Live Streaming

अन्ततः प्रधानमन्त्रीको स्पष्टीकरण- 'भावनामा आए, त्यो नभनेको भए हुन्थ्यो'

काठमाडौं। पाँच दिनपछि संघीय संसद्‌मा जारी अवरोध हटेको छ । गत बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेर एमालेले गर्दै आएको अवरोध सोमबार प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएसँगै हटेको हो। 

प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन्। आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको प्रचण्डले बताए। हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको सुनाउँदै उहाँले भावनमा आएर भनिएको भएपनि प्रधानमन्त्रीको हैसियतमा त्यस्तो नबोल्नुपर्ने भन्दै आत्मालोचना गरे। 

उनले भने,‘म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनेँ । मनमा आयो भनेँ । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वभाविक कुरा‘ प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदस्यताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा । उनले भनेर कसैलाई प्रधानमन्त्री हुने वा बन्ने भन्ने होइन। कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ्य पनि छैन । त्यस्तो खालको व्यक्ति पनि होइनन् । हिजो अस्ति प्रितम आफैले पनि भनेका छन् । उनीसँग नेता तथा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कटक्ष बाबुको सम्बन्ध मात्रै हो ।’

प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह कुनै शक्ति नभएको बताउँदै उनी प्रधानमन्त्री बनाउने र हटाउने सामर्थ्य राख्ने व्यक्ति नभएको बताए। 

प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरणका लागि प्रतिपक्षीहरूले अवसर नदिएको भन्दै दुःखेसो गर्नुभयो । प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै अडान लिएको कुराप्रति आपत्ति जनाए। उनले भने, ‘म त सुरुदेखि स्पष्ट पार्नकै लागि पर्खिएर बसेको थिएँ, राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनियो । के यही यो संसदीय अभ्यास ? एकचोटि मैले यो सदन समक्ष भन्न पाउनुपर्दैन ? किन तीन दिनसम्म सदन अवरुद्ध गरियो ?’ 

एमालेले विरोध लोकतान्त्रिक पद्धतिअनुसार नभएको बताउँदै उनले के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ?भन्दै प्रश्न समेत गरे।उनले भने,‘मैले बुझ्न सकेको छैन । के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ? यही हो हामीले मान्दै आएको लोकतान्त्रिक पद्धति ? यी मेरा प्रश्नहरू मात्रै हुन् । म यहाँ प्रतिवादका लागि होइन, स्पष्टीकरणका लागि उपस्थित भएको हुँ ।’ ’

प्रधानमन्त्री प्रचण्डले मिटरव्यााजी विरुद्धको अध्यादेश ६० औं दिनसम्म किन पुर्‍याइयो भन्दै आफैले गठबन्धनको बैठकमा प्रश्न गरे। अध्यादेश निष्क्रिय हुनु र संसदमा आफ्नो राजीनामा मागिनु संयोग मात्रै भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरू पनि मिटरब्याज पीडितका पक्षमा देखिएकोमा खुसी व्यक्त गरे। उनले भने,‘सत्ता गठबन्धनभित्र पनि म आफैले मिटरब्याजी सम्बन्धी अध्यादेश ६० दिन किन पुर्‍याइयो भनेर प्रश्न उठाएको छ। हाम्रो कार्यशैलीमा त्रुटि छ र संयोगवश ६० औँ दिनमै मेरो राजीनामा मागियो र अवरोध खडा गरियो। प्रमुख प्रतिपक्षी देदि प्रतिपक्ष दलहरुले समेत आफूहरु मिटरब्यज पीडितका पक्षमा रहेको बताएपछि यो पास भएको बुझेको छु।’

राजीनामा माग्नेलाई जवाफ
प्रधानमन्त्री प्रचण्डले कसैले भनेर राजीनामा नगर्ने तर आफ्नो आत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताए। सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो केही दिन पहिलाको अभिव्यक्तिलाई लिएर राप्रपा सांसद राजेन्द्र लिङदेनले नैतिकता भए राजीनामा गर्न दिएको सुझावको जवाफ दिँदै प्रचण्डले अरुले भनेर राजीनामा नदिने बताएका हुन् । 
‘नैतिकताको कुरा भन्नुभयो, ठिक छ । नैतिकताको आधारमा कसले कति गर्‍यो भनेर विगत हेर्नुभयो भने हुन्छ’, प्रधानमन्त्रीले भने, ‘हुन त माननीय राजेन्द्रबीचको भर्खर दुई कार्यकाल भयो क्यारे तपाईँको ।’

