Live Streaming

अन्रपूर्ण  दिनभर : गठबन्धनका दलहरुको अविश्वासले अर्को समीकरण बन्ने चर्चा

रास्वपालाई गृहसहित पुरानै मन्त्रालय दिन ‘प्रधानमन्त्री तयार’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक देखिएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा सरकारमा जाँदा र नजाँदाका फाईदा/बेफाईदाबारे छलफल भएको छ । रास्वपाले सरकारमा जानका लागि साबिकका मन्त्रालय पाउनुपर्ने र नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग अघि सारेको छ । गत पुस १० मा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्रीसहित तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो ।

स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो । रास्वपाले गृह, श्रम र शिक्षा मन्त्रालय मागेको छ भने नीति तथा कार्यक्रम पनि पुनर्लेखन हुनुपर्ने माग राखेको छ । यी दुई माग पूरा नभए सरकारमा सहभागी नहुने पार्टी प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी सभापति रवि लामिछानेसँगको भेटमा साविकको मन्त्रालय र सरकारको न्यूनतम साझा कार्यक्रम संशोधन गर्न तयार भएको बताएको उहाँको भनाइ छ ।

पार्टी सरकारमा जान सकारात्मक देखिएपछि आज निणर्य भने गरेन ।  बैठकपछि पार्टी प्रवक्ता ढकालले सरकारमा जाने वा नजाने भन्ने बिषयमा शुक्रबार निणर्य हुने बताउनुभयो । आजको बैठकले पार्टी कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिले जसरी केवल समर्थन मात्रै दिएको अवस्थामा नबस्ने निणर्य पनि गरेको छ । 

यस्तै पार्टी संसदीय दलको बैठकले पार्टी सभापति समेत रहनुभएका रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ । त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । त्यसअनुसार नै सर्वसम्मत रुपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । बैठकले सांसद निशा डाँगीलाई सचेतक तोकेको छ ।

रवि लामिछानेले बुझाए जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहदानी दुरुपयोग समबन्धि मुद्दामा सर्वोच्च अदालतलाई जवाफ पठाउनुभएको छ । लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निणर्यविरुद्ध युवराज पौडेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमा विपक्षी बनाइएका लामिछानेले आफूविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता दिनमणि पोखरेलको निणर्यको बचाउ गर्दै जवाफ लेख्नुभएको हो । लामिछानेले सर्वोच्चलाई महान्यायाधिवक्ताको निणर्यको न्यायिक परीक्षण नहुने तर्क गर्नुभएको छ ।

उहाँले आफूले विदेशी नागरिक रहेको बेला स्वतः कायम नरहेको नागरिकता पेस गरेर राहदानी लिएको तर प्रयोग नगरेको दावी पनि गर्नुभएको छ । नेपालको संविधानको धारा १५८ (२) ले महान्यायाधिवक्तालाई नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने/नचलाउने भन्ने अन्तिम निणर्य गर्ने अधिकार प्रदान गरेकाले महान्यायाधिवक्ताको सो अन्तिम निणर्यमा प्रश्न गर्ने अधिकार कसैलाई पनि नहुने जवाफ दिनुभएको हो । 

शिर्ष नेताको असन्तोष

काठमाडौँ । शिर्ष दलका नेताहरु पूर्वराजा र राजतन्त्रका सर्मथकहरुबारे आक्रोशित देखिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेअसन्तुष्टि जनाउनुभएको छ । अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वराजा लक्षित गर्दै जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको बताउनुभएको हो ।

इतिहासले, आम नेपाली जनताले फालिसकेकाहरुले मेचीबाट हिसाब गरेका बताउदै उहाँले फागुन १ गते जनयुद्ध दिवसमा विदा दिएर त्यसको जवाफ दिएको प्रतिक्रिया दिनुभयो । जनयुद्ध दिवस दिएकोमा गर्व गरेर त्यस्ता प्रवृत्तिका विरुद्ध लड्नुपर्ने उहाँको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको साझा कार्यक्रममा प्रतिनिधिसभामा आफूले गरेको सम्बोधनमा सामाजिक न्याय र श्रमिकको हक अधिकारलाई विशेष प्राथकितामा राखेको र सोही अनुसारका गतिविधि अगाडि बढाएको पनि बताउनुभएको छ । उतापूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पाएको उपलब्धि खोस्न पूर्वराजा ज्ञानेन्द्र शाहले दुलोबाट चियाइरहेको आरोप लगाउनुभएको छ ।

