Live Streaming

अन्नपूर्ण दिनभर : मन्त्रीपरिषद् विस्तार शुक्रबारसम्म, संक्रमणकालीन न्यायकाे अन्तराष्ट्रिय स्तरमा विरोध

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा तीन अन्तर्राष्ट्रिय संस्थाको विरोध

काठमाडौँ । सरकारले संसदमा पेश गरेको संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा अन्र्तराष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले आपत्ति जनाएका छन् । सरकारले ल्याएको संसोधन विधेयक आफू उम्किने प्रपञ्चका रुपमा देशभित्रैबाट हेरिएका बेला अन्र्तराष्ट्रिय मानवअधिकारवादी संगठनहरुले पनि विरोध जनाएका हुन् ।

एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिसन अफ ज्युरिस्टलेसंयुक्त विज्ञप्ती जारी गर्दै संशोधन विधेयक नेपालको कानून र अन्तर्राष्ट्रिय मान्यताअनुरूप नभएको र त्यसले पीडितलाई न्याय गर्न नसक्ने बताएका छन् । विधेयकका मुख्य प्रावधानहरु गम्भीर मानव अधिकार उल्लंघनका घटनामा प्रभावकारी अभियोजन गर्न नसक्ने तथा कथित पीडकलाई अभियोजनबाट जोगाउने गरी डिजाइन गरिएको उल्लेख गरिएको छ ।

खासगरि उनीहरुले विधेयकले विज्ञहरु राखेर गम्भीर मानव अधिकार हननका मुद्दामा प्रमाण संकलनको अनुसन्धान युनिट बनाउन नसकेको, अन्तर्राष्ट्रिय कानूनअनुसार यातना, बेपत्तालगायतका अपराधमा कारबाहीका प्रावधान नभएको, गम्भीर अपराधमा मुछिएकाहरुलाई कारबाही गर्न आवश्यक ‘एप्लिकेबल ल’ बनाउन चुकेको तथा विशेष अदालतमा सरकारले स्वतन्त्र रुपमा नभएर आफूले चाहेको रुपमा न्यायाधीशहरु नियुक्तिको बाटो खोलेकोमा आपत्ति जनाईएको छ । यदि विधेयक संसदबाट जस्ताको तस्तै पारित भएमा द्वन्द्वपीडितका लागि सहयोगी बन्न नसक्ने तथा मुलुक र विदेशमा पनि कानूनी विश्वसनियता गुमाउने उल्लेख गरिएको छ । 

यता सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले भने सरकारले सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर नै विधेयक पारित गर्ने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै सापकोटाले मानवअधिकारवादी संस्थाहरुको चासो स्वभाविक भएपनि पछि गएर आयोगहरुमार्फत आफ्ना सुझाव राख्न सक्ने बताउनुभयो । सापकोटाले यसअघिकै संसदको कार्यकालमा पर्याप्त रुपमा छलफल भएकाले चाडोभन्दा चाडो यो विधेयकले विधिसम्बत् रुपमा निकास पाउने बताउनुभयो । 

तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । जसअनुसार चितवन २ मा नेता विक्रम पाण्डे, तनहुँ १ मा नीलकण्ठ काफ्ले र बारा २ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको छ । कमाण्डरहरुले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने जनाइएको छ । 

यस्तै, नेकपा एमालेले तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । उपनिर्वाचन हुने तीनवटै निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार उठाउने र गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँले तीनवटै उपनिर्वाचनका लागि उम्मेदवार छान्न पार्टी कमिटीका तल्लो तहलाई निर्देशन दिइसकेको बताउनुभयो । 

यसैबीच, नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बारा–२ को उपनिर्वाचनका लागि राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । उम्मेदवार सिफारिसका बारेमा आज बसेको जिल्ला कार्यसमितिको बैठकले यादवको एकल नाम सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस महाधिवेशन प्रतिनिधि लोकेश सिंहले जानकारी दिनुभयो । कांग्रेस जिल्ला कार्यसमितिले यादवको नाम सिफारिस गरेपनि कांग्रेस शीर्ष नेतृत्वले भने सत्तागठबन्धनबाट जसपालाई सघाउने वचन दिइसकेको छ । उक्त क्षेत्रमा जसपाबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा रहेको छ ।

