Live Streaming

अन्नपूर्ण दिनभर : नागरिकता विधेयक सरकारको प्राथमिकतामा, डेढ दर्जन बढि विधेयक उच्च प्राथमिकतामा

डेढ दर्जन विधेयक संसदमा पेश गर्ने सरकारको योजना

काठमाडौँ । सरकारले करिव डेढ दर्जन कानून निर्माणलाई प्राथमिकता दिने भएको छ । विभिन्न मन्त्रालयहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको कार्ययोजनामा सम्पत्ति शुद्धीकरण सहित करिव डेढ दर्जन विधेयक तत्काल अघि बढाउने उल्लेख छ । कार्ययोजनामा नागरिकता ऐनको संशोधन विधेयक तत्काल प्रतिनिधि सभामा पेश गरिने उल्लेख छ । यसअघि संघीय संसदले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारेपछि सरकारले त्यही विधेयक अघि बढाउने गृहकार्य गरेको हो । 

सम्पत्ति शुद्धीकरणको सवालसँग जोडिएका कानूनहरुको संशोधन विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएर संघीय संसद सचिवालयमा दर्ता हुने क्रममा छ । कार्ययोजनामा विद्यालय शिक्षा विधेयक, जग्गा प्रशासन र सेवा प्रवाह सम्बन्धी एकीकृत विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको संशोधन विधेयक, धितोपत्र विनिमय सम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक प्राथमिकताका साथ अघि बढाउने उल्लेख छ ।

कार्ययोजनामा संघीय निजामती सेवा ऐन संशोधन गर्ने विधेयकवारे कुनै उल्लेख छैन । निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित विभिन्न कानून खारेज गरी एकीकृत निर्वाचन विधेयक अघि बढाउने योजना बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मात्रै सार्वजनिक यातायात सम्बन्धी पाँचवटा विधेयक अघि बढाउने योजना बनाएको छ ।

राष्ट्रपतिको महाअभियोग ३ र प्रधानन्यायाधीशको ५ महिनामा टुंग्याउनुपर्ने प्रस्ताव

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र टुंगो लगाउनुपर्ने गरि प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको निमायवली मस्यौदा समितिलेराष्ट्रपतिको महाअभियोग ३ महिना र प्रधानन्यायाधीश, न्याय परिषदका सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव गरिएको हो ।

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन अहिले छलफल भइरहेको छ । प्रतिनिधिसभामा रहेका सबै ददलको प्रतिनिधि रहेको नियमावली मस्यौदा समितिले महाअभियोगलाई राजनीतिक हतियार बन्न नदिन यसलाई टुंगो लगाउनुपर्ने समय किटान गर्ने विषयमा छलफल गरेको थियो । यस क्रममा आजराष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र र प्रधानन्यााधीश, न्यायपरिषद सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग ५ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव सदस्यहरुलाई वितरण गरिएको छ । यद्यपी प्रस्तावमा छलफल भने भएको छैन ।

सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाभियोग प्रतिवेदन

काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न आदेश दिएको छ । संवैधानिक इजलासले सो प्रतिवेदनको अवस्था र तत्कालिन सभामुखले गरेको तोक लगायतको विवरण झिकाउन आदेश दिएको अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । निलम्बित प्रधानन्यायाधीश जबरालाई कामकाजमा फर्किन सक्ने गरी संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दिएको महाअभियोग निष्क्रिय भयो भन्ने पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

सर्वोच्चले सभामुखसँग माग्यो देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण

काठमाडौँ । सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण मागेको छ । देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । देउवा विरुद्ध परेको रिटमा आज  न्यायाधीश सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा विपक्षी बनाइएका सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।अधिवक्ता पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दावी गर्नुभएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित 

काठमाडौँ । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित हुनुभएको छ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा दसौंदीले खसेको कुल मतभार ७ हजार ९ सय मतमध्ये ४ हजार २६ मतभार प्राप्त गर्नुभएको हो । दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी जम्मा  ४ हजार २६ मतभार प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको छ ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्य  र स्थानीय तह प्रमुख उपप्रमुख गरी ३०५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनु भएन । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको हो ।

एमालेको राष्ट्रपति उम्मेदवार भए संविधान दुर्घटनामा : गगन थापा 

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए संविधान नै दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेको उम्मेदवार फेरी राष्ट्रपति भए ‘सम्माननीय कठपुतली ’ बन्ने टिप्पणी गर्नुभएको हो ।

त्यसले बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने थापाले स्पष्ट पार्नुभयो । संविधानलाई जोगाउन एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन लाग्ने महामन्त्री थापाले बताउनुभयो । महामन्त्री थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने थापाले बताएको हो । 

