Live Streaming

राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको छ ।

         
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गर्नुभयो ।
 
उहाँले भन्नुभयो, “अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।”

अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसक्नुभएको उल्लेख गर्नुभयो ।

“हाम्रो मानसिकता अरुलाई दोष दिनेछ”, उहाँले भन्नुभयो, “आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।”
 
प्रधानमन्त्रीले राख्नुभएको विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो ।