Live Streaming

अन्नपूर्ण दिनभर : प्रधानमन्त्री दाहाल विरुद्ध रिट दर्ता, रवि लामिछानेविरुद्धको रिट फैसलाको पूर्णपाठ सार्वजनिक

प्रचण्डविरुद्धको रिट दर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका २ वटा रिट आज सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।

दाहालले २०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताउनुभएको थियो । आरणको रिटमा द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्ति र बुढोथोकीको रिटमा अंगभंग, सम्पत्ति कब्जा र लुटपाटलाई मुद्दा बनाइएको छ । सो रिटमा बिहीबारका लागि पेशी तोकिएको अदालत प्रशासनले जनाएको छ । 

२०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको १६ वर्ष पुग्दा समेत सरकारकै उदासिनताले यायिक प्रक्रिया अगाडि बढ्न सकेको छैन । त्यसका लागि गठन गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पदाधिकारीविहीन बनाइएको छ ।

२०७१ माघमा बनेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गत असारदेखि पदाधिकारीविहीन भएर करिब निष्क्रिय बनेका छन् । सत्य निरूपण आयोगमा करिब ६२ हजार र बेपत्ता आयोगमा करिब २५ सय उजुरी संकलित भएका छन् । तर, त्यसबाहेकका प्रकृया अघि बढेका छैनन् । 

यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला समेत गैरसांसद गोवीन्द बन्दीलाई कानूनमन्त्री बनाएर संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई टुंगोमा पु¥याउन खोजिएको थियो । तर, फास्ट ट्¥याकबाट विधेयक अघि बढाउन खोज्दा पीडकलाई उन्मुक्ति र पीडितलाई झन पीडा थप्नेगरि विधेयक पारित गर्न खोजिएको भन्दै विरोध नै भएको थियो । 

माओवादी धारका नेताहरुले भने प्रचण्ड विरुद्धको उजुरी जनआन्दोलनका उपलब्धीहरुलाई कमजोर पार्ने षडयन्त्रको रुपमा भएको बताएका छन् । रेडियो अन्नपूर्ण नेपालसंग कुराकानी गर्दै माओवादी केन्द्रका नेता गणेश शाहले राष्ट्रपति निर्वाचनको समयमा षडयन्त्रपूर्ण तरिकाले प्रचण्डमाथि रिट दर्ता भएको बताउनुभयो ।  

यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका निवर्तमान अध्यक्ष डा. गणेश भट्टले पनि राज्य द्धन्द्धपीडितलाई न्यान दिनमा शंवेदनशिल नदेखिएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै भट्टले सर्वोच्चको आदेशले संक्रमणकालीन न्यायलाई टुंगोमा पुयाउनका लागि चेतावनी जारी गरेको बताउनभयो ।

न्यायका लागि धेरै ढिलो पनि भई नसकेको बताउदै उहाँले अँझै पनि लापारवाही गरे स्वतः अन्र्ताष्ट्रिय अदालतसम्म समेत यो मुद्दा पुग्नसक्ने उहाँको भनाई छ । 

माओवादी घाटक दलहरुको निर्णय 

काठमाडौँ । माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा ८ वटै पार्टी एकमत रहेको माओवादी महासचिव देव गुरुङले जानकारी दिनुभयो । 

प्रचण्डको रिट विरुद्धको टिप्पणी 

काठमाडौँ । नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि बसेको गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्व मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट समाधान हुनुपर्ने बताउनु भएको हो ।

सर्वोच्च अदालतले पनि द्वन्द्वको मुद्दा संक्रमणकालीन न्याय पद्धतिबाटै हो भनेर यसअघि नै बोलिसकेको उहाँले बताउनुभयो । उहाँले यो कुनै अमुक पार्टीको मात्रै नभएर राज्यको विषय भएको बताउनुभयो । सबै मिलेर संक्रमणकालीन न्याय सम्पादन गर्ने भएकाले अदालत पनि यो विषयमा सकारात्मक हुने उहाँको बुझाइ छ ।