मिडिया मालिक र पत्रकारमाथिको गाली रविलाई भारी

काठमाडौँ । नेपाली मिडियाका सञ्चालक तथा पत्रकारहरुबारे दिएको अभिव्याक्तिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अँझैपनि चर्चाको केन्द्रमै हुनुहन्छ । आईतबार पत्रकार सम्मलेन गर्दै लामिछानेले सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको मात्रै नभई आफूले दुखाइरहेको मनको भडास पोख्दा त्यसले धेरै विवाद र बहस निम्त्याइरहेको छ ।

पत्रकार सम्मेलनमा उहाँले नेताहरुप्रति संयमित प्रवृत्ति देखाउँदा पत्रकार र मिडिया मालिकलाई तथानाम गाली गर्नुुभएको थियो । उहाँले मूलधारका सबै सञ्चारमाध्यमका कमजोरी बताउँदै आफूलाई सिध्याउन लागेको भन्दै चर्को अन्तुष्टि जनाउनुभएको थियो ।

मिडियाबाटै राजनीतिक यात्रा तय गर्नुभएका रवि लामिछाने अहिले मिडिया र सम्पादक पत्रकारकै आलोचना गरेर विवादित बन्नुभएको हो । मिडियाबाट उदाएर मिडियाको साथ सहयोग पाएकै कारण अहिले नेता र ६ महिनामै गृहमन्त्री बन्न सफल लामिछानेले  एकहोरो आरोप लगाउँदै सम्पादक र प्रकाशकमाथि नै पेचिलो प्रश्न गरेपछि अहिले उनीहरुको प्रश्न लामिछानेमाथि तेर्सिएको छ । रविले बजार हल्ला चलेकै भरमा आफूहरुमाथि गम्भीर आरोप लगाइरहेको भन्दै त्यसको छिनोफानो सञ्चारमाध्यममा चरणबद्ध समाचार सामग्री प्रकाशन गरिरहेका छन् । 

नेपाल पत्रकार महासंघसहित विभिन्न पेशागत संगठनहरुले विज्ञप्ती निकालेपनि त्यसको समेत कतिपयले विरोध गरेका छन् । 
यता नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले लामिछानेले मिडिया घेर्ने लगायतका बिषयमा मात्रै महासंघको आपत्ति रहेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै पोखरेलले लामिछानेले कानून हातमा लिएर सञ्चारमाध्ययम घेर्ने लगायताका अभिव्याक्ति दिएकाले त्यो स्वीकार्य नहुने बताउनुभएको हो । नेपाली सञ्चार जगत गल्ती सुर्धान तत्पर रहेको बताउदै उहाँले धम्की दिनुको साटो आवश्यक कानून निर्माणमा सुझाव दिएर सहयोग गर्न अनुरोध पनि गर्नुभएको छ । 

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि बोलाएको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो ।  तर बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । रावल गत पुस२७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिने प्रदेशसभा बैठकको कार्यसूची थियो । तर, प्रदेशसभा सचिवालयले सूचना जारी  बैठक स्थगित गरिएको जानकारी दिएको हो । मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले  मत दिने वा नदिने भन्ने बारेमा प्रष्ट धारणा दिएको छैन । नागरिक उन्मुक्तिसंँग ७ जना प्रदेश सभा सदस्य रहेकोमा सबै काठमाडौँमै छन् । नागरिक उन्मुक्ति पार्टीविना प्रदेश सभामा विश्वासको मत नपाइने देखिएपछि सरकारले बुधबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थिगित गरेको हो । मुख्यमन्त्री रावलले भोलिसम्म विश्वासको मत पाउन नसकेमा पदमुक्त हुनुहुनेछ । 

विप्लवको निर्णय

काठमाडौँ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको नवौं केन्द्रीय कमिटी बैठकका निर्णय आज काठमाडौंमा सार्वजनिक गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । यस्तै पार्टीले फागुन ५ र १५ गते महंगीका बिरुद्धमा देशव्यापी बिरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । 

पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गर्नुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले देशको अर्थतन्त्र डाँवाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ता भएको बताउनुभएको हो । नेपाली युवाहरु स्वदेशमै बस्न सक्ने अवस्था नभएको बताउदै उहाँले त्यसको समाधान चुनाव र सत्ता हेरेफेरमात्रै नभई व्यवस्था पविर्तनकै आवश्यकता रहेको बताउनुभयो ।

उहाँले साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताउनुभयो । शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको उहाँको भनाई छ । यस्तै नेपालीको मुकुण्डो खडा गरेर एमसीसी, र एसपीपीका बिषय आईरहेको बताउदै उहाँले ती सम्झौता कदापी पनि स्वीकार्य हुन नसक्ने उहाँले चेतावनी दिनुभएको छ । 

भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

काठमाडौँ । नेपाललेभूकम्प प्रभावित देश टर्कीमा राहत सामग्रीसहित स्वास्थ्यकर्मी पठाउने भएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्ने बताउनुभयो ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित हुनुभएको थियो । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।टर्कीमा सोमबार गएको ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । टर्की र सिरियामा भुकम्पमा परी अहिलेसमम  ९ हजार भन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ । 

विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनमै शंका रिपोर्ट 

माघ १गते पोखरामा भएको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाको छानबिनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाग्रस्त एटिआर–७२ विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरबाट सङ्कलित जानकारीले इन्जिनमा समस्या देखिएको जनाएको छ । तर प्रतिवेदनको दाबीलाई दुर्घटनाको कारण मान्न नसकिने विज्ञहरुको ठहर छ । 

सापटी तिर्न अपहरणको नाटक, ६ जना पक्राउ

काठमाडौँ । अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टबाट स्थानीय विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा, आशमान लामा, चितवनका दिलिप विक र सर्लाहीका भोला महतो नुनिया पक्राउ परेका हुन् । उनीहरुले अपहरणमा नपरी अपहरण भएको भन्दै परिवारका सदस्यलाई खबर गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । 

आर्थिक खबर
सेयर बजार सामान्य अंकले घट्यो 

काठमाडौँ । आज सेयर बजार सामान्य अंकले घटेको छ । हिजो ७६ अंकले बढेको नेप्से आज भने ७ दशमवल १३ अंकले ओरालो लागेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ । नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५७ स्टकको ५५ हजार ६०२ पटकको कारोबारमा ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।  यस दिन अन्य उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ ।  घटेका १२ उपसमूहमध्ये यस दिन वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ ।  कम्पनीको यस दिन ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आदर्श लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.१४ प्रतिशत घटेको छ । 

विदेशका खबर
भारतको अदालतले सिक्किमका नेपालीभाषीलाई प्रवासी भनेको शब्द सच्याउने

काठमाडौँ । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याउने भएको छ । आयकर समबन्धि विवादमा भारतको सर्वोच्च अदालतले करिब एक महिना अघि सिक्किमका नेपाली भाषीलाई विदेशी मूलका नागरिक भनेपछि सो फैसलाविरूद्ध सिक्किममा आन्दोलन चर्किएको थियो ।  सिक्किम राज्य सरकारले नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउन माग गर्दै रिट दायर गरेको थियो ।

रिटमाथि न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउने भएको छ । फैसललामा लेखिएको ‘विदेशी मूलका आप्रवासी नागरिक’ शब्द हटाउने आदेश सर्वोच्चले दिएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् । पाँच दशकअघिसम्म छुट्टै देशका रुपमा रहेको सिक्किम सन् १९७१ मा भारतमा विलय भएको थियो । अझै पनि त्यहाँका बासिन्दालाई हेर्ने दिल्ली संस्थापनको नजरियामा भने फेरबदल आइनसकेको गुनासो हुने गर्छ ।

अमेरिका र चीनबीचको ब्यापारमा नयाँ कीर्तिमान

काठमाडौँ । कुटनीति सम्बन्धमा तनाव चुलिएपनि अमेरिका र चीनबीचबीचको व्यापारमा नयाँ कीर्तिमान बनेको छ । सन् २०२२ मा अमेरिका र चीनबीच ६  खर्ब ९० अर्ब डलरको व्यापार भएको बिबिसीले जनाएको हो । यसअघि अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर पुगेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले चीनबाट आयातमा धेरै गुणा कर लगाउन थालेपछि दुई देशबीच व्यापार युद्ध चलेको थियो ।

तर केही समयअघि वाशिङटनमा प्रतिष्ठित व्यापारीहरूको सहभागितामा दुवै देशका अधिकारीहरूबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको थियो ।फेरि पछिल्ला केही दिनमा अमेरिकामा देखिएको चिनियाँ बेलुनलाई लिएर दुई देशबीचको तनाव फेरि गहिरिएको छ । अमेरिकाले यसलाई जासुस बेलुन भनेको छ भने चीनले मानवरहित मौसमबारे खबर जुटाउने बेलुन भएको जिकिर गरेको छ । 

खेल खबर

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ’ए’ डिभिजन लिग क्लबसँग छलफल गरेको छ ।एन्फाले आगामी लिगका लागि विदेशी खेलाडीको दर्ता, खेलाडीको बीमा, प्रतियोगिता अघिको मेडिकल मूल्याङ्कन, क्लब लाइसेन्स र व्यावसायिक गाइडलाइन लगायतका विषयमा क्लबसँग आज छलफल गरेको हो । छलफलमा ’ए’ डिभिजन लिग खेल्ने १४ क्लबका प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

यस्तै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का,  सदस्य पुरुषोत्तम थापा, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह र प्रतियोगिता निर्देशक सञ्जीव मिश्रको सहभागिता रहेको थियो । क्लबहरुले बजारमा खेलाडी अभाव रहेको जनाउँदै विदेशी खेलाडीको कोटा बढाउन एन्फासँग माग गरेका छन् ।

ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदै छ । यो सिजन डबल राउण्ड रोबिनका आधारमा लिग सञ्चालन हुदैछ । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्या समेत बढ्ने क्लबको चिन्ता छ । सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने क्लबहरुको माग छ ।