Live Streaming

सुर्तीजन्य पदार्थको सेवनले युवाहरुमा समेत गम्भीर समस्या उत्पन्न गरेको छ : अनुसन्धानकर्ता

काठमाडौँ । सुर्तीजन्य पदार्थ रोकथाम गर्न विज्ञहरुको जोड सुर्तीजन्य पदार्थको सेवनले नेपाली युवाहरुमा समेत गम्भीर समस्या उत्पन्न गरेको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । 

अन्नपूर्ण मिडिया नेटवर्क र एन. डि. आर. आईको संयुक्त  आयोजनामा सुर्तीजन्य प्रदार्थ रोकथाम तथा नियन्त्रणका लागि नो टोव्यागो सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका हुन् । 

वरिष्ठ अनुसन्धान विषेशज्ञ डाक्टर जय गुरुङले सुर्तिजन्य पदार्थ सेवन गर्ने भन्दा नजिकमा बस्ने व्यक्तिलाई धेरै असर गर्ने बताउनुभयो । टोव्यागोका कारणले नेपालमा मृत्युुदर बढिरहेको उहाँको भनाई छ । 

उहाँले विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थ १.३ अर्व प्रयोगकर्ता रहेको र नेपालको हकका ४८ लाख मानिसहरूले सुर्तीजन्य प्रदार्थ सेवन गरिरहेको जानकारी दिनुभयो । 

नेपाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २०४ देशमध्ये २९औँ स्थानमा रहेको छ । विश्वव्यापी रूपमा हरेक बर्ष ८० लाख मानिसहरूको मृत्यु हुने गरेको गुरुङको भनाई छ । त्यस्तै सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने योजनामा सबैले तदारुकता देखाए पनि सरकारी तवरबाट यसको कार्यान्वयन नभएको अनुसन्धानकर्ताको आरोप छ । 

सहभागीहरुले सुर्तीजन्य पदार्थमा मूल्य वृद्धि गर्न सके यसको प्रयोगमा कमी आउँने दाबी गरेका छन् । कार्यक्रममा वरिष्ठ अनुसन्धान विशेषज्ञ डा जयकुमार गुरुङ,  अनुसन्धकर्ता अञ्जना लामिछाने, अनुसन्धानकर्ता कमल चौलागाईं, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।