Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेस नेतृत्वको तत्कालिन गठबन्धन ब्यूँतियो, राष्ट्रपतिमा कांग्रेसलाई सघाउने ८ दलबीच समझदारी 

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउने आठ दलको सहमति

काठमाडौँ । संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बसेको बैठकले नेपाली कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको हो ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिनुभएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाउनुभएको हो । आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताउनुभयो । 

आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।

नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्नेछ । 

तेह्रथुमको हातिखर्कमा भीषण आगलागी, १४ घर जलेर नष्ट

काठमाडौँ । परेर पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपामा २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खाती छन् । हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा शुक्रबार दिँउसो २ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको हो ।

मृत्यु भएका खाती सोही घरमा बस्दै आएका थिए । छिमेकी शरण पन्थाकका छोरा सेसेहाङ उनीसँग खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको हो । दिउँसो अभिवाक दाउरा खोज्न जंगल गएका बखत दुई बालक मात्रै रहेको बेलामा घरमा आगो लागेको बताइएको छ । यद्यपि आगो के कसरी लाग्यो खुल्न नसकेको घटनास्थलमै रहेका वडाध्यक्ष धनकुमार लिम्बूले जानकारी दिनुभयो ।

आगोले घर जलेर पूर्ण रुपमा क्षति भएको छ । उनीहरुको शव घरको माथिल्लो तलामा जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको पनि वडाध्यक्ष लिम्बूको भनाइ छ । घटनाबारे जानकारी पाएलगत्तै पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र प्रहरी नायव उपरीक्षक हरि खतिवडा घटनास्थल पुग्नुभएको छ । 

तेह्रथुममा भीषण आगलागी हुँदा १४ घर जलेर नष्ट भएका छन् । जिल्लाको आठराई गाउँपालिका–६ चुहानडाँडाको हातिखर्कस्थित घोडेटार सामुदायिक वनबाट लागेको आगो गाउँ पसेको हो । आगलागीबाट हालसम्म १४ घर जलेर नष्ट भएको तर आगोलागी नियन्त्रणको प्रयास भईरहेको आठराई गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बाँस्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन ।

हावहुरी चलिरहेकाले आगलागी झनै फैलिरहेको छ । सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोली र स्थानीयसहित आगो नियन्त्रणमा लिनको लागि करिब २ सय ब्यक्ति परिचालन गरिएको उहाँले बताउनुभयो । आयो नियन्त्रणमा लिन पाँचथर नगरपालिकाको दमकल मगाईएको भएपनि अझै आईपुगेको छैन । करिब ६०  घरको बस्ती रहेको सो स्थानका १४ घर जलिसकेको र अन्यघरहरुमा आगो लाग्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । 

संसदमा सांसद भेट्न मुस्किल, विधेयक पास गर्न पुग्दैन गणपूरक संख्या

काठमाडौँ । नयाँ संसदप्रति पनि सरकार उदासिन भएको पाईएको छ । संघिय संसदको राष्ट्रियसभाका सांसदहरुले विजनेश नै नपाएको दुखेसो गरिरहेकै अवस्थामा प्रतिनिधिसभाको शुक्रबारको  बैठक पनि गणपूरक संख्या नपुगेरै स्थगित भएको छ । 

गत ४ मंसिरमा सम्पन्न आम चुनावपछिको आजको १२ औं बैठक हो । बैठकको सुरुवातीदेखि नै न्यून उपस्थिती रहेको संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मुल्याङ्कन विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गनुृभयो ।

प्रस्तावमाथि छलफल पनि भयो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ पनि मन्त्री शर्माले दिनुभयो । तर, प्रस्तावलाई सभामुख देवराज घिमिरेले निणर्यार्थ प्रस्तुत गर्न खोज्दा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार सदनप्रति उत्तरदायी नभएको भन्दै गणपूरक संख्या यकिन गर्न आग्रह गर्नुभयो ।

सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाई गणपुरक संख्या यकिन गरे। नेपालको संविधानको धारा ९४ अनुसार सामान्यतया कुनैपनि विधेयक पारित गर्न कुल संख्याको एक चौथाई सांसदको उपस्थिती आवश्यक पर्छ ।   सभामुख घिमिरेले गणपूरक संख्या ६९ हुनुपर्नेमा ५० सांसद उपस्थित रहेकाले आजको बाँकी कार्यक्रम स्थगित भएको घोषणा गर्नुभयो ।

सभाको अर्को बैठक फागुन १५ गते सोमबार दिनको १ बजे बस्नेछ । अघिल्लो कार्यकालमा प्रतिनिधिसभा र संसदीय समितिमा गणपूरक संख्या नपुग्ने समस्या ताजै छ । त्यस्तो समस्यालाई दोहोरिन दिन नहुने बाचा गर्दै सुरु भएको चुनाव पछिको बाह्रौं बैठक नै गणपूरक संख्या नपुगेर संसदको बिजनेश अगाडि बढ्न नसकेको हो । 

