Live Streaming

नारायणगढ-मुग्लिन सडकखण्डः पहिरो नियन्त्रणकै लागि करोडौं खर्च, कहिले घट्ला जोखिम?

धर्मराज भट्ट, काठमाडौं। वर्षायाममा नारायणगढ-मुग्लिन सडकखण्ड भएर यात्रा गर्ने यात्रुहरूले यसवर्ष पनि सास्ती पाए। मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो गएपछि बिहीबार दिउँसो १ बजेदेखि अवरुद्ध सडक २७ घण्टापछि मात्रै खुल्न सक्यो ।

२७  घण्टासम्म सडक अवरुद्ध सडकमा १० किलोमिटर लामो सवारी जाम लागेको थियो । जसका कारण यात्रुहरूले निकै सास्ती पाएका थिए । एम्बुलेन्स तथा लोकसेवाको परीक्षा दिन लगायत कामले हिँडेका यात्रुहरू झनै मर्कामा परेका थिए ।

त्यसपछि शनिबार दिउँसो पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । अहिले भने सडक सञ्चालनमा आएको छ ।

नयाँनयाँ जोखिम, के हुँदैछ पहल?

सन् २०१८ यता पहिरो नियन्त्रणका लागि मात्रै करोडौं रकम खर्च भएपनि सास्ती भने रोकिएको छैन। त्यसमाथि त्रिशूलीको धारले बाटोको तल्लो भागमा बर्सेनि गर्ने कटानले समेत यात्रा चुनौतीपूर्ण बनाएको छ । 

सडक डिभिजन कार्यालय भरतपुरले भने पहिलेको तुलनामा अहिले पहिरोको जोखिम घटेको दावी गरेको छ । डिभिजन प्रमुख रमेश प्रसाद पौडेलले विश्व वैंकको सहयोगमा यसअघि ३१ ठाउँमा पहिरो रोकथामको काम भएकाले अहिले नयाँ ठाउँहरूमा पहिरोको समस्या आएको बताए। मौरी खोला लगायतका क्षेत्र पहिरोको जोखिममा रहेकाले अहिले विश्व बैंकले अध्ययन गरिरहेको र आगामी वर्ष नियन्त्रणका लागि पहल हुने उनको भनाई छ । 

उनले भने,‘ जोखिमका हिसाबले पहिलेभन्दा अहिले घटेको छ। अहिले नयाँ पहिरोहरू गएका छन्। गतवर्षकाे जोखिमका आधारमा मौरी खोलामा मात्रै यसवर्ष अध्ययन भएको छ। आगामी वर्ष रोकथामका लागि पहल हुन्छ। तुइन खोला लगायत स्थानमा पहिले केही समस्या थिएन यसवर्ष मात्रै पहिरो खस्यो। अर्को वर्ष यसको पनि अध्ययन गरेर रोकथामको उपाय रोजिन्छ।’

हरेक वर्ष पहिरो पन्छाउने कामका लागि करिब १ करोड रुपैयाँ खर्च हुने गरेको छ । पहिरो रोक्ने प्रयासकै लागि मात्र पछिल्लो ५ वर्षमा ६० करोडभन्दा बढि खर्च भइसकेको छ । तर सो सडक खण्डमा नयाँनयाँ जोखिमहरू देखा परेकाले यात्रुहरूले दुःख पाइरहनुपरेको हो । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरेको थियो ।

सडक खुलाउने संयन्त्र कस्तो ?
पहिरो खसेपछि सडक खुलाउने संयन्त्र कमजोर हुँदा यात्रुहरूले झनै दुःख पाउने गरेको गुनासो छ। यद्यपि पौडेलले भने संयन्त्र कमजोरीका कारण पहिरो खुलाउन ढिलाई भएको विषयलाई नकारे। पहिरो नियन्त्रणका लागि इन्जिनियरसहित प्रहरी, सशस्त्र र जनपदको सहयोगमा काम हुने बताउँदै पहिरो पन्छाउन मात्रै समस्या नलाग्ने उनको भनाई छ।

यद्यपि निरन्तर खस्ने पहिरोले हुने जोखिमका कारण भने बढी समय लागेको उनले बताए। असार १ देखि नै अवरुद्ध बाटो खेलाउन प्राविधिकसहितका सामाग्रीहरू तयारी अवस्थामा राखिएको उनको भनाई छ । उनले भने,‘सडक खुलाउनका लागि इन्जिनियरसहितको एउटा टोली खटाइन्छ। खसेर लगत्तै पहिरो रोकिए त फाल्नलाई खासै समय लाग्दैन तर लगातार पहिरो खसिरहँदा जोखिम पनि हुने भएकाले खुलाउन समय लाग्छ। संयन्त्र कमजोर होइन।’

अहिले सडक स्तरोन्नति भइरहेकोमध्ये केही ठाउँहरूमा समेत पहिरोको समस्या आएको उनको भनाई छ। उनले थपे,‘ अहिले निर्माण भईरहेका १८ पुलहरुमध्ये २ ठाउँमा पहिरोको समस्या देखिएको छ। त्यस ठाउँमा पहिरो पन्छाउने जिम्मेवारी सम्बन्धित निर्माण कम्पनीकै हो।’

यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । अहिले देशभरका सयौँ सडक खण्डहरू पहिरो, बाढी लगायतका कारणले अवरुद्ध छन् ।