यस्तै, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पु¥याउनु सरकारको प्राथमिक काम रहेको बताउनुभएको छ । धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उनले चालु संसद अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुंगोमा पु¥याउने बताउनुभएको हो ।

यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुंगोमा पु¥याउन आग्रह गरेको छ । यसैबीच नेपाल बार एशोसिएशनले प्रधानमन्त्री प्रचण्डको बचाउमा विज्ञप्ती जारी गरेको छ । बारले आज एक विज्ञप्ती जारी गर्दै संक्रमणकालीन न्यायको विषयलाई लिएर प्रचण्डविरुद्ध फौजदारी कसुरसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशमाथि सांकेतिक असन्तुष्टि प्रकट गरेको हो । विज्ञप्तिमा शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र दुई आयोगहरु जिम्मेवार हुनु जरुरी रहेको उल्लेख छ ।

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहनुभएका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले अहिले मुस्ताङको विषयमा चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको बताउनुभयो । उहाँले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप÷प्रत्यारोप गर्ने पक्षमा नरहेको पनि बताउनुभयो ।

सर्वाेच्चलाई संसदको जवाफ 

काठमाडौँ । संघीय संसद सचिवालयले विपक्षी दलको नेता तोक्ने आफ्नो विशेषाधिकार भएको दाबी गरेको छ।सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै संसद सचिवालयले विपक्षी दलको नेता तोक्ने कुरा संसदको आन्तरिक क्षेत्राधिकारको विषय भएको जवाफ दिएको हो।कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेता नतोक्न माग गर्दै अधिवक्ता विमल पोखरेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत माघ २५ गते कारण देखाउ आदेश जारी गरेको थियो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद सचिवालय, देउवालगायतलाई विपक्षी बनाइएको छ। संसदले आज पठाएको लिखित जवाफमा विपक्षी दलको नेता को भन्ने विषय राजनीतिकसमेत भएकाले त्यसलाई सचिवालयले नै टुंग्गो लगाउने जवाफ पठाइएको संसदको कानुन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।

जवाफमा विपक्षी दलको नेता को भन्ने विषय राजनीतिक घटनाक्रम, दलहरुले सरकार निर्माणका क्रममा निर्धारण गर्ने कुरा भएकाले रिट निवेदन नै खारेज हुनुपर्ने तर्क गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्ने पुस १० गते सरकारलाई समथर्न नगरे पनि कांग्रेसले पुस २६ गते विश्वासको मत दिएको थियो ।

सरकारलाई विश्वासको मत दिए पनि उसले आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता र देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिनुपर्ने आशयको पत्र संसद सचिवालयलाई दिएको थियो।सरकारलाई विश्वासको मत दिने दल विपक्षी हुनै नसक्ने भएकाले देउवालाई विपक्षी दलको मान्यता दिन नहुने माग लिएर अधिवक्ता पोखरेलले रिट निवेदन दिनु भएको थियो । 

रवि लामिछानेविरुद्धको रिट फैसलाको पूर्णपाठ 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्यता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो ।

अमेरिकी नागरिकता त्यागेपछि कानुनले तोकेका प्रक्रिया पूरा गरेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा निष्क्रिय नागरिकता नै प्रयोग गरेर उम्मेदवारी दिएको र निर्वाचित भएको भन्दै संवैधानिक इजलासले उहाँको पद बदर गरेको थियो। उक्त आदेशको पूर्णपाठमा भने लामिछानेको राहदानी विवादबारे इजलासले कुरा झिकेको छ ।

इजलासले यो विषय प्रचलित कानुनअनुसार निरूपण गरिनुपर्ने बताएको छ। गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंको लिखित जवाफबाट राहदानीको विषयमा छानबिन भैरहेको भन्ने तथ्यसमेत खुल्न आएको उक्त आदेशको पूर्णपाठमा उल्लेख छ। राहदानी विवाद निर्वाचन क्रमका उम्मेदवारको योग्यतासँग जोडिएको विषय नदेखिएको भन्दै अहिलेलाई थप कुरा गर्नु नपर्ने पूर्णपाठमा उल्लेख छ ।

आठ दलको निर्देशन 

नेकपा माओवादी केन्द्र नेपाली कांग्रेस सहितका सत्तारुढ आठ दलीय गठबन्धनले भोलि बिहानसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ । आज दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई भोली बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।

बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । यस्तै बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने निर्णय पनि गरेको छ ।

कार्यदलका संयोजक खड्काले अहिले गठबन्धन पूर्ण रुपमा राष्ट्रपति निर्वाचनमा केन्द्रीत रहेको बताउनुभयो । उहाँले भागबन्डा लगायतका विषय राष्ट्रपति निर्वाचनपछि मात्रै हुने बताउनुभयो ।राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले गएराति देखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ । यस्तै बैठकपछि नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनलाई थप विस्तार गर्ने सन्दर्भमा समेत छलफल भएको जानकारी दिनुभयो । 

राप्रपाको बैठक बस्दै 

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बोलाइएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार भोली दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुने श्रेष्ठले बताउनु भयो । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् । राप्रपाले हालसम्म कुन उमदेवारलाई समर्थन गर्ने भनने बारेमा निर्णय गरेको छैन ।  

तराईमा मनाइयो होली

काठमाडौँ । तराईका जिल्लाहरुमा आज होली पर्व हर्षाेउल्लासका साथ मनाइएको छ । हिजो पहाडि क्षेत्रमा होली हर्षोल्लासका साथ मनाइएको थियो । यो पर्व पहाडि जिल्लामा फाल्गुण शुक्ल पूर्णिमाका दिन र तराईका जिल्लामा पूर्णिमाको भोलीपल्ट मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ।फाल्गुण शुक्ल अष्टमीको दिन बसन्तपूरमा चीर गाडेपछि होली पर्व सुरु हुन्छ।

पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ।यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई केही नभएको कथा यो पर्वसँग जोडिएको छ । फागुका अवसरमा आज तराई–मधेशमा सार्वजनिक बिदा दिएको थियो । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षलाई ६ महिना कैदको फैसला

काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसूरमा न्यायाधिकरणले दोषी ठहर गरेको हो ।

न्यायाधिकरणले सोही मुद्दामा प्रेस सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरु निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनीहरुलाई दोषि ठहर गरेको हो ।

भण्डारीले दुबइस्थित रोजगारदाता कम्पनी ‘टिम फर्निचर’ को लट नं. ९२३३३ बाट ११ जना कामदार पठाउन वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको र उक्त कागजात खडा गर्नका लागि प्रेस सञ्चालक महर्जनको समेत संलग्नता भएको ठहर गर्दै न्यायाधिकरणले उनीहरुलाई दोषि किटान गरेको हो । उक्त मुद्दामा मतियारको रुपमा दाबी गरिएका प्रेसका कामदार मनिलकुमार महर्जनले भने सफाइ पाएका छन् ।

सिडिओलाई गृहको निर्देशन 

काठमाडौँ । गृहमन्त्रालयले ७७ वटै जिल्लाका सीडीओलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन निर्देशन दिएको छ ।बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि गृहले यस्तो निर्देशन दिएको हो ।बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित गतिविधि हुन थालेपछि निर्देशन दिइएको गृहमन्त्रालयले जनाएको छ ।

सहकारी लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप बढेपछि त्यस्तो क्रियाकलाप नियन्त्रण गर्न सिडिओ कार्यालयलाई निर्देशन दिनुका साथै प्रहरी प्रधान कार्यालयमार्फत परिपत्र गरिएको प्रवक्ता जितेन्द्र बस्नेतले बताउनुभयो । जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटनासँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित छन् ।

परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको गुनासो छ । पछिल्लो सयम व्यवसायी दुर्गा प्रसाईँले आफ्नो अभियानमा बैंकको ऋण नतिर्न उकासेको भन्दै यसले अझ उच्छृंखल गतिविधि बढेको उनीहरूको बुझाई छ ।व्यवसायी, लघुवित्तका ऋणीहरूले ऋण नतिर्ने, लघुवित्त संस्था नै खारेज गर्नुपर्ने भन्दै आन्दोलनसमेत गरिरहेका छन् ।

