Live Streaming

अन्नपूर्ण दिनभर : फनपार्क जग्गा भ्रष्टाचारमा कांग्रेस र एमालेका नेतासहित ९ जना दोषी

फनपार्क जग्गा भ्रष्टाचारमा विशेषको फैसला

काठमाडौँ । विशेष अदालतले भुकृटीमण्डपको जग्गा भाडामा दिँदा भएको अनियमिततामा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ, पूर्व एमाले नेता एवं मन्त्री बद्री न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले दोषी ठहर गर्ने फैसला सुनाएको छ।

त्यस्तै उनीहरुमाथि सजाय फागुन २५ गते निर्धारण हुने पेसी तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ अधिकारीले बताउनुभयो । २०७५ माघ २१ गते अख्तियारले भृकुटीमण्डपको जग्गा भाडा विवादमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री न्यौपानेसमेत १४ जनालाई विपक्षी बनाएको थियो । अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरेको थियो ।

दोषी ठहर हुनेमा बद्री न्यौपाने, प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कानीन निर्देशक मदनप्रसाद रिमाल रहेका छन् ।

यस्तै टेकबहादुर गुरुङ मतियार ठहर भएका छन् भने कोषाध्यक्ष रन्न गाहामगर, मदनप्रसाद रिमाल, बलबहादुर स्वार , प्रेमसिंह धामी र जगदेव चौधरीले सफाई पाउने भएका छन् । 

प्रधानमन्त्रीले फेरि कहिले लिन्छन् विश्वासको मत?

काठमाडौँ । पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठन भएको सरकारबाट दुई महिनाभित्रै दुई सहयात्री दल बाहिरिएका छन् । फागुन १३ राप्रपाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो भने हिजो नेकपा एमाले बाहिरिएको छ ।  

सत्तामा रहेका प्रमुख दुई दलले सर्मथन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गर्नुभएको छ । यसबारे प्रधानमन्त्री अहिले कानूनी छलफलमा जुट्नुभएको छ । संविधानको धारा १०० को २ मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ । सरकारले विश्वासको मत लिनुपर्ने भएपनि मिति भने तय नभएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।

आज मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा शर्माले अहिले राष्ट्रपति निर्वाचनको चटारो भएपछि निर्वाचन पछिनै विश्वासको मत लिनसक्ने संकेत गर्नुभयो । राष्ट्रपतिको चुनावभन्दा अगाडि कि पछाडी विश्वासको मत लिने भन्ने बारेमा प्रधानमन्त्री कार्यालयले छलफल पनि सुरु गरेको छ ।

केही दिनअघि आठ दलको बैठकमा र केही कानुनविदहरुसँग प्रधानमन्त्रीले सुझाव लिनुभएको थियो । त्यस्तै, विश्वासको मत प्राप्त हुन नसकेमा सरकार गठनको प्रक्रिया कसरी हुन्छ भनी प्रधानमन्त्रीले जिज्ञासा राख्नुभएको थियो ।

उहाँले आफूपछि सिधै धारा ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने, एमालेको समर्थन प्राप्त हुने हो कि भन्ने आशंकाका साथ चासो राख्नुभएको थियो तर, कानुनविदहरुले अब सरकार गठनको एक चरण पूरा भएकाले फेरि धारा ७६ को २ बाटै सुरु हुने राय दिएका थिए। 

प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषद्मा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो । नेकपा (एमाले) का तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि आठ मन्त्रालय खाली छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिनुभएको थियो ।

उहाँहरुले सम्हाल्नुभएको मन्त्रालय अब भने प्रधानमन्त्री दाहालले नै सम्हाल्नु हुने भएको छ । यासंगै प्रधानमन्त्रीकै कांधमा १६ मन्त्रालयको भार परेको छ । तर, मन्त्रीमण्डल बिस्तार पनि राष्ट्रपति निर्वाचन पछि नै गर्ने तयारी गरिएको छ । सरकारका प्रवक्ता शर्माले विकसित नयाँ राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राष्ट्रपति निर्वाचनपछि नै मन्त्रीमण्डल विस्तार हुने बताउनुभयो ।

के गर्छ एमाले रिपोर्ट

काठमाडौँ । राष्ट्रिय सहमतिका नाममा कांग्रेसको ढोक्सामा माछा पारिदिएपछि एमालेले माओवादीको साथ छोडेको छ । यसअघिसम्म पुस १० मा भएको सहमतिका नाममा हदैसम्म लचक हुने तथा राष्ट्रपति निर्वाचनसम्म सरकारमै रहने रणनीतिमा एमाले थियो । तर कांग्रेसको साथले प्रधानमन्त्रीको व्यवहारमा आएको परिवर्तन तथा बढ्दो दवावका कारण वाहिरिन बाध्य बनेको एमालेले तर्क गरेको छ । योसंगै औपचारिक रुपमा प्रतिपक्षी बनेको छ ।

