Live Streaming

अन्नपूर्ण दिनभर : सम्पत्ति सुद्धिकरणसम्बन्धि विधेयकमा छलफल, संसदमा आज के के भयो ? 

संसदको विशेष समयमा सांसदका कुरा

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभएको छ । केही दिनअघि भारतका कूटनीतिज्ञ सुखदेव मुनीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपालका सम्भावित राष्ट्रपति भन्दै चार जनाको नाम सार्वजनिक गर्नुभएको बिषयलाई लिएर पन्तले सो प्रश्न गर्नुभएको हो । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले गतहप्ता भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण हुँदा भएको भेटघाटलाई पनि आपत्ति जनाउनुभएको हो । 

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग ग्नुृभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गर्नुभएको हो । लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन सकिने बताउदै उहाँले एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न, सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान समेत माग गर्नुभयो । 

यस्तै, नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ । पार्टीका सांसद गंगाराम थारूले आफूहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक भनिरहेपनि धारण नआएको बताउनुभयो । यस्तै राष्ट्रिय पजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले देशमै मल उत्पादन गर्नका लागि कारखानाको आवश्यकतामा जोड दिनभएको छ ।

त्यसका लागि डीपीआर भएको जानकारी आफूले पाएको बताउदै राणाले बजेट भाषणभन्दा अगाबै टेण्डर प्रकृया अघि बढाउन माग गर्नुभयो । यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले यो देशमा अँझैपनि राजतन्त्र छ भन्दै प्रश्न गर्नुभएको छ । पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको वक्तव्यमा श्री ५ उल्लेख गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो । संविधानमाथि प्रहार गर्ने र अहिलेको व्यवस्थाका विरुद्धमा तथा जनताको वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती दिनेगरि भएका वक्तब्यबाजी प्रति आपत्ति जनाउनुभयो । 

सम्पत्ति सुद्धिकरणसम्बन्धि विधेयकमा छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक  वातावरण प्रर्वधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधयक २०७९ माथि सामान्य छलफल भएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधानले पेश गर्नुभएको प्रस्तावमा बोल्ने सांसदहरुले विधेयकको शब्दावलीमै आपत्ति जनाएका छन् । उनीहरुले सम्पत्ति सुद्धिकरणसंगै निवारण पनि जोडिएकोप्रति आपत्ति जनाएका हुन् । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सम्पत्ति सुद्धिकरण र निवारण संगै जोडिदा फरक अर्थ लाग्ने भएकाले सच्याउन सुझाव दिनुभयो । 

केसीले उठाउनुभएको बिषमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालाले पनि सर्मथन जनाउनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सुमना श्रेष्ठले सम्पत्ति सुद्धिकरण निवारणजस्तो बिषयलाई संसदले हलुका रुपमा लिएको बताउनुभयो । ३ हप्ताभन्दा कम अध्ययन को समय र ७२ घण्टा संसोधनको समय यस विधेयकका लागि पर्याप्त छ भन्दै प्रश्न समेत गर्नुभएको छ ।

सम्पत्ति सुद्धिकरणको ग्रीन लिष्टमा नेपाल सन् २०१० देखि २०१४ को बिचमा समेत परेको उल्लेख गर्दै उहाँले त्यसपछि आराम गरेर बसेको सरकारले फेरी ग्रीन लिष्टमा पर्ने डर भएपछि हतार–हतारमा विधेयक ल्याईएको टिप्पणी गर्नुभयो । यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पनि विदेशीलाई देखाउन र कालोसूचीबाट पार पाउनका लागि मात्रै गर्न विधेयक ल्याउन खोजिएको हो कि भ्रष्टाचार अन्तयको बिषय पनि जोडिएको छ भन्दै प्रश्न गर्नुभएको छ । 

आजको बैठकले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक  वातावरण प्रर्वधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्व्ीकृत भएको छ । विधेयकमा संसोधन पेश गर्ने सांसदहरुलाई ७२ घण्टाको समय दिईएको छ । त्यसपछि दफावार छलफल चल्नेछ । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरि आजको बैठक स्थगित भएको छ । 

राष्ट्रपति निर्वाचन प्रक्रिया 

काठमाडौँ । आगामी फागुन २५ गते हुने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सरगर्मी सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज  ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरिसकेको छ । राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । मतदाता नामावलीमा फरार सांसद लक्ष्मी चौधरी कोइरीको नाम पनि समावेश छ । उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको आयोगको भनाइ छ । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने बताइएको छ ।

राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था नेपालको  संविधानको धारा ६२ गरिएको छ । संविधानको उक्त धाराको उपधारा २ मा कुनै प्रदेशसभाको निर्वाचन हुन नसकेको अवस्थामा पनि राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि निर्वाचक मण्डल गठनमा बाधा नहुने व्यवस्था छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा सङ्घीय संसद्मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल सङ्घीय संसद्तर्फको मतभार हुने निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताउनुभयो । 

नेपालको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने भएकाले फागुन २५ को निर्वाचनको नतिजाका आधारमा कस्तो व्यक्ति उपराष्ट्रपति हुने टुङ्गो लाग्नेछ । संविधानअनुसार सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुने अर्यालले बताउनुभयो । 

राष्ट्रपति तथा उपराष्ट्रपतिमा उठ्नको लागि कम्तिमा ४५ बर्ष उमेर पुगेको र मतदाता नामावलीमा नाम भएको हुनुपर्ने कानुनमा ब्यवस्था छ ।  साथै दोस्रो पटक राष्ट्रपति भैसकेको ब्यक्ति तेस्रो पटक हुन नपाउने ब्यवस्था रहेको अर्यालको भनाई छ । 

प्रचण्ड र ओलीबीच भेट 

काठमाडौँ । राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न तीन दिनमात्रै बाँकी रहँदा शीर्ष नेताहरुको दौडधुप बढेको छ । संसद्को ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमालेसहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने गरी चर्चा र छलफल अगाडि बढेको छ ।

सत्ताको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ । कांग्रेस भने विगतको पाँच दलीय गठबन्धन ब्युँताएर राष्ट्रपति आफूले लिन प्रयासरत छ । राष्ट्रपतिमा सहमति जुटाउन दलहरु आन्तरिक तथा बाह्य छलफलमा जुटेका छन् ।

यसैबीचप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तैलोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै आज लोसपाका शिर्ष नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । 

यसैबीचनेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वन गरेको छ । कांग्रेसले राष्ट्रपति निर्वाचनकोे उम्मेदवार छनौटबारे छलफल गर्न भोलीका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो । कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला राष्ट्रपतिको उम्मेदवार बन्ने आंकाक्षीको रूपमा देखिएका छन् । पछिल्लो समय सभापति शेरबहादुर देउवा नै उम्मेदवार हुने संभावना पनि रहेको बताइएको छ । यस्तै राष्ट्रपतिको निर्वाचनको रणनीति बनाउन राप्रपाले पनि पर्सी शुक्रबार कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

बागमती प्रदेशसभामा २ वटा विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौँ । बागमती प्रदेशको प्रदेशसभा बैठकमा आज २ वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभा बैठकमा पेश भएका दुई प्रतिस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । बैठकमा बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । बागमती प्रदेशमा विषयगत संसदीय समिति गठन नभएकाले विधेयकलाई अर्को प्रदेशसभा बैठकमा छलफल गरी पास गर्ने कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको छ ।

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ । स्थानीय तहका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता लोकेन्द्र ओलीले आज राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो । गत फागुन ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा गर्नुभएको थियो । अधिवक्ता ओलीले रिटको सुनुवाइ फागनु १२ गतेलाई तोकिएको जानकारी दिनुभयो । आयोगले गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने  १ लाख २३ हजार ६५० जना उम्मेदवारलाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।

