Live Streaming

अन्नपूर्ण दिनभर : संसद विजनेश बिहीन,राष्ट्रपतिको दाउपेच, एमाले–समाजवादी एकता उन्मुख !

राष्ट्रपति उम्मेदवारबारे माधव नेपाल 

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलहरुको दौडधुप बाक्लिएको छ । उम्मेदवारी मनोनयका लागि निर्वाचन आयोगले १३ गतेको समय तोकेको छ । तर, कुनैपनि पार्टीले उम्मेदवारको टुंगो नगाउन नसक्दा राष्ट्रपति निर्वाचनमा कसको पल्ला भारी हुने हो त्यो भने हेर्न बाँकी छ ।

अहिले नेकपा एमाले र नेपाली कांग्रेसले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताईरहेका छन् । माओवादी केन्द्र राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत राष्ट्रिपतिमा आकांक्षा देखाउनुभएको छ । नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन दाङ–देउखुरी पुगेका बेला पत्रकार भेटघाटमा नेपालले अरुको निम्ति मात्रै आफूहरुले सधैं बलिदानी दिईरहने र त्यसको फाईदा भने अरुले नै लिईरहने हुन नसक्ने बताउनुभएको हो ।

राष्ट्रपति पदको उम्मेदवारको चर्चाबारे खासै नखुल्नुभएका नेपालले त्यसबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताउनुभएको हो । राष्ट्रपतिबारे के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा वृहत छलफलको आवश्यकता पनि नेपालले औल्याउनुभएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका उनीहरुले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावमा आफू सकरात्मक रहेको जवाफ दिएको नेता शुक्लले बताउनुभयो । 

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठबीच भेटवार्ता भएको छ । आज दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुग्नुभएको थियो ।  उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । दुई नेताबीच राष्ट्रपति चुनावकै विषयमा कुराकानी भएको बुझिएको छ । सोमबार नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  राष्ट्रपतिमा आफू इच्छुक रहेको बताउनुभएको थियो । 

नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुट्न नसकेमा पार्टीले ह्वीप नलगाउने भएको छ । राष्ट्रपति पदमा माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्ने आएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै सत्तारुढ एमाले र नेपाली कांग्रेसले छुट्टाछुट्टै उम्मेदवार खडा गरेमा पार्टीले ह्वीप नलगाउने बताउनुभएको हो । राष्ट्रिय सहमति भयो भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिने उहाँले बताउनुभयो । 

राष्ट्रपति चयनका विषयलाई लिएर राजनीतिक दलहरुबीच यतिबेला तीब्र ध्रुवीकरण भइरहेको छ । सधै भागबण्डालाई सर्बेसर्वा मान्ने  ठूला राजनीतिक दलका शीर्ष नेताहरुको दाउपेचका कारण सरकारको  स्थिरतामाथि पटक पटक प्रश्न उठेको छ 

संसदले बिजनेश पाउन सकेन 

काठमाडौँ । सरकारले संसदलाई बिजनेस दिन नसक्दा संघीय संसदको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सकिने भएको छ । सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको हो । अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुनः दर्ता गर्नेगरी सरकारले हाल कुनैपनि विधेयक नल्याएको संसद सचिवालका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

अघिल्लो प्रतिनिधि सभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय भएका मध्ये सम्पती शुद्धिकरण मनि लाउण्डरिङ निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक दर्ता भएपनि अन्य कुनै पनि विधेयकहरु सरकारले संसद सचिवालयमा दर्ता नगराएको उहाँको भनाइ छ ।

हालसम्म प्रतिनिधि सभामा ४ वटा विधेयक र राष्ट्रिय सभामा ९ वटा विधेयक विचाराधिन अवस्थामा रहेका छन् । उहाँले प्रतिनिधि सभामा सम्पती शुद्धिकरण मनि लाउण्डरिङ निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकका साथै राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा सन्देशसहित तीन वटा विधेयक रहेको प्रवक्ता गिरीले बताउनुभयो ।

गिरीले प्रतिनिधि सभाको आगामी बैठकमा सम्पती शुद्धिकरणसँग सम्बन्धित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस हुने सम्भावना रहेको उल्लेख गर्नुभयो । सांसदहरुले भने सरकारले संसदलाई बिजनेस दिन नसकेको गुनासो गरेका छन् । संघीय संसदको यो अधिवेशन लगत्तै बजेट अधिवेशन पनि सम्मुखमा रहेको छ ।

