Live Streaming

नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा छलफल हुन्छ : महामन्त्री गगन थापा

 

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेसले जेठभित्र नीति अधिवेशन गर्ने तयारी गरिरहेको बताउँदै उक्त अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धिकरणका बारेमा व्यापक छलफल हुने बताउनुभयो ।

“विसं २०८० कांग्रेसलाई सुदृढीकरण र शुद्धीकरण गर्ने वर्ष हुनेछ, पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले कांग्रेसभित्र पुरानो नेताको अनुभव र नयाँ युवाको जोसलाई कांग्रेसले अगाडि बढाउनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले मुलुक सङ्कट परेको बेलामा सरकारले सुझबुझका साथ काम गर्नुपर्ने बताउनुभयो । सरकारले जनतालाई महसुस दिने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जाने बताउनुभयो ।

सरकारले राम्रो काम गर्दै गए तीन÷चार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उहाँको भनाइ थियो । महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।