Live Streaming

अन्नपूर्ण दिनभर : तरकारीमा बिचौलियोको रजगज, प्रधानमन्त्रीले उपराष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने

 


काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेस पदाधिकारीहरूलाई सहभागी गराउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा आज बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशमा गर्न लागेको भेलामा पार्टी पदाधिकारीहरूको सहभागीता गराउने निर्णय गरेको हो ।

भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई सहभागी गराउन कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन भएको सहकार्यलाई बलियो बनाउने र कांग्रेस उम्मेदवारलाई अधिक मतका साथ विजयी गराउनका लागि पहल गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

नेकपा एकीकृत समसाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको सचिवालयको बैठकले नेता पौडेललाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले सरकारमा जाने विषय सकारात्मक रहे पनि अहिले छलफल भने नभएको पनि बताउनुभएको छ । प्रवक्ता खतिवडाले गृह मन्त्रालय आफूहरुले लिनेबारे अहिलेसम्म कुनै छलफल नै नभएको प्रष्ट्याउनुभएको छ । 

प्रधानमन्त्रीले उपराष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिनुहुने भएको छ । संसद् बैठक चैत ५ गते तोकिएको र राष्ट्रपति,उपराष्ट्रपति निर्वाचन आचारसंहिता पनि तय भएकाले निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुने भएको हो ।

नेकपा माओवादी केन्द्रका सांसद् माधब सापकोटाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने बताउनुभयो । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिसकेका छन् । पुस १० मा प्रधानमन्त्री बन्दा विश्वासको मत दिएका दलहरूले   सरकार छोडेपछि प्रचण्डले फेरि विश्वासको मत लिन लाग्नुभएको हो ।

एमाले र राप्रपा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका छन्। तर,सरकारबाट बाहिरिए पनि रास्वपाको समर्थन भने कायमै छ। राष्ट्रपति निर्वाचनका क्रममा नयाँ आठ दलीय गठबन्धन बनेको छ । गठबन्धनमा कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

पीछडिएका क्षेत्रका महिलाका लागि छुट्टै ब्यवस्था गर्न माग 

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पीछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । आज राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले पीडडिएका क्षेत्रका महिलाहरुलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि उनीहरुलाई सशक्तिकरण गर्न आवश्यक रहेकाले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्न माग गर्नुभएको हो । उपसभामुख रानाले पीछडिएको क्षेत्र र भूगोलबाट राजनीतिमा महिलाहरुको प्रतिनिधित्व गराउन बढि जोड दिन आवश्यक रहेको बताउनुभयो ।

स्थानीय तहको वडामा पनि महिलाहरुको प्रतिनिधित्वको लागि पहल गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उपसभामुख रानाले सुगम क्षेत्रका गर्भवती महिलाहरुले समेत एम्बुलेन्स पाउने अवस्था नरहेको उल्लेख गर्दै त्यसका आवश्यक व्यवस्था तत्काल मिलाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा बोल्दै राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फनै प्रतिनिधिसभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने बताउनुभयो । ५० प्रतिशतभन्दा बढि महिलाहरु रहेको मुलुकमा उनीहरुको प्रतिनिधित्व पनि सोही अनुसार स्थानीय तहदेखि संघसम्म हुनुपर्ने उहाँको भनाइ छ ।

पृथ्वी शाह समूहविरुद्ध ४ वटा मुद्दा चलाउन सीआईबीको सुझाव

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध ४ वटा मुद्दा चलाउन सुझाव दिएको छ । आज पत्रकार सम्मेलन गर्दै सीआईबीले शाह, उनका भाइ विजयबिक्रम शाहसहितका व्यक्ति विरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको हो ।

सीआईबीका अनुसार पृथ्वीबहादुर शाह विरुद्ध लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिएको छ । त्यस्तै विजयबिक्रम शाहविरुद्ध सहकारी ठगी, लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिएको छ । 

ठगी र संगठित अपराधमा शाहसँगै पक्राउ परेका ७ जना र फरार रहेका १३ जनाविरुद्ध मुद्दा चलाउन भनिएको छ । अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।

