मृतिको अवसरमा सम्झनामा तारादेवी कार्यक्रम सम्पन्न भएको छ। 

रेडियो अन्नपूर्ण नेपालको आयोजनामा तारादेवी स्मृति फाउण्डेसन, म्युजिक क्लाउड र आस्था कला केन्द्रको सहकार्यमा 'सम्झनामा तारादेवी' कार्यक्रम सम्पन्न भएको हो। 

रेडियो अन्नपूर्ण नेपालको महाराजगन्जस्थित स्टुडियोमा कलाकारहरूको उपस्थितिमा विभिन्न साझेदार रेडियोमार्फत प्रत्यक्ष प्रशारणसहित तारादेवीका विभिन्न गीत संगीतको प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा तारा देवीको स्वरमा रहेको 'हराए झैँ केही लाग्छ', 'आमा भएर बोकी हेर',  'तिम्रो नाम अझै छ ओठमा', 'बिदा हुने भइगयो बेला', 'शुभकामना', 'वनमा फूल्यो फुलै फुल', 'फेरि भेट होला कि नहोला', गीतहरू प्रस्तुत गरिएको थियो। प्रस्तुत गीतहरूलाई जीना रसाइली, किशोर विश्वकर्मा, सञ्जीव आले, गीता पाण्डेलगायतले प्रस्तुत गरेका थिए। 

तारादेवी स्मृति फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले, तारादेवीको स्मृतिमा रेडियो अन्नपूर्णसँगको सहकार्यमा 'सम्झनामा तारादेवी' कार्यक्रम सम्पन्न गर्न पाएकोमा आफूहरू कृतज्ञ रहेको बताए। उनले आगामी दिनहरूमा पनि यस्तै सहकार्यको साथै, अगाडि बढ्ने कुरासमेत व्यक्त गरे। 

कार्यक्रममा रेडियो अन्नपूर्ण नेपालका स्टेसन म्यानेजर शिरोमणि दवाडीले रेडियोले सँधै श्रष्टाका गीत संगीतको माध्यमबाट सांगीतिक मनोरञ्जन दिइरहेको बताउँदै स्मृति र सम्मानमा कार्यक्रम प्रस्तुत गर्नु कर्तब्य पनि हुने बताए। 

सांगीतिक प्रस्तुतिका क्रममा गितारमा सुरेश लामा, हार्मोनियममा सुरेश भण्डारी र तबलामा सुधिर चौधरीले वाद्यवादन प्रस्तुत गरेका थिए। सहभागी सबैलाई स्टेशन म्यानेजर शिरोमणि दवाडी र फाउन्डेसनका महासचिव सोमन सैंजुले संयुक्तरुपमा खादासहित आदर पत्रले सम्मान गरेका थिए। उक्त कार्यक्रम कल्पना दुलालले सञ्चालन गर्नुभएको थियो।