Live Streaming

अन्नपूण दिनभर : सरकारी बिदा कटौती गर्ने तयारी, रास्वपालाई सरकारमा ल्याउने प्रयास, नेपालमा अनलाइन ठगीको विगविगी

रास्वपालाई सरकारमा ल्याउने प्रयास 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरी सरकारमा ल्याउन प्रयास भइरहेको बताउनुभएको छ । आज मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले रास्वपाले सरकार छाडेपछि अबको कदमबारे गठबन्धनमा छलफल हुने बताउनुभयो । प्रधानमन्त्रीले गठबन्धन जोगाउन र रास्वपालाई सरकारमा फिर्ता ल्याउन प्रयास गरिरहेको शर्माले बताउनुभयो । 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको थियो । दैलेखमा पेट्रोलियम अन्वेषणका लागि जग्गा प्राप्तिका लागि स्वीकृति दिने लगायतका निर्णय भएको छ ।  दैलेखको भैरबी गाउँपालिका–१, जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्तीका लागि स्वीकृति दिने निर्णय गरेको उहाँले बताउनुभयो । सन् २०१९ देखि नै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अगाडि बढाइएको थियो । 

कोरोना भाइरसको महामारीपछि बीचमा काम रोकिए पनि गत वर्ष चिनियाँ प्राविधिकहरुको टोलीले नै  जलजलेमा ठाउँ यकीन गरेको गरेको थियो । त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नागमती बाँध आयोजनाको कार्यान्वयन अगाडि बढाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

सरकारी विदा कटौती गर्ने प्रधानमन्त्री प्रचण्डको संकेत 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदामा पुनर्विचार गर्ने बताउनुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएकोमा जोड दिनुभएको हो । 

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताउनुभयो ।  बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।  त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ । 

ओली र प्रचण्डबीच भेटवार्ता 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

 राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने तय भएको छ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि एमाले सशंकित भएको हो । कांग्रेसले भने आफ्नो पार्टीले राष्ट्रपतिमा उठाएको उम्मेदवारले जित्ने दाबी गदै आएको छ । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई सहयोग गर्ने दाबी गर्दै आएका छन् । 

देउवा विरुद्धको रिट दर्ता, भोली पेसी 

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिनुभएको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको हो । आज दर्ता भएको रिटको पेसी भोलीको लागि तोकिएको छ । यसअघि सर्वोच्चका रजिष्टारले उक्त रिट दरपीठ गरिदिएका थिए । 

जम्बो मन्त्रीपरिषद् पनि भएन समावेशी

काठमाडौँ । मुख्यमन्त्री नियुक्त भएको २८ दिन पछि मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । आज नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएसंगै मनत्रीपरिषद्ले पूर्णता पाएको हो । आज नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीले शपथ लिएसंगै प्रदेशको मन्त्रीपरिषद् १५ सदसीय बनेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का सरोजकुमार यादवले नेतृत्व गरेको मन्त्रीमण्डल यसअघि २० माघमा विस्तार हुदाँ १३ सदस्य मन्त्रिमण्डल थियो । 

माओवादी मन्त्रीसमेत जसपा सरकारमा सहभागी हुने भएपछि मधेस प्रदेशमा ११ जना मन्त्री र ४ जना राज्य मन्त्री रहने छन् । जुन संघीय सरकारका पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भन्दा ४ जना कमी मात्रै हो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि प्रचण्ड सरकारमा हाल १९ जनाको मन्त्रीमण्डल रहेको छ । 

पहिचान र जनसंख्याको आधारमा शक्ति बाँडफाँड गर्नुपर्ने भन्दै झन्डै दुई दशक भन्दा बढी आन्दोलन गरिरहेका मधेस केन्द्रित दलले आफनो सरकार हुदाँ गैर मधेसी अर्थात पहडिया र दलित समुदायवाट एकजना पनि जम्बो मन्त्रिमण्डलमा समावेश गरेका छैनन् । कतियले भने मधेस सरकार संविधानको भावना बिपरित चलेको समेत आरोप लगाईरहेका छन् । 

प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखीले भने शिर्ष नेताहरुको निर्देशन अनुसार नै मन्त्रीमण्डल बिस्तार भएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै लेखीले समावेशिताको बिषय उठ्नु स्वभाविक भएपनि गठबन्धनको सरकार भएकाले शिर्ष तहको निर्देशन मान्नुको विकल्प नभएको बताउनुभयो । 

लुम्बिनी प्रदेशमा भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा

काठमाडौँ । लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी सकिएको छ । भोलि बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा  मतदानको समय तोकिएको छ । मतगणना सकिएको एक घन्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । 

माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।  सत्तारूढ एमालेका उम्मेदवार कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य दुवै रोल्पाका हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा उत्रिएका हुन् ।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन थालेको हो । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ रहेको छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् ।  

जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको बताइएको छ । लुम्बिनी प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन् । कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १ १ स्थानमा जितेका छन् ।  ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४ ४, जसपा, लोसपा र जनमतले ३ ३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १ १ सिट रहेको छ ।   

पुरानो गठबन्धन ब्युँताउ कसरतमा कांग्रेस

काठमाडौँ । सत्ता गठबन्धनभित्र खटपट बढेका बेला नेपाली कांग्रेसले पुरानो गठबन्धन ब्युँताउने कसरतलाई तीव्रता दिएको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई निरन्तरता दिने गरी कांग्रेसले पाँचदलीय गठबन्धन ब्युँताउने कांग्रेसको चाहना छ । माओवादी नेताहरूले भने अब फेरि कांग्रेस नेतृत्वको गठबन्धनमा जाने÷नजाने भन्ने तय राष्ट्रपति निर्वाचनसम्ममा एमालेको भूमिकाले निर्धारण गर्ने बताएका छन् । 

कांग्रेससँगको पाँचदलीय गठबन्धन अचानक भत्काएर प्रधानमन्त्री बन्नु भएका माओवादी अध्यक्ष दाहालले नयाँ सत्ता समीकरणमा सहज महसुस नगरिरहेको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुति र सत्ता गठबन्धनको तेस्रो घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारबाट बहिर्गमनका कारण प्रधानमन्त्री दाहाल दबाबमा हुनुहन्छ ।

कांग्रेस नेताहरू गठबन्धनका विषयमा आसन्न राष्ट्रपति निर्वाचन ‘टर्निङ प्वाइन्ट’ हुन सक्ने बताउँछन् । राष्ट्रपति निर्वाचन आगामी फागुन २५ मा हुँदै छ । दाहाललाई प्रधानमन्त्री स्वीकार नगर्ने गत पुस १० को कमजोरी सच्याएर अघि बढ्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार रहेको र त्यही कारण माओवादीप्रति नरम नीति लिँदै आएको बताइएको छ ।

उता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने कांग्रेसले चाहेजस्तो गठबन्धन बदल्न तत्काल सम्भव नहुने बताउनु भएको छ । अहिल्यै गठबन्धन बदल्ने अवस्था नरहेपनि भोलि कांग्रेससँग सहकार्य कस्तो हुने भन्नेमा एमालेको व्यवहारले निर्धारण गर्ने उहाँको भनाई छ । 

सरकारी डाटा सेन्टरहरुको मुख्य साँचो हामीसँग छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी डाटा सेन्टरहरुको मुख्य साँचो सरकारसँग नभएको बताउनुभएको छ । सरकारले आफ्नै सूचनाप्रविधि (आईटी) कम्पनी खोल्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले सरकारी तथ्यांकहरुको सुरक्षामा माथि प्रश्नहरु रहेको स्वीकार्नुभयो । काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै सूचनाप्रविधिमा सरकारले केही काम गर्नुपर्दा बाहिरबाट जनशक्ति ल्याउनु परिरहेको र नेपालको जनशक्ति भने बाहिर गइरहेको बताउनुभयो । 

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको समेत दावी गर्नुभएको छ । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय सभा उपाध्यक्षको सपथ 

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिनुभएको हो । माओवादीबाट राष्ट्रिय सभा सदस्य रहनु भएका अर्याल हिजो निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । 

चुडामणि शर्मा : तीन मुद्धामा साक्षी बुझ्ने आदेश 

काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध विशेष अदालतमा दर्ता रहेका भ्रष्टाचारसँग सम्बन्धित तीनवटा मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ । मुद्दा दर्ता भएको झन्डै साढे ५ वर्षपछि न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज  उक्त आदेश दिएको हो ।

शर्मा विरुद्ध  १० अर्बभन्दा बढीको बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो । २०७४ माघ १५ गते अकुत सम्पत्ति आर्जन गरेको भन्दै शर्मा र उनकी श्रीमती कल्पनाविरुद्ध पनि विशेष अदालतमा अर्को मुद्दा दर्ता भएको थियो । २०७८ असार ९ गते शर्मा, महत र ढकालविरुद्ध राजस्व चुहावटमा करिब एक अर्ब ३३ करोड बिगो दाबी गर्दै अर्को मुद्दा दायर भएको थियो ।

कर छुटका नाममा व्यापारीसँग लाभ लिएर मिनाहा गरेको शर्मामाथि आरोप लागेको छ । कर फछ्र्योट आयोगका पदाधिकारी रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध विषेश अदालतमा मुद्धा दर्ता भएको थियो ।

आरक्षण माग गर्दै परेको ४२ वटा रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । सरकारी सेवामा थारु समुदायका लागि आरक्षणको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका तीन दर्जन बढी रिट एकैपटक खारेज भएको छ । न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज  निर्णय सुनाउँदै सरकारी सेवामा थारुका लागि आरक्षण अस्वीकार गरेको हो ।  थारुलाई छुट्टै आरक्षण माग गर्दै ४२ वटा मुद्धा परेको थियो । संयुक्त इजलासलेथारुलाई छुट्टै ६.६५ आरक्षण दिन नपर्ने परमादेश जारी गरेको छ । साथै लोकसेवाको रोकिएका सबै परिक्षा सुचारु गर्न बाटो खुलेको छ । 

बालेनले भत्काए प्रहरी बिट 

काठमाडौँ । काठमाडौंको मैतीदेवी चोकमा रहेको प्रहरी बिट काठमाडौं महानगरपालिकाको टोलीले भत्काएको छ । आज मध्यान्ह पुगेको महानगरपालिकाको टोलीले पहिले सामान सार्न लगाएर डोजर प्रयोग गरी भत्काएको हो । मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन गरिएको थियो । सो क्षेत्रमा सवारी साधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहेकाले भत्काएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो । प्रहरीसँगको  समन्वयमै बिट अर्को स्थानमा सारेर त्यहाँको बिट हटाइएको महानगरको भनाइ छ । 

अनलाइन ठगी बढ्दै रिपोर्ट 

काठमाडौँ । नेपालमा अनलाईन प्रविधिको विकाससँगै त्यसको प्रयोगकर्ता पनि बढेका छन् । अहिले बालबालिकादेखि वृद्धसम्म ईन्टरनेटमा अनलाइन आउने गर्दछन् । यसैको फाइदा उठाउँदै अनलाईनबाट ठगिने क्रम पनि उत्तिकै बढेको छ । विशेषगरी चिठ्ठा परेको भन्दै वा सस्तो दिने लोभमा आम जनता झुक्काएर हुने ठगि पछिल्लो समय निकै बढेको छ । 

आर्थिक खबर
सेयर बजारमा हरियाली 

काठमाडौँ । केही दिनदेखि सुस्त देखिएको सेयर बजारमा आज भने उछाल आएको छ । आज नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स ३.१६ प्रतिशतले बढ्दा कारोबार रकम पनि तीन अर्ब नाघेको छ । यसदिन २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रूपैयाँमा खरिदबिक्री भएको हो । अघिल्लो दिन १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।

आज पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बरुण हाइड्रोपावर,खानीखोला हाइड्रोपावर,रिद्धी विद्युत,आदर्श लघुवित्त वित्तीय र रिडी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको १२ करोड बढिको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ । इन्भेस्टमेन्ट उपसमूहको सूचक सर्वाधिक ६.२५ प्रतिशतले बढ्दा डेभलपमेन्ट, फाइनान्स र हाइड्रोपावरको सूचक ५ प्रतिशतले उकालो लागेको छ । 

विदेशका खबर
टर्की भूकम्प 

काठमाडौँ । टर्कीमा हिजो बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नजिक पुगेको छ । टर्की र सिरियामा गरी अहिलेसम्म सो संख्यामा मानिसहरूको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो । टर्कीमा २ हजार ३ सय २३ र सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर मृतक संख्या कैयौं गुणा माथि पुग्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले मृतकको संख्या अहिलेको भन्दा ८ गुणा बढ्ने अनुमान गरिएको जनाएको छ । टर्कीमा मात्रै ५ हजार ६ सय ६ घर तथा भवनहरु भत्किएको प्रारम्भिक आँकडा युनिसेफले निकालेको  छ । सिरियामा पनि भौतिक संरचनाहरुको क्षति भएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टेप केन्द्रविन्दु बनाएर हिजो बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सी ए.एफ.ए.डीका अनुसार भूकम्पले अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टेपमा सबै भन्दा बढी मानवीय क्षति पुर्याएको छ । भारी हिमपात, कठ्याङ्ग्रिने चिसोले भग्नावशेषमा पुरिएकाहरुको खोजी, उद्धार र व्यवस्थापन कठिन बनेको छ । उद्धारकर्मीहरुले भग्नावशेषबाट केही मानिसलाई जीवित्तै उद्धार गरेका छन् । यसैबीच, टर्कीले उद्धार र राहत कार्यमा सहयोग गर्न विश्व समुदायलाई आह्वान समेत गरेको छ ।

खेल खबर
नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाईनलमा

काठमाडौँ । नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपालले फाईनलमा स्थान बनाएको हो ।

नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतका लागि अपूर्ण नार्जारीले गोल गरिन् ।
खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याईन् ।

खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाईन् । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । योसंगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

भारत ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारतको पनि फाइनल पुग्ने सम्भावना रहेको छ । तर, भारतले भुटान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

बंगलादेश ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भुटान अंक विहीन रहेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।