Live Streaming

अन्नपूर्ण दिनभर : राष्ट्रपति निर्वाचनअघि नै सरकारमा जाने कांग्रेसको तयारी

पुस १० को गठबन्धनको औपचारिक अन्त्य

काठमाडौँ । राष्ट्रपति चुनावमा नेकपा माओवादी केन्द्र सहमतिविपरित गएपछि नेकपा एमाले औपचारिक रुपमै सरकारबाट बाहिरिएको छ । आज बिहान पार्टी मुख्यालाय च्यासलमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता सहित बाहिरिने निर्णय गरेसंगै सबै मन्त्रीहरुलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा समेत बुझाएका छन् । 

एमालेबाट सरकारमा ८ मन्त्रीहरु सहभागि भएका थिए । २०७७ पुष ५ गते तत्कालिन प्धानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि बनेको कांग्रेस नेतृत्वको गठबन्धनलाई मंसिरमा भएको आमनिर्वाचनपछि भत्काउन सफल भए पनि एमाले नेतृत्वको गठबन्धन दुई महिनाभन्दा लामो समय चल्न सकेन । 

मंसिरमा भएको आमनिर्वाचनपछि पाँच दलभित्र प्रधानमन्त्री को हुने भन्ने विषयमा खटपट भएपछि एमाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदै पुनः सत्तामा फर्किएको थियो । तर अहिले भने राष्ट्रपति निर्वाचनले त्यही गठबनधन टुटाएको हो । पुस १० मा बनेको गठबन्धन अनुसार प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष दाहाल बने भने प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

नयाँ गठबन्धन बनेपछि प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेका मुख्यमन्त्रीहरुको पद पनि धरापमा परेको छ । प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री रहनुभएको छ । अब एमाले नेतृत्वका तीनवटा सरकार पनि ढल्ने अवस्था पुगेका छन् ।

त्यस्तै अन्य प्रदेशमा पनि अब एमाले सरकारबाट बाहिरिने अवस्था पुगेको छ । 
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ ।  आज  बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन । बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताउनु भयो  । 

१६ मन्त्रालय खाली

काठमाडौँ । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसंगै १६ मन्त्रालय नेतृत्वबिहीन भएका छन् । सरकार निर्माणदेखि नै वन तथा वातारण र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैसंग राख्नुभएको थियो । नागरिकता सम्बन्धमा रास्वपा सभापति रवि लामिछाने अनागरिक रहेको फैसला सर्वोच्च अदालतले गरेसंगै राजीनामा दिएपछि प्रचण्डले गृह मन्त्रालय पनि आफैसंग राख्नुभयो ।

गृह मन्त्रालय नपाउने भएपछि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २ मन्त्री र १ राज्यमन्त्रीले सरकार छाडेका थिए । ती मन्त्रालय पनि प्रचण्डले आफैसंग राख्नुभएको छ । आइतबार सरकारबाट बाहिरिएको राप्रपाले पाएका तीन मन्त्रालय पनि प्रचण्डंगै छन् । आज एमालेका ८ मन्त्रीले पनि राजीनामा दिएसंगै १६ मन्त्रालय नेतृत्वबिहीन बनेका हुन् । 

राष्ट्रपति निर्वाचनअघि नै सरकारमा जाने कांग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनअघि नै सरकारमा जाने तयारी थालेको छ । नयाँ समीकरण बनेसंगै सरकारमा सहभागीताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि निर्णयमा पुग्ने कांग्रेसको तयारी छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आठ दलको बैठकबाट यसबारे निर्णय हुने जानकारी दिनुभयो ।

आठ दलको संयुक्त बैठक कहिले बस्ने भन्नेबारे अझै तय भएको छैन । आठ दलको बैठकले हिजो कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन अभियान थाल्ने बताइएको छ । 

जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय

काठमाडौँ ।सरकारले माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दस वर्ष चलेको जनयुद्ध र त्यसपछि भएका जनआन्दोलनका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको एक मन्त्रीले बताएका छन् । त्यसअघि सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 

संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकार उदासिन !

