Live Streaming

अन्नपूर्ण दिनभर : गठबन्धन भत्किन सक्नेमा एमाले शशंकित, गोंगबुमा मोबाइल लुट्ने ४ जना पक्राउ

गठबन्धनबारे आ–आफ्नै कुरा

काठमाडौँ । अहिलेको गठबन्धन भत्किनेगरि भएको भनिएका पछिल्ला केही राजनीतिक गतिविधिका कारण शशंकित बनेको भनिएको नेकपा एमालेले सार्वजनिक रुपमै गठबनधन टुट्नसक्ने बताएको छ । विशेषगरि पुष १० गते सरकार बनाउदा राष्ट्रपति एमालेलाई दिनेगरि भएको सहमतिको विपरित नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति खोजिरहेको अवस्थामा तत्कालिन गठबन्धन ब्यूतिनसक्ने कतिपयको टिप्पणी छ ।

त्यसकै बीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि चुनावअघिको सत्तारुढ गठबन्धन फुटाउन सफल भए पनि ढुक्क हुन नसकिएको बताउनुभएको हो । आज पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उहाँले यो स्थिति फेरिन सक्ने संकेत गर्नुभएको हो । संसदमा बहुमत कसैको नभएको र एमालेसँग बहुमत भन्दा निकै तल सिट रहेको ओलीले बताउनुभयो । अनेक प्रकारका शक्ति षड्यन्त्रमा क्रियाशील रहेको भन्दै ओलीले स्थिरता हुन नदिने प्रयास भइरहेको समेत बताउनुभयो । 

महासचिव शंकर पोखरेलले गठबन्धन भत्काएर नयाँ सरकार बनेपछि जनतामा आशाको सञ्चार भएको बताउनुभएको छ । भारतले ७२ सालमा लगाएको नाकाबन्दी पार्टी अध्यक्ष केपी शर्मा ओलीले असफल बनाएको दाबी गर्दै उहाँले ओलीको नेतृत्वमा विकास र समृद्धिको लागि अगुवाइ गरेको बताउनुभयो । 

यता नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको दाबी गर्नुभएको छ । आज प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले अहिलेको गठबन्धन भत्किने र नयाँ बन्नेसम्भावना केहि नदेखिएको बताउनु भएको हो ।

नेता खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गर्नुभयो । 

एउटा संसद्मा नटुंगिएको महाभियोग अर्को संसद्मा लैजान सांसदहरू सहमत

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा एउटा संसद्मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्मा लैजान सांसदहरू सहमत भएका छन् । आज सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरू प्रतिनिधिसभाको कार्यकाल ५ महिना भन्दा कम भएर महाभियोग टुङ्ग्याउन नसके निर्वाचनपछि आउने संसद्ले स्वीकार्नु पर्नेमा सहमत भएका हुन् ।

छलफलमा संसद्मा महाभियोग लागिसकेको अवस्थामा टुंगोमा पुयाउने व्यवस्था नियमावलीमा हुनुपर्ने सांसदहरूले माग गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाभियोग अहिले पनि संसद् सचिवालयमा विचाराधीन छ । अघिल्लो संसद्मा महाभियोग आएर छानबिन समितिले महाभियोग लगाउनुपर्ने सिफारिस गरेको थियो ।

संसद्को कार्यकाल सकिएर नयाँ संसद आएपछि महाभियोग के हुने निश्चित छैन । नियमावलीमा स्पष्ट व्यवस्था भएपछि भने महाभियोगबारे के हुने भन्ने विवाद अन्त्य हुनेछ ।त्यस्तै समितिमा राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्तावमा पनि सहमति जुटेको छ । त्यसैगरी संवैधानिक प्रमुख वा सदस्यविरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउने पर्नेमा पनि सहमति जुटेको छ ।

सर्वसहमित भएको भनिएपनि नेकपा एमालेले भने त्यो प्रस्तावमा सहमति जनाउन नसकिने जनाएको छ । रेडियो अन्नपूर्ण नेपालको रेडियो पावरमा कुराकानी गर्दै सांसद महेश बर्तौलालो नियमावली मस्यौदा समितिमा सहमति  भएपनि मान्न नसकिने बताउनुभएको हो । यो नियमावलीको श्रोत संविधान भएको बताउदै उहाँले संविधानभन्दा बाहिर गएर कनैपनि काम हुन नसक्ने बताउनुभएको हो । 

