Live Streaming

अन्नपूर्ण दिनभर : जनयुद्ध दिवसको बिदामा सरकारको आलोचना, सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति

 जनयुद्ध दिवसको बिदामा सरकारको आलोचना

काठमाडौँ । भोलि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णयको सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ । आजको मन्त्रिपरिषद बैठकले जनयुद्धको अवसरमा बिदा दिने निर्णयले राप्रपाका मन्त्रिहरुले असन्तुष्टि जनाएका हुन् । १ फागुन २०५२ मा तत्कालिन नेकपा माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिंसात्मक आन्दोलन सुरु गरेको थियो ।

सोही दिनको सम्झनामा प्रचण्ड नेतृत्वको सरकारले बिदा दिएको हो । आजको मन्त्रिपरिषदको बैठकमा राप्रपाका मन्त्रीहरु सहभागी नभएको बताइएको छ । राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषदमा रहनुभएको छ ।

अचानक मन्त्रिपरिषद बैठक बोलाइएको जनयुद्ध दिवस एजेण्डामा छ भन्ने थाहा पाएपछि बैठकमा नगएको राप्रपाको मन्त्रिहरुको भनाइ छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवको रुपमा मनाउनु दुर्भाग्य र बिडम्बनापूर्ण भएको बताउनुभयो । राप्रपाले पृथ्वी जयन्तीमा २७ पुसमा बिदा दिनुपर्ने अडान राख्दा सरकारले बिदा दिएको थियो । 

सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति 

काठमाडौँ । राष्ट्रपतिको बिषयमा सत्तारुढ गठबनधनभित्र कुनै विमती नरहेको दावीका बीच प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले भने एमाले–माओवादीबीच भएको सहमति विपरितका अभिव्याक्ति दिन छोड्नुभएको छैन ।

आज मात्रै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता साझेदार दलहरुबीको सहकार्यलाई अझ मजवुद ढंगले लैजाने सहमति बनेको थियो । बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले राष्ट्रपतिको उम्मेदवारबारे छलफल नभएपनि दलहरुबीच कुनैपनि विमती नरहेको बताउनुभएको थियो । त्यसक्रममा निर्णय परिवर्तन गर्नुपर्ने अवस्था आएपनि सबै दलको सहमतिबाटै हुने दावी गरिएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दहाहाल प्रचण्डले भने राष्ट्रिय सहमतिको रटान छाड्नुभएको छैन ।

बैठकलगत्तै दिउँसो पेशिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट अभूतपूर्व रूपमा विश्वासको मत पाएपछि राजनीतिक परिस्थितिमा हेरफेर आएको बताउनुभयो ।

उहाँले सरकारलाई विश्वासको मत दिने सबै पार्टीहरूको भावनालाई सम्बोधन गर्नुपर्ने परिस्थिति बनेको बताउनुभयो । आफ्नै उम्मेदवारमा राष्ट्रिय सहमति खोजिरहेको नेकपा एमाले, राष्ट्रिय सहमतिको रटान लगाईरहेको नेकपा माओवादी र निर्वाचन नै बहिष्कार गर्ने बताईरहेको राप्रपाका फरक–फरक विचारका कारण गठबन्धको आगामी कार्यदिशामै प्रश्न समेत उठ्ने गरेको छ ।

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताउनुभएको हो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर उहाँको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो। त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो।

रवि लामिछानेको राहदानीबारे प्रहरी अनुसन्धान सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरी लिन नमानेको प्रहरीले अहिले यसबारे अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले सफलले दिएको जाहेरीलाई समेत राखेर अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

माघ १७ मा लामिछानेविरुद्ध जाहेरी दिन जाँदा अदालतको आदेशको पूर्णपाठ नभएको भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन । खारेज भइसकेको नागरिकताको आधारमा राहदानी लिएको भन्दै लामिछानेविरुद्ध राहदानी ऐनविरुद्धको कसूर गरेको अभियोगमा पनि कारबाही हुनुपर्ने सफलको माग छ ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा निवेदन पनि दिएका छन् । उनी सरकारी वकिलसम्म पुगेपछि प्रहरीले अनुसन्धान थालेको हो ।

यसैबीच ललिता निवास प्रकरणमा थुनामा रहेका मुख्य अभियुक्त शोभाकान्त ढकालले दायर गरेको बन्दी प्रत्यक्षिकरणको निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश कुमार रेग्मीको एकल इजलासले आइतबार उक्त आदेश गरेको हो । यसअघि विशेष अदालतले थुनछेक आदेश गर्दै ढकाललाई थुनामा पठाउने निर्णय सुनाएको थियो । 

फागुन २ देखि अनेरास्ववियुको महाधिवेशन, तयारी पूरा

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं महाधिवेशन यही फागुन २ गतेदेखि हुने भएको छ।फागुन २ देखि ४ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन चल्नेछ।एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी पूरा भएको जानकारी दिनुभयो ।

उनकाअनुसार महाधिवेशनबाट सर्वसम्मतरूपमा नेतृत्व चयनका लागि प्रयास गरिनेछ। सहमति हुन नसकेमा निर्वाचनबाट नेतृत्व चयन गरिने उहाँ ले बताउनुभयो । महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउनेछ। अनुशासन, लेखा र निर्वाचन गरी ३ वटा आयोग पनि महाधिवेशनले चयन गर्नेछ। यी सबै आयोग १५ सदस्यीय हुनेछन्। महाधिवेशनमा एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि उपस्थित हुनेछन् ।  

कार्यविधि परिमार्जन गर्न तयार  

काठमाडौँ ।सरकार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न तयार भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका डा. जनिथलाल सिंहलाई प्रहरीले कुटपिट गरेपछि आन्दोलनरत चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको हो ।

सहमति पत्रको चार नम्बर बुँदामा बिरामी, आम नागरिक, विशेष गरी स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहज नहुने गरी कार्यविधि परिमार्जन गर्न सरकारलाई एक साताभित्र सुझाव पेश गर्ने उल्लेख छ । उक्त सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने बताइएको छ ।

भीभीआईपीको सवारीको क्रममा अरुलाई सडकमा निस्किनसमेत रोक लगाएर दुःख दिने गरिएको आवाज चर्को रुपमा उठ्दै आएको छ ।

आर्थिक खबर
बजेटको अर्धवार्षिक समीक्षाः बजेटको आकार २ खर्ब ४४ अर्ब घट्यो

काठमाडौँ ।सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आज बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिनुभएको हो । गत जेठ१५मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटको आकारलाई १४ प्रतिशतले घटाउँदै बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झार्नुभएको हो ।

अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट  ३ खर्ब १३ अर्ब ८५ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँबाट २ खर्ब १४ करोडमा सिमित पारिएको बताउनुभयो । अहिलेको अवस्थालाई विश्लेषण गर्दा विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको देखिएको छ ।

मन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको बताउनुभएको हो । राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत नपुग भएको उहाँको भनाइ छ । मन्त्री पौडेलले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पुरा हुन कठिन रहेको बताउनुभयो । 

यस्तै सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने भएको छ । अर्थमन्त्री पौडेलले सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने नयाँ कार्यक्रम नल्याउने बताउनुभएको हो ।अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहका आयोजनाहरुको पुनः प्राथमिकीकरण गर्ने पनि अर्थमन्त्री पौडेलको भनाई छ । 

विदेशका खबर

काठमाडौँ । टर्की सरकारले भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये प्रहरीले निर्माण ठेकेदारसहित कम्तिमा १५ जनालाई हिरासतमा लिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्प प्रतिरोधी घर निर्माण नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

