Live Streaming

सत्तागठबन्धनमा नीति कार्यक्रम र बजेटका बारेमा छलफल

काठमाडौँ । सत्तागठबन्धन आबद्ध दलका बीचमा बजेट पूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

“आर्थिक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, आर्थिक व्यवस्थापन कसरी गर्ने, बजेटलाई राम्रो बनाउने, जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरी बजेटको व्यवस्था गर्ने बारेमा मूलतः छलफल भयो”, बैठकपछि उहाँले भन्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा यही वैशाख २४ गते संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । गठबन्धन बैठकमा संसद् अधिवेशनमा कुनकुन विषयलाई प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सबै राजनीतिक दलका बीचमा एकरुपता ल्याउनुपर्ने, सरकारमा सहभागी भएका राजनीतिक दलका बीचमा सरसल्लाह गरेर सबैको धारणा अभिव्यक्त हुने गरेर बजेटको प्राथमिकता र सिद्धान्त तोक्नुपर्यो भन्नेबारेमा छलफल भएको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

“बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आधारपत्र तयार गर्ने र त्यसमा सरकारमा संलग्न सबै राजनीतिक दलले आफ्ना धारणा र दृष्टिकोण राखेर परिमार्जन गर्ने विषयमा छलफल भयो”, उहाँले भन्नुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको सहभागिता थियो ।