मन्त्री परिषदले शुक्रबार सम्म पूर्णता पाउँछ  रामहरी खतिवडा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुुभएको हो ।

बैठकमा भोलि अपरान्ह ४ बजे सत्तारुढ १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुुभयो । जतिसक्दो छिटो मन्त्रीपरिषद विस्तार गर्ने गृहकार्यमा जुट्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलका शीर्ष नेताहरूसँगको परामर्श जारी राख्नु भएको छ । यस्तै सरकारमा सहभागिता लगायतका बिषयमा छलफल गर्न नेपाली कांग्रेसले बिहीबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले मन्त्रीपरिषदले आगामी शुक्रबार सम्म पूर्णता पाउने दाबी गर्नुभएको छ ।  गठबन्धन हतारमै बनेको भन्दै उहाँले त्यसको परिणाम स्वरुप सरकार गठनमा ढिलाई भएको उहाँको भनाइ छ । प्रदेश देखि केन्द्रसम्म सबै विषयमाभोली छलफल बसेर बिहिबारसम्म न्युनतम साझा कार्यक्रमसहित मन्त्रीपरिषद् विस्तार टुंगो लाग्ने अन्यथा शुक्रबारसम्म पूर्णता पाईसक्ने उहाँले दावी गर्नुभयो ।

एमालेसँगको गठबन्धन तोडिएलगत्तै बनेको नयाँ गठबन्धनबिच प्याकेजमै सहमति गर्नुपर्ने बाध्यता रहेको र हतारमा भएको सहमतिका कारण र प्रदेशको तालमेल लगायतका बिषयले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको बताउनुभएको छ । 
एकीकृत समाजवादी २ , जसपा २, लोसपा १, नागरिक उन्मुक्तिको १, जनमत पार्टीलाई १, बाबुराम भट्टराईको समाजवादीलाई १ वटा मन्त्रालय दिइने भन्दै उहाँले बाँकी मन्त्रालय कांग्रेसले र माओवादीले पाउने सम्भावना रहेको बताउनुभयो । यस्तै  रास्वपाको तत्काल सरकारमा आउने लक्षण नरहेको उहाँले बताउनुभयो । 

यसैबिच एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले न्यूनतम साझा कार्यक्रम तय नभइमन्त्रीपरिषदविस्तार स्वीकार्य नहुने बताउनुभएको छ । न्यूनतम साझाकार्यक्रम नबनाइ सरकारमा जानु नेताहरुलाई जागिर खुवाउने काममात्र हुने उहाँको भनाइ छ । 

मिटरब्याजी पीडित र नगर प्रहरीबीच घम्साघम्सी 

काठमाडौँ । काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरू र नगर प्रहरीबीच झडप भएको छ । नगरप्रहरीले खुलामञ्चको गेटमा ताल्चा लगाइदिएपछि पीडितहरूले विरोध प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितहरूले खुलामञ्चमै बास बस्न पाउनुपर्ने माग गरेका थिए । यद्यपि नगर प्रहरीले धर्मशालामा बस्न आग्रह गरेका थिए । बर्दिबासबाट १२ दिनको पैदल यात्रा गरेर उनीहरू काठमाडौं आइपुगेका हुन् । मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने मागसहित उनीहरूले धर्ना सुरु गरेका छन् ।

खुला मञ्चमा बिरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुले बताएका छन् । खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकमै बसेका छन् । मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले घरखेत लुटिएर न्याय माग्न आउँदा पनि खुल्लामञ्चमा बस्न नदिएको गुनासो गर्नुभयो । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने खुलामञ्चमा बस्ने विषयमा आफूहरुसँग सल्लाह नभएको र अनुमति नमागिएको बताउनुभएको छ । 

काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहले मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको बताउनुभयो । मेयर बालेनले मिटरब्याज पीडितप्रति ऐक्यवद्धता रहेको भन्दै उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पीडितहरुले आफ्नो माग पूरा नभएसम्म काठमाडौंबाट नफर्कने अडान लिएका छन् ।  मिटरब्याजी पिडितहरूले ८ गुनासम्म बढाएर मिटरब्याजीले रकम लिएको, घरबारविहीन बनाएको गुनासो गरेका छन् ।