झन्डै तीनसय निर्माण कम्पनीका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । निर्माण ठेकेदारहरु यति तीब्र गतिमा पक्राउ परिरहेका छन्, मानौं टर्की सरकारले भूकम्प पीडितको उद्धार र राहतमा भन्दा पक्राउमा बढी ध्यान दिएको छ । गत सोमबार गएको ७.८ रेक्टरको भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या २८ हजार नाघेको छ ।

यसअघि सरकारले भूकम्प प्रतिरोधी घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरुले नबनाउँदा र त्यसमा भ्रष्टाचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्की सरकारको निष्कर्ष छ । ठेकेदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको हो ।

भूकम्पका क्रममा टर्कीका हजारौं विशाल भवनहरू भत्किएका छन् । विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो । यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो । 

५ हजार रुसी महिला अर्जेन्टिनामा 

काठमाडौँ । ५ हजार भन्दा बढी गर्भवती महिलाहरु अर्जेन्टिना प्रवेश गरेका छन् । केही दिनअघि एउटै उडानमा ३३ जना महिला अर्जेन्टिना पुगेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विगत केही महिनामा अर्जेन्टिना पुग्ने गर्भवती महिलाको संख्या ५ हजार नाघेको हो ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको एक बर्ष पुगेको छ । युक्रेन युद्धको परिणामले रुसी महिलाहरुले आफ्ना बच्चाहरु अर्जेन्टिनामा जन्मेको सुनिश्चित गर्न चाहेका छन् । गत बिहीबार एउटै उडानमा अर्जेन्टिनाको राजधानी पुगेका  ३३ जना महिलामध्ये तीनजनालाई “कागजातमा समस्या“का कारण पक्राउ गरिएको माइग्रेसन एजेन्सीका प्रमुख फ्लोरेन्सिया कारिग्नानोले ला नासियनले जानकारी दिनुभयो ।

रुसी महिलाहरूले सुरुमा आफू पर्यटकका रूपमा अर्जेन्टिना आएको दाबी गरेका छन् । अर्जेन्टिनाको बच्चा हुनुले आमाबाबुको लागि नागरिकता प्रक्रिया सहज हुने गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि धेरै पश्चिमी देशहरूको यात्रा रुसीहरूका असहज भएको छ । अर्जेन्टिनाको राहदानी संसारभर धेरै सुरक्षित मानिन्छ । अर्जेन्टिनाको राहदानीले विश्वका १७१ देशहरुमा भिसा बिना प्रवेश गर्न अनुमति दिएको छ । 

खेलखबर
आईसीसी महिला टी–ट्वान्टी 

काठमाडौँ । आठौं आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा भारत र पाकिस्तानबीचको खेल सुरु भएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा आजको पहिलो खेलमा समूह ’बी’ अन्तगत पाकिस्तानले टस जितेर ब्याटिङ गरेको छ । दुई देशबीचको पछिल्लो पाँच टी–ट्वान्टी अन्तराष्ट्रियमा भारत चार खेलमा विजयी हुँदा एक खेल पाकिस्तानले जितेको थियो । भारत गत संस्करणको उपविजेता समेत हो । पाकिस्तानले भने समूह चरण पार गर्न सकेको छैन ।

आज नै हुने दोस्रो खेलमा राति पौने ११ बजे समूह ’ए’ मा रहेका श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुुनेछ ।श्रीलंका यस विश्वकपमा लगातार दोस्रो जितको खोजीमा रहेको छ । श्रीलंकाले पहिलो खेलमा आयोजक दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । विश्वकपमा पहिलो खेल खेल्दै गरेको बंगलादेश जित सहित सुखद सुरुआत गर्न चाहान्छ ।

दुई देशबीचको पछिल्लो पाँच टी–ट्वान्टी अन्तराष्ट्रियमा खेलमा श्रीलंका अपराजित रहेको छ । दुवै खेल केपटाउनमा हुनेछ । प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई ५÷५ टोलीको दुई समूहमा विभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टोली सेमिफाईनल प्रवेश गर्ने छन् ।