Live Streaming

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौँ । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो ।  

उहाँले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाउनुभएको छ । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत पाउनुभएको छ । उहाँले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाउनुभएको छ ।

राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी ८ सय ३१ जनाले मतदान गरेका थिए । संघीय संसदका ३ सय ३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । यस्तै, नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहनुभएकाले मतदानमा सहभागी हुनुभएको थिएन ।

त्यस्तै, कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङले निलम्बित अवस्थामा रहनुभएकाले मतदान गर्न पाउनुभएन भने मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५ सय ५० सदस्यमध्ये ५ सय १८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरिएको छ ।