Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेस नेता चन्द्र भण्डारीको उपचार भारतमा, नेपालमा जलनको उपचार पूर्वाधारबारे प्रश्न

सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

काठमाडौँ । ग्यास बिष्फोटपछि भएको आगलागीमा परि घाईते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । आज दिउँसो सांसद भण्डारीलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उहाँको उपचार हुने भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो । भण्डारीलाई मुम्बईसम्म पु¥याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको ’मेडिकल एयर इभ्याक्युएसन’ टोली संलग्न छ ।

सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्ने छ । स्वास्थ्यकर्मीहरूको उक्त टोलीमा नर्भिक अस्पतालकै डा. बृहस्पति केसी, डा. रोशन शर्मा तथा पारामेडिक्सहरू दिनेश राई, सागर महर्जन र राज तामाङ रहनुभएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेका थिए । सांसद भण्डारीको अनुहारमा आगोले पोलेका कारण त्यसले श्वासनली समेत असर पु¥याएको छ ।

जसका कारण उहाँलाई श्वासप्रस्वासमा अप्ठेरो नहोस् भनेर ’इन्ट्युबेसन’ गरी मेकानिकल भेन्टिलेटरको सहायतामा श्वासप्रस्वास कायम गरिएको छ । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने आज बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

यो घटनाले फेरी एकपटक ग्यास सिलिन्डरको सुरक्षित प्रयोगको चर्चा चलेको छ भने, नेपालमा जलनको उपचारका पूर्वाधारबारे प्रश्न उठेको छ । आमसञ्चारजेखि सामाजिक सञ्जालमा समेत नेपालमा नेताको त उपचार सम्भव छैन भने नागरिकको अवस्था के होला भन्ने एकथरि बहस सुरु भएको छ । चिकित्सकहरुका अनुसार जलनका विरामीलाई यहाँ उपचार सम्भव नभएर भारत लगिने नभई विदेशमा र नेपालमा एउटै प्रविधिले उपचार गरिने बताउछन् ।

जलनकै उपचार गर्ने विशेष अस्पताल नेपालमा कीर्तिपूरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टर र साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल छन् । स्रोत साधनको कमी भएर भन्दा पनि हाइप्रोफाइल नेताको भएकाले अस्पतालमा भीड हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विदेश रिफर गरिएको हुन सक्ने चिकित्सकहरु बताउछन् । यही बिचमा प्रत्येक प्रदेशमा बर्न अस्पताल सञ्चालन गर्नुपर्ने समेत वहश चुलिएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा पारित भएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको आजको बैठकले प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि बनाउन नियमावली मस्यौदा पारित गरेको हो । प्रतिनिधिसभामा राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक अंगका पदाधिकारीलाई कार्यकालको अन्तिममा महाभियोग लगाउने प्रस्ताव आएमा के गर्ने भन्ने टुंगो लगाउँदै मस्यौदा समितिले नियमावली टुंग्याएको हो ।

महाभियोग ५ महिनाभित्र टुंगो लगाउने तर समय अभावले महाभियोग निष्कर्षमा पु¥याउन नसकेमा नयाँ निर्वाचनबाट आउने संसद्ले आवश्यक निर्णय गर्ने व्यवस्था गरिएको छ । संसदीय समिति १० वटा राख्ने सहमति भएको छ । यस्तै नियमावली पारित गर्दा प्रतिनिधि सभाको प्रमुख विपक्षी दलबारे स्पष्ट पारिनुपर्ने नेपाल मजदुर किसान पार्टीको माग छ ।

गत माघ १० गते २१ सदस्यीय समिति गठन भएको थियो नियमावलीलाई प्रतिनिधिसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । यस्तै संसदीय समितिको सदस्यमा स्वार्थ बाझिने सांसदलाई समितिको सदस्य नबनाउने प्रावधान राखिएको समिति सदस्यसमेत रहनुभएका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै लेखकले मन्त्रालयमा सांसदको स्वार्थ बाझिने बिषय भने प्रतिनिधिसभा नियमावलीसंग सम्बन्धित नभएको बताउनुभयो ।

महाभियोगकबारे एमालेका केही सांसदले असहमति राखेको बिषयमा लेखकले संविधानअनुसार नै पहिलो संसदले नटुंग्याएको महाभियगोग अर्को संसदले स्वामित्व लिनेगरि व्यवस्था गरिएको स्पष्ट पार्नुककभएको छ ।

प्रचण्ड–ओली छलफल : दुवैले छाडेनन् अडान, साझा व्यक्तिमा अड्कियो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै अडान दोहो¥याएपछि राष्ट्रपतिको उम्मेदवारबारे सहमति गर्ने प्रयास असफल भएको छ ।

