Live Streaming

अन्नपूर्ण दिनभर : उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, बन्ला त समाजवादी मोर्चा ?

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

काठमाडौँ ।  उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।  

यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ । यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । यसअघि राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउदा नै जसपाले पाउने सहमति भएको थियो । 

तर उपराष्ट्रपति निर्वाचनमा आउँदा भने विभाजित बनेका छन् । यद्यपी आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताउनुभयो । भोलि उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपतिमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसक्नुभएको छ ।

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । जनमत पार्टीले पनि यादवको उम्मेदवारी संविधानविपरित भएकाले खारेज गर्न माग गर्दै निवेदन दिएको छ । 

जानकारहरुले भने उपराष्ट्रपतिमा महिला नै उपयुक्त हुने बताएका छन् । राजनीतिक विश्लेषक जगदीश दाहालले संसदमा समुदायको परिभाषा तयार पार्न नसकेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै दाहालले पहिलो कार्यकालमा पनि एउटै समूदायबाट राष्ट्रपतिमा डा. रामवरण यादव र उप–राष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएको बताउदै समुदायको परिभाषानै नभएको बताउनुभएको हो । संविधानले पनि लैंगिक बिषयलाई प्राथमिकता दिएकाले राष्ट्रपति पुरुष बनिसकेपछि उपराष्ट्रपतिमा महिला उपयुक्त हुने उहाँको भनाई छ । 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताउनुभएको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताउनुभएको हो । 

समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने उहाँको भनाई छ । प्रचण्डले एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा रहेको आरोप लगाउनुभयो । उहाँले माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति आफूहरुले नेतृत्व लिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेता–कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने स्पष्ट पार्नुभएको छ ।

महन्थ, सिके र रेशमको पार्टीबीच कार्यगत एकताको घोषणा

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने सहमति भएको छ । आज तीन दलबीच भएको बैठकबाट सो सहमति भएको लोसपाका नेता मनिष मिश्रले बताए । जनमतले उपराष्ट्रपतिमा उम्मेदवार बनाएको ममता झालाई यी तीनै दलले समर्थन गरेका छन् ।

सो समर्थनपछि अगामी दिनमा कार्यगत एकता गर्ने निर्णय भएको छ ।सहमति पत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ । यसअघि पनि जनमत र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

केन्द्रीय समीकरणकै आधारमा स्ववियु चुनावमा भागबन्डा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनका लागि आज देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । आगामी चैत ५ गते १४ बर्षपछि हुने निर्वाचनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्म नामावली दर्ताको समय छुट्याईएको थियो ।

केन्द्रीय सत्ता समीकरणकै आधारमा स्ववियु चुनावमा पनि कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका विद्यार्थी संगठनबीच भागबन्डा भएको छ । उपत्यकाका विभिन्न क्याम्पसको सभापतिका लागि कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी र नेकपा एस निकटको अनेरास्ववियूले भागबन्डा गरेका हुन् ।  

भागबन्डामा नेविसंघले १५, क्रान्तिकारीले १० र नेकपा एस निकटको अनेरास्ववियूले उपत्यकाका ३ वटा क्याम्पसमा सभापति पाएका छन् । सहमतिमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र एस निकटका अनेरास्ववियूका सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् । तर सबैभन्दा बढी क्याम्पस पाएको नेविसंघमा भने समान मत छैन । डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलानिकट संस्थापनसँग असन्तुष्ट छन् । नेविसंघले अध्यष दुजाङ शेर्पा, प्रेमिका राना र सिर्जना सुब्बालाई टिकट वितरणको जिम्मा दिएको छ । 

त्रिचन्द्र बहुमुखी क्याम्पस सहित केही क्याम्पसहरुमा भने मतदाता सूची नै पनि सार्वजनिक भएको छैन । त्रचन्द्रमा नेपाल विद्यार्थी संघले फर्जी विद्यार्थी भर्ना गरेको आरोपमा विवाद जारी छ । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पनि फर्जी विधार्थीको नाम समावेश गरिएको भन्दै विवाद चुलिएको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा करिब १ हजार फर्जी विधार्थीको नाम पनि समावेश गरिएकाले त्यसको छानबिन गरि चैत ५ को निर्धारित मितिमै निर्वाचन गर्न कांग्रेस निकट नेविसंघले क्याम्पस प्रशासनसँग माग गरेको छ ।  शुक्रबार गरिएको आगजनीको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।  शनिबार क्याम्पस परिसरमै पत्रकार सम्मेलन गरेर नेविसंघले शुक्रबार क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा गरिएको आजगजनीमा संलग्नलाई पक्राउ गरि कारबाही गर्न माग गरेको हो । 
रत्नराज्यलक्ष्मी क्याम्पसमा दुई विद्यर्थी समूहबीच खुकुरी हानाहान