गोंगबुमा मोबाइल लुटेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ । गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।

गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा भएको आन्दोलनले उग्र रुप लिँदा तोडफोड र आगजनी भएको थियो । प्रहरी वृत्त, बालाजुको दुई वटा गाडी पनि तोडफोड भएको थियो ।

घटनालाई लिएर बालाजुका डीएसपी रविन विष्ट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिनुभएको छ । मोबाइल पसलमा भएको चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ । उनको निर्देशन अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ । कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार प्राप्त भिडियो फुटेजहरुको आधारमा चोरीमा संलग्नहरुको खोजी कार्य जारी छ ।

लोत्से बहुउद्येशिय प्रालिका व्यवस्थापक नारायण कार्कीले भने मोबाईल व्यवसायी लगायत मलमा भएको क्षतीको जिम्मा मजदूरका नेताहरुले लिनुपर्ने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै कार्कीले यस्तो बताउनुभएको हो ।

वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८÷०७९’ पेश गर्नुभएको हो ।त्यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभासमक्ष पेश गर्नुभयो । सो आदेश गत असोज २८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको थियो ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य कर्मा घलेको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते आइतबार १ बजे बस्नेछ ।

प्रचण्डको भारत भ्रमण राष्ट्रपति निर्वाचनपछि मात्रै 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने तयारी भएको छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने तयारी भएको थियो । तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उहाँको  भ्रमण पर धकेलिएको बताइएको छ ।

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुभएको थियो । प्रचण्डसँग क्वात्राले हिजो भेटवार्ता गर्नुभएको थियो । अहिले नै भारत भ्रमण गराउन सम्भव नहुने देखिएसँगै  राष्ट्रपतिको चुनावपछि मात्र हुने गरी आन्तरिक तयारी थालिएको छ ।

आगामी २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको विवादले सत्ता समीकरण फेरबदल हुने आशङ्का गरिएको छ । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोनमा बधाई तथा शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो दिएका थिए । त्यसको दुई तीन दिनपछि प्रधानमन्त्री प्रचण्डले स्वयं आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने बताउनुभएको थियो ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच रक्सौल– कामाडौं रेल्वेबारे प्रारम्भिक छलफल भएको छ । दुई दिने भ्रमणमा आएका क्वात्राले आज बिहान उपप्रधानमन्त्रीश्रेष्ठसँग मन्त्रालयमै शिष्टाचार भेट गर्नुभएको हो ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेलवे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि–सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा राखेको उहाँको सचिवालयले जनाएको छ । भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राख्नुभएको थियो । 

ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति 

काठमाडौँ । नेपाल सरकारले स्रोत नखुलेको सम्पत्तिको निश्चित प्रतिशत कर तिरेर वैध बनाउन मिल्ने गरी विधेयक संसदमा लगेपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले आपत्ति जनाएको छ । कानून मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गरेको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक प्रवद्र्धन सम्बन्धी विधेयकमा स्रोत नखुलेको सम्पत्तिलाई निश्चित कर तिराएर वैध गराउने व्यवस्था गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले विधेयकको उक्त ब्यवस्थाप्रति आपत्ति जनाएको हो ।ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपालस्थित कार्यालयले एक विज्ञप्ति जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को मूल उद्देश्य नै अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरणको निवारण भएकाले ऐनको मूल मर्म र उद्देश्य प्रतिकूल हुने गरी स्रोत नखुलेको सम्पत्तिलाई कर तिरेकै भरमा वैधता प्रदान गर्ने बाटो नखोल्न चेतावनी दिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भएको स्मरण गराउँदै अवैध रुपमा आर्जित धनलाई कुनै पनि बहानामा वैध तुल्याउन नमिल्ने प्रष्ट पारेको छ । 

सहमति कार्यन्वयन स्थिति जानकारी गराउन मिटरब्याज पीडितको माग

काठमाडौँ । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले गृह मन्त्रालय र समितिबीच भएको सहमति कार्यान्वयन सम्बन्धमा जानकारी माग गरेको छ । सूचनाको हकअनुसार समितिलाई कानुनको मस्यौदाबारे जानकारी गराउन समितिले माग गरेको हो ।

