Live Streaming

अन्नपूर्ण दिनभर : गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल, नयाँ राष्ट्रपतिका के के छन् चुनौती ?

राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित 

काठमाडौँ । गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनुभएको हो । उहाँका प्रतिद्धन्द्धि एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो । उहाँले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाउनुभएको हो । 

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मत दिएका छन् । संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । यस्तै प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित हुनुभएको थियो भने विद्यादेवी भण्डारी २ कार्यकाल राष्ट्रपति बन्नुभएको थियो । 
पौडेललाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा पौडेललाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । योसंगै पौडेलले फागुन २९ गते शपथ लिनुहुने भएको छ । 

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल को हुन् त ? उहाँको जीवनी । नेपालको संविधान २०७२ जारी गरेर प्रथम राष्ट्रपति डा. रामवरण यादव बिदा हुनुभयो भने दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल संविधान कार्यान्वयनका दृष्टिले विवादरहित हुन सकेन । उसो त प्रथम राष्ट्रपति यादव पनि विवादरहित भने रहन सक्नुभएन ।

डा. यादवको कार्यकालमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाल प्रकरण निकै विवादित बन्यो । त्यसबेला सरकारले गरेको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयन नभएको भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नै दिनुभएको थियो । 

राष्ट्रपतिका रुपमा भण्डारीले निर्वाह गरेको दुबै कार्यकालको भूमिका पनि सफल भन्दा बढि विवादित नै बन्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि दुई पटक सिफारिस गर्दा दुबैपटक राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको सिफारिसलाई सदर गर्नुभयो । तर, दुवै पटक सर्वोच्च अदालतले विघटन असंवैधानिक रहेको भन्दै बदर गरिदियो ।

राष्ट्रपतिले संविधानको मर्म र भावना अनुरुप आफ्नो भूमिका निर्वाह गर्न नसक्दा आलोचनाकै क्रममा उनीहरुको जीवनशैलीलाई समेत चियोचर्चा र टिप्पणीको विषय बनाउने क्रम बढ्न थाल्यो । यतिबेला त शीतल निवासबाट राष्ट्रपति बाहिर निस्किँदा पनि सडक अवरुद्ध हुने गरेको भन्दै चर्को असन्तुष्टि देखिन थालेको छ । समग्रमा राष्ट्रपति पदको गरिमा नै घट्दो देखिन्छ । 

यो अवस्थामा तेश्रो राष्ट्रपति पौडेललाई दलीय आवरणमा नभई संवैधानिक राष्ट्रपतिका रुपमा संविधानले दिएका कार्यभार मात्रै निर्वाह गरेर पदको गरिमा जोगाउने चुनौति रहेको छ । 

रामसहाय यादव उपराष्ट्रपतिको उम्मेदवार 

काठमाडौँ । जनता समाजवादी पार्टीले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टीको केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

जसपा संसदीय दलको नेता समेत रहनुभएका यादव बारा २ बाट निर्वाचित सांसद हुनुहुन्छ । सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भईसक्नुभएको छ ।

यादवलाई उपराष्ट्रपतिमा पठाएर उपनिर्वाचनबाट संसद भवन प्रवेश गर्ने अध्यक्ष उपेन्द्र यादवको तयारी छ । जसपाले उपराष्ट्रपति पाउने सहमतिपछि अध्यक्ष यादवले उपनिर्वाचनको तयारी थालिसकेका छन् ।अध्यक्ष यादव मंसिर ४ को निर्वाचनमा सप्तरी २ मा जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।

राष्ट्रपति चुनावमा भोट हालेपछि ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार असम्भव नरहेको बताउनुभएको छ । आज राष्ट्रपतिको चुनावमा मतदान गरेपछि सञ्चारकर्मीसँग ओलीले यस्तो बताएका हुन् । राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने उहाँको भनाई थियो ।

यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू संकीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ट भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरूले देशका लागि अडेर काम गरे भनेर विरोध भएको टिप्पणी गर्नुभयो । 

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको तत्काल सम्भवना नरहेको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा कांग्रेस महामन्त्री थापाले २०८४ सालसम्म त्यो सम्भव नभएको बताउनुभएको हो ।

संसद भवन परिसरमै पत्रकारहरुले महामन्त्री थापालाई पनि ओलीको अभिव्यक्ति अनुसार कांग्रेस–एमाले मिल्नसक्ने सम्भावनाबारे जिज्ञासा राखेका थिए । जवाफमा थापाले यसपटक भने त्यो सम्भावना नभएको बताउनुभएको हो । एमालेले धेरैपटक धेरैलाई झुक्याएको भन्दै थापाले ‘सबैलाई एकपटक झुक्याउन सकिएपनि सबैलाई पटक–पटक झुक्याउन नसकिने बताउनुभयो । एमालेबाट झुक्याइएकाहरुको अनुभव साटासाट गरेर कांग्रेस, माओवादी केन्द्र लगायत दलले सरकारमा साझेदारी गरेको थापाको भनाइ छ । 