उमेर विवाद : डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिनुभएको छ । उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उहाँले आज प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिनुभएको हो । सिंह हालसुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ ।  २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत ५ सम्म प्रहरी सेवामा रहनुहुन्थ्यो । उहाँका ब्याजीमध्येबाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिन बाध्य हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका दाबेदार रहेका सिंह त्यसपछि भावी महानिरीक्षक बन्ने दौडमा हुनुहुन्थ्यो ।

प्रहरी सिटरोलमा सिंहको जन्ममिति २०२५ पुस १६ उल्लेख छ । २०४२ जेठ २२ मा जारी भएको नागरिकतामा भने उमेर १८ वर्ष लेखिएको छ । सिंह २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको थियो । सिंहको राजीनामासँगै अब भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा मुख्य प्रतिष्पर्धी देखिनुभएको छ ।

सिरहामा मनि ट्रान्सफरका कर्मचारीबाट लुटियो ९ लाख

काठमाडौँ । सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लग्दै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । मिर्चैया–कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट प्रहरी र मनि ट्रान्सफरका कर्मचारीबाट लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका हुन् । अहिले लुटेरा खोज्न सिरहाका हरेक सडकमा प्रहरी परिचालन गरिएको छ ।

सिरहाका प्रहरीका अनुसार ज. ६ प. ४२५६ नम्वरको मोटरसाइकलमा प्रहरीको सुरक्षामा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारी मिर्चैयाबाट ९ लाख रुपैयाँ लग्ने क्रममा लुटेराले लुटेर फरार भएका छन् । मोटरसाइकलमा रहेका लुटेराले रकम र प्रहरीबाट हतियार समेत लगेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गर्दै थप विवरण आउन नसकेको बताउनुभयो । 

धनगढीमा ९ किलो चरेससहित तीन जना पक्राउ

काठमाडौँ । कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका सशस्त्र प्रहरीका डीएसपी एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलवारीले उनीहरुलाई पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँज गर्दा उनीहरुको साथमा ९ किलो चरेस फेला परेको थियो । 

सुदूरपश्चिममा भूकम्पको धक्का 

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा ठूलो भूकम्पको धक्का महसुस भएको छ ।  आज दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म नआएको प्रहरीले जनाएको छ । अहिले सुदूरपश्चिका जिल्लाहरुमा क्षतिको विवरण संकलन सुरु भएको प्रहरीको भनाइ छ । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर  एक जनाको मृत्युु भएको थियो । 

आर्थिक खबर
सात महिनामा आयातमा सवा ९ खर्ब खर्च, निर्यात १ खर्ब पनि पुगेन

काठमाडौँ । गत साउनयता ७ महिनामा नेपालमा ९ खर्ब रूपैयाँभन्दा बढीको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात–निर्यात तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महिना (साउनदेखि माघ) सम्म मुलुकबाट ९ खर्ब १९ अर्ब १६ करोड रूपैयाँ वस्तु आयातका नाममा बाहिरिएको छ । यो अवधिमा वैदेशिक व्यापार घाटा ८ खर्ब रूपैयाँ नाघेको छ । यस आधारमा हेर्दा नेपालको पुँजी एक महिनामै एक खर्ब रुपैयाँ भन्दा बढीले बाहिरिएको देखिन्छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रूपैयाँको व्यापार घाटा व्यहोरेको नेपालले यो पटक घाटा साँघुर्रयाएको छ । 

वैदेशिक व्यापार घाटामा गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले कमी आएको छ । पछिल्लो ७ महिनामा ९३ अर्ब ४३ करोड रूपैयाँ बराबरको मात्र मालवस्तु नेपालले निर्यात गरेको छ । यो पटक गत वर्षको तुलनामा २९ प्रतिशतले निर्यातमा कमी आएको छ । गत आवको ७ महिनामा एक खर्ब ३१ अर्ब ६५ करोड बराबरको माल वस्तु निर्यात गरेको नेपालले यो वर्ष २९.०३ प्रतिशतले कम निर्यात गरेको हो । विशेषगरी नेपालको धेरैजसो रकम पेट्रोलियम पदार्थ आयातमा विदेश जाने गरेको छ । यस्तै फलाम जन्य सामाग्री, खाद्यान्न, लता कपडा, रक्सीलगायतका सामानहरू पनि धेरैजसो विदेशबाटै आउने गरेको छ । नेपालमा सबैभन्दा बढी भारत तथा चीनबाट आयात हुन्छ ।

