Live Streaming

अन्नपूर्ण दिनभर : पल शाह जेलबाट छुट्ने, ओली-प्रचण्डबीच दन्तबझान सुरु

बालुवाटारमा आठदलीय गठबन्धनको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आठदलीय गठबन्धनको संयुक्त बैठक बसिरहेको छ । बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका सबै दलको उपस्थिति छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी छन् ।

बैठकमा आगामी कार्यदिशा र सरकारमा सहभागिताबारे छलफल भइरहेको छ । नेकपा एमालेले विभिन्न पार्टीलाई राष्ट्रपतिको निर्वाचनमा सहयोग माग्दै पत्र पठाएको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को निर्देशनमा परराष्ट्रमन्त्री बिमला राई पौडेलको जेनेभा भ्रमण रद्द भएको छ । परराष्ट्रमन्त्री पौडेल मानवअधिकार काउन्सिलको  कार्यक्रममा भाग लिन आज बेलुका जेनेभा जाने तयारी थियो ।

तर, प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजान भन्नुभएपछि स्थगित भएको हो ।  काउन्सिलको नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

मन्त्री पौड्यालले आइतबार दिउँसोमात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरु र भएका कामहरुको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिने बताउनुभएको थियो । 

पौडेल नेकपा एमालेको तर्फबाट परराष्ट्रमन्त्री बन्नुभएको थियो । राष्ट्रपति निर्वाचनका लागि बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने स्रोतले बताएको छ ।

अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड भने शुक्रबार कतार जाने कार्यक्रम छ ।

ओली र प्रचण्डबीच दन्तबझान सुरु 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरी दन्त बझान सुरु भएको छ । राष्ट्रपति निर्वाचनको लागि कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै पुरानो गठबन्धनमै फर्किएपछि ओली आक्रोशित बन्नुभएको हो ।

राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालमा ठूला–ठूला आन्दोलन भएको र पछिल्लो समय प्रचण्डले हिंसाको बाटो हिँडेर हजारौंको क्रुरतापूर्वक हत्या भएको जिकिर गर्नुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डले युद्धका बेलाका साथी, सिपाही र जनतालाई धोका दिएको उल्लेख गर्दै  आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताउनुभयो । 

केहीदिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ओलीसँग २ महिनासँगै हुँदै आफूलाई उकुसमुकुस भएको बताउनुभएको थियो । त्यसको जवाफ दिँदै ओलीले आफूसँग काम गर्दा काले—काले मिलेर खाउँ भाले हुन नसकेकाले कांग्रेससँग मिल्न गएको बताउनुभयो । 

ओली र प्रचण्डबीच पछिल्लो समयमा चलेको बहस र आरोप प्रत्यारोप राजनीतिक बर्चश्वको लडाइँ भएको कतिपयको तर्क छ । 
राजनीतिक विश्लेषक सुर्दशन आचार्यले ओली र प्रचण्डले अहिलल्यै दन्तबझान सुरु गर्नु आवश्यक नभएको बताउनुभएको छ ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै आचार्यले ८ दलीय गठबनधनलाई पनि प्रचण्डले धोका दिनसक्ने र एमाले–कांग्रेस मिल्नसक्ने दुबै सम्भावना जिवित रहेकाले यस्ता टिप्पणीले उच्च नैतिकता प्रर्दशन नगर्ने बताउनुभएको हो ।

आचार्यले नेपाली राजनीतिमा विदेशीले हस्तक्षेप गरेको बिषयमा राजनीतिक दलहरुले आफ्नो स्वार्थका आधारमा मात्रै आरोप लगाउने गरेको समेत बताउनुभयो । यद्यपी अहिले नै ८ दलीय गठबनधनको भविश्यबारे टिप्पणी गर्नु  हतार हुने समेत बताउनुभएको छ । 

पल शाहले उच्च अदालतबाट पनि पाए सफाई, भोलि नै जेलमुक्त हुने

काठमाडौँ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।यो फैसलासँगै पल शाह एक वर्षपछि भोलि जेलमुक्त हुने उहाँका वकिल कमलमोहन वाग्लेले जानकारी दिनुभयो । 

फैसलामा बलात्कारको उजुरी परे पनि शाहले प्रहरी र अदालत दुवैमा आरोप अस्वीकार गरेको र जाहेरवालीले अदालतमा उजुरी झूटो भएको बकपत्र गरेकोलाई प्रमाणका रुपमा हेरिएको छ ।

यस्तै जाहेरवालाले घटनाको ५ महिनापछि शाहलाई गरेको म्यासेज, शाहको पोलिग्राफ परीक्षणलाई पनि प्रमाणका रुपमा हेरिएको छ । शाह र जाहेरवालीबीच भएको संवादको अडियो रेकर्ड भने शंकारहित प्रमाण र अन्य वस्तुनिस्ट प्रमाणबाट समर्थित हुन नसकेको पनि फैसलामा उल्लेख छ ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो ।  तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो ।

एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् । शाह एक वर्षयता कारागारमा छन् ।

सर्वोच्चमा सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । दुवै मुद्दामा आज न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको सर्वोच्च अदालतले जनाएको  । अब यो मुद्दामा यही इजलासमा भोलि सुनुवाइ हुनेछ ।

त्यसअघि ईजलासमा महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने उनीहरुले माग गरेका थिए ।

उनीहरुले कसको के योगदान छ भन्दा पनि अपराध के हो भनेर हेर्नुपर्ने समेत बताएका छन् । इजलासले भने पीडितले किटानी जाहेरी दिएको र सन्दीपले आरोप अस्वीकार गरेको अवस्थामा के आधारमा निर्णय गर्ने भनेर प्रश्न सोधेको थियो ।

काठमाडौं उपत्यकामा हिउँदको पहिलो वर्षा 

काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशभर करिव ५ महिनापछि मेघगर्जनसहित हिउँदको पहिलो वर्षा भएको छ । आज दिउँसोबाट चट्याङसहित वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

अबको केही दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशमा बिहान र बेलुका मौसम खुल्ने भए पनि दिउँसो, मध्याह्न र अपराह्न बदली रहने मौसमविद् लामिछानेले बताउनुभयो । आज काठमाडौंको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस उहाँको भनाइ छ । 

वर्षाका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएका थिए।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको थियो भने कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारेका थिए । 

राष्ट्रपतिमा सर्वसम्मतिको प्रयास जारी छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति गराउन आफू अझै लागि परेको बताउनुभएको छ । आज गोरखको बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा सर्वसम्मत भए धेरै राम्रो हुने र त्यसका लागि कोसिस गरिरहेको जिकिर गर्नुभएको हो ।

राष्ट्रपतिमा सर्वसम्मति नभए नयाँ राजनितिक यात्रा स्थायित्व र विकासका निम्ति सहयोगी बन्ने बताउँदै प्रधानमन्त्री दाहालले नेकपा एमालेसँग पनि लगातार कुरा भइरहेकोले २५ गतेसम्म राष्ट्रपतिमा सर्वसम्मतको कोसिस रहने बताउनुभयो । राष्ट्रपतिको चुनावको सन्दर्भमा आइपुग्दा आठ राजनितिक दल एक ठाउँमा आएको बताउँदै उहाँले आफ्नो बाँकी जीवन सुशासन, विकास र देशको समृद्धिको निम्ति खर्चने आश्वासन समेत दिनुभयो । 

यसैबीच, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताउनु भएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताउनुभएको हो ।

उहाँले वामपन्थीहरुको बीचमा एकता हुन आवश्यक रहेको बताउनु भयो । राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उहाँको भनाइ छ  । उहाँले देश समाजवादी क्रान्तिमा अघि बढिरहेको बताउँदै आफ्नो पार्टी पनि त्यही दिशामा अघि बढिरहेको जिकिर गर्नुभयो ।

समीकरण फेरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री ढुक्क

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत पाउनेमा विश्वस्त देखिनुभएको छ । एमाले–माओवादीको समीकरण रहँदासम्म विश्वासको मत पाउनेमा शशंकित देखिनुभएका शाह राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दल सम्मिलित नयाँ गठबनधन बनेपछि ढुक्क हुनुभएको हो ।

एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा माघ २६ मा मुख्यमन्त्री बन्नुभएको थियो । संविधानअनुसार उहाँले नियुक्तिको ३० दिनभित्र अर्थात फागुन २६ भित्र विश्वासको मत लिइसक्नुपर्नेछ । ५३ सदस्यीय प्रदेशसभामा हाल शाहलाई कांग्रेसका १९ र सरकारमै सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका चार जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ ।

