Live Streaming

मधेश प्रदेश सरकार दक्षिण एशियाको सबैभन्दा भ्रष्ट : राजकुमार लेखी

काठमाडौँ  । मधेश प्रदेशका निवर्तमान कानूनमन्त्री एवम् सांसद राजकुमार लेखीले मधेश प्रदेश सरकार दक्षिण एशियाको सबैभन्दा भ्रष्ट, अनैतिक, असक्षम र असमावेशी सरकार रहेको दाबी गर्नुभएको छ । 

सप्तरीको महुली सामुदायिक विकास केन्द्रको ३०औँ र महुली लघुवित्त वित्तिय संस्था लिमिटेडको ११औँ स्थापना दिवसको अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले अपवाद बाहेक अधिकांश मन्त्रीहरु भ्रष्ट भएको बताउनुभयो ।

मधेश प्रदेशमा कर्णाली प्रदेश भन्दा कम बजेट आउनुमा स्वयं मधेश सरकार दोषी रहेको उहाँको भनाइ छ । सांसद लेखी भन्नुहुन्छ, “मधेश प्रदेशका मन्त्रीहरु हरेक योजनामा २० प्रतिशत कमिसन लिन्छन, पालिकामा आउने सशर्त अनुदानमा समेत चरम भ्रष्टाचार  छ त्यसैले आम रुपमा जनता सचेत भएर खबरदारी गर्नैपर्ने स्थिती सृजना भएको छ ।”

प्रदेश सभामा सदस्यहरुले पटक पटक आवाज उठाएपनि सरकारले वास्ता नगरेको उहाले बताउनुभयो । प्रदेश सरकार समावेशी नभएपनि भाषणमा भने समावेशीताको नारा घन्काउने गरेको सांसद लेखीको आरोप छ । 

केन्द्र सरकारले पठाएको बजेट प्रदेश सरकारले ५० प्रतिशत भन्दा अधिक खर्च गर्न नसकेकाले बजेट कटौति हुँदै गएको र प्रदेशप्रति विश्वास गुम्दैगएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।