Live Streaming

अन्नपूर्ण दिनभर : सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति

सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितहरुबीच पाँच बुँदे सहमति भएको छ । सरकारी टोलीबाट सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट मनोज पासवान संयोजक रहेको टोलीले मन्त्रिपरिषद्बाट जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको हो ।

सहमति भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट आयोग गठनको निर्णयपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमति पनि भएको छ । यस्तै पीडितका उजुरीलाई नियमित रूपमा सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधित्व हुने गरी समन्वय समिति गठन गर्न सरकारसमक्ष सिफारिस गर्ने सहमति पनि भएको छ । 

दुवैपक्षबीच मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ को प्रतिवेदनमा भएका सिफारिसहरू शीघ्र र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति पनि भएको छ । योसंगै पीडितहरुले आन्दोलन फिर्ता लिएका छन्  । 
दुई दलले टुंग्याए उम्मेदवार

काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेका छन् । आज बसेको नेकपा एमालेको सचिवालय बैठकलेचितवन र तनहुँमा उम्मेदवार उठाएको हो ।

पार्टीले तनहुँ– १ मा प्रहरीका पूर्वमहानिरीक्षकसमेत रहनुभएका नेता सर्वेन्द्र खनाल र चितवन– २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निणर्य गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन उम्मेदवारबारे अध्यक्ष केपी शर्मा ओलीले पार्टी वरिष्ठ उपाध्यक्ष, महासचिव, जिल्लाका नेताहरूसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने निर्णय भएको गुरुङले बताउनुभयो । 

यस्तै रास्वपाले पनि तीनै क्षेत्रका उम्मेदवार घोषणा गरेको छ । आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरिएको हो ।  

एमालेद्वारा रावलसँग वार्ता गर्न उपाध्यक्ष पौडेलको नेतृत्वमा टोली गठन

काठमाडौँ । एमालेले पूर्वउपाध्यक्ष तथा गत महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका नेता भीम रावलसँग छलफल गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार सचिवालयको आज बसेको बैठकले रावलसँग छलफल गरेर आवश्यक टुंगोमा पुग्नका लागि वार्ता टोली गठन गरिएको हो ।

समितिमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा पनि हुनुहुन्छ । रावल पछिल्लो समय पार्टीले जिम्मेवारी नदिएको भन्दै असन्तुष्ट बन्नुभएको छ । २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उनलाई टिकट दिइएको थिएन भने पार्टीमा कुनै जिम्मेवारी पनि दिइएको थिएन ।चितवनको सौराहामा भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । 

माओवादीले उपनिर्वाचनमा उम्मेदवारका बारेमा भोलि टुङ्गो लगाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उठाउने उम्मेदवारका विषयमा भोलिसम्म टुङ्गो लगाउने भएको छ । माओवादीले चितवन–२, तनहुँ–१ र बारा–२ बाट उठ्ने उम्मेदवारका विषयमा ठोस निर्णय गर्ने भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आ–आफ्नो उम्मेदवार टुङ्गो लगाए पनि माओवादीले निर्णय गरिसकेको छैन । तनहुँ–मा पार्टी कोषाध्यक्ष श्रीराम ढकाललाई प्रस्ताव गरे पनि उहाँले अस्वीकार गर्नुभएको छ । 

दुई वा दुईभन्दा बढी दलहरू गठबन्धन गरेर चुनावमा जाने प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई वा दुईभन्दा बढी दलहरू गठबन्धन गरेर चुनावमा जाने प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने बताउनुभएको छ । आज घण्टी घर बसुन्धारामा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सबै राजनीतिक दल आफ्नो नीति र सिद्धान्तका आधारमा जनतामा जानुपर्ने बताउनुभएको हो ।

लामिछानेले केही व्यक्तिहरूले राजनीतिलाई आफ्नो परिवारको प्रगतिका रूपमा दुरुपयोग गरेको बताउनुभयो ।समाजमा निरासाको ठूलो बादल छाएको बताउदै लामिछानेले रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुने बताउनुभयो । स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले नगर्ने उहाँको भनाई छ ।

यस्तै नेता डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको टिप्पणी गर्नुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको तर्क गर्नुभएको हो । खर्चिलो चुनाव र महंगो टिकटको खर्च उठाउनेतिर ध्यान जाने भएकोले समृद्धि छायाँमा परेको उहाँको तर्क छ ।