तर प्रदेशसभाको विश्वास पाउन २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । केन्द्रको ८ दलीय गठबन्धनमा रहेका दल माओवादी केन्द्रको १० (सभामुखबाहेक) र नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेशसभा सदस्यको समर्थन पाएमा मुख्यमन्त्री शाहले ४० प्रदेशसभा सदस्यको मत पाउनुहुनेछ । प्रदेशसभामा आठदलीय गठबन्धन भन्दा बाहिर रहेका दल नेकपा एमालेका १०, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद गरी १२ जना रहेका छन् ।

राप्रपाका नेताले सम्हालेको मन्त्रालय प्रधानमन्त्रीसँगै

काठमाडौँ । राप्रपाले सरकार छाडेपछि यसअघि राप्रपा नेताहरुले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राख्नुभएको छ । राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकार छाड्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

शनिबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु बिक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए । उनीहरुले सरकार छाडेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

देशका समस्याहरूलाई समाधान गर्न एमाले पनि मिल्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ । आज जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरू देखिएका भन्दै ती समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताउनुभएको हो ।

उहाँले एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताउनुभयो । उहाँले सङ्कटको बेलामा सबै दलहरूले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका कुराहरू भएको टिप्पणी गर्नुभयो । आफूहरूका बिचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उहाँको भनाई छ । 

रुपन्देहीको रोहिणीमा अवैध संरचनामाथि चल्यो डोजर

काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका  अवैध संरचना भत्काएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना हटाउन गाउँपालिकाले आग्रह गरे पनि अटेरी गरेपछि अवैध संरचना भत्काइएको अध्यक्ष विद्याप्रसाद यादवले बताउनुभयो ।

स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाले शनिबार रोहिणी गाउँपालिका–५ स्थित मजनु चोक (तरकुल्लाह)मा अवैध संरचना भत्काइएको हो। गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीले नाला सडक निर्माणमा अवैध संरचना बाधक भएको र सूचना जारी गरे पनि बेवास्ता गरिएपछि भत्काइएको बताउनुभयो । 

कैलालीमा दुई जना मृत फेला 

काठमाडौँ । कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । आज कैलारी गाउँपालिका–७ सडकपुर बसन्तामा ७५ वर्षीय वृद्ध लाहनु चौधरी र कैलारी गाउँपालिका–४ के गाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु आफ्नै घरमा मृत फेला परेका हुन् । मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

आर्थिक खबर
नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्यो 

काठमाडौँ । नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको छ । गत वर्ष १ हजार ३८१ डलर रहेको प्रतिव्यक्ति आम्दानी चालू वर्ष ५३ डलरले बढेर १ हजार ४३४ पुग्ने भएको हो । चालू आर्थिक वर्षमा १ हजार ४३४ डलर पुग्ने अनुमान राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको हो ।

राजनीतिक अस्थिरता र आर्थिक गतिविधिमा मन्दी देखिए पनि नेपालीको कमाइ भने बर्सेनि बढ्दै गएको देखिएको हो । विगत चार वर्षको यथार्थ र आगामी चार वर्षको अनुमानित आम्दानीको तथ्यांकलाई हेर्ने हो भने प्रत्येक वर्ष आम्दानी बढेको छ । 

प्रतिव्यक्ति आयको गणना गर्न कुल राष्ट्रिय आयलाई कुल जनसंख्याले भाग गरिन्छ । अति कम विकासित मुलुकबाट विकासशील बन्न प्रतिव्यक्ति वार्षिक आम्दानी लगातार तीन आर्थिक वर्ष लक्ष्यभन्दा माथि पुग्नुपर्छ भन्ने मान्यता छ । एलडीसीबाट माथि उक्लन राष्ट्रिय प्रतिव्यक्ति आय १ हजार २२२ अमेरिकी डलरभन्दा माथि हुनुपर्ने बताइएको छ ।  

मानव सम्पत्ति सूचकाङ्क ६६ वा माथि हुनुपर्ने र आर्थिक जोखिम सूचकाङ्क ३२ वा कम हुनुपर्ने मापदण्डहरू तोकिएको थियो । यी तीनवटै सूचकांकमा नेपालले प्रगति गरेको पाइएको छ । नेपालको प्रतिव्यक्ति आम्दानी आगामी तीन वर्षभित्र करिब २ हजार अमेरिकी डलर पुग्ने अनुमान योजना आयोगको छ । आगामी आर्थिक वर्ष १ हजार ५७२ डलर आम्दानीको लक्ष्य भेट्टाउन १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट बनाउन आयोगले आग्रह गरेको छ ।

