Live Streaming

अन्नपूर्ण दिनभर : मिटरब्याजीका समस्या समाधान गर्न अध्यादेश ल्याउने सरकारको निणर्य, मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निणर्य

काठमाडौँ । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि अध्यादेश ल्याउने निणर्यय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा फौजदारी अपराध मान्ने गरी कानुन संशोधन गर्न लागेको छ । मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गरेर अनुचित लेनदेनमा हुने कानुनी कारबाही र त्यसका लागि अपनाउनुपर्ने कार्यविधिसम्बन्धी व्यवस्था थप गर्न लागेको हो ।

हाल संसद अधिवेशन नभएको अवस्थामा सरकारले अध्यादेशको बाटो रोजेको हो । यस्तो अध्यादेशमा सो अध्यादेशलाई पछि संसदले स्वीकार गर्नुपर्छ । 
ऐनबाट हुनेकुरा अध्यादेशबाट हुन नसक्ने भएपनि मिटरब्याजी पीडितको समस्या विशिष्ट प्रकारको भएकाले अध्यादेशमार्फत गरिएको उहाँको भनाई छ । 

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौँ । सरकारले ब्यापक सुधार भएको दावी गरिरहदा नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको एक तथ्यांकले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । यो संख्या विश्व बैंक तथा आईएमएफले गरेको भन्दा पनि करिब आधा कम हो ।

एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् । तथ्यांक कार्यालयले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । 

यस्तै चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर हो ।

कार्यालयले गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष थोरैले भएपनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार बढेकाले प्रतिव्यक्ति आय नेपाली रुपैयाँमा सोही दरले बढेको छ । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो । यसरी नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरमा गत वर्षकै बराबर छ ।

अर्थतन्त्र गम्भीर रहेको अवस्थामा निजी क्षेत्रले एक वर्षदेखि बजारमा माग नभएको र कारोबार घटेको बताइरहेको छ । तरपनि सरकार र नियामक निकाय नेपाल राष्ट्र बैंकले भने एकअर्कोलाई दोष दिएर उम्किने गरेका छन् । यसघि राष्ट्रियसभामा अर्थतन्त्रसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भयो तर, अर्थमन्त्रीले सुधारका उपाय स्पष्ट रुपमा प्रस्तुत गर्न सक्नुभएन । विभागले गरेको अनुमानले अर्थतन्त्र विस्तारै मन्दीतर्फ जान थालेको देखिएको छ । 

अर्थविद्हरुले पनि सरकारले अर्थतन्त्र ठिक ठाउँमा छ भनेर गरेको दावी अब झुठो सावित भएको र गम्भीर कदम नचालिए थप संकट आउने सम्भावनालाई बढावा दिएको बताएका छन् । रेडियो अन्नपूणर् नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै अर्थविद् डा.डिल्लीराज खनालले सरकारले पुंजिगत खर्च बढाउनुपर्ने र रकमान्तर रोक्नुपर्ने बताउनुभएको छ । अर्थतन्त्रमा सुधारका बजेटबाटै प्रयत्न हुन्छ भन्नु सान्दर्भिक नभएको बताउदै उहाँले छुट्टै कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो । आगामी बर्षको बजेटमा समेत अर्थतन्त्र सुधारका लागि ठोस योजना आउने छनक नदेखिएको उहाँको भनाई छ  । 

ओलीको बोली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु दलले चिताउनै नसक्नै काम आफूले दुई वर्षमा गरेर देखाएको दाबी गर्नुभएको छ । पार्टीको मिसन ग्रासरुट अभियान समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले लोकप्रिय पार्टी बनेर आएको बताउनुभएको हो । एमालेले विकास निर्माणको कामलाई तीव्रता दिएपछि घेराबन्दी भएको उहाँको बुझाइ छ ।

ओलीले भारतले पटक-पटक नाकाबन्दी गर्दा किन चीनतिर नाका खोल्न सकेनन्? भन्दै प्रश्न गर्नुभयो ।  सरकारले अहिलेसम्म आफ्नो जमिनलाई आफ्नो भन्न नसकेको उहाँको आरोप छ । यस्तै ओलीले देशमा राजनीतिक स्थिरता नभएकाले अप्ठ्यारो अवस्थामा गुज्रिरहेको बताउनुभयो । ओलीले केही व्यक्तिहरूले जानिबुझी पनि देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउनुभएको हो । एक्लै बहुमत नआउने भएकाले नीति नभएका चारतिर फर्किएका मिलेर सरकार बनाउने अवस्था रहेको उहाँको भनाई छ । 