डा. वाग्लेले सुशासनबाट मात्रै आर्थिक फड्को हान्न सकिने तर्क गर्नुभएको छ । यस्तै रास्वपाबाट बारा २ का लागि उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेट र माफिया तन्त्रको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । भागबन्डा र लुछाचुँडीलाई तोड्न नसके सबैको भविष्य सुरक्षित नरहेको बताउनुभएको हो । उहाँले हिमाल पहाड र तराई जोडेर नेपाललाई विदेशीको क्रिडास्थल बन्नबाट जोगाउनुपर्ने बताउनुभयो । 

पूर्णबहादुर खड्काको प्रस्टीकरण– उपप्रधानमन्त्री बन्दिनँ भनेको थिइनँ

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्री नबन्ने आफ्नो अभिव्यक्तिबाट पछि नहटेको दाबी गर्नुभएको छ । आज ललितपुरको बाँडेगाँउमा रहेको सन्त नेता किसुनजीको आश्रममा पुग्नुभएका खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै यसअघि आफूले मन्त्रीमात्रै नबन्ने अभिव्यक्ति दिएको र उपप्रधानमन्त्री बन्दिनँ भनेर नभनेको स्पष्ट पाुर्नभएको हो ।

आफू धेरैपटक मुलुकको मन्त्री बनेकाले फेरि त्यसमा लालच देखाउनु उपयुक्त नहुने देखेर आफूले मन्त्री बन्ने अभियान बन्द गरेपनि अहिले आफू उपप्रधानमन्त्री बनेको बताउनुभयो । उहाँले अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिएको भन्दै खड्काले आफ्नो अभिव्यक्तिबाट कहीँ दायाँबायाँ नगरेको धारणा राख्नुभयो ।

त्यस्तै उहाँले वर्तमान सरकारमा सहभागीताको लागि कुनै विशेष मन्त्रालयमा दाबी नगरेको स्पष्ट पार्नुभयो । मन्त्री खड्काले आफ्नो समेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाएको र यसमा अन्यथा मान्न नहुने बताउनुभयो ।

मन्त्री खड्काले आफूलाई बाँकी रहेका १९ मन्त्रालयबाट एउटा मन्त्रालय रोज्न लगाइएको र आफूले रक्षा रोजेको तर्क गरे।मन्त्री खड्काले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्न ध्यान केन्द्रित गर्ने बताउनभयो ।  

कांग्रेसको संस्थापन ईतरमा किचलो

काठमाडौँ । नेपाली कांग्रेसभित्र झाङ्गीएको आन्तरिक गुटबन्दीको कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन् । आन्तरिक गुटबन्दीको कारण कांग्रेसले अझैसम्म पनि आफ्नो तर्फबाट ४ मन्त्री दिन नसकेको हो । लामो कसरतपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

पुष १० मा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले सातौंपटक मन्त्रीपरिषद् पुर्नगठन गर्दै १७ सदस्यीय बनाउनुभएको छ । अँझैपनि मन्त्रीमण्डलले पूर्णता पाएको छैन । बाँकी रहेका ६ मन्त्रालय प्रधानमन्ी प्रचण्डले आफैसंग राख्नुभएको छ ।शेखर—गगन समूहबाट कम्तीमा तीन मन्त्री नपाए सरकारमा सहभागी नहुने कांग्रेस सहमहामन्त्री जीवन परियारले अडान लिनुभयो । 

नयाँ मन्त्रिपरिषदले पनि देशमा विकसित भइरहेको समस्या समाधान गर्न नसक्ने राजनीतिक विश्लेषकहरुले दाबी गरेका छन् ।देशको आर्थिक अवस्था संकटग्रस्त छ । बाह्य क्षेत्रको चुनौती कम हुँदै गएपनि अर्थतन्त्रका वास्तविक, सार्वजनिक वित्त र मौद्रिक क्षेत्र समस्यामा परेको छ । राजस्वले चालु खर्च धान्न मुस्किल छ ।

भन्सारदेखि आन्तरिक राजस्वसम्म गत वर्षको भन्दा कम उठिरहेको छ । अर्थतन्त्रलाई गति दिन सघाउने पूँजीगत खर्च कमजोर छ । बजारमा वस्तु तथा सेवाको माग घटेर उद्योग र सेवा क्षेत्र समस्याग्रस्त छ । मिटर ब्याजीको विगविगी छ । देशमा रोजगारी नहुँदा युवाहरु विदेश पलाउन हुन बाध्य भएका छन् ।

शीर्ष नेताहरुले आफ्नो गुणगान गाउनेलाई मन्त्री बनाउँदा देशमा विकसित भइरहेका समस्या समाधान हुन नसक्ने राजनीतिक विश्लेषक जगदीश दाहालको तर्क छ । रेडियो अन्नपूर्ण नेपालको इन्टर भ्यू अफ द डे मा कुराकानी गर्दै उहाँले वर्तमान मन्त्रीपरिषदमा सक्षम ब्यक्ति पर्न नसकेको बताउनुभयो । 

महराको दाबी

काठमाडौँ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर ’अरु कसैले’ संचालन गरिरहेको दाबी गर्नुभएको छ । सभामुख र गृहमन्त्रीसमेत भइसक्नुभएका महराले आज प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गर्नुभएन । यस क्रममा महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुंगोमा पुयाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । 

सरकार बजेट निर्माणमा जुट्यो 

काठमाडौँ । नयाँ अर्थमन्त्री नियुक्त भएसँगै सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि जुटेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट निर्माणका लागि कतिपय प्रक्रियामा ढिलाइ भएकाले मन्त्रालयले नयाँ कार्यतालिका बनाएको छ । नयाँ कार्यतालिका अनुसार आगामी वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल गरिनेछ ।

चैत २१ गतेदेखि राजस्व परामर्श समितिले दिएका सुझावमाथि निकायगत छलफल गरी प्रतिवेदन तयार हुनेछ । त्यस्तै विषयगत मन्त्रालयलाई एलएमबीआईएसमा बजेट प्रस्ताव गर्न चैत २४ गतेसम्मको समय उपलब्ध गराइएको छ । चैत २६ गतेदेखि वैशाख २० गतेसम्म मन्त्रालयसँग बजेट, कार्यक्रम र खर्च शीर्षकमा छलफल कार्यक्रम राखिएको छ ।

चैत २६ गतेदेखि नै वैशाख २५ गतेसम्म सरोकारवालासँग बजेट सुझाव सङ्कलन गर्ने समय तोकिएको छ । वैशाख २० गते सार्वजनिक संस्थानको प्रगति विवरण अर्थात् पहेँलो किताब प्रकाशनमा लागि पे्रसमा पठाउने योजना छ । वैशाख २१ गतेभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने वैशाख २५ गते संसद्का दुवै सदनमा पेस गर्ने मन्त्रालयको कार्यतालिका छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सङ्घीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्नु पर्नेछ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपियाँको सीमा तय गरेको छ । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा आएको सङ्कुचन, वैदेशिक सहायता परिचालनमा घट्दो अनुदान प्रवृत्तिजस्ता कारणले बजेटको सीमा घटाइएको आयोगले जनाएको छ ।

कोशी प्रदेश पुनः नामकरणको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यबद्धता

काठमाडौँ । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि भइरहेको पहिचान पक्षधरहरूको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले जारी गरेको प्रेस विज्ञप्तिमा पहिचान पक्षधरहरूको प्रतिकूल अंकगणित रहेको अवस्थामा प्रदेश सभाबाट पारित गरी प्रदेशको नामकरण गरिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भीरतापूर्वक छलफल र समीक्षा गरिरहेको पनि प्रष्ट पारेको छ ।

माओवादी केन्द्रले आन्दोलनको क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बू (लाजेहाङ्ग) लाई राज्यले सहिद घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनको क्रममा घाइते भएका सबै आन्दोलनकारीको सरकारको तर्फबाट निःशुल्क उपचार हुनुपर्ने माग पनि गरेको छ । 

पदयात्री सूचना व्यवस्थापन प्रणालीको सुरू

काठमाडौँ । नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन आजदेखी पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) लागु भएको छ । आज नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणालीसुरू गरिएको हो ।बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) का केही प्रावधानहरू परिमार्जन गरेको छ । 

ट्रेकिङका लागि एक्लै हिँड्ने गरेका विदेशी पर्यटक पछिल्लो समय बेपत्ता हुने वा मृत अवस्थामा फेला पर्ने गरेपछि सरकारले सरकारी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न नपाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो ।

अब नेपालमा गन्तव्यमा यात्रा गर्दा साथमा नेपाली पथप्रदर्शक अनिवार्य हुनुपर्ने पर्यटन विभागका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना पथप्रदर्शक पदयात्रामा जान नपाउने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

