Live Streaming

पल शाहले उच्च अदालतबाट पनि पाए सफाई, भोलि जेलमुक्त हुने

पल शाहले उच्च अदालतबाट पनि पाए सफाई, भोलि नै जेलमुक्त हुने

काठमाडौँ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।यो फैसलासँगै पल शाह एक वर्षपछि भोलि जेलमुक्त हुने उहाँका वकिल कमलमोहन वाग्लेले जानकारी दिनुभयो । 

फैसलामा बलात्कारको उजुरी परे पनि शाहले प्रहरी र अदालत दुवैमा आरोप अस्वीकार गरेको र जाहेरवालीले अदालतमा उजुरी झूटो भएको बकपत्र गरेकोलाई प्रमाणका रुपमा हेरिएको छ ।

यस्तै जाहेरवालाले घटनाको ५ महिनापछि शाहलाई गरेको म्यासेज, शाहको पोलिग्राफ परीक्षणलाई पनि प्रमाणका रुपमा हेरिएको छ । शाह र जाहेरवालीबीच भएको संवादको अडियो रेकर्ड भने शंकारहित प्रमाण र अन्य वस्तुनिस्ट प्रमाणबाट समर्थित हुन नसकेको पनि फैसलामा उल्लेख छ ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो ।  तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो ।

एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् । शाह एक वर्षयता कारागारमा छन् ।