Live Streaming

जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुस् : डा. मिलनकुमार थापा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरीमा १० केजी सुन नपुगे आफूलाई मृत्युदण्ड दिन समितिमा माग गर्नुभएको छ ।

छानबिन गरेर कारबाही गर्नुपर्नेमा त्यसो नगरी ‘सुन चोर’ भनिएकामा आपत्ति जनाउँदै उहाँले राज्यको कान भएपनि आँखा नभए जस्तो अनुभव भएको बताउनुभयो ।

आफू कोषाध्यक्ष हुँदा संयोजक भएर पशुपतिमा सुनको जलहरी राखिएको उल्लेख गर्दै सुनमा अनियमितता गरिएको भनी आफ्नो बेइज्जत गरिएको सदस्यसचिव थापाले बताउनुभयो । सुनमा अनियमितताको आरोप लागेकैले आफू फेरि सदस्यसचिव भएर आएको उहाँले सुनाउनुभयो ।

“सुनको जलहरी बनाउने बेलामा २४ सै घण्टा नेपाली सेनाको सुरक्षा राखिएको थियो, त्यसबेला सिसीटिभी राखिएको थियो, त्यसको फुटेज सुरक्षित छ, बाहिर आएका सबै विषय सत्य छैनन्, सांसदहरुले पनि यस विषयमा बुझ्नुहोला” सदस्यसचिव थापाले भन्नुभयो ।

पशुपति क्षेत्रका धेरै कुरा पारदर्शी बनाउन घाट र क्रियापुत्री बाहेकका सबै रकम बैङ्किङ प्रणालीबाट जम्मा हुने व्यवस्था गरिएको छ । सुनको विषय नजोखीकन कसैलाई कारबाही नगर्न पनि उहाँले माग गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले पशुपतिमा सुनकै जलधारा, शङ्ख, अघ्र्य आदि पनि सुनकै रहेको उल्लेख गर्नुभयो । पशुपति क्षेत्रमा फूल पसल राखेर फोहर गर्ने पसलेलाई कारबाही गर्न खोज्दा सांसदको फोन आउने गरेको उहाँले समिति बैठकमा जानकारी दिनुभयो ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले द्वारिका होटलले चर्चेको पशुपति गुठीको नाममा रहेको दुई रोपनी जग्गाको भाडा वार्षिक रु छ हजार आउने गरेको जानकारी दिनुभयो ।