Live Streaming

डडेल्धुराका सबै पालिकामा बढ्यो बेरुजु, एकमुष्ट बेरुजु २६ करोड नाघ्यो

धर्मराज भट्ट, काठमाडौँ । डडेल्धुराका ७ वटा स्थानीय तहमा २६ करोडभन्दा बढि बजेट बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६० औँ प्रतिवेदन (आर्थिक बर्ष २०७९–८०) अनुसार सात स्थानीय तहमा २६ करोड ६६ लाख ७४ हजार बेरुजु पाइएको हो ।

गतवर्षको तुलनामा सबै पालिकाको बेरुजु बढेको देखिएको छ । गतवर्ष सबै पालिकाको बेरुजु ८ करोड ४७ लाख ७२ हजार बेरुजु देखिएको थियो । अहिले बढेर २६ करोड पुगेको हो। 

यसवर्ष सबैभन्दा बढी अमरगढी नगरपालिकामा ६ करोड ८४ लाख ६३ हजार र सबैभन्दा कम नवदुर्गा गाउँपालिकामा १ करोड ३७ लाख ६९ हजार बेरुजु रहेको छ ।

अमरगढी नगरपालिकाले १ अर्ब २४ करोड ९२ लाख १० हजारको लेखापरीक्षणमा ६ करोड ८४ लाख ६३ हजार अर्थात ५.४८ प्रतिशत बेरुजु देखिएको हो । गतवर्ष अमरगढीको बेरुजु २ करोड ६३ लाख २८ हजार रहेको थियो । 

नवदुर्गाको भने  १ अर्ब १० करोड ९५ लाख ३१ हजारमा १.२४ प्रतिशत बेरुजु देखिएको हो । गतवर्ष नवदुर्गाको बेरुजु ३७ लाख ५७ हजार रहेको थियो । 

यस्तै परशुराम नगरपालिकाको १ अर्ब ५२ करोड ९२ लाख ९९ हजार परीक्षणमा १.२५ प्रतिशत अर्थात १ करोड ९१ लाख ९२ हजार बेरुजु देखिएको छ । गतवर्षको तुलनामा परशुरामको बढेको हो । गतवर्ष परशुरामको बेरुजु ६६ लाख ५१ हजार रहेको थियो।

यस्तै आलिताल गाउँपालिकाले ९९ करोड ८१ लाख ७ हजार बजेटको लेखापरीक्षण गराउँदा २.४८ प्रतिशत अर्थात २ करोड ४७ लाख ७४ हजार बेरुजु देखिएको हो । गतबर्ष आलितालको बेरुजु २ करोड १८ लाख ८१ हजार रहेको थियो । 

गन्यापधुरा गाउँपालिकाको बेरुजु २ करोड ६ लाख ७६ हजार पुगेको छ । ९२ करोड ३८ लाख ६९ हजारको परीक्षणमा २.२४ प्रतिशत बेरुजु आएको हो । गतवर्ष गन्यापधुराको बेरुजु ४९ लाख ३९ हजार थियो । 

यस्तै भागेश्वर गाउँपालिकाको ९४ करोड ८५ लाख ९७ हजारको लेखापरीक्षणमा ६.०५ प्रतिशत अर्थात ५ करोड ७३ लाख ९६ हजार बेरुजु देखिएको छ । गतवर्ष भागेश्वरको बेरुजु १ करोड ५३ लाख ५८ हजार थियो । 

अजयमेरु गाउँपालिकाको १ अर्ब ९ करोड ७० लाख ५८ हजारको लेखापरीक्षणमा ५.६९ प्रतिशत अर्थात ६ करोड २४ लाख ४ हजार बेरुजु देखिएको हो। गतवर्ष अजयमेरुको बेरुजु ५८ लाख ५८ हजार रहेको थियो ।