दार्चुलामा हिमपहिरोः ७ जनाको उद्धार फेला, ५ जना अझै बेपत्ता

काठमाडौँ । दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका सात जनाको उद्धार गरिएको छ । हिमपहिरोमा परेका ५ जना भने अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि ४ जना बेपत्ता भनिएकोमा अहिले सुरक्षा निकायको टोली सोही स्थानमा पुगेर बुझ्दा ५ जना अझै बेपत्ता रहेको खुलेको छ ।

आज जिल्लाको व्यास गाउँपालिका-१ छाङरुस्थित बोलिनमा हिमपहिरो आएको थियो । त्यहाँ यार्सागुम्बा संकलन गर्न गएका मानिसहरु बेपत्ता भएका हुन् । बेपत्ता भएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो । अहिले सो टोली त्यहाँ पुगेर उद्धारमा जुटेको छ । अहिले पनि त्यहाँ चार/पाँच फिट हिउँ जमेकाका कारण  उद्धारमा कठिनाइ भएको छ ।

यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपसिंह धामीले बताउनुभयो । 

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत, राप्रपा तटस्थ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएको छ । प्रदेशसभामा आज भएको मत विभाजनमा सभामुख तुलाराम घर्तीले विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत रहेको घोषणा गर्नुभयो । १० दलमध्ये ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ जना सांसदले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका हुन् । आज विश्वासको मतको विपक्षमा रहेको एमालेका २९ सांसद छन् ।

नयाँ गठबन्धनमा नरहेको राप्रपाका ४ सांसद रहे पनि उनीहरुले कतै मत दिएनन् ।मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा विश्वासको मत पाउनुभएका चौधरीले लगत्तै सरकारलाई पूणर्ता दिने योजना बनाएको बताउनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त हुनुभएको थियो । विश्वासको मत पाएलगत्तै मन्त्रीहरूको जिम्मेवारीसमेत तोकिनेछ । नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री हुनुहुन्छ ।

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। हत्या आरोप लागेका उनलाई आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २ सय ४८ को उपनियम ३ बमोजिम प्रतिनिधि सभा सदस्यबाट निलम्बन गर्नुभएकोे संसद सचिवालयले जनाएको छ।प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले निलम्बन भएको सूचना टाँस गरी निलम्बनको जानकारी दिइएको हो। महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित उनीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ।

२०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि फरार रहेका उनको खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालय नक्सालले संसद सचिवालयलाई दुई पटक पत्र लेखेको थियो । 

यातायात कार्यालयका उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भट्टराईलेसरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले भट्टराईले अवैध आर्जनको सम्पत्ति आमा इन्दिरा भट्टराई, पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको भन्दै उक्त रकम जफत गर्न पनि माग गरेको छ  । 

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बारको तेस्रो दिन पनि प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ ।नेपाल बारले आज पनिसंवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरको हो । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो ।

उहाँले आन्दोलन एक हप्तासम्म जारी रहने पनि बताउनुभयो ।कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने

काठमाडौँ । सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताउनुभएको छ ।

आजबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पार्नुभयो ।

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको पनि बताउनुभयो । 

नर्स आत्महत्या प्रकरण : प्रेमी भनिएका डाक्टर प्रहरी नियन्त्रणमा

काठमाडौँ । शनिवार अपराह्न मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका प्रेमी भनिएका सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनको परिवारले प्रेमी ढकाल तथा उनका बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए ।अदालतले दुई जनाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले बुवालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने बताए । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिवार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् । मृतक श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी ढकाल र उनका बुवाले विवाहका लागि अस्वीकार गरेका थिए । पेशाले अनुमा स्टाफ नर्स हुन् भने ढकाल डाक्टर हुन् ।

अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे । अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटापक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।

आर्थिक खबर

नेप्से परिसूचक

काठमाडौँ । नेप्से परिसूचक सामान्य घटेको छ । आज ४.२६ अङ्कले घटेर एक हजार आठ सय ६६.४१ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटीभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ३ सय ५७.०२ विन्दुमा पुगेको छ । आज१३ वटा उपसमूहमध्ये सात वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । ६ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ । आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।

दुई सय ७० वटा कम्पनीका २२ लाख २२ हजार कित्ता शेयर ६४ करोड ९६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो र मिथिला लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर ८.२०प्रतिशतले बढेको छ ।