जनमत पार्टी सरकारबाट बाहिरिँदैन : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताउनुभएको छ । आज  काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको हो ।

माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने उहाँको भनाई छ । अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भुमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताउनुभयो । जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको स्पष्ट पार्नुभयो । 

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ मा विश्वासको मत लिने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले २१ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सत्ता गठबन्धन दलका नेताहरूसँग उहाँले विश्वासको मत लिने विषयमा सामान्य छलफल गर्नुभएको थियो । माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

अहिलेसम्म उहाँले विश्वासको मत लिने विषयमा ठोस निर्णय गर्न सक्नुभएको छैन । मुख्यमन्त्रीमा शाह सुरक्षित रहेपनि केन्द्रबाट निर्देशन नआएको हुँदा उनले विश्वासको मत लिने मिति निर्धारण गर्न नसक्नुभएको हो । तर, आज भने उनले २१ गते विश्वासको मत लिने आशय व्यक्त गरेको छलफलमा रहेका एक सांसदले बताएका छन् ।

राष्ट्रपतिमा पौडेललाई जिताउन धनगढीमा १९ गते सत्ता गठबन्धनका सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ त्यसको संयोजन मुख्यमन्त्री आफैले गर्ने भएका छन् । सोही विषयमा बोलाइएको छलफलमा उनले २१ गते विश्वासको मत लिने विषयमा चर्चा गर्नुुभएको हो । 

संकटमा लुम्बिनी सरकार

काठमाडौँ । लुम्बिनी प्रदेश सरकार गठनमा असन्तुष्ट नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने भएका छन् । नेकपा एमाले नेतृत्वको प्रदेश सरकार बनाउन ४ सांसद रहेको नागरिक उन्मुक्ति तथा ३ सांसद रहेको लोसपाले पुस २७ मा हस्ताक्षर गरेका थिए भने माघ ५ मा मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिएका थिए ।

भोलि बस्ने प्रदेशसभाको छैठौं बैठकमा यी दुई दलले विश्वासको मत फिर्ता लिने जनाएका छन् । त्यस्तै लोसपाको संसदीय दलका नेता सन्तोष पाण्डेले नयाँ समीकरणअनुसार जाने बताउँदै भोलि बस्ने प्रदेशसभाबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी दिनुभयो । योसंगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ । 

राष्ट्रपति निर्वाचनको आचारसंहिता १७ फागुनदेखि

काठमाडौँ । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू गर्ने भएको छ ।संघीय संसदका ३३२ र प्रदेशसभााका ५५० जना गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने आयोगले आज एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्नेछ । त्यस्तै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।

चितवन–२ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भए १८ दल

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । 

खाद्य स्वच्छता ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव

काठमाडौँ । प्रतिनिधिसभाका केही सांसदहरुले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमाथि  संशोधन प्रस्ताव दर्ता गर्दै सांसदहरु मनिष झा, सुमना श्रेष्ठ, विद्या भट्टराई र गगन थापाले ऐन बनाउने तर लागू गर्न समयसीमा राख्ने प्रस्ताव गरेका हुन् ।  प्रस्तावित विधेयकमा ‘ऐन प्रमाणीकरण भएको ३१ औं दिनबाट लागू’ हुने उल्लेख छ ।

यसमा संशोधन प्रस्ताव दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा र नेकपा एमालेकी सांसद विद्या भट्टराईले ३६६ औं दिनदेखि लागू हुने व्यवस्थाको प्रस्ताव गरेका छन् । रास्वपाकै अर्का सांसद सुमना श्रेष्ठले पूँजीको आधारमा वर्गीकृत गरी ऐन लागू हुने समयलाई फरक÷फरक गर्ने प्रस्ताव गर्नभएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले भने ‘१८१’ औं दिनपछि ऐन लागू हुने प्रावधान राख्ने प्रस्ताव गर्नुभएको छ । 

२०७७ असार २८ मा तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ राष्ट्रिय सभामा दर्ता गर्नुभएको थियो । राष्ट्रिय सभाले ऐन लागू हुने समयका सन्दर्भमा प्रस्तावित व्यवस्थालाई नै सदर गरेको छ । विधेयकमाथि सांसदहरुले ९१ वटा संशोधन प्रस्ताव गरेका छन् ।