मन्त्रिपरिषद्को पूर्णता उपराष्ट्रपति निर्वाचनलगत्तै : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि आज संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले अब आफूहरूको ध्यान सरकार विस्तारमा लाग्ने बताउनुभएको हो ।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि अहिले प्रचण्ड सरकारमा माओवादी र जनमत पार्टी मात्र छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत १३ अगावै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मतअगावै सरकार विस्तार गर्ने प्रचण्डको तयारी रहेको माओवादी नेताहरूले बताएका छन् । 

संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक संसदमा दर्ता

काठमाडौँ । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ । आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेको थियो । विधेयकमा मुख्य रुपमा तीनवटा प्रावधान संशोधन गरिएको छ । 

विधेयकमा संक्रमणकालीन न्याय हेर्ने विशेष अदालतले गरेको निर्णय सर्वोच्च अदालतको विशेष इजलासमा पुनरावेदन गर्नमिल्ने व्यवस्था थप गरिएको छ । यसअघिको विधेयकमा संक्रमणकालीन न्यायका मुद्दा हेर्ने विशेष अदालतले गरेको फैसला अन्तिम हुने र त्यसविरुद्ध पुनरावेदन नलाग्ने व्यवस्था राखिएको थियो र त्यसको सरोकारवालाहरुबाट विरोध भएको थियो । संसोधन विधेयकमा अन्तिम आदेश भएको मितिले ३५ दिनभित्र सर्वोच्चमा पुनरावेदन दिन सक्ने भनिएको छ । 

पीडित र अन्तर्राष्ट्रिय समुदायको माग अनुसार भने विधेयक मिलेको छैन । विधेयकमा अझै पनि गम्भीर मानव अधिकार हनन र मानव अधिकार हनन भनेर अलग–अलग राखिएको छ । विधेयकमा मानव अधिकारको उल्लंघन भन्नाले सशस्त्र द्धन्द्धको क्रममा निःशस्त्र व्याक्ति वा जनसमुदायविरुद्ध लक्षित गरी वा योजनावद्ध रुपमा गरिएको कार्य भनेर उल्लेख गरिएको छ । 

यसैगरी हदम्यादको व्यवस्था पनि परिमार्जन भएको छ । यसअघि दुईमध्ये कुनै आयोगले मुद्दा चलाउन सिफारिस गरेमा ६ महिनाभित्र निर्णय गरिसक्नुपर्ने प्रावधान थियो । अहिले त्यसलाई परिमार्जन गरेर एक वर्ष बनाइएको छ । त्यतिबेलासम्म महान्यायाधिवक्ता वा सरकारी वकिलले मद्दा चल्ने÷नचल्ने निर्णय गर्नुपर्ने हुन्छ ।ऐनमा यसअघि आममाफीको प्रावधान राखिएकामा यसपटक फेरबदल गरिएको छैन ।

विधेयकबारे के भन्छन् नेता?

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संक्रमणकालीन न्याय सम्बन्धी बाँकी रहेका कामहरु दुई वर्षभित्रमा सम्पन्न गरिसक्ने बताउनुभएको छ । आज राष्ट्रपति निर्वाचनमा मतदानका लागि संघीय संसद् भवन पुग्नुभएकी मन्त्री शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी रहेका कामहरु दुई वर्षभित्र सम्पन्न गरिसक्ने बताउनुभएको हो । 

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापालेसरकारले दर्ता गरेको टीआरसी विधेयकलाई सर्वस्वीकार्य हुनेगरी संसदको यही सत्रबाट पारित गर्नुपर्नेमा जोड दिनुभएको छ । यो पटक सबैलाई दबाब महसुस भएको भन्दै उहाँले यही संसदको सत्रबाट यो विधेयकलाई टुंग्याउनुपर्ने बताउनुभएको हो । 

यता नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले संक्रमणकालिन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुनु नहुने बताउनुभएको छ । सरकारले विधेयक ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने उहाँको चेतावनी छ । 

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद

काठमाडौँ । भुकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री बद्री न्यौपानेलाई साढे ९ वर्ष कैद सजाय सुनाएको छ । न्यौपानेसँग दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ बिगो असुल गर्न आदेश गरेको छ । बिगो अनुसारकै जरिवाना पनि न्याौपानेलाई हुने फैसला विशेषले गरेको छ । फागुन १६ गते नै कसुर ठहर भए पनि बिहीबार विशेषले सजाय निर्धारण गरेको हो । 

