Live Streaming

अन्नपूर्ण दिनभर : एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, उच्चस्तरीय राजनीतिक समितिको बैठक भोलि 

सुदूरपश्चिम सरकार ढल्यो

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल १ महिनामै पदमुक्त हुनुभएको छ । आज बसको प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि प्रदेश सरकार १ महिनामै ढलेको हो । सरकारलाई बहुमतका लागि २७ मत आवश्यक पर्ने भएपनि विश्वासको मतको लागि निर्णायक नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद अनुपस्थित रहे ।

उनीहले पार्टीका संरक्षक रेशम चौधरी सहित टिकापुर घटनाका वन्दीहरुलाई रिहा गरेमात्रै सरकारलाई सर्मथन गर्ने अडान लिएका थिए । विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो । मुख्यमन्त्री रावलले प्रदेश सभामा सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नुभएको थियो । तर, प्रस्ताव सुरुमै ध्वनी मतबाट अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गर्नुभयो ।

गत पुष २७ मा नागरिक उन्मुक्तिकै सर्मथनमा रावल मुख्यमन्त्री बन्नुभयो भने पार्टीले सभामुख र उप–सभामुख निर्वाचनमा समेत अहिलेकै गठबन्धनलाई सर्मथन गरेको थियो । तर मुख्यमन्त्रीले विश्वासको मत दिने समयमा भने सांसदहरु नै उपस्थित नभएका हुन् । 

योसंगै अब संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्नुहुनेछ । उहाँले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । 

रवि विरुद्ध अनुसन्धान सुरु 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अगाडी बढेको छ । युवराज सफलले प्रहरीले पासपोर्टको अनुसन्धान अघि नबढाएको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएपछि रविविरुद्धको अनुसन्धान सुरु भएको हो । प्रहरी र सिडिओ कार्यालयमा परेको उजुरीका विवरणहरु पनि मगाएर अनुसन्धान अघि बढाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युतमणि न्यौपानेले अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएको उहाँको भनाइ छ । यसअघि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्नेदेखि मन्त्री र सांसद पद नै खारेज हुने फैसला गरेको थियो । अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा ०७३ जेठ १३ गते नेपाली राहदानी लिएको विषयमा अहिले रविमाथि फौजदारी कसुरमा अनुसन्धान भइरहेको बताइएको छ ।

उच्चस्तरीय राजनीतिक समितिको बैठक भोलि 

काठमाडौँ । उच्चस्तरीय राजनीतिक समितिको बैठक भोलि बस्ने भएको छ । संयन्त्रको बैठक भोलि  बिहान ९ बजे बस्ने तय भएको  संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अमस्मात स्थगित भएको थियो ।

बैठक स्थगित गरेर संयन्त्र संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डबीच छलफल भएको छ । सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरेर भोलिको लागि सारिएको हो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता साझेदार ७ दलका शीर्ष नेताहरु रहेका छन् ।  

संविधान र राजनीतिक प्रणालीबारे प्रचण्ड 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान र राजनीतिक प्रणालीको समीक्षा गर्ने बेला नभएको बताउनुभएको छ । आज नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधारका विषयमा गरेको अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतिकरण कार्यक्रममा बोल्दै उहाँले  अहिले नै समीक्षातिर लाग्दा राजनीतिक अस्थिरता आउन सक्ने बताउनुभएको हो ।

संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन बाँकी नै रहेको भन्दै संविधानको पूर्ण कार्यान्वयनपछि मात्र समस्या र त्रुटि के छ भन्ने निश्कर्षमा पुग्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । संघीयता बलियो बनाउन संघीय निजामती सेवा ऐन र अरु थुप्रै ऐन बनाउन आवश्यक रहेको भन्दै उहाँले  पहिले ती काम सकेपछि मात्र समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । 

माओवादीले चुनाव चिन्ह फेर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्ने तयारी गरेको छ । माघ १२ देखि २१ गतेसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गर्नुभएको थियो । प्रचण्डको प्रस्तावलाई स्थायी कमिटीले अनुमोदन गरेसँगै पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुने भएको हो ।