सेयर बजारमा दोहोरो अंकको सुधार,१ अर्ब ८० करोडको कारोबार

काठमाडौँ । सेयर बजारमा आज दोहोरो अंकले सुधार आएको छ । नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा  पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ४.८१ अंकले बढेर ३९६.३४ विन्दुमा अडिएको छ । आज २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रूपैयाँको सेयर कारोबार भयो ।

आज यसदिन कुनैपनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार नभए पनि दुई कम्पनीको मूल्य  ९ प्रतिशत बढि र १ को ९ प्रतिशतले बढेको छ । लिबर्टी इनर्जी र चन्द्रागिरी हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशत बढिले बढ्दा दोर्धी खोला जल विद्युतको सेयर मूल्य ९ प्रतिशतले बढेको हो । आज कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो । सो कम्पनीको १३ करोड २७ लाख बढिको सेयर कारोबार भएको छ । यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको मूल्य बढेको छ भने, ३ को घटेको छ । 

विदेशका खबर

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर र चीनका शीर्ष कूटनीतिकर्मी वाङ यी बीच आज मस्कोमा भेटवार्ता भएको छ । भेटघाटमा दुई देशको सम्बन्धका विषयमा छलफल भएको हो । दुई देशको सम्बन्ध योजनामुताबिक नै विकसित भइरहेको र नयाँ कोशेढुंगा भएको राष्ट्रपति पुटिनको भनाइ छ । रुस र चीनको आपसी वार्षिक कारोबार सन् २०२४ अगावै २०० अर्ब डलर पुग्ने अनुमान गरिएको छ । अहिले जटिल बनेको अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा बेइजिङसँग मिलेर काम गर्न पाएकोमा मस्को कृतज्ञ रहेको पुटिनले बताउनुभयो । वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिलाई स्थिर बनाउनका लागि रुस र चीनको सहकार्य आवश्यक रहेकोमा पुटिन र वाङले जोड दिएका छन् । रुसले चीनका राष्ट्रपति सी चिनपिङको भ्रमणको प्रतीक्षा गरिरहेको पनि पुटिनले बताउनुभयो । 

खेल खबर 
राखेपमा पत्राचार 

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाइएको छ  ।  नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको जानकारी दिनुभयो ।

नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् । घरेलु टोली नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्लीनस्वीप गरेको छ । अन्तिम खेलमा च्आज याम्पियन स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेंगै नेपालले श्रंखलाका ४ वटै खेलहरु जितेर क्लीनस्वीप गरेको हो ।

नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न बाँकी आठवटै खेल जित्नुपर्ने दबाब छ । नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग अर्को शृंखला खेल्ने छ । त्यसपछि नेपालमै हुने अन्तिम शृंखलामा पीएनजी र यूएईसँगै त्रिवि क्रिकेट मैदानमा नेपालले खेल्ने छ । नेपाललाई एकदिवसीय मान्यता जोगाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने बाध्यता छ ।

आइसीसी वरियता 

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सीता राना मगरको टी–ट्वान्टी ब्याटिङतर्फको वरीयता यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीता ६८ औं स्थानमा कायमै रहेकी छिन् । बलिङतर्फको वरीयतामा नेपालकी कविता कुँवर पनि यथावत रहेकी छिन् ।

नयाँ वरीयता अनुसार कविता ९५ औं स्थानमा कायमै रहेकी छिन् । बलिङतर्फको शीर्ष वरीयतामा इंग्ल्यान्डकी सोफी एक्लेस्टोन रहेकी छिन् ।ब्याटिङतर्फ अष्ट्रेलियाकी ताहलिया म्याकग्राथ  शीर्ष स्थानमा रहेकी छिन् । महिला टी–ट्वान्टी वरीयतामा नेपाल १८ औं स्थानमा यथावत रहेको छ ।