संसदमा रहेका राजनैतिक दलहरु अहिले कसलाई राष्ट्रपति बनाउने भन्ने कसरत रहँदा संसदले बिजनेस पाउन सकेको छैन् । बैशाख अन्तिम साताबाट बजेट अधिवेशन सुरु हुनेछ । 

प्रधानन्यायाधीश नियुक्ति चाँडो गर्न नेपाल बारको माग

काठमाडौँ । सर्वोच्च अदालत विगत १ बर्षदेखि कायम मुकामयमको भरमा चल्दा समेत सरकारले नयाँ नियुत्ति प्रकृया अघि बढाएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएपछि त्यसयता दीपक कार्कीले कायममुकायमका रुपमा काम गरिरहनुभएको थियो ।

कार्कीले असोज १५ गते अवकाश पाएकाले १६ गतेदेखि कायममुकायमको जिम्मेवारीमा हरिकृष्ण कार्की हुनुहुन्छ । तर, संवैधानिक परिषद्ले नाम सिफरिस नगर्दा तथा संसदीय सुनुवाई समिति समेत नभएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको टुंगो छैन । संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । 

महाभियोगको प्रस्ताव आएपछि निलम्बनमा पर्नुभएका चोलेन्द्र शमसेर जबराले गत मंसिर २७ गतेदेखि अनिवार्य अवकास पाइसक्नभएको छ । तर, उहाँ विरुद्धको महाभियोग प्रस्तावले भने टुंगो पाएको छैन । अहिलेका कायममुकायम प्रधानन्यायाधीश कार्कीले पनि ६५ वर्ष उमेर हदका कारण भदौ २३ मा अवकाश पाउँदै हुनुहुन्छ । तरपनि राष्ट्रपति निर्वाचनको तछाडमछाडमा अल्मिलिएका दलहरुले न्यायालयको नेतृत्वबारे चाँसो देखाएका छैनन् । 

कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताउनुभयो । सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेषरूपमा लिनुपर्ने उहाँको भनाइ थियो।अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताउनुभयो । 

बाग्मती प्रदेशसभा बैठक भोलि बस्दै 

काठमाडौँ । बागमती प्रदेशसभा बैठक भोलि बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै भोलि दिउँसो २ बजेर १० मिनेटमा प्रदेशसभा बैठक बस्ने जनाएको हो ।  बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा निजामती कर्मचारीसम्बन्धी २ वटा अध्यादेशका प्रतिस्थापन विधेयक संसद् बैठकमा पेश गरिने छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेश गरिनेछ । यसअघि राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधनसम्बन्धी अध्यादेश जारी गरेको थियो । अध्यादेशले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि एमालेले विरोध गरेको थियो । उक्त अध्यादेश निष्क्रिय पार्न वर्तमान सरकारले विधेयक ल्याएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउन तीनै तहको सकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । आज हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको स्वास्थ्य भवन उद्घाटन गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले गुणस्तीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिनुभएको हो ।

स्वस्थ नागरिक उत्पादनको लागि विद्यार्थी तहदेखि नै बालबालिकालाई हेरचाहसहित पोशणयुक्त खाना खुवाउनुपर्ने उहाँले बताउनुभयो ।स्वास्थ्य सेवा र शिक्षाको लागि ठूलो मात्रामा विदेश पलायन भइरहेको पुँजिलाई रोक्न स्वदेशमै गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा यस प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति भण्डारीको अपेक्षा छ । 

शेर्पा समुदायले मनाए ग्याल्बो ल्होछार 

काठमाडौँ । शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।नयाँ वर्षका रुपमा शेर्पा समुदायले २ हजार १५०औँ ग्याल्बो ल्होछार मनाएका हुन् ।ल्होछारको अवसरमा काठमाडौंको बौद्ध स्तुपमा शेर्पा समुदायले आज पूजा गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्बो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्बो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।समय क्रममा ग्याल्बो ल्होसार नामकरण भएको अनुसन्धानदाता टीका शेर्पाको भनाइ छ ।

उहाँका अनुसार ल्होसारलाई कसैले ग्याल्बो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेका छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।ग्याल्बो ल्होछारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा कतार र दुबई जान रोक

