Live Streaming

अन्नपूर्ण दिनभर : बाग्मतीका मुख्यमन्त्री पाए विश्वासको मत, गण्डकीमा एमालको सरकार अल्पमतमा

 

बाग्मतीमा शालिकराम जमकट्टेलले पाए विश्वासको मत 

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मतपाउनुभएको छ । प्रदेश सभामा उपस्थित ९१ जना प्रदेश सभा सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री जम्मकट्टेललाई मत दिएका हुन् । नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम बमोजिम मुख्यमन्त्री जमकट्टेलले आफुमाथि प्रदेश सभाको बहुमत सदस्यहरूको विश्वास छ भनी सदनमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावको विपक्षमा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले मतदान गरेका छन् ।

विपक्षमा १७ मत परेको थियो । त्यस्तै राप्रपाले ७ मत तटस्थमा मतदान गरेको थियो । मुख्य मन्त्री जमकट्टेलले राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको सभामुख भुवन पाठकले जानकारी दिनुभयो । मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसद्हरूले जमकट्टेललाई मत दिएका हुन्। योसँगै जमकट्टेल नेतृत्वको सरकारले निरन्तरता पाएको छ । बागमती प्रदेश सरकारमा एमालेका  चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित चारैजना मन्त्रीले राजीनामा दिएका छन् । 

गण्डकीमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।   माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । आज सरकारमा सहभागी भएका माओवादीका दुईजना मन्त्रीले राजीनामा बुझाएपछि प्रदेश सभा सचिवालय पुगेर  सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीका अनसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पुस २५ मा सरकारको मुख्य साझेदारमाओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार समस्यामा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी  गरे  पछि नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयले  थप  दबाब दिएको छ । आज  बिहान लुम्बिनीमा बसेको संसदीय दलको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको सांसद तथा पूर्वमन्त्री दलबहादुर रानाले जानकारी दिनुभयो । एमाले नेतृत्वको सरकारमा रहेको माओवादीलाई सरकारबाट बाहिर ल्याउन दबाब दिने उद्देश्यले कांग्रेसले यस्तो निर्णय गरेको बताइएको छ ।

प्रदेशसभामा २७ सांसदरहेको काग्रेस  दोश्रो ठूलो दल हो । कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले यसअघिकै गठबन्धनमा माओवादीले सरकारको नेतृत्व गरिसकेकाले प्रदेशको नेतृत्व स्वभाविकरूपमा कांग्रेसले पाउने बताउनु  भयो  । तर, माओवादीले आफ्नो आधार इलाका भएकाले पनि यहाँको नेतृत्व सहज नछाड्नेगरी केन्द्रमा आफ्नो दाबी गरिरहेको छ ।

मुलुकभर मिटर ब्याजीको डरलाग्दो जालो 

काठमाडौँ । सरकारी पक्षबाट आश्वासन मात्रै पाएपछि मिटरव्याज पीडितहरु फेरी आन्दोलित बन्न थालेका छन् । यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला गहमन्त्री बालकृष्ण खाँणले ‘मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल’ बनाएको थियो । सो कार्यदलले मिटरव्याजीविरुद्ध परेका उजुरीमाथिको कारबाहीलाई तीव्रता दिन सरकारलाई सुझाव पनि दिएको थियो ।

यस्तै प्रधानमन्त्री नियुक्त भएलगत्तै पुष्पकमल दाहाल प्रचण्डले पनि मिटरव्याजी समस्याका पीडितलाई भेटेर समस्या छिट्टै समाधान गर्ने आश्वासन दिनुभयो । तर पटक–पटकका आश्वासनले काम नगरेपछि पीडितहरु फेरी आन्दोलित बन्न थालेका हुन् । पीडितहरु अहिले काठमाडौं सहित गृहजिल्लामा बसेर आन्दोलन गर्न बाध्य बनेका छन् ।देशभर मिटब्याजी पीडितको संख्या २५ सयको हाराहारीमा पुगेको छ भने प्रहरी श्रोतका अनुसार एक बर्षको अवधिमा देशभर १ हजार ३ सय ३७ उजुरी परेको छ।

हालसम्म देशभरबाट मिटरब्याजी १८ पुरूष र ८ महिला गरी कूल १६ जना पक्राउ परेको पनि प्रहरीको विवरणमा उल्लेख छ। तर पीडितको घाउमा भने अँझैपनि मलम लागेको छैन । अहिले महोत्तरीको मिटरव्याज पीडितहरु न्याय खोज्नका लागि पौदल हिंडेर काठमाडौं आईरहेका छन् । आजमात्रै प्रधानमन्त्री प्रचण्डले समस्या समाधान गर्न पहल थालेकाले घर फर्किन उनीहरुलाई आग्रह गर्नुभएको थियो ।