समितिका प्रवक्ता निर्गराज जैशीले सूचना माग गर्दै दिएको निवेदनमा गत १ असोजमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँडको रोहबरमा समिति र गृह मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनबारे सरकारले समितिलाई जानकारी नदिएर सूचनाको हक उल्लंघन गरेको आरोप लगाइएको छ । सरकारसँग ५ बुँदे सहमती भएपनि उक्त सहमति तत्काललाई आन्दोलन मत्थर पार्ने प्रपञ्चका रुपमा सरकारले लिएको निवेदनमा दावी गरिएको छ ।

संघर्ष समितिको तर्फबाट मन्त्रालयसँग पटकपटक फलोअप गर्दा पनि सहमती कार्यान्वयनका सन्दर्भमा ठोस प्रगति भएको वा छिटै कार्यान्वयन हुने बारेमा यूक्तियूक्त जवाफ पाउन नसकेको भन्दै समितिले राज्य किसानको विपक्षमा रहेको आशंका रहेको निवेदनमा उल्लेख छ ।

३ बुँदे सहमतिपछि स्थगित भयो रुबी खानको आन्दोलन

काठमाडौँ । निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र गृह मन्त्रालयबीच ३ बुँदे सहमति भएको छ । सहमतिसँगै ४८ दिनदेखि माइतीघर मण्डलामा अनशनरत महिलाहरु घर फर्किने भएका छन् । बाँकेको नेपालगञ्ज उपमहागरपालिका १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो ।

श्रीमानको मृत्युको चार वर्षपछि कुर्मीका दुई छोराको दश दिनको अन्तरालमा ०६६ मंसिरमा रहस्यमय तवरमा मृत्यु भयो । श्रीमान र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए । ०७५ मा निर्मला कुर्मी बेपत्ता भइन र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारियो ।

अपहरण पछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरी समेत परेको छ । संविधानसभा सदस्य समेत रहिसकेका बादशाह बाँके क्षेत्र नम्बर ३ ‘२’ बाट लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् ।

आर्थिक खबर
सहकारीमा २५ लाख बढी निक्षेप राख्न नपाइने, ठूलालाई राष्ट्र बैंकले नियमन गर्ने

काठमाडौँ । सरकारले सहकारीको नियमनलाई कसिलो बनाउने भएको छ । पछिल्लो समय धेरै सहकारी संस्थाहरु समस्याग्रस्त बन्दै जाँदा सरकारले सहकारी संस्थामा २५ लाख भन्दा बढीको निक्षेप राख्न नपाउने गरी कानुन बनाउन लागेको हो । हाल सहकारी संस्थाले संस्थामा सदस्यको व्यक्तिगत बचतको सीमा सम्बन्धमा संस्थाको विनियममा तोकिए अनुसार लिन सक्ने व्यवस्था रहेको छ ।

तर, नेपाल सरकारले संघीय संसदको प्रतिनिधिसभामा दर्ता गरेको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहकारी ऐन संशोधन गर्दै सहकारी संस्थाले २५ लाखसम्म मात्रै निक्षेप लिन पाउने व्यवस्था गर्न लागेको हो ।

सहकारी ऐनको दफा ५२ लाई संशोधन गर्दै व्यक्तिगत बचतको सीमा २५ लाख रुपैयाँमा नबढ्ने गरी संस्थाको विनियममा तोकिए अनुसार लिनुपर्ने व्यवस्था गर्न लागिएको छ । ५० करोड भन्दा बढीको कारोबार गर्ने सहकारीको नियम राष्ट्र बैंकले गर्नेगरी सहकरारी ऐन संशोधन हुने भएको छ ।

सेयर बजारमा दोहोरो अंकले गिरावट 

काठमाडौँ । सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा पुगेको हो ।  सेन्सेटिभ इण्डेक्स २.७४ अंकले घटेको  छ। नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ६० अंकले ओरालो लागेको थियो ।  

सो दिन ३ अर्ब ४ करोड बराबरको कारोबार भएको थियो । आज १ अर्ब ७८ करोड बराबरको सेयर कारोबार भएको छ ।  २५५ कम्पनीको  ४६ लाख ८५ हजार ८०९कित्ता सेयर १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रूपैयाँमा खरिदबिक्री भएको छ । आज कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन् । कारोबार  रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । उक्त कम्पनीको ७ करोड ७५ लाख ६५ हजार ३७२ रूपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