काठमाडौँ । सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदका लागि वैदेशिक रोजगारीमा जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नु परेको समेत अवस्था छ । अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारवाहीमा परी ठूलो जरिवाना बुझाउनु परेको समेत गुनासो आएको छ । 

आर्थिक खबर
दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

काठमाडौँ । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो ।

जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । चौधरीकाअनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको उहाँले बताउनुभयो ।

बोर्डले गत २ फागुनमा मूल्य बढाउनेबारेको अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो । मूल्य बढ्न प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषद्मा मूल्य सिफारिस गर्नेछ । सरकारले मूल्य बढाउनेबारे निर्णय लिनु पर्छ । तर, कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दूधको मूल्यबारे जानकारी नभएको बताउनुभएको छ ।

विदेशका खबर

काठमाडौँ । चीनले कोरियाली प्रायद्वीप समस्याको समाधान राजनीतिक समाधान खोजिनु पर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी उपप्रतिनिधि डाई बिङले कोरियाली प्रायद्वीपमा फेरि द्वन्द्व बढेको वास्तविकतातर्फ ध्यानाकर्षण गराउँदै  स्थिति थप चर्किन सक्ने चेतावनी दिनुभएको हो ।

उहाँले द्वन्द्वबाट कुनै पक्षको हित नहुने बताउँदै चीनले कोरियाली प्रायद्वीपमा दिगो शान्ति चाहेको उल्लेख गर्नुभयो । कोरियाली प्रायद्वीप मुद्दाको जडमा जडमा ध्यान केन्द्रित गर्न आवश्यक भएको उहाँको भनाइ छ । उत्तरकोरियाले लामो समयदेखि ठूलो सुरक्षा दबाब, चुनौती र धम्कीको सामना गरिरहेको छ ।

यो वर्षको सुरुदेखि नै संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले प्रायद्वीप वरिपरि संयुक्त सैन्य गतिविधि बढाएकाले उक्त क्षेत्रमा असुरक्षाको भावना बढेकाले सम्बद्ध पक्षलाई गम्भीर हुन नियोग उपप्रमुख डाईले आग्रह गर्नुभयो । उत्तर कोरियासँग अमेरिकाले निःशर्त वार्ता गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

कोरियाली प्रायद्वीपको समस्या समस्या समाधानमा सुरक्षा परिषद्ले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै चिनियाँ कूटनीतिज्ञले प्रायद्वीपको वर्तमान अवस्था अत्यन्त संवेदनशील एवम् जटिल भएकाले परिषद्को गतिविधिले परिस्थितिलाई सहज बनाउनुपर्ने बताउनुभयो । 

खेल खबर
नेपालको ऐतिहासिक जित 

काठमाडौँ । कप्तान रोहित पौडेलेको शानदार इनिङप्रेरित नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्लीनस्वीप गरेको छ । अन्तिम खेलमा च्आज याम्पियन स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेंगै नेपालले श्रंखलाका ४ वटै खेलहरु जितेर क्लीनस्वीप गरेको हो । त्रिवि क्रिकेट मैदानमा आज स्कटल्यान्डले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले १०१ बलमा सात चौका र चार छक्कासहित अविजित ९५ रनको इनिङ खेलेका हुन् ।

नेपालले ४४.१ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नवौं विकेटका लागि रोहित र करण केसीले नवौं विकेटका लागि ७५ रनको ऐतिहासिक साझेदारी गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए । रोहित र करणको नवौं विकेटका लागि साझेदारी गरेको सर्वाधिक ठूलो साझेदारी हो ।  यसअघि यो कीर्तिमान सोमपाल कामी र सन्दीप लामिछानेको नाममा रहेको थियो । उनीहरूले नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ मा ४१ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए । यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिकोणत्मक एकदिवसीय शृंखलामा ऐतिहासिक जीत निकाल्ने नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । आज भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ । नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न बाँकी आठवटै खेल जित्नुपर्ने दबाब छ । नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग अर्को शृंखला खेल्ने छ । त्यसपछि नेपालमै हुने अन्तिम शृंखलामा पीएनजी र यूएईसँगै त्रिवि क्रिकेट मैदानमा नेपालले खेल्ने छ । नेपाललाई एकदिवसीय मान्यता जोगाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने बाध्यता छ ।