Live Streaming

प्लास्टिक मुक्त नगरपालिका बनाउन दुना-टपरी उत्पादन, महिलाहरु आय-आर्जनसँग जोडिदै

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिकाले प्लाष्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण गर्ने अभियान सुरु गरेको छ। त्यसका लागि नगरपालिकाले दुना-टपरी उत्पादन सुरु गरेको छ। 

संघीय सरकारको शशर्त अनुदानमार्फत महिला शशक्तिकरण अभियन अन्र्तगत १० दिने दुना टपरी बनाउने कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम पहिलो चरणमा नगरपालिकाको वडा नं र १, ६, ७, र ११ मा भएको हो। 

मंगलबार सो कार्यक्रमका लागि चारै वडामा एक एक मेसिन समेत हस्तान्तरण गरिएको मेयर भरत बडायर जोशीले जानकारी दिए। एक वडाबाट १० देखि १५ जनालाई समावेश गरिएको र बिस्तारै नगरपालिकारि नै यो कार्यक्रम सुरु गरिने उनले बताए। उनले भने, ’एउटा वडाबाट १०, १५ जनालाई तालिम दिएका छौं । ती चार वडाका सबै महिलालाई यो सीप सिकाउछौँ। विस्तारै हामी नगरपालिकाका १२ वटै वडामा यो कार्यक्रम पुर्याउछौं ।’

यस कार्यक्रममार्फत महिलाहरुलाई आय-आर्जनसँग जोड्न खोजेको जोशीको भनाइ छ । आगामी आर्थिक वर्षदेखिे नगरपालिका र वडा कार्यालयमा हुने कार्यक्रममा, विद्यालयमा दुना टपरी प्रयोगमा ल्याउने नीति बनाएकाले उत्पादित दुना-टपरीको बजारीकरणका लागि पनि सहजीकरणमा सहयोग पुग्ने उनको भनाई छ। 

आगामी आर्थिक वर्षदेखि परशुराम नगरपालिकामा प्लास्टिकका झोला, डिस्पोजल प्लेट लगायतका प्लास्टिकजन्य वस्तुहरूमा प्रतिबन्ध लगाउने योजना छ। मेयर जोशीले नगरपालिकाले स्थानीयस्तरमै वातावरण मैत्री वस्तुहरूको उत्पादन र उपभोग गर्ने नीति लिएको बताए।