Live Streaming

अन्नपूर्ण दिनभर : प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता, नागरिकता विधेयक अघि बढाउन दलहरु सहमत

देउवा, दाहाल र ओलीबीच भेटवार्ता 

 

काठमाडौँ । कांग्रेस,एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज दिउँसो सिंहदरवारमा भेटवार्ता भएको हो । उनीहरुबीच समसमायिक राजनीतिक र सार्वजनिक महत्वका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो ।

गत पुष २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग सशंकित हुनुहुन्छ । राष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भन्दै एमाले अध्यक्ष ओली असन्तुष्ट छन्। १० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ ।

तर कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन् । यसबीचमा कांग्रेसले पनि राष्ट्रपति आफूहरूले भनेकै व्यक्ति बन्ने दाबी गर्दै आएको छ । आजको बैठकमा राष्ट्रपतिको निर्वाचनका विषयमा पनि शीर्ष नेताबीच छलफल भएको बताइएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति कसरी गर्न सकिन्छ भन्ने विषयमा सामान्य छलफल भएको बताइएको छ । 

नागरिकता विधेयक अघि बढाउन दलहरु सहमत 

काठमाडौँ । नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्मा लैजानबारे दलहरुबीच समझदारी बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान बोलाउनु भएको राजनीतिका दलका नेता र सचेतकहरूको बैठकमासंसद्को बिजनेस र विधेयक अगाडि बढाउनेबारे छलफल गर्नुभएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्लाई व्यवस्थित गर्ने र विधेयक अगाडि बढाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । सो क्रममा शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक, जनजिविका, सुशासनसँग सम्बन्धित विधेयकलाई संसद्मा लैजाने समझदारी भएको पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पठाउनुपर्ने विधेयक, संसद् अन्त्य भएकाले निष्क्रिय भएका विधेयकलाई पनि अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल सकिएसँगै २७ विधेयक निष्क्रिय भएका थिए । ती विधेयक अब संसद्मा प्राथमिकताका आधारमा अगाडि बढ्ने भएका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेका ५ विधेयक पनि निष्क्रिय भएका थिए । प्रतिनिधिसभाको नयाँ कार्यकाल सुरु भएसँगै अब विधेयक अगाडि बढाउने समझदारी बनेको हो ।

नेकपा एसका नेता साध्य बहादुर भण्डारीले नागरिकता छानविन आयोग गठन नगरि नागरिकता विधेयक अघि बढाएर देश सिक्किमीकरण गर्न खोजिएको बताउनुभएको छ । विगतमा लाखौँ अबैध नागरिकता बाँडेको सरकारले पुनः गल्ति दोहो¥याउन खोजेको भन्दै उहाँले सडक आन्दोलनको विकल्प नरहेको बताउनुभयो ।

तत्काल नागरिकता दिनुपर्ने आवश्यकता भएकालाई अस्थायी नागरिकता दिएर बाँकीलाई छानबिन नगरि नागरिकता बाँड्ने काम भए देश सिक्किम बन्ने उहाँको भनाइ छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ् द डेमा बोल्दै उहाँले हालका सबै राजनीतिक दल सिक्किमीकरणमा लागेकाले जनता सडकमा आउनुको बिकल्प नरहेको बताउनुभयो । 

प्रधानमन्त्रीले सम्हाले दुवै मन्त्रालय 

काठमाडौँ । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका २ मन्त्री र एक राज्यमन्त्रीको राजीनामा स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा आज  स्वीकृत भएको हो ।

रास्वपाबाट मन्त्री बनेका उनीहरुले  हिजो प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए । त्यसपछि रिक्त रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको हो । आज प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका मन्त्रालय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले सम्हाल्ने गरी तोक्नुभएको हो ।

यसअघि रास्वपाका सभापति रवि लामिछानले नागरिकता विवादको कारण गुमाएको गृह मन्त्रालय पनि  प्रधानमन्त्री दाहालको मातहतमा थियो ।  रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै हिजै सरकारबाट बाहिरिएको छ ।

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला निर्विरोध 

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । आजको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
नवनिर्वाचित उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको हो । अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरूबीचको सहकार्यलाई विकास गर्दै जाने समेत बताउनुभयो ।

हिजो  मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गर्नुभएको थियो ।

राष्ट्रिय सभा : अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताउनुभयो । यस्तै बैठकले ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७’ सर्वसहमतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको तर्फबाट मन्त्री शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सर्वमम्मतिले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार ५ बजे बस्नेछ । 