उनले लिङ्देनलाई पहिलाको आफ्नो कार्यकालको हेर्न सुझाव दिए । ‘पहिलापहिलाको हेर्नुभयो भने दुईदुई पटक मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा तपाईँले पढ्नुभएको छ ? कस्तो परिस्थितिमा दिएँ, के आधारमा दिएँ ? छातीमा हात राखेर त्यसमा पनि गहिरोसँग विचार गर्न नैतिकता कसले देखायो, कसले देखाएन ?’, प्रचण्डले प्रश्न गरे । 

आफूमै देखेको स्वभावजन्य कमजोरी 
प्रतिनिधिसभामा आफूले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिदै  प्रधानमन्त्री प्रचण्डले तार्किकभन्दा भावनात्मक कुरा बढी अल्झिए। उनले आफ्नी छोरीलाई क्यान्सर हुँदा सरदार प्रितम सिंहले आश्रय दिएकाले भावनात्मक सम्बन्ध गाँसिएको बताए । उनै सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली र काठमाडौंमा समेत कुरा गरेको विषय आफूले सार्वजनिक कार्यक्रममा गरेको उनको भनाइ थियो।

प्रचण्डले भने, ‘मेरो सबल पक्ष वा कमजोरी जे भने पनि सार्वजनिक र निजी कार्यक्रममा फरक रूपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ । सायद यो मेरो कमजोरी पनि हो, र सायद सबल पक्ष पनि यसभित्र अन्तर्निहित छ कि ? नीजिजस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु । प्रधानमन्त्रीले बोल्नुपर्ने त दिमागले हो । यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको होइन । तर, मान्छेको सत्त्व, जिन, उसको प्रवृत्ति विशेषता जसले हामीलाई अलग-अलग बनाएको छ, त्यही सत्त्वभित्र यो पर्छ । म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि हुन्छ कहिले दिमाग।’

आफूलाई धेरै साथीहरूले यस्तो स्वभाव परिवर्तन गर्न सुझाव दिने गरेको प्रचण्डले बताए ।

आफैले गरे सरकारको आयूकाे संकेत
प्रधानमन्त्री प्रचण्ड आफू लामो समय प्रधानमन्त्री बन्नेमा आशावादी छैनन्। सोमबार प्रचण्डले भने, ‘म पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो । म तेस्रो पटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यही अनुसार गर्दै आएको हुँ,’ उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर जति समय हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु । त्यही गर्दैछु ।’

यसअघिका बिभिन्न कार्यक्रमहरूमा अहिलेको सरकार पाँचै वर्ष टिक्ने दाबी गरिरहेका प्रचण्डले भावनात्मक शैलीमै सोमबारको प्रतिनिधिसभा बैठकमा भने केही फरक अभिव्यक्ति दिए।

उनले भने,‘मैले १२-१३ दिन प्रधानमन्त्री भएका विश्वका नेताहरूबारे पढ्थें । हाम्रोमा पनि ६ महिना, ९ महिना, १० महिना प्रधानमन्त्री भएको शृंखलाबद्ध अनुभव छँदैछ । लामो समय प्रधानमन्त्री नभए पनि जति दिन हुन्छ, राष्ट्र र जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने छ । मैले अरु बाँकी के नै गर्नु छ र?’

‘संसद् तीन दलको मात्र होईन, हामी पनि छौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी र प्रजातन्त्र पार्टीले ठूला दलहरूले साना दलहरूलाई बाइपास नगर्न चुनौती दिएका छन्। सोमबार संसद् बैठकमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति जनाए। 
उनले भने,‘यो संसद तीन दलले बन्धक बनाउन मिल्छ ?’ उनले भने, ‘संसदको गरिमालाई केही दलहरूले आफ्नो जुँगाको लडाइँको विषय बनाउनुहुँदैन ।’

सभापति लामिछानेले प्रतिपक्ष र सरकार दुवैले गरेको राम्रो काममा रास्वपाले समर्थन गर्ने बताउँदै रास्वपालाई बाइपास गरेर आफ्नो भनाइ राख्न नदिएकोमा आपत्ति जनाए। 
‘प्रतिपक्षले गरेको राम्रो काममा एक ढिक्का छौं । सरकारले राम्रो काम गरे त्यसको समर्थन गर्छौं’ उनले भने, ‘तर हाम्रो आफ्नै एजेन्डा छन् । जनताको मुद्दामा संसद रोकियोस् तर पार्टी र केही नेताको रुचिमा संसद् नरोकियोस्।’

यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीन दलका नेता बसेर सबै निर्णय नगर्न चेतावनी दिएका छन्। संसदमा नयाँ विचारको प्रतिनिधित्व गर्ने धेरै दलहरू रहेको स्मरण गराउँदै लिङ्देनले सभामुखले विचार राख्न नदिएकोमा आपत्ति जनाए।