विदेशका खबर
प्यालेस्टाइनी भोक हडतालको मृत्युको विरोधमा प्यालेस्टाइनीद्वारा प्रदर्शन

काठमाडौँ । इजरायलको कारागारमा विगत तीन महिनादेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनी कैदी खादेर अदनानको मृत्यु भएको छ । ४५ वर्षीय अदनानले पक्राउ पर्नुअघि पनि कैयौंपटक भोक हडताल गर्दै आएका थिए । यसै, साता फिजिसियन्स फर ह्युमन राइट्स इजरायल समूहका एक चिकित्सकले अदनानलाई कारागारमा भेट्न जाँदा उनी मृत्युको निकट रहेको र अन्तै सार्नुपर्ने बताएका थिए ।

यसैबिच, अदनानको मृत्युको विरोधमा प्यालेस्टाइनीहरूले रामल्लाहमा विरोध प्रदर्शन गरेका छन् । सयौं प्यालेस्टाइनीहरूले वेस्ट बैंकका धेरै सहरहरूमा जुलुस निकाल्नुका साथै कुनै आरोप बिना हिरासतमा राखेको भन्दै विभिन्न स्थानहरूमा झडप पनि भएको छ ।

प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय समुदाय र अन्तर्राष्ट्रिय फौजदारी अदालतले प्यालेस्टिनीबन्दीहरू विरुद्धको अपराधको लागि इजरायललाई जवाफदेही बनाउन माग गरेका छन् । यस्तै, इस्लामिक जिहाद नामक सशस्त्र समूहले इजरायललाई यस अपराधको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । नौ सन्तानका पिता अदनानलाई उक्त समूहले शहीदको संज्ञा दिएको छ । 

खेल खबर
नेपाललाई उपाधि  

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । फाइनलमा यूएईमाथि सानदार जित निाकालेको घरेलु टोलि नेपालले उपाधिसँगै यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आजको खेलमा यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेट्टाएको हो । नेपाल सात विकेटले विजयी भएको हो ।

आजको खेलमा नेपालका गुलसन झाले अविजित सर्वाधिक रन ६७ बनाए । उनले ७५ बलमा अर्धशतक पूरा गरे । त्यस्तै भीम सार्कीले ३६ रन जोडे । रोहन मुस्ताफाले २ तथा आयान खानले १ विकेट लिए । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अल आउट भएको थियो । हिजो वर्षाका कारण २७ ओभर ३ बलमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा आज ११ रन जोड्दै यूएई १ सय १७ रनमा अल आउट भयो ।

यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाए । नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान २ तथा सोमपाल कामी र गुलशन झाले समान एक विकेट लिए । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । कुनै कारणले प्रतियोगिता प्रभावित नभएमा आयोजक पाकिस्तानसहित भारत, श्रीलंका, बङ्लादेश, अफगानिस्तान र एसीसी प्रिमियर कपको उपाधि विजेता नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

यसैबीच एसिसी प्रिमियर कप विजेता नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गर्नुभएको छ । उहाँले विजेता नेपाली टोलीको योगदानप्रति उच्च सम्मान गर्दै सरकारका तर्फबाट खेलाडीलाई थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

’ए’ डिभिजन लिग

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा  शीर्ष स्थानको जावलाखेल युथ क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्समा जावलाखेललाई नेपाल पुलिस क्लबले २-१ गोल अन्तरले हराएको हो । पुलिसको जितमा मोसेस ग्याबाह र अहमद हिजाजीले एक-एक गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । लिगमा पुलिसको यो चौंथो जित हो । जितसँगै पुलिसले १४ खेलमा १५ अंक जोडेको छ । पुलिस १० औं स्थानमा उक्लिएको छ । जावलाखेलको यो चौंथो हार हो । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै, अर्को खेलमा थ्री स्टार क्लब बराबरीमा रोकिएको छ । च्यासल मैदानमा थ्री स्टारले एफसी खुमलटारसँग २-२ गोलको बराबरी खेलेको हो । खेलको चौंथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५० औं मिनेटमा समिर बिनोङले गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा आदित्य शाक्यले पेनाल्टीमार्फत गोल गर्दै थ्री स्टारलाई २-२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । थ्री स्टार १४ खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । खुमलटारले १४ खेलमा १४ अंक जोडेको छ । खुमलटार भने पुछारमा रहेको छ ।