Live Streaming

वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई किन विमानस्थलबाटै फर्काइन्छ?

काठमाडौं। बुधबार र बिहीबार कुवेत जान लागेका ११७ जना श्रमिकहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन्। विमानस्थलको अध्यागमन कार्यालयले उनीहरूको कागजात शंकास्पद रहेको भन्दै फर्काएको हो। बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार कुवेत एयरमार्फत जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काइएको विभागले जनाएको छ। 

अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर पछिल्लो तीन दिनमा मात्रै १५६ जनालाई फर्काईदिएको छ। विभागले असार २५ गते ३७, असार २७ गते  १०१ र आज १८ जनालाई फर्काएको छ। 

उनीहरूले बिभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरूमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेपनि अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइएको हो।

फर्किएकामध्ये करिब आधा महिला पनि छन्। अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीका अनुसार श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरूलाई फर्काइएको हो। अधिकारीका अनुसार पछिल्ला केही दिनमा कुवेतमा यस्तो भिसामा जानेहरूको संख्या बढेपछि उनीहरूसँग सोधपुछ बढाइएको छ।

त्यही क्रममा बुधबार कुवेत जान हिंडेकाहरुसँग अनौपचारिक रुपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको विभागको दाबी समेत गरेको छ।  

आइतबार श्रम स्वीकृति लिएरै जोर्डन हिँडेका १५ जनालाई कागजात शंकास्पद देखिएकाे भन्दै अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो। 

पछिल्लो समय भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम निकै बढिरहेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले एक वर्षको अवधिमा ४ हजारभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाएको देखाउँछ। भिजिट भिसामा जाँदा मानव तस्करीको जोखिममा पर्नसक्ने भन्दै २०७९ वैशाखदेखि हालसम्म ४ हजार भन्दा बढीलाई अध्यागमनले फर्काइसकेको छ। यसै वर्षको ३ महिनायता मात्रै एक हजार ८०० बढीलाई फर्काएको अध्यागमनको तथ्यांक छ।

‘कर्मचारीले सनकका भरमा दुःख दिए’
मेनपावर व्यवसायीहरूले भने वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अध्यागमनका कर्मचारीहरूले सनकका भरमा दुःख दिने गरेको आरोप लगाएका छन्। रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गर्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आशङ्काकै भरमा फर्काउने क्रम बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन अधिकृतको ‘मुड’को भरमा उनीहरूलाई फर्काउन थालिएको उनको आरोप छ। 

उनले भने,‘भिसा ठिक छ। अनलाइनमा प्रष्ट देखिन्छ। वैदेशिक रोजगार विभागबाट स्वीकृति पनि लिइएको छ। क्यूआर कोड पनि स्पष्ट छ। तर, त्यहाँका कर्मचारीहरूले गलत नियतका साथ श्रमिकलाई डिपोर्ट गर्दैछन्।’

कम्पनीमा जाने भनी घरेलु कामदारका रुपमा म्यानपावर कम्पनीहरूले नै पठाउन थालेको पाइएको छ नि भन्ने हाम्रो प्रश्नमा भण्डारीले भने,‘कुवतको भिसा पासपोर्टमा हुँदैन। क्यूआर कोडमा हुन्छ। अध्यागमनका कर्मचारीहरूको भाष्य गलत हो। घरेलु कामदारको भिसा छुट्टै हुन्छ। दुतावासले पनि प्रमाणित गरेको छ। तर विमानस्थलमा अनावश्यक दुःख दिईयो।’

भण्डारीले म्यानपावर कम्पनीहरूले डुब्लिकेट भिसा दिएको प्रमाणित भए कारवाही गरिने समेत बताएका छन्। घरेलु कामदार कुनैपनि म्यानपावर कम्पनीले पठाउने नगरेको समेत उनको दाबी छ। भिजिट भिसाको आवरणमा काम गर्न जाने श्रमिकहरूलाई रोक्नमा आफूहरूले नै पहल गरेको समेत उनले दाबी गरे। 
उनले भने, ‘हालसम्म कुनैपनि म्यानपावर कम्पनीहरूले घरेलु कामदार पठाउँदैनन्। यदि दोहोरो भिसा लिएको पुष्टि भए कम्पनीहरूलाई कारवाही हुन्छ। भिजिट भिसामा केही विचौलिया दलालहरूले पठाएको पाइएकाले हामीले त खबरदारी गरेका हौँ।’