पृथ्वीबहादुर शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेका सीआईबीको अनुसन्धानले देखाएको छ । उनीहरुले कम्पनीको उद्देश्य विपरीत आधिकारिक निकायबाट विदेशी लगानी भित्र्याउने अनुमति नलिएको तर विदेशबाट रकम ल्याइरहेको पाइएको थियो ।

उनीहरुबाट कुल ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएको सीआईबीको भनाइ छ । पीडितले आफूहरुको २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी भएको बताएका छन् ।शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको सीआईबीले बताएको छ । जसमध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरेका छन् ।

बाग्मती प्रदेश : तीनवटा अध्यादेश निष्क्रिय

काठमाडौँ । बागमती प्रदेश सरकारको बेवास्ता र सांसदको अरुचिका कारण तीनवटा अध्यादेश निष्क्रिय हुने भएका छन । गत १८ पुसमा प्रदेश सभा बैठकमा पेस भएर पनि २ माघमा प्रदेश सभा बैठकले कानुन निर्माणका लागि स्वीकृति प्रदान गरेको पाँचमध्ये तीनवटा अध्यादेश निष्क्रिय हुने अवस्थामा पुगेका हुन् ।

सरकारको बेवास्ताका कारण निष्क्रिय हुने अवस्थामा पुगेका अध्यादेशमा प्रदेश स्वास्थ्य सेवा ऐन ०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश ०७९ रहेका छन् । 

यी अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत कानुनी मान्यता दिनुपर्नेमा सरकारले प्रतिस्थापन विधेयक संसद्मा पेस गर्न ढिलाइ गर्दा यी तीन अध्यादेश निष्क्रिय हुने भएका हुन् । भोली भित्र प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्ने हो । तर, संसद् कहिले बस्छ यकिन रहेको छैन । आइतबार संसद् बैठक बसे पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले प्रदेश सभामा हालसम्म ती तीन अध्यादेशका प्रतिस्थापन विधेयक प्राप्त नभएको जानकारी दिनुभयो । उहाँले ती अध्यादेशका प्रतिस्थापन विधेयक सरकारले समयमै संसद्मा नल्याउँदा निष्क्रिय हुने अवस्थामा पुगेको बताउनुभयो । 

जंगी अड्डालाई सर्वोच्चको आदेश

काठमाडौँ । महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई थुनामा राख्नुको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ।न्यायाधीश हरिकृष्ण फुयालको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै प्राड महासेनानी शाह र प्रमुख सेनानी तिमसिनालाई थुन्नुको कारणसहित बन्दीलाई उपस्थित गराउन जंगी अड्डालाई आदेश जारी गरेको हो ।

सैनिक अदालतले  शाह र प्रमुख  तिमसिनालाई आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सघाएको आरोपमा नियन्त्रणमा लिएको छ । सोधपुछका लागि बोलाएका प्राड दुवैजनालाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यले हिजो सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख निलम्बित

काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नगरप्रमुख गुप्ताविरुद्ध घूस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै नगर प्रमुख गुप्ता निलम्बित भएका हुन् ।

नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनाका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घूस लिएको पुष्टि हुन आएकोले नगरप्रमुख गुप्ता र इन्जिनयर साहमाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार निवारण एैन,२०५९ को दफा ३ को उप दफा (१) को कसुरमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घूस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनयर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अदालतबाट हुने न्याय सम्पादन पूर्व विस्तृत बहसको आवश्यकता  :  महान्यायाधिवक्ता पोखरेल

काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादन पूर्व विस्तृत बहसको आवश्यकता रहेको बताउनु भएको छ । आज एक कार्यक्रममा उहाँले अदालतबाट हुने न्यायलाई कानुन विद्यालयमा अध्ययन गराउन योग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताउनुभएको हो ।