उहाँले जनताको उपलब्धि खोस्न ज्ञानेन्द्रसँगै अनेक खालका शक्तिहरू सल्बलाउन थालेको पनि टिप्पणी गर्नुभयो । पार्टी निकट मजदुर संगठन (जिफन्ट) को कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो अवस्थामा नेपाली जनता गम्भीर हुनुपर्ने औंल्याउनुभयो । उहाँले ज्ञानेन्द्र शाहले मुसाले बिरालो हेर्दै दुलोबाट बाहिर निस्कने अवस्था छ-छैन जस्तैगरी ‘दुलो’बाट हेरिरहेको दोहोर्‍याउनुभयो । 

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूणर्बहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ ।सहमतिसँगै गत शुक्रबार महावीर पुन र उनका समर्थकले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ ।

सहमति पत्रमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने, कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार पर्ने उल्लेख छ । 

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस 

काठमाडौँ । आज मे १ अर्थात्१ सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकले सडक ओर्लिएर बलिदानीपूणर् संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघलगायतले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७७ वर्ष पार गरेको छ। 

आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिकदिवसमनाउदै गर्दा यातायातमजदुरहरुले भने सँधै राज्यबाट अपहेलित भएको बताएका छन । देशमा १५ लाखभन्दा बढि यातायात क्षेत्रमा श्रमिक भएपनि उनीहरु अत्यन्त दर्दनाक अवस्था रहेको गुनासो छ । यातायात मजदुरका नेता दिपक केसीले दशौँबर्ष काम गरेपछि  पेशा छाडेर बाहिरिँदा रोजगारदाता र राज्यबाट श्रमिकले केहीनपाएर खालिहात जानुपरेको बताउनुभयो । रेडियो अन्नपूणर् नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानीगर्दै उहाँले यातायात श्रमिकको सामाजिक सुरक्षा, सम्मान, इज्जत प्रतिष्ठा नहुनु दुखद भएको गुनासो समेत गर्नुभयो । 

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही  

काठमाडौँ । यसपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार सय ६६ आरोहीले अनुमती लिएका छन् । हिमाल आरोहणका उपयुक्त समय मानिने वसन्त ऋतु लागेसंगै उल्लेख्य संख्यामा आोहीहरु सगरमाथा क्षेत्रमा पुगेका छन् । पर्यटन विभागका अनुसार यसपालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् ।

यसरी अनुमति लिनेमा नेपालसहित ६५ देशका नागरिक रहेका छन् ।सबैभन्दा बढी चीनबाट ९६, अमेरिकाबाट ८९, भारतबाट ४०, हङ्गेरीबाट ३३, क्यानडाका २१, रुसका १८, बेलायतका १५ र नेपालका १५ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले जानकारी दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ । 

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी एकता

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता भएको छ । मोहन वैद्य किरण नेतृत्व क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्व नेकपा बहुमतबीच आज एकता भएको हो । आज औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ राखिएको छ । घोषणासभाको अध्यक्षता गर्दै नेता सिपी गजुरेलले जनताको घरघर र जिब्रो जिब्रोमा ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ लाई पुर्‍याउनुपर्ने भन्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने पार्टी बनेको बताउनुभयो ।

कार्यक्रममा नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष वैद्य, पार्टी प्रवक्ता बास्तोला, कार्यालय सदस्यहरू, पार्टीका सल्लाहकार समितिका नेताहरू असारे काका, कमल चौधरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा, विनोद थापा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

धनुषामा टिपरको ठक्करबाट स्कूले बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त

काठमाडौँ । धनुषामा टिपरको ठक्करबाट एक बच्चाको मृत्यु र एक घाइते भएपछि अवस्था तनावग्रस्त बनेको छ । जिल्लाको सबैला नगरपालिका १२ रघुनाथपुरममा प्रदेश २-०३-००१ क १६२१ नम्वरको टिपरको ठक्करबाट सबैला नगरपालिका १२ सिर्खाटोलका ७ वर्षिय बालक रिया यादवकोे घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट सोही ठाउँकी राधी कुमारी घाइते भएकी छन् ।