यस्तै पूर्वमन्त्री एवं कांग्रेस सांसद टेकबहादुर गुरुङलाई भने अदालतले बिगो र सोही बमोजिम जरिवाना मात्र गरेको छ । मतियारका रुपमा कसुर ठहर गरेको अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार ८०१ रुपैयाँ बिगो र सोही बराबर जरिवाना कायम गरेको हो।

उनका छोरा रवीन्द्रका हकमा पनि एक करोड २१ लाख ८४ हजार ८०१ रुपैयाँ बिगो र सोही बराबर जरिवाना कायम भएको छ । यस्तै, कुञ्ज बिहारी प्रसाद चौधरीलाई अदालतले जरिवाना र बिगोमात्र कायम गरेको छ । मुद्दा चलेपछि मृत्यु भइसकेका कारण कैद भने निर्धारण नभएको हो । बिगो र जरिवाना न्यौपानेकै सरह तोकिएको छ । यस्तै, प्रमोद मेहता, हरि न्यौपाने, मोहनराज शर्मा र मदन कुमार लाल कर्णलाई अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । सबैलाई बिगो र जरिवाना समान रुपमा जनही दुई करोड ४३ लाख ६८ हजार ८०३ कायम गरिएको छ ।  

प्रधानमन्त्री दाहालविरुद्धको रिटको पेसी सर्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिट सुनुवाइको पेसी सरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको हो ।निवेदक कल्याण बुढाथोकीले आज सुनुवाइ नहुने र भोलि पेसीको जानकारी पाएको बताउनुभयो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो। प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो। 

तनहुँ –१ मा उपनिर्वाचन हुने, गोविन्द र दीपकको दाबी

काठमाडौँ । तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुने भएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ १ बाट निर्वाचित भएसंगै उपनिर्वाचन भएको हो । तनहुँमा उपनिर्वाचन हुने भएपछि कांग्रेसमा उम्मेदवारका आकांक्षीहरु आन्तरिक तयारीमा लागेको छ । कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई उम्मेदवारको आकांक्षी देखिनुभएको छ । 

निर्वाचन आयोगले चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो । 

बिमस्टेकको १९औं मन्त्रिस्तरीय बैठक सम्पन्न

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १९औँ मन्त्रिस्तरीय बैठक आज थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको थियो । परराष्ट्रमन्त्री रिक्त रहेका कारण बिमस्टेकको उच्च अधिकारीहरूको बैठकमा समेत सहभागी हुनुभएका परराष्ट्र सचिव पौड्याल मन्त्रिस्तरीय बैठकमा समेत सहभागी हुनुभएको थियो ।  

बैठकलाई सम्बोधन गर्दै परराष्ट्र सचिव पौड्यालले जलवायु परिवर्तन, ऊर्जा सङ्कट, खाद्यान्न असुरक्षा र ठूला महामारीजस्ता वर्तमान समयका परिभाषित चुनौतिहरूको सामना गर्न अर्थपूर्ण क्षेत्रीय सहयोगका लागि आह्वान गर्नुभयो । बैठकले बिमस्टेक बैंकक भिजन २०३०, सामुद्रिक यातायात सहयोग सम्झौता, बिमस्टेक संयन्त्रका लागि कार्यविधि नियम, प्रबुद्ध व्यक्ति समूहका लागि सन्दर्भ सर्तहरू, ब्लू इकोनोमीको समावेश, पर्वतीय अर्थतन्त्र र गरिबी पुनर्विलोकन अन्तर्गत विभिन्न महत्वपूर्ण दस्तावेजहरूलाई अनुमोदन गरेको छ । यस्तै,  बिमस्टेक सहयोगका क्षेत्रहरू उप–क्षेत्रहरू गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने

काठमाडौँ । सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिनुभयो ।

यसअघि यही फागुन ११ गतेदेखि सुरु भएको अभियान आजसम्मका लागि मात्र तोकिएको थियो । उहाँले अभियानका क्रममा धेरै बिदा भएकाले कोही नछुटुन् भनेर भोलिदेखि पुनः पाँच दिन अभियानलाई निरन्तरता दिने बताउनुभयो । हात्तीपाइले रोगविरुद्धको औषधि यही फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली गरी १५ जिल्लामा खुवाउन थालिएको छ । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

सेयर बजार

काठमाडौँ । सेयर बजार मापक नेप्से सूचक २.५६ प्रतिशतले बढेको छ । आज नेप्से ५०.०४ अंकले बढेर २ हजार २.७० को विन्दुमा पुगेको छ । यस दिन २६२ कम्पनीका एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८ सय २ रुपैयाँ बराबरको ४५ लाख ६६ हजार ४३ किक्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि २.५० प्रतिशतले बढेर ३ सय ७९.५० विन्दु कायम भएको छ । आज १३ उपसमूहको समूहगत सूचक उकालो लाग्दा हाइड्रोपावर उपसमूहको समूहगत सूचक सर्वाधिक ३.५९ प्रतिशतले बढेको छ । फाइनान्स उपसमूहको ३.४६ प्रतिशतले, लगानी उपसमूहको ३.२६ प्रतिशतले, जीवन बिमा उपसमूहको सूचक ३.२२ प्रतिशतले उकालो लागेको छ । आज शुभमपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.४४ प्रतिशतले बढेको छ ।सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्केम–२ को सेयर मूल्य सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ ।

विदेशका खबर
आक्रमण तीव्र बनायो, घरबाहिर ननिस्कन नागरिकलाई सरकारको निर्देशन

काठमाडौँ । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रमा लक्षित आक्रमण तीव्र बनाएको छ । केही दिनदेखि मत्थर भएको आक्रमण आज बिहानैदेखि फेरि तीव्र भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले महत्त्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताउनुभएको छ । रुसको क्षेप्यास्त्र र ड्रोन हमलाका कारण पानी र बिजुली आपूर्तिमा अवरोध सिर्जना भएको छ ।

ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्चनेकोले पनि रुसले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताउनुभयो । स्थानीय सैन्य प्रशासनका अनुसार राजधानी किएभ क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ । सरकारले नागरिकलाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गरेको छ ।

औद्योगिक सहर बाख्मुतलाई क्रमशः आफ्नो नियन्त्रण लिएको जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो । यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युक्रेन नछोड्दासम्म पुटिनसँग वार्ता नगर्ने अडान दोहो¥याउनुभएको छ । 

अफगानिस्तानमा बम विस्फोट : गभर्नर सहित ३ जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको मजार–ए–शरीफ प्रान्तमा आज भएको बम विस्फोटमा त्यहाँका गभर्नर सहित तीनजनाको मृत्यु भएको छ । तालिबानद्वारा नियुक्त प्रान्तीय गभर्नरको कार्यालयमा विस्फोट गरिएको हो । गभर्नर दाउद मुजमल र अन्य दुईजनाको मृत्यु भएको हो । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।तर इस्लामिक स्टेट खोरासान प्रोभिन्सले तालिबान सत्तामा आएदेखि नै विस्फोट गराइरहेको छ । उनीहरूले तालिबानी नेता र शिया अल्पसंख्यकका सदस्यहरूलाई आक्रमण गर्ने गरेका छन् । 

खेल खबर
पीएनजीमाथि नेपालको सानदार जित

काठमाडौँ । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तपुरमा आज भएको खेलमा घरेलु टाली नेपालले पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले हराउँदै सुखद सुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २ सय ९७ रन बनाएको थियो ।

२ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा २ सय ४५ रनमा अलआउट भयो । पीएनजीलाई अलआउट गर्न नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट हात पारे । पीएनजीका लागि नोर्मन भानुले सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ५० र कप्तान असद भालाले ४२ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर आशिफ शेखले सानदार शतकीय इनिङ्स खेले । उनी ११० बलमा ११० रन बनाउँदै क्याच आउट हुन पुगे । योसँगै उनले एकदिवसीय क्रिकेट करिअरमा हजार रन पूरा गरेका छन् । यस्तै, कुशल भुर्तेल ४५ रनमा क्याच आउट हुन पुगे ।

त्यस्तै, भीम सार्कीले ४४ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३० रन, आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन जोडे । बलिङतर्फ पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, रिले हेकुरेले ३ तथा अलि नावले एक विकेट लिए ।

यो जितसँगै ३३ खेलबाट ३४ अंक जोडेको नेपाल लिग–टू मा पाँचौ स्थानमा छ । नेपाललाई ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक छ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल जिम्बावेमा हुने विश्वकप क्वालिफायर्समा छनोट हुनेछ । सातौँ स्थानमा रहेको पीएनजीको समान खेलबाट ९ अंक छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित निकालेको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोल अन्तरले हराउँदै जावलाखेलले लगातार दोस्रो जित निकालेको हो ।

जावलाखेलको जितमा कप्तान सिमान्त थापा र फोडे फोफानाले एक–एक गोल गरे ।एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए ।जितसँगै जावलाखेलले २ खेलमा ६ अंक जोडेको छ । जावलाखेलले पहिलो खेलमा मछिन्द्र फुटबल क्लबलाई हराएको थियो ।एनआरटीको भने यो लगातार दोस्रो हार हो । 

यस्तै, आज नै भएको अर्को खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो हार व्यहोरेको छ ।च्यासल मैदानमा भएको आजको खेलमा मछिन्द्रत्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको हो । आर्मीलाई जित दिलाउन दिपक गुरुङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । समान खेल खेलेको मछिन्द्रले भने अंक जोड्न सकेको छैन ।