आज बिहान १० बजेदेखि १२ बजेसम्म प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, राष्ट्रपतिमा संसदका सबै दलहरुबीच साझा व्यक्ति अघि सारेर जानुपर्ने अडान प्रचण्डले दोहो¥याएपछि सहमति जुट्न नसकेको एक नेताले बताएका छन् । यद्यपि चुनावका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने समय अझै एक साता बाँकी रहेकाले सहमति जुटाउने प्रयास भने जारी छ । भोलि फेरि बसेर यसबारे छलफल गर्ने गरी एमाले अध्यक्ष ओली उठेर बालकोटतिर लाग्नुभएको थियो ।

राष्ट्रपतिमा आफूहरुले जोसुकै उठाए पनि सहमति गर्नुपर्ने एमालेको अडान छ । तर, पछिल्लो राजनीतिक परिस्थितिले कम्तीमा मुख्य दलहरुलाई मान्य हुने पात्र अघि सार्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव छ । एमालेले आफूले अघि सारेको व्यक्तिमा राष्ट्रिय सहमति कायम गराउनुपर्ने बताउँदै आएको छ । बिहीबारको भेटमा पनि अध्यक्ष ओलीले सहमति कार्यान्वयनबाट पछि नहट्न आग्रह गर्नुभएको थियो । फागुन २५ को राष्ट्रपति चुनावको लागि फागुन १३ मा मनोनयन कार्यतालिका छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरेको छ । गत निर्वाचनमा मोर्चाबन्दी गरेर एमालेविरुद्ध निर्वाचनलडेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा पुनः माओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको हो । पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ । आज बिहान पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमै पुगेर छलफल गर्नुभएको छ ।

सो क्रममा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । माओवादी केन्द्रले समेत कांग्रेसले दिने उमेदवारप्रति लचक हुने संकेत देखाएको छ । यसअघि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायतका नेताहरुले विभिन्न चरणमा छलफल गरिसकेका छन् । स्ववियु कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता फागुन २७ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो । कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको उहाँले बताउनुभयो ।

कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ । संसदलाई ‘बिजनेश’ नदिएको भन्दै सरकारको आलोचना काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले ‘बिजनेश’ नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैलीप्रति नै असन्तुष्टि जनाउनुभयो ।

आज सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि जनाउनुभएको हो । नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसदलाई ‘बिजनेश’ नै दिन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनु पर्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आममतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताउनुभयो । आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप्न प्रधानमन्त्री दाहालसँग माग काठमाडौँ । सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गर्नुभएको छ ।

सिंहदरबारमा आज राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका हुन् । भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगका समस्याहरु प्रधानमन्त्री दाहालसमक्ष राखेका थिए । भेटबारे मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरुले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्रीसमक्ष राखेको बताउनुभयो ।

उहाँले आयोगहरुमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरुलाई बलियो बनाउन सरकारले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले जनाउनुभएको छ ।

रसुवा भन्सारका पूर्वअधिकृतविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा रहँदा उनले अवैध तरिकाले दुई करोड १० लाख १० हजार ४८२ रुपैयाँ आर्जन गरेको आयोगले जनाएको छ ।

विसं २०४३ साउन १ देखि सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ असार ३० गतेसम्मको अवधिमा तीन करोड ५१ लाख १६ हजार २० रुपैयाँ हुनुपर्नेमा केसीले ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगको दाबी छ । सो खर्च घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, संगोलमा रहँदा नै जग्गा खरिद गर्दा भएको निजको भागमा पर्न आउने खर्च, छोराछोरीहरुको अध्ययन खर्च, संचय कोषको कर्जा भुक्तानी, स्वआर्जित घर बहाल कर, पैत्रिक घर बहाल कर, बीमाको प्रिमियम भुक्तानीमा भएको खर्च, छोरीहरूलाई दिएको रकम, शेयर खरिदमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च, निजी भ्रमणमा भएको खर्च, औषधी उपचार खर्च, सुन खरिदसमेत गर्दा भएको खर्च र बैंक मौज्दातसमेत रहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नुवाकोटमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २३ घाइते काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१२ चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विदुर नगरपालिका–३ का ७३ वर्षीय बाबुराम दर्जी र तारकेश्वर गाउँपालिका घर भई विदुर नगरपालिका–६ मा बस्ने ६ वर्षीय रामप्रसाद अर्याल रहेका छन् । बट्टार स्थित हावाघरबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा २ ख ४५ नम्बरको बस अपराह्न ४ बजे दुर्घटना हुँदा २ जनाको घटनास्थलमा र १ जनाको त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । अस्पतालमा मृत्यु हुने महिलाको नाम खुल्न बाँकी छ । दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् । घाइतेको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