विदेशका खबर
आप्रवासी बोकेको डुंगा पल्टिँदा ४३ जनाको मृत्यु

काठमाडौँ । इटाली नजिकै क्यालाब्रिया समुद्री किनारमा आप्रवासीहरूलाई बोकेको डुंगा पल्टिँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । १ सय जनाजति आप्रवासीहरूलाई बोकेको काठको डुंगा चट्टानमा ठोक्किएर पल्टिँदा मृत्यु हुनेमा महिला र बालबालिकाहरू पनि छन् । सीएनएनमा प्रकाशित समाचार अनुसार आज बिहान इटालीको दक्षिणी क्षेत्र नजिकै स्टाकाटो दि कुत्रो समुद्री किनारस्थित चट्टानमा डुंगा ठोक्किएर दुर्घटना भएको हो ।

स्थानीय समय अनुसार बिहान ४ बजेर ४० मिनेट जाँदा समुद्री किनारमा यात्रुका शव भेटिएको बताइएको छ । दुर्घटनास्थलबाट ८० जनाको हाराहारीमा यात्रुहरूलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुंगामा यात्रा गर्ने अधिकांश यात्रु इरान, पाकिस्तान र अफगानिस्तानबाट गएका थिए । यद्यपि डुंगा कहाँबाट यात्रा सुरु गरेको भन्ने यकिन भएको छैन । 

इटालीयन प्रधानमन्त्री जर्जिया मेलोनीले उक्त घटनालाई मानव बेचबिखनको आरोप लगाउनुभएको छ । एक विज्ञप्ति जारी गर्दै प्रतिकूल मौसममा २० मिटर लामो डुंगामा २०० जना सवार गराएर यात्रा गराउनु अपराध भएको बताउनुभएको हो ।

साथै उहाँले यस घटनालाई अमानवीय भन्दै टिप्पणी गर्नुभएको छ । आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय संगठनका अनुसार उक्त मार्गबाट यात्रा गराउँदा २०१४ यता भएका दुर्घटनामा २० हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानको अवस्था कष्टकर 

काठमाडौँ । पाकिस्तानमा अर्थब्यवस्था निरन्तर खस्किँदा जनजीवन अन्त्यन्तै कष्टकर बनेको छ । पहिले नै मुद्रास्फीतिको चपेटामा परेको पाकिस्तानको स्वास्थ्य सेवा प्रणाली पनि नराम्ररी प्रभावित भएको छ । पाकिस्तानका नागरिक अत्यावश्यक औषधिको अभावको सामना गरिरहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

देशको विदेशी मुद्रा सञ्चितिको अभावले घरेलु उत्पादनमा प्रयोग हुने आवश्यक औषधि वा सक्रिय औषधि सामग्री (एपीआई) आयात गर्ने पाकिस्तानको क्षमतालाई पनि असर गरेको बताइएको छ । पाकिस्तानमा महँगी बढेसँगै खाद्यान्नको मूल्य समेत आकाशिएको छ । 

खेल खबर
राखेपमा पत्र 

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को सचिव नियुक्ती प्रक्रिया विधान विपरीत भएको भन्दै सात कार्यसमिति सदस्यसहित ९ जनाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसामू ज्ञापन पत्र बुझाएका छन् । क्यानका तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई क्यानले कार्यबाहक सचिव नियुक्त गरेको थियो ।

गत पुसमा सम्पन्न नेपाल टी २० लिगमा स्पट फिक्सिङको घटना बाहिरिएपछि गभर्निङ काउन्सिलका अध्यक्षसमेत रहेका मल्लले सचिव पदबाट राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएपछि क्यानले फेरि सदस्यसचिव दुर्गाराज पाठकलाई कार्यबाहक सचिवमा नियुक्त गरेको छ । पाठकको ‘नियुक्ती विधान विपरीत भएको’ र ‘त्यसको आधार खुलाइदिन’ मागसहित सदस्यसचिव घिसिङलाई ज्ञापन पत्र बुझाएका हुन् ।

भद्रपुर झापा गोल्डकप : मच्छिन्द्र उपाधि नजिक

काठमाडौँ । प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा जित हासिल गर्दै मच्छिन्द्र गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफमाथि १–० गोलको कठिन जित निकाल्दै मच्छिन्द्र गोल्डकपको उपाधि नजिक पुगेको छ । खेलको १७ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले गरेको १ गोल नै निर्णायक बनेको हो ।