काठमाडौँ । काठमाडौंको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा दुई विद्यर्थी समूहबीच खुकुरी हानाहान भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि आज दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको हो । खुकुरीसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्दलाई खुकुरीसहित पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।  घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

नागरिकता विधेयक–२०७९ तत्काल प्रमाणीकरण गर्न माग

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक–२०७९ तत्काल प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आज संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिकता विधेयक–२०७९ प्रमाणीकरणका लागि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको हो ।

जन्मको आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तानहरु नागरिकताबाट बञ्चित हुनुपरेको संघर्ष समितिको भनाई छ । आमा बाबु नेपाली नागरिक भएर पनि कानुन अभावको कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको संघर्ष समितिको बुझाई छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई÷दुई पटक नागरिकता विधेयक फिर्ता पठाएको भन्दै संघर्ष समितिले विज्ञप्तिमा नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक २०७९ प्रमाणीकरण गर्नेमा आशावादी रहेको उल्लेख गरिएको छ र नागरिकता विहिन सङ्घर्ष समिति नेपालका अध्यक्ष इन्द्रजित साफीले नेपालको संविधान २०७२ जारी भएको झण्डै आठ वर्ष हुँदा पनि नागरिकता सम्बन्धी विवाद टुंगोमा नपुग्नु दुःखद् भएको बताउनुभयो । 

विद्यमान विकृति र विसंगति न्युनीकरण गर्न संघीय निजामती सेवा ऐन कोसेढुंगा सावित

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले विद्यमान विकृति र विसंगति न्युनीकरण गर्न संघीय निजामती सेवा ऐन कोसेढुंगा सावित हुने बताउनुभएको छ । संघीय निजामती ऐनको सन्दर्भमा संवैधानिक आयोगका अध्यक्ष एवं अन्य पदाधिकारीसँगको छलफलमा मन्त्री मोदीले ऐनलाई कसरी प्रविधिमैत्री र भावी पुस्ताको भविष्यसँग जोड्नेबारे गृहकार्य भइरहेको बताउनुभएको हो । मन्त्री मोदीले मन्त्रालयले तर्जुमा गरिरहेको ऐनलाई कसरी प्रविधिमैत्री र भावी पुस्ताको भविष्यसँग जोड्ने भन्नेबारे समेत गृहकार्य गरिरहेको बताउनुभयो । मन्त्री मोदीले तुलनात्मक रुपमा अझै पनि निजामती सेवाभित्र पहुँचविहीन कर्मचारीहरु रहेको उल्लेख गर्नुभएको छ । 

संस्कृतिमन्त्री किराँती  

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठुलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताउनुभएको छ । आज बाट सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले नेपालमा ठुलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिनुभयो । सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै उहाँले आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताउनुभयो ।  मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौँ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताउनुभयो । आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतका सबै निकायहरूलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

आर्थिक खबर
नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण  २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र  नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण  २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ ।

आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा  १९ अर्ब ४३ करोडले घटेको छ ।नेपालको कूल गार्हस्थ्य उत्पादन  (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन  ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जिडिपी अनुपातमा आन्तरिक ऋण १९ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव ७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

विदेशका खबर

वित्तीय संकटका कारण बन्द भएको सिलिकन भ्याली बैंक एफडीआईसीकाे नियन्त्रणमा

काठमाडौँ । अमेरिकामा वित्तीय संकटका कारण बन्द भएको सिलिकन भ्याली बैंकलाई अमेरिकी संघीय निक्षेप बिमा संस्थान–एफडीआईसीले नियन्त्रणमा लिएको छ । क्यालिफोर्नियाको नियामक निकायले बैंक बन्द गराएर निक्षेप नियन्त्रणमा लिएको हो । यो घटनालाई सन् २००८ संकटपछिकै सबैभन्दा ठूलो अमेरिकी बैंकिङ विफलता मानिएको छ ।