उनलाई उपचारका लागि जनकपुरतर्फ लगिएको छ ।मृतक बालक र घाइते बालिका स्कूल पढेर घरतर्फ जाने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि टिपरका चालक फरार भएका छन् ।स्थानीयले प्रहरी प्रशासन र टिपर आतंक विरुद्ध प्रदर्शन गरिरहेका छन् ।आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर गरेका छन् । ढुंगामुढाबाट टिपरको सिसा समेत फुटेको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।

कोरोना अपडेट

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ३ सय ७५ नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ सय ७५ नमुना परीक्षण गर्दा १९ को रिपोर्ट पोजिटिभ आएको हो । सो अवधिमा ६४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २ सय ८३ पुगेको छ । 

हुम्लामा भूकम्प

काठमाडौँ । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो भूकम्पको एउटा धक्का मापन गरिएको हो । दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि गएको शनिबार बिहान ११ बजेर २८ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको कम्पन मापन गरिएको थियो ।


आर्थिक खर

सेयर ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीले पाए आशय पत्र

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स प्रदान गर्न छनौट गरी एलओआई (आशयपत्र) प्रदान गर्ने निणर्य गरेको छ । आज विहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र प्रदान गर्ने निणर्य गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिनुभयो । आशय पत्र पाएका १६ कम्पनीले ६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार भौतिक पुर्वाधार निर्माण गरिसक्नु पर्नेछ ।

त्यसपछि मापदण्ड पूरा गरी पुर्वाधार निर्माण गरेकालाई अनुमति पत्र दिइने श्रेष्ठले जानकारी दिनुभयो ।एलओआई पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूणर् कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् । धितोपत्र बोर्डले गत असोज २ गते धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्था सहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । 

विदेशका खबर
संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तान सङ्कटबारे कतारको दोहामावार्ता हुँदै 

काठमाडौँ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिवान शासनको प्रभावका बारेमा छलफल गर्न कतारको दोहामा अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरुको भेला आयोजना गरेको छ । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले अफगानिस्तानमा बालबालिका र महिलालाई शिक्षाबाट बञ्चित गरिएको लगायतका विषयमा अन्तर्राष्ट्रिय कुटनितिज्ञहरुसँग गोप्य छलफल गर्न लाग्नु भएको हो। दुई दिनसम्म सञ्चालन हुने वार्तामा संयुक्त राज्य अमेरिका, चीन, रूस, पाकिस्तानका साथै प्रमुख युरोपेली सहायता दाताहरूका साथै करिब २५ देश र समूहका प्रतिनिधिहरू सहभागी छन् । यद्यपी तालिवान सरकार भने अनुपस्थित हुने भएको छ ।

तालिवान सरकारलाई आमन्त्रण नगरिएकाले बैठकअघि नै प्रशासनको मान्यतामाथि प्रश्न उठेको छ ।अफगान महिला समूहको एक गठबन्धनले हिजो दोहा बैठकलाई खुला पत्र लेख्दै कुनै पनि देशले औपचारिक सम्बन्धबारे विशेष विचार गर्न र यही अवस्थामा तालिवानलाई मान्यता नदिन आग्रह गरेको थियो । संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले मान्यता कार्यसूचीमा नरहेको बताउँदै आएका छन् । छलफलपछि राष्ट्रसंघले तालिवान सरकारविरुद्ध कदम चाल्न सक्ने अनुमान गरिएको छ । सन् २०२१ को अगष्टमा सत्तामा आएको तालिवानले महिलाहरुलाई शिक्षा तथा घर बाहिर काममा जानबाट बञ्चित गर्दै आएको छ ।

खेल खबर
नेपाल र यूएईको बाँकी खेल भोलि हुने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । बर्ष नरोकिएपछि आजको खेल स्थिगत भएको हो  । बाँकी खेल भोलि यहि अवस्थाबाटसुरु हुनेछ ।यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले आज खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निणर्य गर्नुभएको हो । 

टस हारेर पहिला ब्याटिङ गरेको यूएईमाथि पहिलो इनिङ्समा नेपाल हाबी देखिएको छ । आज बिहान खेल रोकिएको समय ११ बजेर ४८ मिनेटसम्म नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले २-२ तथा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिएका छन् । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए ।

भोलिको बाँकी खेलमा पहिलो बल ललित राजवंशीका लागि ह्याट्रिकको अवसर हुनेछ । २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिकको सम्भावनासहित खेल सुरु गर्नेछन् ।भोलि पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।