राष्ट्रिय सहमतिको आवश्यकता छ : नारायणकाजी श्रेष्ठ 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उहाँले सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुपर्नेमा जोड दिनुभएको हो ।

राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सामाजिक न्यायसहितको समृद्धिको अभियानलाई त्यसलाई गुणात्मक फड्को दिशामा पु¥याउन सबै राजनीतिक पार्टीहरू मिलेर राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्दै जानुपर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले प्रतिनिधि सभापति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा पनि राष्ट्रिय सहमतिको सन्देश गएको बताउनुभयो ।

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रचण्ड 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बतानउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले सक्षम र ब्यावसायिक रुपमा सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले सरकारी वकिलका लागि छुट्टै पारिश्रमिक सेवासम्बन्धी कानुन निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । प्रधानमन्त्री कार्यालयमा सरकारी वकिलको एकाइ राख्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने उहाको भनाइ छ । उहाँले कारागार, बालगृह, थुनुवा कक्ष र सरकारी वकिल कार्यालयको सुधार र विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।  

सोही कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले सरकारी वकिलका लागि छुट्टै पारिश्रमिक सेवासम्बन्धी कानुन निर्माण गर्न आग्रह गर्दै वर्तमान सरकारले उक्त काम गर्ने अपेक्षा राखेको बताउनुभयो । 

मिडिया विधेयक तत्काल अगाडी बढ्छ : सञ्चारमन्त्री शर्मा 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया विधेयकलाई तत्काल संसदमा अगाडी बढाउने कार्ययोजना रहेको बताउनुभएको छ । आज प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताउनुभएको हो ।

उहाँले त्यसको लागि तत्काल सरोकारवाला निकायहरुले आवश्यक सल्लाह सुझावहरु मन्त्रालयलाई दिन आग्रह समेत गर्नुभयो । आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरु अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानुनहरु परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताउनुभयो । मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो । आमसञ्चार क्षेत्रको विकास,समृद्धि र सबलिकरण हुनु भनेको राज्यको सबलिकरण हुनु सरह रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सञ्चार क्षेत्र र न्यायपालिकामाथि धम्की : कोइराला 

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सैह्य नहुने बतााउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले संसदमा न्यायालयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै उहाँले  त्यो स्वीकार्य नहुने चेतावनी दिनुभएको हो ।

नेता कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने समेत बताउनुभयो । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्ने उहाँको भनाइ छ । नेता कोइरालाले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने बताउनुभयो । 

रास्वपाको मिडिया आक्रोश रिपोर्ट 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको सर्मथन जारी राख्दै आइतबार सरकार छाड्यो । प्रतिनिधिसभाको चौथो ठूलो दल, रास्वपाका प्रमुख रवि लामिछानेले सरकार छाड्नु अघि मिडिया, सम्पादक, प्रकाशकलगायतलाई गालीगलौज गर्दै अप्रमाणित लाञ्छना लगाउनु भयो । उहाँले आक्रोशित हुदैँ अपुष्ट समाचार लेखे मिडियाको कार्यालय घेर्ने, आफैले कारबाही गर्ने धम्की समेत दिनुभयो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने तयारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने तयारी गर्नुभएको छ । गत पुस २७ मा नियुक्त हुनु भएका मुख्यमन्त्री रावलले यही माघ २५ गते विश्वासको मत लिने तयारी थाल्नु भएको हो । मुख्यमन्त्री रावलले २५ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुनेछ ।

माघ २५ गते विहान ११ बजे प्रदेशसभा बैठक बोलाउने तयारी छ । मुख्य मन्त्री रावलले शपथ ग्रहण गरेको मितिदेखि ढिलो गरी विश्वासको मत लिन लाग्नु भएको हो । यसअघि सुदूरपश्चिम प्रदेशसभामा ७सिटसहित निर्णायक रहेको नागरिक उन्मुक्ति विश्वासको मत दिन तयार नरहेपछि प्रदेशसभा बैठक नै अनिश्चित भएको थियो । यसैबीच, नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन नसक्ने अडान लिएको छ ।

मुख्यमन्त्री रावलले माघ २५ गते विश्वासको मत लिने तयारी गरेको र नागरिक उन्मुक्तिको पनि सहमति रहेको भन्ने तथ्य झुठो रहेको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताउनुभयो । रावलले मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दा एमालेसहित, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समर्थन गरेको थियो । त्यसमा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्य रहेका थिए। आफ्नो माग पूरा नभएकाले विश्वासको मत नदिने भन्दै नागरिक उन्मुक्ति पछि हटेपछि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्नु भएको थिएन ।

