Live Streaming

स्ववियु निर्वाचन : विद्यार्थी सङ्गठनको तयारी तीव्र

 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनले पनि तयारी तीव्र पारेका छन् ।

स्ववियु निर्वाचनमा आफ्नो आआफ्नो सङ्गठनलाई जिताउनका लागि विद्यार्थी सङ्गठनले विभिन्न समिति गठन गरी तयारी तीव्र पारेका हुन् । अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु (छैटौँ) ले स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरिसकेका छन् ।

आगामी चैत ५ गते देशभरका त्रिविअन्तर्गत क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भइसकेको छ । अनेरास्ववियुले अध्यक्ष समिक बडालले नेतृत्वमा एक हजार एक सदस्य स्ववियु परिचालन मूल समिति गठन गरेको छ । त्यस्तै चार उपाध्यक्षको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको महासचिव नरेश रोकायाले जानकारी दिनुभयो ।

उपाध्यक्ष नारायण घर्तीको संयोकत्वमा स्ववियु घोषणापत्र निर्माण उपसमिति, उपाध्यक्ष गोविन्द गिरीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, अर्का उपाध्यक्ष मर्यादा विष्टको संयोजकत्वमा स्ववियु स्वयंसेवक परिचालन उपसमिति र उपाध्यक्ष धर्म गिरीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ ।

अखिलले फागुन १३ गते देशभरिकै क्याम्पसमा भेला राखेर सम्भावित स्ववियु उम्मेदवारको सूची तयार पार्ने महासचिव रोकायाले जानकारी दिनुभयो । उहाँले स्थायी कमिटी सदस्यलाई उपत्यकाका क्याम्पस र केन्द्रीय सदस्यलाई सम्बन्धित क्याम्पस र जिल्लामा रहेका क्याम्पसमा खटाइएको बताउनुभयो ।

नेपाल विद्यार्थी सङ्घले पनि स्ववियु निर्वाचनको तयारीका लागि विभिन्न पाँच समिति गठन गरेको छ । सङ्घले घोषणा लेखन, स्ववियु निर्वाचन प्रशिक्षण, विद्यार्थी सङ्गठन समन्वय समिति, स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवं सुरक्षा समन्वयन समिति र स्ववियु प्रचारप्रसार समिति गठन गरिसकेको सङ्घका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिनुभयो । ढकालको संयोजत्वमा स्ववियु निर्वाचन प्रशिक्षण गठन भएको छ । सङ्घले सातवटै प्रदेशमा प्रशिक्षण समिति गठन गरेको छ ।

पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा स्ववियु घोषणापत्र समिति, पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालको संयोजकत्वमा स्ववियु प्रशिक्षण समिति, सङ्घका नेता डा सन्तोष उपाध्यायको संयोजकत्वमा स्ववियु प्रचारप्रसार समिति गठन गरिएको छ । सङ्घका नेता दिनेश शाहीको संयोजकत्वमा विद्यार्थी सङ्गठन समन्वय समिति र सङ्घका अर्का नेता उज्ज्वल बज्राचार्यको संयोजकत्वमा स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवं सुरक्षा समन्वय समिति गठन गरिएको छ । पूर्वकेन्द्रीय सदस्य ढकालले स्ववियु निर्वाचनका लागि १५ देखि १६ गते घोषणापत्र सार्वजनिक गरिने जानकारी दिनुभयो ।

अखिल (क्रान्तिकारी) ले पनि स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । अनेरास्ववियुका महासचिव दीपेश पुनले स्ववियु निर्वाचनका लागि सातवटै प्रदेशमा स्ववियु निर्वाचन केन्द्रित कार्यशाला गरेको छ । उहाँले महत्त्वपूर्ण ठूला क्याम्पसमा उपाध्यक्षलाई खटाइएको जानकारी दिनुभयो । सचिव, केन्द्रीय सचिवालय र केन्द्रीय सदस्य पनि आवश्यकअनुसार परिचालन गरिएको उहाँको भनाइ छ । उहाँले स्ववियु निर्वाचन हुने क्याम्पसमा स्ववियु परिचालन समिति गठन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्ष नारायण खनालको संयोजवत्वमा स्ववियु निर्वाचन घोषणापत्र लेखन समिति, उपाध्यक्ष टुकमान महराको संयोजकत्वमा स्ववियु परिचालन समिति, उपाध्यक्ष मिलन एमसीको संयोजकत्वमा प्रचारप्रसार समिति, विभिन्न विद्यार्थी सङ्गठन छलफल र वार्ताका लागि समन्वयका लागि उपाध्यक्ष क्षितिज सापकोटालाई जिम्मेवारी दिइएको छ । उम्मेदवार छनोट गर्ने सम्बन्धित कमिटीले सर्वसम्मत निर्णय गर्ने र विवाद भएमा मात्र उपल्लो कमिटीमा सिफारिस गर्ने भनिएको उहाँले बताउनुभयो ।

त्रिविले आगामी चैत ५ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

अनेरास्ववियुका पनि स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा एक हजार एक सय ११ स्ववियु परिचालन गठन गरेको छ । उपाध्यक्ष माधव पन्तको संयोजकत्वमा स्ववियु घोषणापत्र समिति र अर्का उपाध्यक्ष हिरेन्द्र शाहीको संयोजकत्वमा अन्य विद्यार्थी सङ्गठनसँग तालमेल गर्नका लागि वार्ता समिति गठन गरेको छ ।

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि यता नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभर त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । यसपटक स्ववियु देशभरका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।

स्ववियुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालबाट चयन हुने छन् ।