Live Streaming

अन्नपूण दिनभर : राष्ट्रपतिमा पौडेल र नेम्वाङकाे उम्मेदवारी, सत्ताको दाउपेचले प्रदेशदेखि केन्द्रसम्मै अस्थीरता !

राष्ट्रपति निर्वाचन : सर्वसम्मतीका लागि एकअर्कोको आशमा कांग्रेस–एमाले

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र ८ दलको सर्मथनमा नेपाली कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुवै उम्मेदवार पूर्व सभामुख हुनुहुन्छ । पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख हुनुभएको थियो ।

सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गर्नुभएको थियो । उहाँले २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गर्नुभएको थियो । दुबै संविधानसभामा पनि उहाँले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो । 

उम्मेदवारी दिएपनि राष्ट्रपति पाउनका लागि दुबै दलले अकअर्काप्रति आश देखाएका छन् । हिजोका दिनमा राष्ट्रपति दलको निर्देशनमा चलेको आरोप लगाउँदै आएका दलहरु महत्वपूर्ण संवैधानिक पद हात पार्न राष्ट्रिय सहमतिको सम्भावनालाई अँझै गलाईसकेका छैनन् ।
एमालेका उम्मेदवार नेम्वाङ आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्नेमा आशावादी देखिनुभएको छ ।

पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताउदै राष्ट्रिय सहमति आफूमै हुनसक्ने बताउनुभएको हो । यता नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पनि आफूलाई सर्वसहमतिको राष्ट्रपति बनाउन एमालेले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

पौडेलले संविधानको अक्षरस पालना गर्ने आफ्नो कर्तव्य हुने र नेपालको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्ने बताउनुभयो । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य मतदाता हुनेछन् । संघीय संसद्का ३ सय ३२ र प्रदेश सभामा ५ सय ५० गरी ८ सय ८२ जनाले मतदान गर्नेछन् । संघीय सांसद र प्रदेश सभाका सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । उनीहरूको मतभार पनि फरक–फरक हुनेछ ।

जसपामा उपराष्ट्रपति उम्मेदवारबारे छलफल सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ । आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि अहिले छलफल सुरु भएको हो ।

 जसपामा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर आन्तरिक छलफल सुरु हुनुका साथै त्यसका लागि नेताहरूको लबिङसमेत हुन थालेको बताइएको छ । जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ भने दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा रहेको बताइएको छ । 

सरकार पुनर्गठन हुन्छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नयाँ प्रक्रिया थालेकाले सरकार पूनर्गठन हुने बताउनुभएको छ ।  आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आठ दलबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिनै भएको बुझेको बताउनुभएको हो ।

उहाँले हिजो बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगमको भेटमा सहमतिमै राष्ट्रपति कांग्रेसलाई दिने प्रस्ताव गर्दा नमानेको पनि बताउनुभयो । नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ ।

आजको बैठक पछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय भएकाले त्यसबेला सम्म पुस १० गतेकै सहमति अनुसार अघि बढे्ने निर्णय गरेको जानकारी दिनुभयो । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । योसंगै पार्टीबाट सरकारमा सहभागि ३ मन्त्री र एक राज्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । 

समीकरण फेरिएपछि बढ्यो अस्थीरता 

काठमाडौँ । नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक समिकरण बदल्दै नयाँ गठबन्धन कायम गरेपछि नेपालको राजनीति पुनः ध्रुवीकृत भएको छ । पुरानो पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएका छन् ।

यो निर्णयसँगै केन्द्रदेखि प्रदेश सरकारको फेरि फेरबदल हुने पक्का भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनअघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भत्काउँदै पुस १० गते एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बन्नुभयो । तर, उहाँले अस्थिरताको संकेत पुष २६ गतेको अघिल्लो दिन कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटेपछि देखाईसक्नुभएको थियो ।