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकार संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न उदासिन देखिएको निष्कर्ष निकालेको छ ।  समितिकी सभापति दिलकुमारी रावल (थापा)ले आजको राष्ट्रिय सभा बैठकमा पेस गरेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रतिवेदन २०७९ मा सो कुरा उल्लेख गरिएको हो ।

कतिपय निर्देशन भने स्रोत तथा साधनको अभावमा पनि सरकारले कार्यान्वयन गर्न नसकेको समितिकी सभापति रावलले बताउनुभयो । उहाँले संसदीय समितिलाई ठोस रुपमा सरकारलाई निर्देशन दिनका लागि विज्ञहरुको समूह आवश्यक भएको बताउनुभयो । समितिले दिएको निर्देशन कार्यान्वयनका लागि कानुनी व्यवस्थाको अपरिहार्यता रहेको पनि समितिले जनाएको छ । 

समितिले संघीय निजामती कर्मचारी ऐन, काठमाडौं उपत्यका सफाई, मेलम्ची खानेपानी निर्माणका क्रममा ज्यान गुमाएकाहरुको क्षतिपूर्तिलगायतका विषयमा सरकारलाई पुनः निर्देशन दिनुपर्ने अवस्था रहेको पनि स्पष्ट पारेको छ । राष्ट्रिय गौरवका आयोजनाहरु कार्यान्वयनका लागि सरकारलाई दिएको निर्देशन भने बजेटको अभावमा सम्बन्धित निकायलाई कार्यान्वयनमा लैजान समस्या हुने गरेको निष्कर्ष समितिले निकालेको सभापति रावलले बताउनुभयो । 

विमला राई पौड्यालका कुरा

काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलिएको टिप्पणी गर्नुभएको छ ।आज बसेको  राष्ट्रियसभा बैठकमा उहाँको यो सम्बोधन फेरिएको राजनीतिक कोर्षतर्फ लक्षित थियो ।

विदेशी प्रतिनिधिको भेटमा भेटहरूमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएको स्मरण गराउँदै उहाँले दलका नेताहरूले कार्यान्वयनमा इमान्दारिता देखाउन नसकेको पनि बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाउने सरकारको निर्णयको कानूनी वैधतामाथि पनि प्रश्न उठाउनुभएको छ ।

पौडेलले मन्त्रिपरिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली आइतबार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशनअनुसार आफू जान नपाएको बताउनुभयो । 

मन्त्रिपरिषद्ले विज्ञको रुपमा पूर्वकानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई आफूसँगै टोलीमा जाने निर्णय गराएपनि अन्तिममा कोइरालालाई नै नेपालको नेतृत्व दिइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । कोइरालालाई सरकारको सल्लाहकारका रुपमा नियुक्ति गरेर सल्लाहकारको हैसियतमा पठाइएको सुनेको भन्दै सल्लाहकार नियुक्तिका लागि औपचारिक निर्णय नभएको पौड्यालले जानकारी गराउनुभयो ।

नेपालको संक्रमणकालिन न्यायको सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्दै उहाँले त्यसलाई पीडितमैत्री बनाएर टुंग्याउनुपर्नेमा जोड दिनुभयो । निर्वतमान मन्त्री पौडेलले आफू परराष्ट्रमन्त्री भएको ४२ दिन भएको स्मरण गराउँदै सानो काम गरेर ठूलो प्रभाव पर्ने खालको धेरै काम गरेको बताउनुभयो । राष्ट्रियसभामा सम्बोधन गर्दैगर्दा उहाँ आवद्ध दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारकाबाट बाहिरिने निर्णय गरेको थियो । 

प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ । रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गरेर बैठक बुधबार दिउँसो १ बजे बस्ने जनता समाजवादी पार्टी जसपा नेपालबाट समानुपातिक प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित ६३ वर्षकी रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो ।जसपाकी केन्द्रिय सदस्यसमेत रहेकी झापाकी स्थायी बासिन्दा रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको थियो । 

बैंक ब्याजदर विरुद्ध व्यवसायी आक्रामक, माग पूरा नभए कडा आन्दोलन

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध सुदूरपश्चिमको राजधानी धनगढीका व्यवसायी आन्दोलित बनेका छन् । पाँच दिनसम्म हुने आन्दोलनमा प्रदेशमा सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको ऐक्यबद्धता छ । सुदूरपश्चिमका व्यवसायीले १८ गते कुनै पनि बैंकमा डिपोजिट नगर्ने र माग सम्बोधन नभए चैत १ गतेबाट थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

शनिवार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक ब्याजदर विरुद्ध कार्यतालिका तयार गरेर चरणबद्ध विरोध गर्ने निर्णय गरिएको थियो । सुदूरपश्चिममा कैलाली उद्योग वाणिज्य संघसहित प्रदेशका सबै जिल्ला र नगर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध संघर्षका रणनीति तय गरेर चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीहरूले आजबाट शुक्रवारसम्म दैनिक ११ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने भएका छन् । फागुन १८ गते भने व्यवसायीहरूले बैंकहरूमा पैसा जम्मा नगर्ने भएका छन् । सरकारले व्यवसायीका जायज माग पूरा नगरे देशभर आन्दोलन चर्किने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो । सरकारले व्यवसायीलाई सडक आन्दोलन गर्न बाध्य बनाएको कैलाली जिल्ला होटल व्यवसायी संघका अध्यक्ष कलम बमले बताउनुभयो । 

महंगीको बिरोधमा नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा प्रर्दशन गरेको छ । हातमा पार्टीको झण्डा लिएर नाराबाजीका साथ नेता कार्यकर्ता प्रर्दशनमा उत्रिएका हुन । महंगी अधिक बढेको,कृषि मल उपलब्ध हुन नसकेको,भ्रष्टाचारले सीमा नाघेको भन्दै स्थानीय बजारमा प्रर्दशन गरेका हुन् ।

महिलाहरुको उल्लेख्य सहभागिता रहेको प्रर्दशनमा युवाहरुको समेत सहभागिता थियो । प्रर्दशन पछि आयोजीत कोण सभामा पार्टीका नेताहरुले मन्तब्य राखेका थिए । वर्तमान सरकारले महंङगीलाई नियन्त्रण गर्न नसकेको,भ्रष्टाचारले सीमा नाघेको भन्दै सडकमा आउन नागरिकलाई आह्वान गरेका थिए भने सरकारलाई तत्काल महंङगी नियन्त्रण गर्न,भ्रष्टाचार रोक्न र कृषि मल सहजरुपमा आपुर्ति गर्न आग्रह गरेका थिए । प्रर्दशन अघि सुरक्षाकर्मीले सर्तकता अपनाएका थिए । 

नहुने बार कार्यकारिणी परिषद्को निष्कर्ष

काठमाडौँ । नेपाल बार एसोसिएसन कार्यकारिणी परिषद्ले न्यायाधीशहरू न्याय सम्पादनसँग सम्बन्धितबाहेक प्रशासनिक प्रकृतिका समितिहरूमा संलग्न नहुने ठहर गरेको छ । वीरगन्जमा सम्पन्न परिषद्को ४८ औँ बैठकले जारी गरेको २३ बुँदे घोषणापत्रमा त्यस्तो उल्लेख छ ।

बहालवाला न्यायाधीशहरुको संगठनले पूर्व न्यायाधीशहरुलाई राष्ट्रपति उपराष्ट्रपतिमा उम्मेदवार बन्न नपाउने बहसलाई लिएर गरेको आपत्तिको पृष्ठभूमिमा परिषद्ले उक्त निष्कर्ष निकालेको हो । फौजदारी अभियोगमा सजाय पाएका व्यक्तिहरूको मुद्दा फिर्ता÷माफी÷मिनाहा गर्ने गरी भएका निर्णयहरू राजनीतिक आस्था र पहुँचका आधारमा शक्ति र पहुँचको दुरुपयोग भएको पनि निष्कर्ष निकालिएको छ ।

यस्तै सरकारले स्वतन्त्र न्यायपालिकामाथिको अप्रत्यक्ष हस्तक्षेप गरेको पनि परिषद्को घोषणापत्रमा उल्लेख छ ।यस्तै राजनीतिक आस्थाका आधारमा बन्दी रहेकालाई तत्काल रिहा गर्न पनि माग गरिएको छ । परिषद्ले तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्तावलाई टुंगोमा पु¥याउन सरकारसँग माग गर्ने घोषणापत्रमा उल्लेख छ । परिषद्ले प्रधान न्यायाधीश अविलम्ब नियुक्त गर्न पनि माग गरेको छ ।

अपराधी सांसद : हत्यादेखि मुर्ती चोरीसम्मको आरोप 

काठमाडौँ । अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहेका सांसदहरु अहिले प्रहरीको निगरानीमा छन् । केहि अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषि ठहर हुदाँ गृहमन्त्री, सासंदसहित पार्टी सभापतिको पद गुमाउनु पर्याे । यस्तै १३ वर्ष पुरानो अपराधमा ६ महिना कैद सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान हुनु भएको थियो । पछि राष्ट्रपतिबाट आम माफि पाएर उहाँ छुट्नु भयो । लामिछाने र चौधरी बाहेक अन्य धेरै सांसदहरु हत्यादेखि मुर्ती चोरीसम्मको विभिन्न अपराधका घटनामा मुछिएको पाइएको छ । 

पल शाह रिहा 

काठमाडौँ । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह आज थुनामुक्त भएका छन् । नाबालिग बलात्कारको आरोप लागेपछि गत वर्ष आजकै दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आजै रिहा भएका हुन् ।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्रै गएका थिए । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि शाहले सफाइ पाएका हुन् । शाह आज पोखरा पुगेर जहाज हुँदै काठमाडौं आउने बताइएको छ ।

काठमाडौं महानगरविरुद्ध प्रदर्शन

काठमाडौँ । पार्किङ हटाएको विरोधमा काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले पहिले सञ्चालन भइरहेको एकतर्फी पार्किङ हटाएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।

व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै प्रदर्शनमा उत्रिएका छन् । महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ नभएपछि व्यवसायीहरुले सटरभाडा समेत उठाउन नसकेको भन्दै उक्त कदमको विरोध गर्दै आएका छन् । काठमाडौ महानगरका मेयर बालेन शाहले पहिले सञ्चालन भइरहेको एकतर्फी पार्किङ हटाएको भन्दै असन्तुष्टि बढेको थियो ।  

फागुन १८ देखि कान्तिलोकपथ पूर्ण रूपले बन्द

काठमाडौँ । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ फागुन १८ देखि पूर्ण रूपले बन्द हुने भएको छ । मकवानपुर प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले फागुन १८ गतेदेखि चैत १० गतेसम्म मर्मत सम्भारको लागि कान्तिलोकपथ दुईतर्फी आवागमन बन्द गर्ने निर्णय गरेको हो । बैठकले यो अवधिका लागि यातायात संचालन गर्ने बैकल्पिक मार्ग समेत तय गरेको छ ।

हेटौडा–काठमाडौं चल्ने साना सवारी साधनका व्यवसायीहरूले हेटौडाबाट काठमाडौं जान हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौडा आउन थानकोट–चित्लाङ–मार्खु (कुलेखानी)–भीमफेदी रूट हुँदै एकतर्फी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । हेटौंडा–काठमाडौं जोड्ने सो सडकबाट सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुरबाट करिब एक हजार नीजि एवं सार्वजनिक सवारी संचालन हुँदै आएका छन् ।

आर्थिक खबर
सेयर बजार सामान्य घट्यो 

काठमाडौँ । सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा रोकिएको हो । साताको पहिलो कारोबार दिन हिजो नेप्से परिसूचक ४ अंक बढिले उकालो लागेको थियो । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ ।