कांग्रेसमाथि खनिए नारायणमान बिजुक्छे

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ । आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बिजुक्छेले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कही नभएको चलन कांग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गन नसकेको आरोप लगाउनुभएको हो ।

सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भएपनि सत्ताको माहेले कांग्रेसले त्यो जिम्मेवारी छाडेको उहाँले बताउनुभयो । बिजुक्छेले संसदमा जनसरोकारका बिषय र आफ्ना बिचारहरूका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दू राज्य र राजाको पक्षमा बोल्यो भन्दैमा संसदमा सभामुखले रोक्नु गलत भएको तर्क समेत गर्नुभयो । 

प्रहरी महानिरीक्षक धीरजप्रताव सिंह युएइ प्रस्थान 

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएइ) आज  प्रस्थान गर्नुभएको छ ।  अबुधाबीमा भोलिदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन उहाँ युएई प्रस्थान गर्नुभएको हो । महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुख, इन्टरपोलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच आर्थिक, साइबर, मानव बेचबिखन र आतङ्कवाद जस्ता अन्तरदेशीय अपराधको नियन्त्रणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ । महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

नागरिक उन्मुक्तिका चौधरीले माग गरेको म्याद बदर अदालतद्वारा अस्वीकार

काठमाडौँ । आगजनीमा छ महिना कैद सजाए पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले माग गरेको म्याद बदरको अदालतले अस्वीकार गरेको छ।

जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएको दाबी गर्दै उनले आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए। उच्च अदालत दिपायलको न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

आदेशमा चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ।  उक्त मुद्दाका लागि माघ २९ गते पेस तोकिएको छ। आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनाले ६ महिना कैद र ८ लाख बढी रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।

अदालतबाट दोषी भएर कैद सजाए तोकिए पनि प्रहरीले उनको खोजी गरेको थियो। उनी नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेर प्रतिनिधि सभामा सांसद समेत भए। चौधरी ६ महिना कैद सजाय सुनाइएका दोषी रहेकोबारे उकेराले पहिलो पटक प्रमाणसहित समाचार प्रकाशित गरेपछि उनी पक्राउ परेका थिए।

पल शाह : दुवै पक्षलाई झिकाउने आदेश 

काठमाडौँ । अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको जानकारी दिनुभयो । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहको मुद्दामा सुनुवाइ गर्दै आज  प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।

नाबालिगलाई बालयौन दुराचार  गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । सो फैसलाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। १७ वर्षीया नाबालिग गायिकामाथि जबरजस्ती करणी आरोपमा शाहमाथि जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो ।

सो मुद्दामा अभिनेता शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाइसकेका छन् । बलात्कार आरोपमा शाह गत फागुन १५ गते पक्राउ परेका थिए। हाल उनी तनहुँ कारागारमा रहेका छन्।

डीआईजी बढुवा प्रक्रिया सुरु

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) मा ९ महिनादेखि रिक्त रहेको नायव महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया सुरु गरिएको छ। योग्य उम्मेदवारले १ साताभित्र बढुवाका लागि चाहिने आवश्यक कागजात पेस गर्न भन्दै सूचना निकालिएपछि डीआईजी बढुवाका लागि तीव्र लबिइङ सुरु भएको छ। सशस्त्रमा अहिले चार डीआईजीको दरबन्दी रिक्त छ ।

कुल १६ डीआईजीको दरबन्दी रहेकोमा राजु अर्यालय गत वैशाखमा आईजीमा बढुवा भएदेखि नै दरबन्दी रिक्त हुँदै आएको थियो । गत वैशाख १८ गते अर्याल आईजीमा बढुवा भएपछि डीआईजी पद रिक्त हुन सुरु गरेको थियो । उहाँसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम एआईजीमा बढुवा भएपछि सशस्त्रमा ३ डीआईजी पद रिक्त भयो ।  

त्यसपछि एआईजीको दरबन्दी थप गर्दै गत भदौ ६ गते वंशीराज दाहाललाई एआईजीमा बढुवा गरेपछि सशस्त्रमा ४ डीआईजीको दरबन्दी रिक्त भएको थियो। सोही रिक्त पदमा बढुवा हुन अहिले एसएसपीहरुबीच तीव्र प्रतिस्पर्धा छ । 

