Live Streaming

एमालेबाट राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी

काठमाडौँ । नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।

उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो । उहाँको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा हुनुहुन्छ ।

यसैगरी उहाँको समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनुभएको छ । इलाम नगरपालिका-७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हँुदै हाल उपाध्यक्ष हुनुहुन्छ । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम-२ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम-२ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम-२ बाट लगातार निर्वाचित हुनुभएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।

उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख हुनुभएको थियो ।

विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) रहनुभएका उहाँले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटकपटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्द पर्नुभएको थियो ।