एकल यात्रा अनुमति बन्द गर्दा पर्यटकको कुनै पनि आपत्कालीन अवस्थामा उद्धार गर्न सहयोग पुग्ने तथा पथप्रदर्शकका लागि ठूलो संख्यामा रोजगारी सृजना हुने बोर्डले जनाएको छ ।

सर्लाहीमा लागू औषधसहित शिक्षक पक्राउ

काठमाडौँ । सर्लाहीमा लागू औषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–१५ मा रहेको राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागू औषधसहित पक्राउ परेका हुन् । सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसँग झै–झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट–१२ ट्याब्लेट, लागू औषध गाँजा बरामद गरेको हो ।

आर्थिक खबर
भारतबाट पेट्रोल र डिजलको मूल्य फेरि घटेर आयो

काठमाडौँ । भारतबाट इन्धनको मूल्य घटेर आएको छ ।भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ सूची मूल्य अनुसारपेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १ सय ५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १ सय ६८.१२ रुपैयाँ कायम भएको छ ।

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ कायम छ । जस अनुसार अब निगमलाई डिजेलमा प्रतिलिटर २२ रुपैयाँ ८३ पैसा र पेट्रोलमा ९ रुपैयाँ ८८ पैसा फाइदा रहेको निगमका प्रबन्ध निर्देशक उमेश थानीले जानकारी दिनुभयो ।निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ ।

यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य पनि घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै अब घाटा ५ सय रुपैयाँमा झरेको छ । हाल निगमले एलपी ग्याँस प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँमा बिक्री गरिरहेको छ । भारतबाट पटक–पटक इन्धनको मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा पूर्ति गर्न भन्दै मूल्य घटाएको छैन ।

विदेशका खबर
वाल स्ट्रीट जर्नलका संवाददातालाई रिहा गर्न अमेरिकी राष्ट्रपतिको आह्वान

काठमाडौँ । अमेरिकीराष्ट्रपति जो बाइडेनले जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका संवाददाता इभान गर्शकोविचलाई थुनामुक्त गर्न आह्वान गर्नुभएको छ । मिसिसिपी राज्यमा आँधीबाट भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताउनुभएको हो ।

रुसको सङ्घीय सुरक्षा सेवाका अधिकारीले इभानलाई रुसी सैनिकका बारेमा गोप्य सूचना प्राप्त गर्न खोजेको आरोपमा गत बुधबार येकातेरिनबर्गबाट पक्राउ गरेका थिए ।

यसैबीच, राष्ट्रपति बाइडेनले अमेरिकाको एक पत्रिकाको सम्पादकीय समूहले विचार पृष्ठमा एउटा छोटो टिप्पणी प्रकाशन गर्दै अमेरिकामा रहेका रुसी राजदूत र सबै रुसी पत्रकारलाई देश निकाला गर्नुपर्ने बताए पनि तत्काल त्यसो गर्ने सोचमा आफू नरहेको पनि स्पष्ट गर्नुभएको छ ।

यस्तै, उहाँले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध पनि अस्वीकार गर्नुभएको छ । 
पाकिस्तानको मुद्रास्फीति एक बर्ष पहिलेभन्दा ३५.४ प्रतिशत बढी

काठमाडौँ । पाकिस्तानको मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको छ । आज सार्वजनिक सरकारी तथ्याङ्कका अनुसार उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको छ ।

मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) का मोहम्मद मजहरले बताउनुभयो । पीबीएसका अनुसार, मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क मार्चमा ३.७ प्रतिशत बढेको छ । फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतको वृद्धि भएको थियो । कोभिड–१९ का कारण थला परेको विश्व अर्थतन्त्र र रूस–युक्रेन युद्धका कारण पछिल्लो समय पाकिस्तानलगायत विश्वका धेरै मुलुकको मुद्रास्फीति बढ्दै गएको छ । 

खेल खबर
मनाङलाई हराउँदै थ्री स्टार च्याम्पियन

काठमाडौँ । थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा आज भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टारले पहिलो पटक खप्तड गोल्डकपको उपाधी जितेको हो ।

मनाङ भने तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्नबाट बन्चित भएको छ । थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक–एक गोल गरे । अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा कप्तान बिक्रमले गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए ।

उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो ।