Live Streaming

राष्ट्रपति निर्वाचन : कांग्रेसबाट पौडेल र एमालेबाट नेम्वाङले उम्मेदवारी दिने तयारी

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने, नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै,एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुलुककोे सर्वाेच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।