त्यसअघि बैठकको शून्य समयअघि बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई कामु रुपमै नराखी तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्नुभएको थियो । लोकतन्त्रमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले नै अन्याय खेप्नुपर्ने हो? भन्दै प्रश्न उठाउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गर्नुभएको छ । शून्य समयमा बोल्दै सांसद गुरुङले सो माग गर्नभएको हो । मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको र आर्थिक बेथितिबाट आक्रान्त भईरहेका बेला संकट मोचन गर्नका लागि आर्थिक सुशासन कायम गर्नुपर्ने र त्यसका लागि ठूलाठूला भ्रष्टाचार काण्डको छानविन हुनुपर्ने बताउनुभएको हो ।

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरवारभित्र जनता सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्थाका लागि रुलिङको माग गर्नुभएको छ ।सरकारले लाइनमुक्त राष्ट्र भनेर घोषणा गरेको तर, हरेक ठाउँमा सेवाग्राहीको लाइन देखिन नछाडेको बताउदै उहाँले त्यसको उदाहरणका लागि सिंहदरवारको दक्षिण गेटको अवस्था हेर्न सुझाउनुभयो । 

यस्तै नेपाली कांग्रेसका सांसद सञ्जय प्रसाद गौतमले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पृथक ढंगले हेरिनुपर्ने बउताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै गौतमले बर्दियादेखि कञ्चनपुरसम्म निर्माणधिन बिभिन्न राष्ट्रिय गौरवका आयोजनाहरु रहेको स्मरण गराउँदै बाँके, बर्दिया, कैलाली र कञ्चनपुर कृषिको हव बन्नसक्ने र आत्मनिर्भरताको बाटो सुरु गर्न सकिने बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसका सांसद एनपी साउँदले शून्य समयमा उठान भएका समस्याबारे सरकार गम्भीर नभएको बताउदै सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिनका लागि स्पष्ट रुलिङको माग गर्नभयो 

सन्दीप जान पाएनन युएई  

काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने युएई भ्रमणमा सहभागी हुन नपाउने भएका छन् । सर्वोच्च अदालतले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले दायर गरेको अपीलमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो ।  

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो । क्यानले सन्दीप टिमको महत्पूर्ण खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै सर्वोच्च अदालतसमक्ष अपील गरेका थिए ।

 महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गते आइतबार पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७९–८० का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस वर्षका लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ ।  त्यस्तै बैठकले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाजेमि तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्टपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल दूर सञ्चार प्राधिकरणमा कानुन सदस्यको पदमा सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने बैठकले निर्णय गरेको छ । 

दिलीप हत्यामा संलग्न दुई जनालाई २५ वर्ष कैद सजाय

काठमाडौँ । क्रसर डनबाट हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतो (ओमप्रकाश)को मुद्दामा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गरेको छ । तीन वर्षअघि धनुषाका दिलीप महतोको हत्यामा जिल्ला अदालतले दुई जनालाई २५–२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो ।

जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज हत्यामा संलग्न रहेका विपिनकुमार महतो र मुनीन्द्र महतोलाई २५–२५ वर्ष कैद सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिनुभयो । दुवै जनालाई पाँच–पाँच लाख रकम पीडित परिवारलाई दिनुपर्नेगरि सजाय पनि तोकिएको छ । 

त्यसैगरि हत्याका मतियार ठहर भएका जितेन्द्र महतोलाई भने १२ वर्ष कैद र साढे २ लाख जरिवाना तोकिएको छ । उनीहरूले अदालतले तोकेको रकम बुझाउन नसकेमा राज्यकोषबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश गरेको छ । २०७६ पुस २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए । दिलीपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो ।

मन्त्री मोदीको चेतावनी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिनुभएको छ । फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री मोदीले एक–दुई हजार मान्छे जम्मा हुँदैमा म नै राजा हुँ भन्ने नसोच्न चेतावनी दिनुभएको हो । गणतन्त्रका लागि हजारौं हजार सडकमा भएको भन्दै उनले मुलुक फेरि पश्चगमनतिर नजाने स्पष्ट पार्नुभयो । देशलाई ठिक तरिकाले अगाडि लैजान खोजिरहेका बेला खल्बल्याउन नखोज्न उहाँले आग्रह गर्नुभएको हो ।  

महानगरको आग्रह 

काठमाडौँ । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउन आग्रह गरेको छ । महानगरले आज सार्वजनिक सूचना जारी गर्दै सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएपछि त्यस्ता तारहरुलाई हटाउन सम्बन्धित निकायलाई अनुरोध गरेको हो ।

ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपेको महानगरको ठहर छ । सूचनामा महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित निकायहरुलाई आफैं हटाउन अनुरोध गरिएको छ । यदि सात दिनभित्र तारहरु नहटाए कारबाही हुने चेतावनी महानगरपालिकाले दिएको छ ।

आर्थिक खबर
ऋणीको पक्षमा केन्द्रीय बैंकको निर्देशन

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेकोे एकीकृत निर्देशन, २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

त्यसअनुसार कुनै ऋणीले छुट पाउने अवधिभित्र साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण भाखा नाँघेको अवधिको पेनाल ब्याज ऋणीसँग लिन सक्नेछन् । राष्ट्र बैंकले कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु दुई करोडसम्मको कर्जालाई विभिन्न शर्त राखेर पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यो सुविधा पाउन यस्तो पुनःतालिकीकरण र पुनःसंरचना २०८० असार मसान्तभित्र गरिसक्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । त्यस्तै यसरी पुनःतालिकीकरण वा पुनःसंरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ । पुनःतालिकीकरण वा पुनःसंरचना गरिएका कर्जालाई असल वर्गमा वर्गीकरण गरी एक दशमलव तीन प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशका खबर
युक्रेन युद्ध, दोस्रो विश्वयुद्धपछिकै ठूलो भूमियुद्ध 

काठमाडौँ । रुसले युक्रेनमाथि गरेको आक्रमणलाई दोस्रो विश्वयुद्धपछिकै ठूलो भूमियुद्धको रुपमा व्याख्या गरिएको छ । आज रुसले युक्रेनमा आक्रमण गरेर द्वन्द्व भएको एक वर्ष पुगेको सन्दर्भमा नेपालस्थित ११ वटा कूटनीतिक नियोगहरूले एक वक्तव्यमार्फत दोस्रो विश्वयुद्धपछिकै ठूलो भूमियुद्ध बन्न पुगेको बताएका हुन् ।  रुसले सन् २०२२ को फेब्रुअरी २२ मा युक्रेनमाथि आक्रमण गरेको थियो । रुसले सुरु गरेको युद्धको कारण युक्रेनमा ८ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ भने १ करोड ४० लाख जना आफ्नो घरबाट विस्थापित भएका छन् ।

यसैबीच,युक्रेन युद्ध एक बर्ष पुग्दा फेरी नयाँ घटनाक्रम विकसित हुन सक्ने अनुमान गरिएको छ । रुसले युक्रेन युद्धलाई अन्तिम रुप दिने तयारी गरेको छ । युक्रेनले भने थप प्रत्याक्रमणको गर्ने निर्णय गरेको छ । युद्धमा परिचालन गर्नका लागि रुसका थप तीन लाख सैनिकहरू तयारी अवस्थामा रहेका छन् ।

पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग लुकाशेन्कोबीच पुनः भेटघाट भएको छ । रुसले आणविक हतियार उपयोगको अभ्यास पनि तीव्र पारेको छ । मंगलवार पुटिनले संसदमा पश्चिमविरुद्ध पुनः कडा अभिव्यक्ति दिनुभएको थियो । हिजो पुटिनले डिफेन्डर अफ द फादरल्यान्ड डेका अवसरमा अज्ञात सिपाहीको चिहानमा पुष्पगुच्छा चढाउनुभएको थियो ।

यसबीचमा चीनका शीर्ष कूटनीतिकर्मी वाङ यीले रुसको भ्रमण गरी राष्ट्रपति पुटिनसँग भेटघाट गर्नुलाई चासोका साथ हेरिएको छ । आजै मात्र चीनले युक्रेन युद्धका लागि शान्ति प्रस्ताव सार्वजनिक गरेको छ । तर चीनको शान्ति प्रस्तावको विषयमा वाङ र पुटिनबीच ठोस कुराकानी नभएको बताइएको छ । 

खेल खबर 
एन्फाका महासचिव र कोषाध्यक्षलाई बर्खास्त गर्न माग 

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्न माग गरिएको छ । एन्फाका तीन उपाध्यक्षसहित १२ केन्द्रिय सदस्यले आज महासचिव र कोषाध्यक्षलाई बर्खास्तको माग गरेका हुन् ।

उनीहरुले एन्फाको कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षलाई बर्खास्तीको मागसहितको ६ एजेन्डा राख्न माग गर्दै एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र पठाएका छन् ।

एन्फाको केन्द्रिय कार्यसमिति बैठक बुधबार बस्दैछ  । उपाध्यक्षहरु दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, रविन्द्रबहादुर चन्द, महेन्द्र क्षेत्री, भोजराज शाही, भरत बुढा थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेन्डा राख्न माग गरेका हुन् ।