जानकी मन्दिरमा मार्बलको गुणस्तर छानबिन गर्न मुख्यमन्त्रीको निर्देशन

काठमाडौँ । मधेस प्रदेशमा लागू मुख्यमन्त्री स्वच्छता अभियान र जानकी मन्दिरमा लगाइएको मार्बलको गुणस्तर छानबिन गर्न मुख्यमन्त्री सरोजकुमार यादवले निर्देशन दिनुभएको छ । प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र सचिवहरूको संयुक्त बैठकमा मुख्यमन्त्री यादवले स्वच्छता अभियानमा रहेका योजनाहरूको छानबिन गरी अनियमिततामा संलग्न रहेका कर्मचारीमाथि कारबाही गर्नसमेत निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने उल्लेख गर्दै मुख्यमन्त्री यादवले कर्मचारीलाई कार्यान्वयनको जिम्मेवारी इमानदारपूर्वक निर्वाह गर्न निर्देशन दिनुभएको मन्त्री यादवले बताउनुभयो । मधेस प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालनमा आएको मुख्यमन्त्री स्वच्छता अभियान र बेटी पढाउ, बेटी बचाउ कार्यक्रम विवादास्पद बनेको थियो ।

स्वच्छता अभियानअन्तर्गत धेरैजसो कार्यक्रममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । साइकल खरिद प्रकरणमा अख्तियारले ठेकेदार र कर्मचारीसहित १२ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

नेपाल विद्यार्थी संघका दुई समूहबिच झडप

काठमाडौँ । काठमाडौंको मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबिच झडप भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन बाक्लो सङख्यामा प्रहरी परिचालन गरिएको छ। शेखर कोइराला समूहका विद्यार्थी समूहको बैठक चलिरहँदा संस्थापन पक्षले हस्तक्षेप गरेको बताइएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा क्याम्पस पुगेपछि उनीविरुद्ध नाराबाजीसमेत भएको छ ।    

आर्थिक खबर
पाँच खर्ब आठ करोडको विप्रेषण 

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा कूल पाँच खर्ब ८५ अर्ब आठ करोड रुपैयाँ बराबरकोे विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव नौ प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव सात प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६४ दशमलव छ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा नौ दशलवम पाँच प्रतिशतले वृद्धि भई एक लाख ४२ हजार पाँच सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव सात प्रतिशतले वृद्धि भई  छ खर्ब ४४ अर्ब ७२ करोड पुगेको बताइएको छ ।

सेयर बजार 

काठमाडौँ । आज  सेयर बजारमा सामान्य अंकले बृद्धि भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा ४.५७ अंकले बृद्धि भएर २१००.६५ बिन्दुमा पुगेको हो । आज २५९ धितोपत्रको २९ हजार ८४६ वटा कारोबारबाट ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन आदर्श लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यो कम्पनीको लगातार तेस्रो कारोबार मूल्य बढेको हो । माहुली लघुवित्तको ५.५१, युनिभर्सल पावर, सिभिल लघुवित्तको मूल्य धेरैले बढेको छ । सबैभन्दा धेरै लक्ष्मी बैंक डिभेन्चरको मूल्य करिव १० प्रतिशतले घटेको छ ।  

विदेशका खबर
टर्की भूकम्प अपडेट 

काठमाडौँ । टर्कीमा आज गएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ सय भन्दा बढीको मृत्यु भएको छ । टर्की र छिमेकी मुलुक सिरियामा भूकम्पका कारण अहिलेसम्म १२ सय भन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको हो । भूकम्पमा परी हजारौं घाइते भएका छन् । टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयअनुसार बिहान सवा ४ बजे ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ । टर्की सरकारले आपतकालको घोषणा गरेको छ । 

पहिलो झट्काको केही मिनेटपछि अर्को एउटा शक्तिशाली झट्का महसुस गरिएको थियो । विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्को गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको जानकारी दिएको छ । टर्कीसमेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको थियो । टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा तीन सय बढीको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय डेभलपमेन्ट एजेन्सीलाई सहयोग पुर्याउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ ।  ह्वाइट हाउसका सुरक्षा सल्लाहकार जेक सुलिभनले टर्की र सीरियामा गएको भूकम्पले अमेरिका चिन्तित भएको बताउनुभयो । यता नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि टर्कीको भूकम्पप्रति दुख व्यक्त गर्नुभएको छ । 

खेल खबर
नेपाली राष्ट्रिय टीमको प्रमुख प्रशिक्षक 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् । केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो । नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाइले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् ।

उनीसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । यसअघि उनले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए । देसाई सन् २०१७ को एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार रहेका थिए । देसाइसँग क्यानले २ वर्षको सम्झौता गरेको हो ।

यसअघि धेरै दिन उनको नियुक्ती प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको थियो । आज परिषदबाट सहमति आएको क्यानका सचिव दुर्गा पाठकले जानकारी दिए । नेपालले स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।