सहकारीले रकम फिर्ता नदिएपछि बचतकर्ताहरु उत्रिए आन्दोलनमा काठमाडौँ । कैलालीको धनगढीमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले आन्दोलन थालेका छन् । आफूले वर्षौंदेखि जम्मा गरेको रकम फिर्ताको माग गर्दै आज शिवशिखर बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिले आन्दोलन अघि बढाएको हो । ‘हाम्रो बचतको ग्यारेन्टी गर, बचतकर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै आन्दोलन सुरु गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले बताउनुभयो ।बचतकर्ताको १५ अर्ब ८० करोड रुपैयाँ खाएर शिवशिखरका सञ्चालक फरार रहेको उनले आरोप लगाउनुभयो ।

केही दिनयता सहकारीको धनगढीस्थित कार्यालय दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लागेपछि सहकारी कर्मचारी नै सम्पर्कविहीन भएपछि थप आशङ्का बचतकर्तामा छाएको छ । सहकारीले दैनिक चल्ती खातामार्फत रकम सङ्कलन गर्दै आएको थियो । देशभर सेवा विस्तार गर्दै आएको शिवशिखरले शेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिनअघि धनगढी सेवा कार्यालय नै बन्द गरेको थियो ।

आर्थिक खबर भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको दुई हप्ता बित्न नपाउँदै भारतले नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर आज नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो । यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो ।

विदेशका खबर पाकिस्तानमा पेट्रोलको भाउ प्रतिलिटर २७२ रुपिया पुग्यो

काठमाडौँ । आर्थिक संकट झेलिरहेको पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । बुधबार पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपिया र हाई स्पीड डिजेलमा प्रतिलिटर १७ रुपिया मूल्य बढाएको छ । अब पाकिस्तानी बजारमा पेट्रोलको मूल्य २७२ रुपिया र हाई स्पीड डिजेलको मूल्य प्रतिलिटर २८० रुपिया पर्नेछ ।

त्यस्तै मट्टीतेल भने प्रतिलिटर २०२ रुपिया पुगेको छ । पाकिस्तानी संसद्मा अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)सँगको ऋण सम्झौताबारेको विधेयक पेस भएको केही घण्टामै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पाकिस्तानी मुद्रा कमजोर हुँदै गइरहेकाले पेट्रोलियम पदार्थको मूल्य बढाइएको सरकारले जनाएको छ ।

आज पाकिस्तानमा १ अमेरिकी डलरको खरिददर २६५ र बिक्रीदर २६७ पाकिस्तानी रुपिया रहेको छ । पाकिस्तान सरकारले आईएमएफसँग ७ अर्ब अमेरिकी डलरबराबरको ऋण सम्झौता गर्दैछ । यतिबेला पाकिस्तानसँग विदेशी मुद्राको सञ्चिति पनि निकै कम छ । पाकिस्तानसँग २.९ अर्ब अमेरिकी डलर मात्र सञ्चिति रहेको र त्यसले १६÷१७ दिनको मात्र आयात धान्ने पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

पाकिस्तानी अर्थमन्त्री इशाक दारले आईएमएफका सर्तहरू पालना हुनेगरी विधेयक टेबुल गरिएको बताउनुभएको छ । साथै सामान्य बिक्री कर(जीएसटी) मा १७ बाट बढाएर १८ प्रतिशत पु¥याउने पनि विधेयकमा प्रस्ताव रहेको उनको भनाइ छ । त्यस्तै चुरोट, पेयपदार्थ र सिमेन्टमा भन्सार दर बढाइने सरकारले जनाएको छ ।

खेल खबर

फागुन दोस्रो आयोजना

काठमाडौँ । बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप फागुन दोस्रो साता आयोजना हुने भएको छ । आयोजक न्यु डायमण्ड युथ स्पोर्टस क्लबले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म आयोजना हुने जनाएको छ । प्रतियोगितामा १० देखि १२ टोलीले सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता लिग कम नकआउट पद्दतिबाट वेस्ट अफ फाइभको आधारमा खेलाइने छ ।

नेपाल भलिबल संघको प्राविधिक सहयोग र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आर्थिक सहयोगमा हुने प्रतियोगिता क्लबको नव निर्मित खेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रोले १ लाख तथा सान्त्वना पुरस्कार विजेताले ५० हजार पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाउने छन् । आईसीसी महिला टी–ट्वान्टी काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आठौं आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आज समूह ’ए’ मा आज अष्ट्रेलिया र श्रीलंकाबीच खेल खेल भईरहेको छ ।

नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । दुई खेलमा अपराजित रहेका दुवै टोली आजको खेल जितेर सेमिफाईनल सम्भावना बलियो बनाउन चाहान्छन् । यी दुई देशबीच भएको पछिल्लो पाँच टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा अष्ट्रेलिया अपराजित रहेको छ । प्रतियोगिता आगामी फेब्रुअरी२६सम्म जारी रहनेछ ।