उहाँले विद्यालयहरूमा प्रोफेसरहरूले अध्ययन गराउँदा गरेका प्रतिक्रियाहरूबाट न्यायाधीशहरुले आफूले गरेको निर्णयको पुनरावलोकन गर्ने गरेको उल्लेख गर्दै त्यसै किसिमबाट नेपालमा पनि न्याय सम्पादन हुन जरुरी रहेको बताउनुभयो । महान्यायाधिवक्ता पोखरेलले छिमेकी देश भारतमा न्याय सम्पादन गर्दा कुनै विषयमा एक वरिष्ठ अधिवक्ताले निरन्तर २१ दिनसम्म बहस गर्ने र त्यसका आधारमा मात्रै न्यायाधीशहरुले फैसला गर्ने गरेको स्मरण गर्दै त्यस्ता नजिरहरूलाई ध्यानमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो । 

भारतीय तरकारी बिषादी जाँच नगरी भित्र्याउन लागेको विरोधमा तरकारी फालेर 

काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ । भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी नेपाली बजारमा भित्र्याउने सरकारको कदमप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो । अनेरास्ववियुका विद्यार्थीहरुले क्याम्पसअगाडि तरकारीहरु बीच बाटोमा फालेर विरोध गरेका थिए ।

उनीहरुले किसान मार्न पाइदैन, भारतीय दलाल होसियार, जनतामार सरकार मुर्दावाद जस्ता नारा लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले भारतबाट आउने तरकारी अनिवार्य विषादी परीक्षण गर्न माग समेत गरेका छन् ।   सरकारले भारतबाट आउने तरकारीहरु विषादी परीक्षण नगरी बजार पठाउन दिइने निर्णय गरेको थियो । 

तरकारीमा बिचौलियोको रजगज 

काठमाडौँ । मौसम अनुसार उत्पादन भएको तरकारी सस्तो हुनु पर्ने हो । तर नेपालका शहरी बजारमा भने तरकारीको मुल्य सधैं एकनास जस्तो रहने गरेको छ । अझ काठमाडौं उपत्यकामा अधिकांश तरकारीको मुल्य ५० रुपैँया प्रतिकिलो भन्दा कहिल्यै कम हुदैँन । उपभोक्ताले महंगो मुल्य तिरेर तरकारी किन्ने गरेको भए पनि किसानले तरकारीको सहि मुल्य पाउँदैनन् । बरु तरकारीका विचौलियाले ९० प्रतिशतसम्म मुनाफा लिइरहेका छन् । 

आर्थिक खबर 
सेयर बजार ओरालो
 

काठमाडौँ । सेयर बजार आज पनि ओरालो लागेको छ । नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा रोकिएको हो । अघिल्लो कारोबार दिन हिजो नेप्से परिसूचक ३.६१ अंक र सोमबार ३.६५ अंकले घटेको थियो । नेप्से घटेसँगै हिजोको तुलनामा कारोबार रकम घटेको  छ । यसदिन १ अर्ब  २८ करोड ८३  लाख ६३ हजार ४२४ रूपैयाँमा सेयर खरिदबिक्री भयो। २५७ कम्पनीको  ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच भएको छ । 

आज एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले उकालो लागेको छ । बोटलर्स नेपालको सेयर मूल्य ९.६१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ७२ लाख  ३७ हजार८५ रूपैयाँको सेयर खरिदबिक्री भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । 

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आज खाना पकाउने एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएका पठाएको हो । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । 

जबकि, निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आइरहेको छ । अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । 

एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ आसपास नाफा हुने देखिएको छ । एलपीजी ग्यासको घाटा मात्रै १५ दिनमा ९३ करोड रुपैयाँ हुने निगमले जनाएको छ । यो घाटालाई अन्य पेट्रोलियम पदार्थको मूल्यले कभर गरेपछि १५ दिनमा ४० करोड नाफा हुने जनाइएको छ । 

विदेशका खबर
चीन अमेरिकाका लागि ठूलो खतराः अमेरीका

काठमाडौँ । चीन अमेरिकाका लागि ठूलो खतरा भएको अमेरिकी सांसदहरुले निष्कर्ष निकालेका छन् । अमेरिकी रिपब्लिकन पार्टीको बहुमत भएको प्रतिनिधि सभामा चीनको बारेमा पहिलो सुनुवाइको क्रममा अमेरिकी सांसदहरूले उक्त बयान दिएका हुन । अमेरिकाले नियमित र ऐतिहासिक रूपमा चीनको व्यवहारलाई आक्रामक रूपमा वर्णन गर्दै आएको छ । अमेरिकी सांसदहरूले प्रतिनिधि सभामा चीनको बारेमा पहिलो सुनुवाइको क्रममा चीनलाई अमेरिकाका लागि ’अस्तित्वको खतरा’ को संज्ञा दिएका हुन । 