तर, पीडितहरुले भने आफूहरु एउटा अभियानमा रहेको र कानुन नबन्दासम्म नफर्कने जवाफ दिएका छन् । 
गण्डकीबाहेक ६ वटै प्रदेशमा मिटरब्याजीको जालो फिजिएको पाइएको छ।  जसमध्ये कोशी प्रदेशमा १,मधेशका ८,बागमतीका ५, लुम्बिनीका ३, कर्णालीका २, सुदूरपश्चिमका २ जिल्लामा मिटरब्याजीबिरूद्ध उजुरी परेको पाइएको छ। यस्तै,काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पनि मिटरब्याजीविरूद्ध उजुरीका चाङ देखिएका छन् । 

यता सरकारी पक्षले भने कानून अभावले कारवाहीमा समस्या भएको बताएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले त्यसका लागि भएका कानूनमा संसोधान वा अपुग भए नयाँ कानून नै ल्याउनेगरिको तयारीमा सरकार लागिपरेको बताउनुभएको छ । गठी र बैंकिङ कसूरका मुद्दामा भने अहिले पनि कारवाही चलिरहेको उहाँको भनाई छ । 

आइजीपीमा बसन्त कुँवर नियुक्त 

काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बसन्त कुँवरललाई प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नयाँ आइजीपीमा नियुक्त गरेको हो । बरियतामा पहिलो नम्बरमा रहनुभएका  कुँवरलाई आइजीपीमा नियुक्त गरिएको हो । आईजीपी बन्न टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्य दाबेदार रहनुभएको थियो । हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण आजबाट अनिवार्य अवकाशमा जानुभएको छ । उहाँ सहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाएका हुन् । सिंह गत बैशाखको तेस्रो साता आईजीपी बन्नुभएको थियो ।

जनगणना परिणाम सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।यस्तै नेपालमा बालबालिकाहरुको जनसंख्या घट्दो क्रममा रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना अन्तिम तथ्यांकअनुसार बालबालिकाको संख्या गएको दशकभन्दा कम देखिएको हो। सबैभन्दा धेरै १५ देखि १९ वर्षमा कुल जनसंख्याको धेरै प्रतिशत रहेको बताइएको छ।

यसअघि १० देखि १४ वर्ष उमेरकाहरुले धेरै ओगटेका देखिएको थियो। गएको दशकमा बालबालिकाको संख्या ३५ प्रतिशतबाट घटेर २७ प्रतिशत रहेको बताइएको छ । अहिले पनि काम गर्ने उमेरकाहरुको संख्या ६१ देखि ६२ प्रतिशत रहेको पाइएको छ। वृद्धहरुको संख्या २ प्रतिशतले बढेको छ। ६० वर्ष भन्दा माथिकाहरुको संख्या यसअघि ८ प्रतिशत रहेकोमा अहिले १० पुगेको पाइएको छ ।

 बालबालिकाको संख्या घट्दो र वृद्धहरुको बढ्दो संख्याले भविष्यमा काम गर्नेको संख्या घट्ने देखिएको बताइएको छ । यसैबीच, प्रधानमन्त्री प्रचण्डले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताउनुभएको छ । आज राष्ट्रिय जनगणना २०७८ को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँलेसंघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था गर्नुपर्ने आवश्यक्ता भएको बताउनुभयो । 

आगामी निर्वाचनमा कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्य : केपी ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको दाबी गर्नुभएको छ । झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिनुभयो ।

एमालेविरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम जनता एमालेकै पक्षमा रहेको उहाँको दाबी छ ।  अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताउनुभयो ।

माधव नेपाले राष्ट्रपति खान मानेनन् 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर अस्वीकार गरेको बताउनुभएको छ । पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै  उहाँले सत्ता गठबन्धनमा आफ्नो पार्टी निर्णायक भूमिकामा रहेको दाबी गर्नुभयो । 

अध्यक्ष नेपालले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले गठबन्धनमा सम्मानजनक भूमिका पाउने समेत बताउनुभएको छ । एमाले नेतृत्वमा रहेको अहंकारको कारणले प्रतिनिधिसभाको निर्वाचनमा केही धक्का खाएको नेपालको जिकिर छ ।

रास्वपाले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० मा उपनिर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिती बैठकले उपनिर्वाचनमा गठबन्धन नगर्ने र तीनवटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिनुभएको छ । 

राजर्षि जनक विश्वविद्यालय समस्याग्रस्त

काठमाडौँ । पाँच वर्षअघि स्थापना भएको संघीय सरकार मातहतको राजर्षि जनक विश्वविद्यालय समस्याग्रस्त बन्दै गएको छ । कहिले विद्यार्थीको आन्दोलन त कहिले शिक्षक आन्दोलन त कहिले शिक्षक र कर्मचारीबीच हात हालाहालको अवस्था । यी र यस्तै कारणले शैक्षिक गतिविधि प्रभावित हुुँदासमेत समस्या समाधानमा सरोकारबाला निकायको ध्यान पुग्न सकेको छैन । 

सरकार र आन्दोलनरत पक्षलाई वार्तामा बस्न माओवादीको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ । पहिचानको आधारमा नामकरण हुनुपर्ने माग गर्दै भइरहेको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको मृत्यु भएपछि प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन अझ चर्काउने तयारी गरेको छ ।

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधरलाई बार्तामा बोलाउन सरकारलाई आग्रह गरेको छ । माओवादी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । उनले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गरी परिवारलाई राहत दिन पनि सरकारसँग माग गर्नुभएको छ । 

यस्तै किरात राई यायोक्खाले पनि लिम्बुलाई सहीद घोषणा गर्नुपर्ने भन्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।  प्रदर्शनमा सहभागीहरूले कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यही चैत ५ गते विराटनगरमा आयोजना गरेको प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बुको हिजो  राति निधन भएको थियो । 

आर्थिक खबर 
हेटौँडा सिमेन्टको उत्पादन बन्द

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ ।सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिनुभयो ।

उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उहाँको भनाइ छ ।सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ । साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहको उद्योग व्यवस्थापनले जनाएको छ । अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ । 

विदेशका खबर
फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन

काठमाडौँ । फ्रान्समा राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सार्नुभएको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ । अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिएभने आगामी साता बेलायतका राजा चाल्र्स तृतीयको भ्रमणको समय पारेर राष्ट्रव्यापी हडताल र विरोध प्रदर्शनका निम्ति आह्वान भएको छ । 

राष्ट्रपतिले म्याक्रोँले अघि सार्नुभएको सेवानिवृत्तिको उमेरप्रति फ्रान्सेली क्रुद्ध भएका छन् । उहाँले ‘रिटायर’ हुने विद्यमान ६२ वर्षको उमेर हदलाई बढाएर ६४ पु¥याउने विधेयक प्रस्ताव गर्नुभएको छ । भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रस्तुत हुनेछ । यसैबीच, बिहीबारको राष्ट्रव्यापी विरोधप्रदर्शनका क्रममा चार सय ५७ जना पक्राउ परेका तथा चार ४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताउनुभएको छ । 
राहुल गान्धीको सांसद पद खारेज 

काठमाडौँ । भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । संसद सचिवालयले आज  सूचना जारी गर्दै गन्धीको संसद सदस्यता खारेज भएको बताएको हो । चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी देखिएपछि संसद सचिवालयले गान्धीको पद खारेज गरिदिएको हो । भारतको संविधानको अनुच्छेद १०२ (१) र जन प्रतिनिधित्व अधिनियम १९५१ बमोजिम उनको पद खारेज गर्ने निर्णय गरेको संसद सचिवालयले जनाएको छ ।

सुरतको अदालतले गान्धीको चार वर्ष पुरानो मुद्दाको सुनुवाई गर्दै दुई वर्ष सजायको फैसला सुनाएको थियो। अदालतले १५ हजार जरिवनासमेत तिराएको थियो। अदालतले उनलाई धरौटीमा रिहा गर्दे आदेश पनि दिएको थियो । सन् २०१९ मा गान्धीले किन सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गर्नुभएको थियो । सोही टिप्पणीका आधारमा राहुलमाथि अदालतमा मुद्दा दायर भएको थियो ।

खेल खबर
नेपालको फिफा महिला वरीयतामा सुधार 

काठमाडौँ । नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता सुधार भएको हो ।नेपालको वरीयता तीन स्थान सुधार भएको हो । नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ ।

अघिल्लो पटकको वरीयतामा समेत नेपाल १०३ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६१ औं स्थानमा रहेको छ ।विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ । इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ ।