Live Streaming

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय बन्यो मन्त्रीविहीन

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको ४२ दिनपछि बाहिएको छ । मंसिर ४ गतेको निर्वाचनबाट रास्वपा संसद प्रवेश गरेको थियो । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट बाहिरिने तर, तत्काल सर्मथन भने फिर्ता नलिने निर्णय गरेको हो ।

पार्टीका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । योसंगै  अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ । रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैले खेदेर नडराउने भन्दै आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्नेगरी शक्ति आर्जन गर्ने बताउनुभएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा लामिछानेले आगामी चुनावमा उपप्रधान र गृह मात्र नभई प्रधानमन्त्री बन्ने गरी पार्टी अघि बढाउने बताउनुभएको हो ।

सभापति लामिछानेले आफूलाई काम गर्ने मौका दिएकोमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । प्रचण्डले केही गर्ने अठोट राखेकाले आफूले साथ दिएको उहाँको भनाई छ । त्यसक्रममा लामिछानेले आफूप्रति मिडियाहरू प्रायोजित रूपमा लागेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । करिव १ घण्टा बोल्नुभएका लामिछानेले अधिकांस समय मिडियाको आक्रोशमै बितेको थियो । 

लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने भन्दै काठमाडौंमा सञ्चालित प्रमुख मिडियाप्रति आक्रोश पोख्नुभएको हो । कतिपय मिडिया र तीनका सञ्चालकको नाम नै किटान गरेर उहाँले आफूविरुद्ध खेदो खनेको आरोप लगाउनुभएको हो । यस्तै, देश बिग्रनुमा पनि प्रमुख भनिएका मिडियाको हात रहेको लामिछानेले पत्रकार सम्मेलनमा आरोप लगाउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै महासंघका महासचिव रोशन पुरीले लामिछानेको अभिव्याक्ति नेपाली सञ्चार क्षेत्रप्रतिको आधारहीन र पूर्वाग्राही आरोप लगाउदै धम्कीपूर्ण अधिव्इाक्ति दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाउनुभएको हो । संसदको चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्री समेत रहिसकेको व्याक्तिले संयमता गुमाएर अभिव्याक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा लामिछानेको अभिव्याक्तिले कुनै अप्रीय घटना भएमा लामिछाने र स्वयं गनको पार्टीले जिम्मेवारी लिनुपर्ने पनि महासंघले स्पष्ट पारेको छ। राजनीतिक विश्लेषक गोपीलाल न्यौपानेले रवि लामिछानेको मिडिया प्रतिको रोस स्वभाविक भएको बताउनुभएको छ । मिडिया पार्टीगत प्रभावमा परेको विषय जगजाहेर रहेको भन्दै उहाँले रास्वपाले सरकारमा रहँदा कुनै ठोस कार्य भने गरेर देखाउन नसकेको बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालसँग कुरा गर्दै न्यौपानेले रास्वपा र लामिछानेको भविष्य अब संसदमा उसको उपस्थिती र भूमिकाले निर्धारण गर्ने बताउनुभयो ।