यसदिन १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रूपैयाँको सेयर खरिदबिक्री भएको छ । आज  २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच भएको हो । हिजो २ अर्ब ५२ करोड बढिको सेयर किनबेच भएको थियो । करेक्सन आएको बजारमा २ कम्पनीको मूल्य ९ प्रतिशतले उकालो लागेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावरको सेयर मूल्य ९ प्रतिशत बढिले बढेको छ ।

राप्ती हाइड्रोपावर एन्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ६ प्रतिशतले ओरालो लागेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये ८ समूहको मूल्य घट्दा ५ को घटेको छ । 

विदेशका खबर
पुटिनबारे जेलेनेस्कीको टिप्पणी  

काठमाडौँ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नै भित्री सर्कलबाट मारिने दाबी गर्नुभएको छ । एक युक्रेनी डकुमेन्ट्रीको अंशमा जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिन आफ्नै सर्कलबाट मारिने टिप्पणी गर्नुभएको हो । रुसले युक्रेनमा गरेको आक्रमणको एक वर्ष पूरा भएको अवसरमा शुक्रबार यो डकुमेन्ट्री रिलिज गरिएको गरिएको थियो ।

जेलेन्स्कीले रूसी राष्ट्रपतिको नेतृत्वमा नाजुकताको अवधि आउने र त्यसबेला उनका नजिकका सहयोगीलाई उनीविरुद्ध कारबाही गर्न प्रेरित गरिने बताउनुभएको छ । रुसबाट पुटिनको भित्री सर्कलमा निराशाको बारेमा रिपोर्ट आएपछि टिप्पणी गरिएको हो । वाशिंगटन पोस्टले हालै रूसी राष्ट्रपतिका निकटतम सहयोगीहरूको उनीसँग निराशा बढ्दै गएको जनाएको थियो ।

तथापि इन्डिपेन्डेन्टले रुसी शीर्ष अधिकारीहरू आफ्नो पदका लागि पुटिनसँग ऋणी भएकाले यस्तो परिदृश्य देखा पर्न निकै असम्भव रहेको उल्लेख गरेको छ । जेलेन्स्कीले क्रिमिया प्रायद्वीप युक्रेनको नियन्त्रणमा फिर्ता आउनु युद्ध समाप्त हुने एक हिस्सा हुने बताउनुभयो । क्रिमिया सन् २०१४ देखि नै रुसी नियन्त्रणमा रहेको छ । 

खेल खबर
लिग टुमा नेपालको लगातार पाँचौं जित, पीएनजी ४ विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेल नेपालले ४ विकेटले जितेको छ । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो । यो नेपालको लगातार पाँचौं जित हो ।

पपुवा न्युगिनीसँगके खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा ग¥यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । आसिफ शेखले रनआउट हुनुअघि ३९ बल खेल्दै ५ चौका मद्दतमा ४४ रन बनाए । त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ३ रनमै बोल्ड भए । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १–१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । पीएनजीका लागि चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६–३६ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका सपरले ५३ बल खेल्दै २ चौका मद्दतमा अविजित ३६ रन बनाएका हुन् ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए । जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग नै खेल्नेछ ।

नेपालको लगातार तेस्रो जित

काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । अपराजित जित हात पार्ने क्रममा नेपालले हङकङलाई ९ विकेटले पराजित भएको हो । यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जीतमा आकाश त्रिपाटीले दोस्रो अर्धशतक पूरा गरेका हुन् ।

त्रिपाटीले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाएका हुन् । उत्तम थापाले ५० बलमा ४ चौकाको सहयोगमा अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनमा आउट भए । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुदै १ सय २० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रनमा आउट हुँदा मोहम्मद जाहिरले २९ रन बनाए ।

अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले समान २/२ तथा दीपेश कंडेलले १ विकेट लिए । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । चौंथो खेलमा नेपालले भोलि मलेसियाको सामना गर्ने छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।