सांसदहरूले चीनद्वारा खडा गरिएका चुनौतीहरूको सफलतापूर्वक सामना गर्न देशभित्र र यसका सहयोगीहरूसँग अझ बढी प्रयास गर्न पनि आग्रह गरेका छन। अमेरिकाले नियमित र ऐतिहासिक रूपमा चीनको व्यवहारलाई आक्रामक रूपमा वर्णन गरेको छ। हालै गठित समितिको नाम चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को चयन समिति अध्यक्ष माइक ग्यालाघरले २१औँ शताब्दीमा अस्तित्वको संघर्ष भएको भन्दै अधिकांश आधारभूत अधिकारहरू खतरामा रहेको बताउनुभएको छ । चिनसँगको खतराको सामना गर्न तत्काल कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । 

खेल खबर
केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबलाई

काठमाडौँ । पहिलो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । खेलको पाँचौं मिनेटमा ओलावले अफिजले हेडर गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए ।

मछिन्द्रले सुरुमै खेलमा अग्रता लिए पनि सातदोबाटोको लागि कप्तान सुदिप गुरुङको पासमा जर्डन जुनियर ओभानाले १९औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि  खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले मौका बनाए पनि सदुपयोग गर्न सकेनन् । निर्धारित समयमा १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । विजेता मछिन्द्रले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता टोलीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा एनीस नियुक्त 

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस  नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई जानुभएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न लामिछाने दुबई जानुभएको हो । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । लामिछाने आज दिउँसो ३ बजे युएई जानुभएको हो । क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल भोलि घरेलु टोली यूएईसँग खेल्ने छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्याबाहक सचिव दुर्गाराज पाठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई जानकारी दिन्ुभयो । टिम व्यवस्थापनले चाहेमा सन्दीपले भोलि युएईविरुद्धकै खेल खेल्न पाउने सम्भावना छ । 

एन्फा : ११ जना सदस्यद्वारा कार्यसमितिको बैठक बहिस्कार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्षसहित ११ जना सदस्यहरूले कार्यसमितिको बैठक बहिस्कार गरेका छन् । आज एन्फा कम्प्लेक्समा बसेको बैठकमा उनीहरूले आफ्ना ६ वटा एजेन्डाहरू थप गर्न माग गरेका थिए । तर, त्यसलाई बेवास्ता गर्दै जबरजस्ती बैठक अघि बढाइएको भन्दै उनीहरू बैठकबाट बाहिरिएका हुन् । बैठकबाट बाहिरिनेमा उपाध्यक्ष कुमार केसी, दीपक खतिवडालगायत रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत केन्द्रिय सदस्यले कार्यसमिति बैठक बहिष्कार गरेको छन् । 
महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्नुपर्ने माग सहित एजेण्डा थप्न निवेदन दिएका बहुमत कार्यसमिति सदस्यको माग सुनुवाई नभएपछि बुधबारको कार्यसमिति बैठकमा विवाद भएको थियो । एन्फाका तीन उपाध्यक्ष सहित ११ जना कार्यसमिति सदस्यले एजेण्डा थप्न माग गर्दै निवेदन दर्ता गराएका थिए ।

तर एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले बहुमत कार्यसमिति सदस्यको एजेण्डा कार्यसमिति बैठकमा थप्न नमानेको साथै अध्यक्ष नेम्वाङले बहुमतका आधारमा बिहान बैठक सञ्चालन गरेर केही एजेण्डा पास गराएको बताइएको छ । तर एन्फा अध्यक्ष नेम्वाङले विधानको धारा ३९ (३) अनुरुप भन्दै कार्यसमितिका बहुमत सदस्यको प्रस्तावित एजेण्डा बैठकको कार्यसुचीमा थप गर्न नसक्ने बताएका थिए ।