विदेशका खबर
टर्कि–सिरिया भूकम्पः भग्नावशेषबाट आठ हजार बढीको जीवितै उद्वार

काठमाडौँ । गत साता टर्किए र सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । भूकम्पपछिको उद्वारका क्रममा टर्किएमा भग्नावशेषबाट ८ हजार भन्दा बढी मानिस जिउँदै निकालिएको टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताउनुभएको छ । यस्तै उहाँले भूकम्पपछि सहयोग गर्न अगाडि आएका सबै देशहरूप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको छ ।

यसबीच अमेरिकामा रहेका १४ सिरियाली डाक्टरहरूको टोली उत्तरपश्चिम सिरियामा राहत र चिकित्सा सेवामा मद्दत गर्न आइपुगेको छन् । टर्किसमेत रहेको युरोपका लागि विश्व स्वास्थ्य संगठनका निर्देशकले यो भूकम्पलाई यस क्षेत्रमा १०० वर्षमा आएको सबैभन्दा खराब प्राकृतिक प्रकोप भनेका छन् ।

टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ । अकल्पनीय क्षतिले निम्त्याएको मानवीय सङ्कटलाई सम्बोन गर्न, घरबार बिहीन भएका लाखौँलाई सहयोग गर्न, उनीहरूका निम्ति गाँस र बासको व्यवस्थातर्फ उनीहरूको ध्यान केन्द्रित भएको हो ।

भूकम्पका कारण रसदपानीको अभाव र चरम चिसोले नराम्ररी पिरोलिएका भूकम्पपीडित भग्नावशेषमा आफन्तलाई जीवितै फेला पार्ने आश मारेर बसेका छन् । यद्यपि खोज तथा उद्धार जारी छ । हालसम्म १२ लाख भूकम्पपीडितलाई विद्यार्थीका आवासमा अस्थायी रूपमा व्यवस्थापन गरिएको, दुई लाख छ हजारभन्दा बढी पाल टाँगेर बासको व्यवस्था गरिएको तथा चार लाख पीडितलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको टर्कीए सरकारले जनाएको छ ।

भत्किएका भवनका भग्नावशेषबाट जीवित उद्धार गरिएका पाँच सय ७४ जना बालबालिकामध्ये ७६ जनालाई तिनका अभिभावकसमक्ष सुम्पिइएको छ । धेरैका आमाबाबु अझै बेपत्ता छन् । उनीहरू बोल्न नसक्ने भएकाले उनीहरूका अभिभावक पत्ता लगाउन कठिन भएको उनीहरूको भनाइ छ ।

सिरियाको यातायात मन्त्रालयका एक जना अधिकारीका अनुसार हालसम्म राहत सामग्री लिएर विभिन्न देशका ६२ विमान सिरिया आएका छन् । 

खेल खबर
नामिबियामाथि नेपालको पहिलो जित 

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियामाथि किर्तीमानी जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा कुशल भुर्तेलको शतकप्रेरित नेपालले नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जित दर्ता गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले दुई सय ८६ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै कीर्तिमानी लक्ष्यसहित जित निकालेको हो । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चेज गरेको सबैभन्दा ठूलो लक्ष्य हो ।

 यसअघि सन् २०१९ मा यूएईविरुद्ध कीर्तिपुरमै दुई सय ५४ रनको लक्ष्य चेज गरेको थियो । नेपालका लागि एक सय १३ बलको सामना गरेका कुशलले १० चौका र चार चौकासहित एक सय १५ रनको शानदार शतकीय इनिङ खेले। यस्तै, कप्तान रोहित पौडेल ७२ रन जोडेर पेभेलिन फर्किँदा सन्दीप जोरा २८ रन जोडेर पेभेलियन फर्किँदा करण केसी २० रन बनाएर अविजित रहे ।

त्यसअघि ओपनर आसिफ शेख शून्य, ज्ञानेन्द्र मल्ल २५, कुशल मल्ल ६ र दीपेन्द्रसिंह ऐरी सात रन बनाएर आउट भएका थिए । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल मल्ल, सोमपाल कामीले समान १÷१ विकेट लिए ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्ने तालिका छ । सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।