भौतिक मन्त्रालयमा नारायणकाजीको तीन महिने कार्यप्रगती सार्वजनिक

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा आफ्नो तीनमहिने कार्यप्रगती सार्वजनिक गर्नुभएको छ । मन्त्रालय सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने राष्ट्रिय संकल्पको एउटा प्रमुख बाहकको रुपमा रहेको मन्त्री श्रेष्ठले बताउनुभएको छ । मन्त्रालय सम्हालेपछि गरेका कामबारे पत्रकार सम्मेलनमा जानकारी दिँदै उनले राष्ट्र निर्माणको यो अभिभारा पूरा गर्न इमानदारीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकतालाई हृदयंगम गरिएको बताउनुभयो । उहाँले यातायात व्यवस्थामा कार्यगत, प्रणालीगत सुधार गर्ने काम थालनी भइसकेको बताउनुभयो ।

लाइसेन्स छपाइलगायतका परम्परागत समस्या समाधान हुन केही समय लागेको मन्त्री श्रेष्ठको भनाइ छ ।सडकको स्थितिगत सुधार प्राथमिकताका साथ अगाडि बढेको उहाँको भनाइ छ । नियमित अनुगमन, सडकको स्थिति दुरुस्त राख्न मातहतका सबै अवयवको ठोस कार्ययोजनामा आधारित परिचालनमा विशेष ध्यान दिइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले चालू सडकहरु खाल्डाखुल्डी मुक्त राख्न उल्लेखनीय सफलता मिलेको दाबी गर्नुभयो । 

प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना तथ्यांकहरु नयाँ साइटमा स्थानान्तरण नगरेका कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिएको हो ।

प्रधानमन्त्रीका आईटीविज्ञ प्रकाश रायमाझीका अनुसार नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डाटाबेसलगायतका सामग्रीहरु स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनुपरेको हो । हाल सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेका छन् ।

देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

काठमाडौँ । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ।मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहज रूपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुने जनाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख २ र आगामी असार मसान्त गरी दुई चरणमा काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो ।पछिल्लो समय मन्त्रालयले मालपोत र नापी कार्यालयका कर्मचारीसँग नियमित सम्पर्क गरी काम चुस्त बनाउन समन्वय संयन्त्रलाई प्रभावकारी बनाउन जुममार्फत सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, बैंकमा जग्गा रोक्का राख्ने प्रणाली पनि अब अनलाइनबाटै हुने भएको छ । 

जनयुद्ध दिवस’ खारेजीको माग गर्दै परेको रिट दरपीठ

काठमाडौँ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै पेश भएको रिट दरपीठ गरेको छ । रामेछापका कल्याण बुढाथोकी लगायत द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित हिजो सर्वोच्चमा रिट पेश गरेका थिए । रजिष्ट्रार नारायण पन्थीले कहिले विदा दिने वा कहिले नदिने, कहिले उत्सव मनाउने वा कहिले नमनाउने भन्ने विषयमा नीतिगत निर्णय गर्न सक्ने राज्यको कार्यकारी निकायको क्षेत्राधिकारको विषय भन्दै जनयुद्ध दिवसविरूद्ध परेको रिट दरपीठ गरिदिनुभएको हो ।

सरकारले गत फागुन १ गते ’जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो । मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते ’जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । ‘जनयुद्ध दिवस’ लाई उत्सवका रूपमा सरकारले मनाउन लागेको भन्दै आलोचनासमेत भएको थियो ।

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना कारागार चलान भएका छन् ।जिल्ला प्रशासन कार्यालयले हिजो अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो।तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिनुभयो । गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए।

नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्।

सन्दीपकै तर्फबाट पेसी स्थगित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाकोसुनुवाइस्थगित भएको छ । ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिए पनि सन्दीपका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित भएको अदालत प्रशासनले जनाएको छ ।

यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। गत शुक्रबार मात्रै पीडितले सन्दीपविरुद्ध अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनु नपर्ने गरी फैसला गरेको थियो ।

लाजेहाङको परिवारलाई तीन लाख राहत दिने कोशी प्रदेश सरकारको निर्णय

काठमाडौँ । कोशी प्रदेश सरकारले विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनमा घाइते भइ मृत्यु भएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोशी नाम खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते भएका लाजेहाङको गत १० गते मृत्यु भएको थियो । यस्तै पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेश गरिएको प्रदेश वातावरण संरक्षण ऐन २०७६, र प्रदेश वन ऐन २०७७ संशोधन विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गरेको छ भने प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरुलगायतलाई धन्यवाद र बधाई ज्ञापन गरेको छ।

आर्थिक खबर
सेयर बजारमा 

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १७.७० अंकले बढेर १ हजार ९ सय ६ विन्दुमा पुगेको हो।सेन्सेटिभ इण्डेक्स पनि २.०४ अंकले बढेर ३ सय ५८.०३ विन्दुमा पुगेको छ।नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज २ सय ६१ कम्पनीको  ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँमा खरिदबिक्री भए ।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५ करोड ९० लाख बढिको सेयर कारोबार भएको छ । आज सुपरमाई हाइड्रो, कालिञ्चोक दर्शन लिमिटेड, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर १० प्रतिशतले घटेको छ ।

विदेशका खबर
अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती विस्फोट

काठमाडौँ । अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती विस्फोट भएको छ । विस्फोटका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले आज विस्फोटबाट ६ जना मारिएको र केही मानिसहरू घाइते भएको ट्विटरमार्फत् जानकारी दिनुभएको छ ।

काबुल प्रहरी प्रवक्ता खालिद जाद्रानका अनुसार मन्त्रालय नजिकै सुरक्षा चेकपोस्टमा आत्मघाती हमला गर्ने आक्रमणकारीको पहिचान भएको छ । यद्यपी अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मा लिएको छैन । विदेश मन्त्रालयसहित धेरै सरकारी कार्यालयहरू रहेको र बलियो सुरक्षा व्यवस्था रहेको क्षेत्रमा विस्फोट गरिएको थियो ।

फ्रान्सेली टेलिभिजनलाई बुर्कना फासोमा प्रतिबन्ध

काठमाडौँ । फ्रान्सेली टेलिभिजन च्यानलले अल कायदा इन द इस्लामिक मागरेब (एक्यूआईएम) का नेतासँग अन्तरवार्ता लिएपछि बुर्किना फासोको सरकारले फ्रान्सेली टेलिभिजनमाथि प्रतिबन्ध लगाएको छ । एक्युआईएमका नेतासँग अन्तरवार्ता लिएपछि बुर्किना सरकारले फ्रान्स–२४ को प्रसारणमाथि प्रतिबन्ध लगाएको हो ।

सरकारका प्रवक्ता जीन–इमानुएल ओउड्रागोले यो उक्त निर्णय राष्ट्रको हितमा गरिएको जनाउँदै फ्रान्स–२४ कार्यक्रमहरूको प्रसारण अनिश्चितकालका सम्मका लागि निलम्बन गरिने बताउनुभयो । सरकारद्वारा जारी विज्ञप्तिमा फ्रान्स–२४ ले आतङ्कवादीहरूको लागि संचार एजेन्सीका रूपमा काम गर्नुका साथै  आतङ्कवादी कार्यहरू र घृणा फैलाउन भाषणहरूलाई वैधानिकता दिने ठाउँ समेत प्रदान गरेको जनाइएको छ । गत डिसेम्बरमा बुर्किना फासोले रेडियो फ्रान्स इन्टरनेसनलका कार्यक्रमहरू समेत निलम्बन गरेको थियो ।

खेल खबर
नेपालमा हुने महिला ओलम्पिक फुटबल छनोटको तयारी पूरा 

काठमाडौँ । पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग मात्र खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलनमार्फतनेपालले पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने जनाएको हो । समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको थियो ।

तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र खेल्ने भएको हो ।नेपालले आउँदो चैत २२ गते भियतनामविरुद्ध पहिलो र २५ गते दोस्रो खेल खेल्नेछ । एन्फाका अनुसार छनोटका लागि भियतनामको टिम चैत २० गते नेपाल आइपुग्ने छ ।छनोटका लागि नेपाली टिमको प्रारम्भिक टिमले बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।