उक्त वर्ष वासिङटन म्युचुअल टाट पल्टिएको थियो । बुधबार बैंकले घाटा पूर्तिका लागि ठूलो हिस्सामा सेयर बेचेको र करिब २ अर्ब २५ करोड डलर बराबरको नयाँ सेयर बेच्ने घोषणा गरेको थियो । उक्त घोषणापछि ठूला सेयरहोल्डर र निक्षेपकर्ताले लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए ।

संघीय रिजर्भ बैंकले गत वर्ष ब्याजदर वृद्धि गरेपछि बैंकको स्थिति खस्किएको बताइएको छ । बैंकलाई नियन्त्रणमा लिएपछि एफडीआईसीले नागरिकको बचत फिर्ता गर्न बैंकको सम्पत्ति प्रयोग गर्नेछ । एफडीआईसीले बैंक निक्षेपको बिमा गर्नुका साथै वित्तीय संस्थाहरुको निगरानी गर्छ । यसले बिमाको दायरामा आएको निक्षेपको सुरक्षा गर्न नेसनल बैंक अफ सान्ता क्लारा स्थापना गरेको छ । बचतकर्ताहरुले सोमबारदेखि आफ्नो निक्षेपमा पूर्ण पहुँच पाउनेछन् । एफडीआईसीले बैंकमा १ सय ७५ अर्ब डलर निक्षेप रहेको जनाएको छ ।

सीका विश्वासपात्र ली कियाङ बने चीनका प्रधानमन्त्री

काठमाडौँ । चीनको संसदले ली कियाङलाई नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित गरेको छ । आज बिहान चिनियाँ संसदले राष्ट्रपति सीका निकट मानिएका कियाङको पक्षमा २९ सय ३६ मत दिँदा विपक्षमा केवल तीन मत मात्र परेको थयो । अन्य आठ जना तटस्थ बसेका थिए ।

गत अक्टोबरमा उनलाई महासचिव सी चिनफिङले एकैपटक पार्टीको सर्वोच्च समिति राज्य परिषद्मा ल्याएका थिए । त्यसअघि उहाँ सांघाई सहरका पार्टी प्रमुख हुनुहुन्थ्यो । चिनियाँ कम्युनिस्ट पार्टीभित्र दोस्रो वरीयताका नेताका रुपमा रहेका उनलाई चुनाव अगाडिबाटै प्रधानमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो । सीले आफू निकटलाई मात्र मुख्य जिम्मेवारी दिने गरेकाले पनि ली मुख्य रोजाइमा परेका हुन् ।

खेल खबर
गोलमा सातदोबाटोको लगातार तेस्रो जित

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लबले लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार तेस्रो जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सातदोबाटोलाई जित दिलाउन दीपक राज ठकुरीले निर्णायक गोल गरे । दीपकले खेलको इन्जुरी समयमा गोल गरेका हुन् ।

उनले निरज चौधरीको पासमा गोल गरेका हुन् । दीपकको लिगमा यो तेस्रो गोल हो । उनी खेलको म्यान अफ द म्याच चुनिए । जितसँगै सातदोबाटो लिगको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोले ३ खेलमा ९ अंक जोडेको छ । फ्रेन्ड्सको यो दोस्रो हार हो । फ्रेन्ड्सले ३ खेलमा १ अंक जोडेको छ ।

त्यसअघि आजै भएको खेलमा नेपाल पुलिस क्लबले लगातार तेस्रो हार भोग्दा जावलाखेल युथ क्लब र एपिएफले बराबरी खेल्दै अंक बाँडेका थिए । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लबसँग ३–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेलले अर्को विभागीय टोली एपीएफ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पुलिसबिरुद्ध जित निकाल्ने क्रममा संकटाका लागि १२ औँ मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको ८० औँ मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए । सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए । यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय बेहोरको पुलिस अंकविहीन छ । 

लिग अन्तर्गत आजै भएको अर्को खेलमा अर्को विभागीय टोली एपिएफ जावलाखेल युथ क्लबसँग गोल रहित बराबरीमा रोकियो । दुवै टोलीले खेल अवधि भर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । १० खेलाडीमा समेटिएको एपिएफबिरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जावलाखेल युथ क्लबले एक अंकमा चित्त बुझाएको हो ।