यस्तै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव गर्नुभएको छ । ‘विधेयकको दफा २ को खण्ड (घ) मा ‘मदिराजन्य पेय पदार्थ’ भन्ने शब्दहरु हटाउनुपर्ने’ प्रतिनिधिसभामा आएको यस विधेयकउपर एमाले सांसद बास्कोटाले संशोधन प्रस्ताव दर्ता गर्नुभएको हो ।सांसद बास्टोकाले ‘कुनै खाद्य पदार्थको भ्रामक स्वास्थ्य दाबी गर्न नहुने’ विषयलाई पनि ऐनमै समावेश गर्नुपर्ने प्रस्ताव गर्नुुभएको छ । 

सरकारका निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकबाट करिब १३ अर्ब सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । पाँच सदस्यीय मन्त्रिमण्डलको हिजो बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट करिब एक सय मिलियन (१३ अर्ब) ऋण लिनका लागि वार्ता टोली गठन गरेको हो । सो ऋण गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि लिन लागिएको सरकारले जनाएको छ। यस्तै विश्वबैंकले ऋणबाहेक करिब ३.८४ मिलियन डलर अर्थात (५० करोड) अनुदान सहायता पनि दिने भएको छ । वार्ता टोलीले उक्त अनुदानलाई भित्र्याउन छलफल गर्नेछ ।   

यस्तै बैठकले अतिकम विकसित मुलुकहरूको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई कतारको दोहा जान स्वीकृति दिएको हो ।

त्यस्तै नेपाल सरकारका सबै निकायको तथ्यां र सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौंडामा रहेको डीजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चाल गरी चौबिसै घन्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउन सरकारले निर्णय गरेको छ । 

खेलकुद क्षेत्रको विकासको लागि बजेट बढाउँछु : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा बढी बजेट दिने प्रतिबद्धता जनाउनुभएको छ । च्यासल रंगशालाको उद्घाटन गर्दै उनले देशभरि खेलकुदका पूर्वधारहरू बनाउने नीति अवलम्बन गर्दै अगाडि बढ्ने बताउनुभएको हो । उहाँले यसअघि खेलकुद क्षेत्रमा निकै कम बजेट बिनियोजन हुँदै आएको बताउनुभयो । खेल क्षेत्रलाई राजनीतिबाट टाढै राखेर विकास गर्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा दशरथ रंगशालालाई व्यवस्थित बनाउन चीन सरकारसँग पहल गरेको र सोहीअनुरुप पुननिर्माण भएको बताउनुभयो । उहाँले खेलकुद र कला क्षेत्रलाई संयोजन गरेर जानुपर्छ भनेरै युवराज लामालाई राष्ट्रिय खेलकुद परिषद्मा ल्याएको र उहाँले उत्कृष्ट काम समेत गरेको स्मरण गर्नुभयो । 

नेटवर्कमा समस्या आए क्षतिपूर्ति पाइने

काठमाडौँ । अबदेखि इन्टरनेट तथा मोबाइल नेटवर्कमा समस्या आएमा क्षतिपूर्ति पाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको गुणस्तर नभएमा मोबाइल तथा इन्टरनेट सेवाप्रदायकले आफ्ना ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने ब्यवस्था गरिएको हो । प्राधिकरणाले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ पारित गर्दै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको जनाएको छ ।

विनियमावलीको ११ नम्बर बुँदामा क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।ग्राहकले मोबाइल डाटा÷भ्वाइस प्याकेज सेवा खरिद गरेको तर उक्त प्याकेजको अवधिमा सेवा प्रदायकको नेटवर्क डाउन भई ग्राहकले सेवा प्राप्त गर्न नसकेको बखत निज ग्राहकले सम्बन्धित सेवा प्रदायकबाट क्षतिपूर्ति दाबी गरी माग गरेमा सेवा शुल्कबापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ ।

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको हकमा यस विनियमावलीमा तोकिएकोभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा ग्राहकलाई परेको असुविधाबापत सम्बन्धित ग्राहकलाई क्षतिपूर्तिस्वरूप मनासिब महसुलमा दामासाहीले मिनाहा गर्ने वा सोहीबमोजिम सेवाको अवधि निःशुल्क थप गरी सम्बन्धित ग्राहकलाई जानकारीसमेत गराउनु जनाइएको छ ।

प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ जारी गरेसँगै यसअघिको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७३ खारेज भएको जनाएको छ ।

कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै 

काठमाडौँ । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको पाईएको छ । बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो ।कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्कमा छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक कृषिमा निर्भर रहेका छन् । दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिनमा तीन लाख ३९ हजार नौ सय नौ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ । जबकी कर्णालीमा वार्षिक तीन लाख ५८ हजार तीन सय १६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गर्दछ । बाँझो जमिन उपयोग गर्न सरकारले फलफूल, तरकारी खेती लगायतमा जोड दिएको प्रवक्ता कठायतले बताउनुभयो । 

आर्थिक खबर 
सेयर बजार ३.८१ अंकले घट्यो

काठमाडौँ । साताको तेश्रो कारोबार दिन आज सेयर बजारमा ओरालोे लागेको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ अङ्कले घटेर ३८१.९३ विन्दुमा पुगेको छ । नेप्सेमा आज कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दाबढीको सेयर कारोबार भएको छ । 

त्यस्तै, कारोबारको आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । यसको आज ७ करोड ५५ लाख भन्दाबढीको कारोबार भएको छ । यसैगरी शिवम सिमेन्टको ६ करोड ५० लाख भन्दाबढीको कारोबार भएको छ । आज उपसुचकहरु मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीहरुमा ओरालो लागेको छ ।

विदेशका खबर
उत्तर कोरियामा खाद्य संकट

काठमाडौँ । गम्भीर खाद्य संकट निम्तिने चेतावनीका बिच उत्तर कोरियली नेता किमजोङ उनले कृषि उत्पादनमा ’क्रान्तिकारी परिवर्तन’ गर्न निर्देशन दिनुभएको छ । उत्तर कोरियाले खाद्य संकटको सामना गरिरहेको समाचार सार्वजनिक भएका बेला नेता किमले अधिकारीहरूलाई कृषि उत्पादन बढाउन निर्देशन दिनुभएको हो ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार वर्कर्स पार्टी अफ कोरियाको बैठकमा किमले कृषिमा ’स्थिर र दिगो उत्पादन गर्न निर्देशन दिनुभएको हो । नेतृत्वमा इच्छाशक्ति भने केही पनि असम्भव नभएको उल्लेख गर्दै किमले पार्टी एकताबद्ध भएर कृषि उत्पादनमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । दक्षिण कोरियाली एकता मन्त्रालयले छिमेकी मुलुक उत्तर कोरियाले ’गम्भीर खाद्य संकट’ निम्तिने बताएपछि किमको भनाइ आएको हो । 

मन्त्रालयले उत्तर कोरियामा भोकमरीले केही व्यक्तिको मृत्यु भएको रिपोर्टसमेत प्रकाशित गरेको थियो ।गत महिना अमेरिकाबाट सञ्चालित ’थिंकट्यांक’ समूह ३८नर्थले उत्तर कोरियाली जनताको जीवनस्तर खस्किएको र खाद्य असुरक्षाले जटिल मानवीय संकट निम्तिएको बताएको थियो ।

उत्तर कोरियाले पटक–पटक खाद्य संकटको सामना गर्दै आएको छ । सन् १९९० को दशकको खाद्य संकटले उत्तर कोरियामा २ लाख ४० हजारदेखि ३५ लाखसम्म व्यक्तिको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको थियो । अहिलेको खाद्य संकट भने उत्पादनमा कमी र मौसममा खराबी आएकाले निम्तिएको बताइएको छ ।

खेल खबर
झापा गोल्डकपको त्रिभुवन आर्मीलाई 

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । मेची रंगशालामा आज भएको फाइनलमा मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

आर्मीलाई उपाधि दिलाउन गोलकिपर समितले मछिन्द्रको २ प्रहार बचाएका थिए । पेनाल्टीमा आर्मीका जितेन्द्र कार्की, सन्तोष केसी, प्रज्वल गुरुङ र सुसान्त चौधरीले गोल गरे । सेसेहाङ आङ्देम्बेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । मछिन्द्रका दिवाकर चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरे ।

रंजित धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलकिपर समितले बचाए । उपाधिसँगै आर्मीले १३ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।

मलेसियामाथि नेपालको १० विकेटको शानदार जित

काठमाडौँ । यूएईएमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको अपराजित यात्रा कायमै छ । यूएईस्थित मलेका क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गदै नेपालले लगातार चौथो जित निकालेको हो । मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

नेपालको जितमा ओपनर दीपक बोहरा २९ बलमा ८ चौकासहित ३८ र अर्जुन कुमाल २५ बलमा ३ चौकासहित अविजित २१ रन जोडे।यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भएको थियो ।

दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए। यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भएका थिए ।