नेपालमा सिचुवान एयरलाइन्सको हवाईसेवा फेरि सुरु

काठमाडौँ । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको ४ उडान गर्ने जनाएको छ ।

सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार ३ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको ९ बजे अवतरण गर्नेछ । यो हवाईसेवाको शुरुवातसँगै अष्ट्रेलियाको मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अब चीनको चेङ्दुमा ४ घण्टा ३० मिनेट ट्रान्जिटमा बसेर यात्रा गर्न सक्नेछन् ।

नुहाउने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–१३ बन्दास्थित नहरमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका–१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन् । आज दिउँसो नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाईएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

आर्थिक खबर
नेप्से परिसूचक  

काठमाडौँ । शेयर बजार नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार आज १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । बजार बढेको दिन दुई सय ६१ वटा कम्पनीका ४० लाख ५९ हजार कित्ता शेयर एक अर्ब २० करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

 सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेड र सुपर मादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वैदेशिक बचत पत्र २०८४ ‘क’ निष्काशन गर्ने भएको छ । आज नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक विज्ञप्ति जारी गर्दै उक्त बचत पत्र आगामी चैत १० गते निष्काशन गरिने जानकारी दिएको हो । बचत पत्र ५० करोड रुपैयाँको हुनेछ ।

फागुन १४ गतेदेखि बिक्री खुला भएको बचत पत्र आगामी चैत ३ गतेसम्म बिक्री खुला रहनेछ । यसको वार्षिक ब्याजदर १२.५० प्रतिशशत लाग्नेछ । उक्त बचत पत्रको ब्याजदर प्रत्येक ६ महिनामा भुक्तानी गर्नु पर्नेछ । उक्त बचतपत्र खरिद गर्न वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुलाई आवेदन दिन विभागले अनुरोध गरेको छ ।

साथै, उक्त बचतपत्र खरिद गर्न कम्तीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न सकिने छ ।

विदेशका खबर
शेख मोहम्मद बिन कतारको नयाँ प्रधानमन्त्री

काठमाडौँ । कतारको प्रधानमन्त्रीमा शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी नियुक्त भएका छन् । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले आज शेख मोहम्मद बिनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । सन् २०१६ देखि विदेशमन्त्रीको रुपमा काम गरिसक्नुभएका शेख मोहम्मद बिनले हाल नयाँ जिम्मेवारी पाउनुभएको हो ।

साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले लगाएको तीन वर्षभन्दा लामो नाकाबन्दीका बावजुद उहाँले विदेशमन्त्रीको रुपमा काम गर्नुभएको थियो । 

यसअघि २०२० को जनवरीमा प्रधानमन्त्री बन्नुभएका शेख खालिद बिन खालिफा बिन अब्देलाजिज अल थानीले राजीनामा दिनुभएसँगै अमिरको कार्यालयले शेख मोहम्मद बिनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको हो । उहाँ नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै कतारको मन्त्रिपरिषद्को पुनर्गठन भएको छ ।

कतारी अमिरको कार्यालयले शेख खलिफा बिन हमाद बिन खलिफा अल थानीलाई आन्तरिक मन्त्रीमा नियुक्त गरेको पनि घोषणा गरेको छ।यस्तै, अली बिन अहमद अल कुवारी अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ भने उर्जामन्त्रीमा साद अल काबी पुनः नियुक्त हुनुभएको छ ।

फ्रान्समा आजदेखि अनिश्चितकालीन हडताल

काठमाडौँ । फ्रान्समा सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरूविरुद्ध मजदुर र कर्मचारी संघसंगठनहरूले आजदेखि अनिश्चितकालीन हडतालको घोषणा गरेका छन् । मजदुर र कर्मचारी युनियनहरूले सरकारले निवृत्तिभरण विधेयक फिर्ता नलिएसम्म हडताल जारी राख्ने घोषणा गरेका हुन् ।