त्यसलगत्तै प्रतिनिधिसभाको बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गलत भएको स्वीकार्न तयार नभएपछि दलहरु शशंकित भएका थिए । सात दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले दुई महिनामै गठबन्धन बदल्नुभएको हो । 
राजनीतिक विश्लेष जगदीश दाहालले पछिल्ला राजनीतिक परिदृश्यले दलहरु स्वार्थको राजनीतिमा केन्द्रित बनेको र मुलुक नरोम्रोसंग संकटतर्फ धकेलिएको टिप्पणी गर्नुभएको छ । 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको समीकरण राष्ट्रपतिका लागि मात्रै बनेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालसंग कुराकानी गर्दै महतले अहिले कांग्रेस प्रतिपक्षी नै रहेको र सत्ता राजनीतिका बारेमा राष्ट्रपति निर्वाचनपछि छलफल हुने बताउनुभयो । 

समीकरण बदलिएपछि नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले यो समीकरण राष्ट्रपतिका लागि मात्रै बनेको दावी गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै पौडेलले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म नै सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गर्नु गलत नभएको बताउनुभयो । 

डेढ महिनामै अफ्ठ्यारोमा मुख्यमन्त्री कार्की

 काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की अफठ्यारोमा पर्नु भएको छ  । संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नयाँ राजनीतिक समीकरण बनाएपछि सत्ता गठबन्धनमा रहेको राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । राप्रपाको निर्णय र प्रदेश सरकारमा सहभागी दल माओवादी केन्द्र र जसपा नयाँ समीकरणमा जोडिएपछि प्रदेशका मुख्यमन्त्री कार्की अफठ्यारोमा परेका हुन् ।

प्रदेश १ को प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेसँग ४० सांसद छन् । दोस्रो दल कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपाको १ प्रदेशसभा सदस्य छन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ माओवादी केन्द्र र जसपा नयाँ समीकरणमा मिसिएका छन् । राप्रपा शनिबार नै संघीय सरकारबाट बाहिरिई सकेको छ । जसले गर्दा मुख्यमन्त्री कार्कीलाई सरकारमा निरन्तर रहन मुश्किल परेको  छ । 

उमेदवार छान्ने जिम्मा देउवालाई 

काठमाडौँ । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आज बिहान बसेको पार्टी केन्द्रिय कार्यासम्पादन समितिको बैठकले उम्मेदवारबारे निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट अघि सारिने उम्मेदवारबारे निर्णय गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपचुनाव प्रयोजनका लागि पार्टी दर्ता प्रक्रिया पनि थालिनेछ । चितवन– २ मा आगामी वैशाख १० मा उपनिर्वाचन मिति तोकिसकिएको छ । यसअघि निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै त्यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो । 

नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त बैठक

काठमाडौँ । नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त बैठक आज जनकपुरमा सम्पन्न भएको छ । सीमा सुरक्षा व्यवस्थामा कडाई गर्दै अपराधका सूचना एक–आपसमा आदान–प्रदान गर्ने समझदारी गर्दै बैठक सम्पन्न भएको हो । सीमा स्तम्भ अनुगन गरी आवश्यकता अनुसार मर्मतसम्भार गर्ने र लागूऔषध ओसारपसारका साथै आपराधिक क्रियाकलाप कडाइसाथ नियन्त्रण गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।

बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र भारतबाट मधुवनी जिल्लाका डिएम अरविन्दकुमार बर्माले नेतृत्व गर्नुभएको थियो । बैठकमा मधेश प्रदेशका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता रहेको बताइएको छ । 

सुनसरीको बर्जुमा दादुराको प्रकोप 

काठमाडौँ । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।  बर्जुमा पहिलो पटक वडामा नम्बर २मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो ।

हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको छ । जस मध्ये केही वयष्क व्यक्ति समेत रहेका छन् । प्रदेश–१ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।