प्रचण्डले संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गर्नुभएको छ ।

प्रस्तावमा विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडी सारिएको छ । ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै नीति र विधिहरू तय गर्ने उल्लेख छ ।

प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकार गर्नुभएको छ । प्रस्तावमा प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास समेत गर्नुभएको छ । यसका पछाडि आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको उल्लेख छ । 

यस्तै पार्टीले पुरानै कार्यविभाजनलाई कायम राखेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा उप–महासचिव जनार्दन शर्मा प्रभाकर नै कायम हुनुहुन्छ भने, अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाउनुभएको छ । वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल हुनुहुन्छ । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव हुनुहुन्छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन गर्नुभएको छ । आज बिहानै साढे पाँच बजे विमानस्थल पुग्नुभएका मन्त्री किराँतीले विमानस्थलमा सुधार भएको छ छैन भन्ने विषयमा स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा उहाँले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताउनुभयो । एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई केहि सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले व्यक्त गर्नुभयो । हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किराँतीले बताउनुभयो ।  

सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उहाँको भनाई थियो । साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिनुभयो । 

नेपाल र मलेसियाबीचको श्रम समझदारी अक्टोबरमा पुनरावलोकन गरिने

काठमाडौँ ।  मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री नै नेपाल आउन सक्नेछन् । त्यसका लागि मलेसियास्थित नेपाली राजदूतावासले गृहकार्य गरिरहेको छ ।  यसअघि २ फेब्रुअरी २०२३ मा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली नेपाल भ्रमणमा आएका थिए । भ्रमणको क्रममा श्रम समझदारी पत्र परिमार्जन गर्ने विषयमा श्रम मन्त्री र प्रधानमन्त्रीसँग समेत छलफल भएको थियो । छलफलको क्रममा दुवै देशका अधिकारीहरू श्रम समझदारी पत्रलाई श्रमिकमैत्री बनाएर अघि बढ्न सहमत भएका थिए । 

नेपाल र मलेसियाबीच कामदार आपूर्ति थालेको १७ वर्षपछि २०७५ कात्तिक ११ गते श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । एमओयू भएको ५ वर्षपछि पुनरावलोकन गर्न लागिएको हो । उक्त एमओयू अनुसार मलेसियामा रोजगारीमा जाने कामदारमाथि हुँदै आएको आर्थिक शोषण पूर्ण रूपमा अन्त्य हुने अपेक्षा गरिएको थियो । त्यस्तै म्यानपावर कम्पनी, एजेन्ट र विभिन्न संस्थामार्फत मलेसिया जाने कामदार ठगिदैं आएका थिए । 

वाम समाजवादी एकता प्रयास 

काठमाडौँ । नयाँ गठबन्धनसँगै रोकिएको वाम–समाजवादी सहकार्यको प्रयास फेरि अघि बढेको छ । सहकार्य र राजनीतिक स्थिरताको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पुनः छलफल सुरु भएको छ । पार्टी एकता कि वाम–समाजवादी मोर्चा भन्ने विषयमा शीर्ष तीन नेताबीच छलफल भएको छ । मंसिरमा सम्पन्न आम निर्वाचनका बेला अगाडि बढेको समाजवादी केन्द्र निर्माणको प्रयास नयाँ गठबन्धन बनेसँगै रोकिएको थियो ।

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि धेरै विषयमा समानता रहेको नेताहरूले दाबी गरेका छन् । एउटै कमिटीमा रहेर काम गरिसकेकाले केही प्राविधिकबाहेक अन्य विषयमा समस्या नहुने नेताहरूको दाबी छ । तर, नेताहरूको व्यवस्थापनमा केही समस्या हुन सक्ने देखिएको छ । पार्टीको नाममा कम्युनिस्ट पार्टी राख्न जसपा तयार भइनसकेकाले ऊसँग भने तत्काल मोर्चाबन्दीको मात्रै सम्भावना रहेको बताइएको छ ।

विचार मिल्नेसँग पार्टी एकता र तत्कालीन मुद्दा मिल्नेसँग मोर्चा निर्माणको प्रयास भइरहेको माओवादी महासचिव एवं कार्यदल सदस्य देव गुरुङले बताउनु भयो । विचार मिल्नेहरू एक ठाउँमा आउनुको विकल्प नभएको उहाँको भनाइ छ । गुरुङका अनुसार एकीकृत समाजवादीसँग पार्टी एकता र जसपासँग मोर्चा निर्माणबारे छलफल अघि बढेको छ । 

विवेकशील साझाको पहिलो महाधिवेशन माघ २७ गतेबाट 

काठमाडौँ । विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाधिवेशन माघ २७ गतेदेखि काठमाडौं सुरु गर्ने भएको छ । महाधिवेशनको सम्पूर्ण तयारी सकिएको र पार्टीका नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको प्रक्रिया सुरु भएको पार्टीले जनाएको हो । महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने तयारी गरेको छ । पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्ताबेज ल्याएपछि विवादको भुमरीमा परेको पार्टी अहिले उनको बहिर्गमनसँगै गति लिने आशामा महाधिवेशन गर्न लागिएको दाहालले बताउनुभयो ।

विवेकशील साझाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, चिन्तक तथा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसाल र विवेकशील साझाका पूर्वनेता गोविन्द नारायणलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

चिनियाँ राजदूत र प्रधानसेनापतिबीच भेटवार्ता 

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानसेनापति शर्मासँग भेट गर्न राजदूत सोङ्ग आज  सैनिक मुख्यालय जङ्गी अड्डा पुग्नुभएको थियो । भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सोङ्गबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

हत्या भएको खुलासा 

काठमाडौँ । काठमाडौको गौशाला नजिकै रुद्रनगरमा हिजो मृत भेटिएका पुरुषको हत्या भएको खुलासा भएको छ । प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीले हत्या भएको व्यक्तिको पनि पहिचान गरेको छ । उनी वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का भएको प्रहरीको भनाइ छ ।

थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो । थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेमा पनि देखिएको प्रहरीले बताएको छ । प्रहरीले थापाको साथबाट लुटिएको मोवाइल र पर्स पनि बरामद गरेको छ । हत्या आरोपमा पक्राउ परेका थापा यसअघि २०७७ सालमा गाजा सहित पक्राउ परेका थिए।

शिक्षण शुल्क बृद्धिको विरोधमा प्रदर्शन 

काठमाडौँ । काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजका विद्यार्थीले शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा उनीहरूले विद्यार्थीबाट मनपरी महंगो शुल्क लिएपनि कुनै सुविधा नपाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले हिजो पनि  कलेज परिसरमा विरोध जनाएका थिए ।

कलेजले १० लाख ७० हजार शुल्क लिएपछि त्यहि अनुसार सेवा सुविधा दिनुपर्ने वा शुल्क घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन दिने धम्की दिएको विद्यार्थीको भनाइ छ । उनीहरूले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० विद्यार्थीमध्ये ३० जनालाई छात्रवृति दिनुपर्ने भएपनि कलेजले १० जनालाई मात्रै छात्रवृतिमा पढाइरहेको उनीहरूको आरोप छ । यसअघि पनि शिक्षण शुल्क वृद्धिको विरोधमा उक्त कलेजका विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

आर्थिक खबर
पूर्व–पश्चिम रेलमार्ग : प्रगति छ प्रतिशत

काठमाडौँ । बहुप्रतिक्षित र आशाका साथ हेरिएको पूर्व–पश्चिम रेलमार्ग निर्माणको काममा ढिलाई भएको छ । हालसम्म कुल नौ सय किलोमीटर बढी लम्बाइमध्ये ५५ किलोमीटर अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल विभागले जनाएको छ ।  हालसम्म बर्दिवासबाट निजगढसम्म ७० किमी निर्माणको मात्रै योजना बनेको विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जानकारी दिनुभयो । उहाँ अनुसार बाँकी अरु खण्डमा निर्माणको योजना बनेको छैन । एउटा खण्डमा भने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययनका क्रममा रहेको छ ।

यही गतिमा गर्दा झण्डै बीस÷तीस वर्ष लाग्नसक्ने देखिएको छ । बर्दिवासबाट निजगढतर्फ निर्माण भइरहेको योजनाले जनाएको छ । यो आवमा १५ किमी निर्माणको लक्ष्य रहेको र सोहीअनुसार निर्माण भइरहेको महानिर्देशक विसुरालले जानकारी दिनुभयो । निर्माणाधीन खण्डमा वन क्षेत्रको समस्या रहेकाले निर्माणमा बाधा पुगिरहेको विभागले जनाएको छ ।

वन क्षेत्रमा रेलमार्ग निर्माण गर्ने निर्णय भए पनि सामुदायिक वन उपभोक्ता समिति, जिल्ला वन कार्यालय, वन पैदावार विकास समितिलगायत निकाय सबै सहमत नहुँदा निर्णय कार्यान्वयन गर्न समस्या भईरहेको हो । भारत सरकारको सहयोगमा निर्माणाधीन अरु योजनाजस्तै पूर्व–पश्चिम रेलमार्गमा पनि ‘ब्रोड गेज’मा निर्माण भइरहेको छ । हाल भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालनमा छ । आयोजनामा सरकारले वार्षिकरुपमा विनियोजन गर्ने बजेट कम रहेकाले गति लिन नसकेको विभागले जनाएको छ । आयोजनामा हालसम्म वैदेशिक लगानी निश्चित भइसकेको छैन । 

सेयर बजार दोहोरो अंकले बृद्धि 

काठमाडौँ । सेयर कारोबारको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ । आज नेप्से परिसूचक १२.४५ अंकले बढेर २१ सय ८२.६३ विन्दुमा पुगेको हो । सेयर बजार बढेपनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रूपैयाँमा खरिदबिक्री भएको हो । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ६९ करोड मूल्य बढिको सेयर खरिदबिक्री भएको थियो । आज एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।  कारोबार रकमका आधारमा अपी पावर कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ५ करोड बढिको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढेको छ भने एउटा उपसमूहको घटेको छ । डेभलपमेन्ट बैंक र हाइड्रोपावरको सेयर १ प्रतिशत बढिले उकालो लागेको नेप्सेले जनाएको छ । 

विदेशका खबर
टर्की भूकम्प 

काठमाडौँ । टर्की र सिरियामा गत सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १७ हजार नाघेको छ । भूकम्पमा परेर हालसम्म दुवै देशमा गरी १७  हजार भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खोजी तथा उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पले क्षति पु¥याएका क्षेत्रको भ्रमण गर्नुभएको छ ।

सो क्रममा उहाँले भग्नावशेषमा फसेकाहरूको तत्काल उद्धार गर्न सरोकारवालालाई निर्देशन पनि दिनुभयो । सोमबार गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण भएको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताइएको छ । सरकारको क्षमता अभावका कारण महामारीमासमेत सरकारले प्रभावकारी रूपमा उद्धारको काम गर्न नसकेको भन्दै पीडितहरूले सरकारको आलोचना गरेका छन् ।उद्धार गरिएका भूकम्प पीडितहरूलाई थप मानविय सहायता आवश्यक परेकाले सहयोगका लागि विश्व समुदायसँग अपिल गरिएको छ । 

खेल खबर
नेपालले उपाधिका लागि खेल्दै 

काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने फाइनल खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने बंगलादेशले शीर्ष स्थानमा रहदै उपाधि यात्रा तय गरेको हो ।लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो ।फाइनलमा नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । बंगलादेश भने जितलाई निरन्तरता दिन चाहन्छ ।