हडतालमा शिक्षक, ग्यास र विद्युतीय क्षेत्रका कामदारहरू, रेल कम्पनीका कर्मचारी, स्वास्थ्य क्षेत्रका कामदार र औद्योगिक क्षेत्रलगायत कामदारहरू सामेल हुने घोषणा गरिएको छ । हडतालका कारण फ्रान्सको जनजीवन प्रभावित हुनसक्ने आँकलन गरिएको छ ।

फ्रान्सेली नागरिक उड्डयन प्राधिकरण (डीजीएसी)ले हडतालका कारण विमानहरूको उडानसमेत ३० प्रतिशतले रद्ध हुनुकासाथै युरोपका अन्य सहरहरूमा जाने लामो दूरीका रेल र उडानसमेत प्रभावित हुने बीएफएम टीभीले उल्लेख गरेको छ ।

फ्रान्समा निवृत्तिभरण अधिकार सुधार गर्ने र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ वर्षसम्म पुयाउने सरकारको योजनाविरुद्ध औद्योगिक कलकारखानाका मजदुरहरूले जनवरीदेखि नै पटक–पटक हडताल गर्दै आएका छन् ।

मजदुर युनियनहरू जसरी पनि सरकारको निवृत्तिभरण विधेयक असफल पार्ने प्रयासमा जुटेका छन् भने प्रधानमन्त्री एजिजावेथ बर्नले सरकार यसबाट कुनै पनि हालतमा पछि नहट्ने बताउँदै आउनुभएको छ ।  

खेल खबर
चर्चको लगातार दोस्रो जित 

काठमाडौँ । नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा अर्को नव प्रवेशी क्लब एफसी खुमलटारलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरेका हुन् ।  एरिक विष्टको नाममा एक गोल रह्यो । खुमलटारका मेसुके ओलुमोउले एक गोल फर्काएका थिए ।जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ ।खुमलटारको यो पहिलो हार हो । खुमलटारले २ खेलमा ३ अंक जोडेको छ । यस्तै लिग अन्तर्गत नै आज भएको अर्काे खेलमा थ्री स्टार र फ्रेन्ड्स क्लबले ३–३ गोलको बराबरी खेलेका छन् ।

च्यासल मैदानमा भएको खेलमा थ्री स्टारले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । फ्रेण्ड्सका कुशल फुयालले इन्जुरी टाइममा गोल गर्दै आफ्नो टिमलाई हारबाट बचाएका थिए । बराबरीपछि दुवै टिमले लिगमा पहिलो एक अंक जोडेका छन् । यसअघि फ्रेण्ड्स उद्घाटन खेलमा एफसी खुमलटारसँग पराजित भएको थियो भने थ्री स्टार, एपीएफसँग पराजित भएको थियो ।

नेपाली टोली आज स्वदेश फर्कियो

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्किएको छ । लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फर्किएको हो । नेपाली टोली आज साँझ नेपाल आईपुगेको हो ।

यूएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो ।पपुवा न्यु गिनी(पीएनजी) र घरेलु टोलीसँग समान २/२ खेल खेलेको थियो ।नेपालले पीएनजीसँगको दुई नै खेल तथा घरेलु टोलीसँगको एक खेल जितेको थियो ।

यसैबीचआईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि यूएईको टोली घोषणा भएको छ । पर्सी बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि मुहम्मद वासिमको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो ।

आगामी १० मार्चमा पीएनजीविरुद्ध खेलेर सिरिज सुरु गर्ने यूएईको दोस्रो खेल १२ मार्चमा घरेलु टोली नेपालविरुद्ध रहेको छ । १५ मार्चमा पीएनजीको विरुद्धमा खेल्ने यूएईको नेपाल सिरिजको अन्तिम खेल १६ मार्चमा घरेलु टोलीविरुद्ध रहेको छ । त्रिकोणात्मक सिरिजमा यूएईले नेपाल र पपुवा न्युगिनिसँग समान २÷२ लिग टूको खेल खेल्नेछ ।