मकवानपुरमा हातहतियार र १५ सय १५ किलो गाँजासहित ५ जना पक्राउ

काठमाडौँ । मकवानपुर प्रहरीले ठूलो परिणाममा लागू औषध गाँजा र हातहतियारसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको कैलाश गाउँपालिका–६ दुम्सीखर्क स्थित ७६ वर्षीय जित बहादुर मोक्तानको घर तथा गोठमा खानतलासी गर्दा घरबाट अवैध भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल १ थान र ६ राउण्ड गोली फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा मोक्तानको गोठबाट १ हजार ५१५ किलो गाँजा र १३ किलो चरेश, गाँजालाई च्याप्ने काठको फर्मा १ थान, तराजु १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँले हातहतियार र अवैध लागूऔषधसहित ७६ वर्षीय मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घलेलाई पक्राउ गरिएको बताउनुभयो । 

बित्तिय आतंक विरुद्ध रिले अनशन सुरु 

काठमाडौँ । बित्तिय आतंक र बढ्दो ब्याजदरको विरोधमा हाम्रो नेपाली पार्टीले रिले अनशन सुरु गरेको छ । पार्टीले आजदेखि एक सातासम्म काठमाडौंमा रिले अनशन गर्नेछ । ६ बुँदे माग राख्दै आफूहरुले रिले अनशन थालेको पार्टीका अध्यक्ष इन्जिनियर .अनन्तराज घिमिरेले जानकारी दिनुभयो । उहाँले आफ्नो माग तत्काल पूरा गर्न राष्ट्र बैंक र सरकारसँग माग समेत गर्नुभएको छ । बैंकिङ ब्याजदर १ अंकमा ल्याउनुपर्ने, कन्तिमा २ बर्षलाई स्वेच्छिक किस्ता छनौट गर्नुपर्ने, कालो धनविरुद्ध नोटबन्दी गर्नुपर्नेलगायको माग गरेको छ । 

आर्थिक खबर
आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा तोकियो

काठमाडौँ । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०\८१ का लागि १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो ।

आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा एक खर्ब पाँच अर्ब ४३ करोडले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको थियो । तर मध्यावधि समीक्षामार्फत सरकारले बजेटको आकार दुई खर्ब ४४ अर्बले घटाएको छ।

सुरुआती विनियोजनको तुलनामा मध्यावधि समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । अहिले अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरुमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ । सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना तयार पारेको हो । 

विदेशका खबर
बेलायत र युरोपेली संघ

काठमाडौँ । बेलायत र युरोपेली संघले उत्तरी आयरल्याण्डको लागि नयाँ ब्रेक्सिट सम्झौता पूरा गर्ने तयारी गरेको छ । राजा चार्ल्सले आज बेलायतमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोनडर लाई भेटेर नयाँ बे्रक्सिट सम्झौताबारे छलफल गर्नुभएको हो । छलफल सकारात्मक भएको बिबिसीले जनाएको छ ।

राजा चाल्र्स र उर्सुला बीचको नियोजित बैठकले ब्रेक्सिट सम्झौता हुन लागेको संकेत गरेको हो । युरोपेली युनीयनका केही देशहरुले उत्तरी आयरल्यान्ड प्रोटोकलमा नयाँ सम्झौताको सुझाव दिएका थिए । यो सम्झौतालाई विन्डसर सम्झौता भनिएको छ । प्रधानमन्त्री ऋषि सुनक र भोन डेर लेयनबीच पनि छलफल भएको ठानिएको छ ।

ये प्रोटोकलमा पूर्व प्रधानमन्त्री बोरिस जोनसनबीच सन २०२१  सहमति भएर लागु भएको थियो । उत्तरी आयरल्यान्डले आयरल्याण्ड गणतन्त्रको साथ युकेको सिमानामा चेकको आवश्यकतालाई पूरा गर्न केही कानुनहरु  पालना गर्न जारी गरिएको थियो । 

खेल खबर
नेपालको लगातार दोस्रो जित 

काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको हो । यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १ सय रन मात्र जोडेको छ ।

कुवेतका लागि क्रिस्टोफर सालधानाले २६ रन बनाउँदा रसिन मोहमदले १९ रन बनाए । किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २÷२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन जोडेको थियो । नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए । कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए ।

ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए । अर्जुन कुमाल र कप्तान देव खनालबीच तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी भएको थियो । पहिलो खेलमा नेपालले हिजो  सिंगापुरलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ ।